यसरी मनाइँदैछ गणतन्त्र दिवस

यसरी मनाइँदैछ गणतन्त्र दिवस


यही जेठ १५ गते गणतन्त्र दिवस मनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन गरिएको छ । गृहमन्त्रालयमा आज बसेको मूलसमारोह समितिको बैठकले जेठ १४ देखि १६ गतेसम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगहरुमा समेत विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूलसमारोह समितिमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व राष्ट्रपति, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीलगायत रहेका छन् । यस्तै, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाको संयोजकत्वमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरिएको राससले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुखकको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ भने बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचना, स्मारिका प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, शहीदहरुको आत्माको चिरशान्तिका लागि मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ ।

सोही दिन बिहान ७ः३० बजे मूलसमारोह समितिका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारण टुँडिखेलमा उपस्थित हुने कार्यक्रम छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरुको समेत उपस्थिति रहनेछ । सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास, विविध कार्यक्रम र झाँकी प्रदर्शन गरिनेछ । सोही दिन साँझ दीपावली गरिने कार्यक्रम छ ।

यसैगरी जेठ १६ गते साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उपत्यका बाहिर प्रदेशका केन्द्र, जिल्ला र स्थानीय तहमा समेत जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र दिवस मनाउन विविध कार्यक्रमको आयोजना गरिने छ ।