‘अण्डरलाइन’का अध्यक्षद्वय ओली-प्रचण्ड पेरिसडाँडा जाँदै

‘अण्डरलाइन’का अध्यक्षद्वय ओली-प्रचण्ड पेरिसडाँडा जाँदै


नवगठित नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पेरिसडाँडास्थित कार्यालय जाने भएका छन् । पेरिसडाँडामा निवर्तमान भएको माओवादी केन्द्रको कार्यालय रहेको छ ।

पार्टी एकीकरणपछि पेरिसडाँडामा रहेको कार्यालय र निवर्तमान एमालेको धुम्बाराहीस्थित कार्यालय दुवै कार्यालय पार्टीले सञ्चालन गर्ने तयारी थालेको छ । सहमतिअनुसार, पेरिसडाँडाको मुख्य कार्यालय र धुम्बाराहीको सहायक कार्यालयको रूपमा सञ्चालन गर्ने तयारी भइरहेका नेकपाका नेता सूर्य थापाले जानकारी दिए ।

आजै दुवैजना अध्यक्ष ओली र प्रचण्ड बेलुका ४ बजे पेरिसडाँडा पुग्नेछन् । दुवै अध्यक्षले कार्यालयको अवलोकन गर्ने तयारी भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सङ्घीय र प्रदेश चुनावपछि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्ने गृहकार्य गरेपछि हिजो मात्रै दुवै पार्टी एकीकृत भएका छन् । नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) छ ।