चितवनमा बर्डफ्लु देखिएको पुष्टि

चितवनमा बर्डफ्लु देखिएको पुष्टि


चितवनमा बर्डफ्लु भेटिएको सरकारको आधिकारिक प्रयोगशालाले पुष्टि गरेको छ । खैरहनी नरगपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरीले पालेका लेयर्स फर्मको कुखुरा मरेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईंले जानकारी दिए ।

चौधरीले एउटै फर्ममा १५ सय लेयर्स कुखुरा पालेका थिए । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही वैशाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो । परीक्षणमा Pr5 Pg1 (एभिएन इन्फ्लूएन्जा) नामक जीवाणु (भाइरस) भेटिएको चापागाईंले बताए ।

गत वैशाख ३१ गते कुखुरामा बर्डफ्लु भेटिएको रिपोर्ट आए पनि हिजो (३ जेष्ठ विहिबार) मन्त्रिस्तरीय निर्णयबाट कुखुरा नष्ट गर्न निर्देशन भएको उनले जानकारी दिए ।

चौधरीले पालेका सबै १५ सय कुुखुरा मरिसकेका छन् । राजन चौधरीको खोरसँगै जोडिएको लक्ष्मण चौधरीको खोरका कुखुरा पनि धमाधम मर्न थालेपछि परिक्षणका लागि पठाइएको छ, त्यसको रिपोर्ट भने अझै आएको छैन । यसैबीच बर्डफ्लु पुष्टि भएपछि खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षीको सुरक्षित रुपमा नष्ट गरिएको छ ।

यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोरहरु सफा गर्न पालक किसानसमक्ष अनुरोध गरेको छ । यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष कार्यालयले आग्रह गरेको छ ।