तिलोत्तमा नगरपालिकालाई भूउपयोग नक्सा हस्तान्तरण

तिलोत्तमा नगरपालिकालाई भूउपयोग नक्सा हस्तान्तरण


चन्द्रकान्त खनाल

राष्ट्रिय भूउपयोग आयोजनाले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई भूउपयोग नक्सा हस्तान्तरण गरेको छ । आयोजनाले नगरको भूउपयोग नक्सा तथा विवरणसहितको प्रतिवेदन हिजो बिहीबार हस्तान्तरण गरेको हो । मुलुकमै पहिलोपटक तिलोत्तमा नगरपालिकालाई भूउपयोग नक्सा हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ ।

यो कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमातहतको आयोजना हो । तराईका २० जिल्लाको नक्सा तयार पारिसकेको आयोजनाले बिस्तारै पहाडी र हिमाली जिल्लाहरूको समेत नक्सा तयार पार्ने क्रममा रहेको छ ।

प्रतिवेदन हस्तान्तरण गर्दै आयोजनाका सर्भे अधिकृत इन्जिनियर सुमिर कोइरालाले नगरपालिकाले दिएको चासोका कारण मुलुकमै पहिलोपटक तिलोत्तमालाई भूउपयोग नक्सा हस्तान्तरण गरिएको जानकारी दिए । नगरपालिकाले स्थानीयस्तरमा भूउपयोग योजना बनाउन थालिएको जानकारी गराउँदै आयोजनालाई नक्सा उपलब्ध गराउन गत चैतमा आग्रह गरेको थियो ।

आयोजनाले तराईका अधिकांश जिल्लाको भूउपयोग नक्सा तयार पारिसकेको र अन्य स्थानीय तहलाई क्रमशः नक्सा हस्तान्तरण गरिने आयोजनाले जनाएको छ । नक्सा ग्रहण गर्दै तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले भूमिको उपयोग, नियमन र व्यवस्थापनमा आयोजनाले उपलब्ध गराएको नक्सालाई प्रयोग गरिने बताए । ‘नक्साका आधारमा कुन–कुन क्षेत्रको जग्गालाई कुन रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषय प्रस्ट हुनेछ,’ नगर प्रमुख घिमिरले भने, ‘यसले कृषि क्षेत्रको संरक्षण, योजनाबद्ध र व्यवस्थित आवासीय, व्यावसायिक, औद्योगिक क्षेत्रको निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

नक्साका आधारमा भूमिस्रोतको अधिकतम उपयोगका लागि वर्गीकरण र यसरी गरिएको वर्गीकरणका आधारमा भूमिको संरक्षण, व्यवस्थापन र उपयोग गर्न सहयोग मिल्ने नगरपालिकाले जनाएको छ । नक्साका आधारमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गर्न सहज हुनुका साथै योजनाबद्ध सहरीकरण, कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने, उपयोगमा नरहेको भूमिको समुचित प्रयोगको व्यवस्थापनमा टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको बताएको छ ।