सुनामीका कारण तहसनहस बनेको जापानको मियागी प्रान्तस्थित इसिनोमिकी नामक माछा मार्ने बन्दरगाहमा आजभोलि पार्सलमार्फत सुनको इँटा प्राप्त हुन थालेपछि मानिस आश्चर्यमा पर्न थालेका छन् । त्यसरी सुन राखेर पार्सल पठाउनेले आफ्नो कुनै पहिचान नदिएको विषयले झन् कुतूहल पैदा गरेको एजेन्सीहरूले उल्लेख गरेका छन् । त्यहाँ पुनर्निर्माणको काममा कार्यरत सुनामी सहायता समूह एवम् माछा बजारमा काम गर्नेहरूलाई दुई किलोग्राम तौलको सुनको इँटा डेढ साताअघि मात्र प्राप्त भएको छ, जसको हालको बजार मूल्य कमसेकम पनि दुई लाख पचास हजार यूएस डलर पर्छ । पार्सलमार्फत सुन प्राप्त हुने घटना दोहोरिन थालेको बताइन्छ । स्थानीय अखबारहरूले यस घटनालाई ‘सुनौलो सद्भावना’ भन्ने नाममा पुकार्न थालेका छन् ।
दुई वर्षअघि जापानमा आएको नौ रेक्टर स्केलको भूकम्प तथा विशाल सुनामीका कारण १९ हजार मानिसको ज्यान गएको थियो भने फुकुसिमा परमाणु संयन्त्रसमेत ध्वस्त भएको थियो । यस्तै टोकियोभन्दा तीन सय ५० किलोमिटर उत्तरपूर्वमा पर्ने इसिनोमिकीमा पनि तीन हजार मानिसको ज्यान जानुका साथै ४० हजारभन्दा बढी घर भत्किएका थिए ।
बन्दरगाह तथा फिस मार्केट कम्पनी लिमिटेडका प्रमुख क्युनिओ सुनोले दुई किलो वजनको सुनका इँटा आफ्नो नाममा प्राप्त भएको स्वीकार गर्दै पठाउने व्यक्तिले आफ्नो नाम–ठेगाना उल्लेख नगरेको पुष्टि गरेका छन् । उनले उक्त धनलाई स्थानीय माछाबजारको पुनर्निर्माणमा उपयोग गरेर दाताको भावनाको सम्मान गरिने बताएका छन् ।
सन्तुलित तौलको शत्रु मदिरा
यदि तपाईंको तौल छिटोछिटो बढिरहेको छ र तपाईं मदिरा सेवनमा ज्यादा नै रुचि राख्ने गर्नुहुन्छ भने यी दुई कुराबीच तौल बढ्नुको सम्बन्ध रहेको हुनसक्छ । वल्र्ड क्यान्सर रिसर्च फण्ड (डब्ल्यूसीआरएफ)ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार मदिरा सेवन गर्ने मानिसले आफ्नो समस्त क्यालोरी खपतको १० प्रतिशत अंश मदिराको माध्यमबाट नै लिन्छ । यदि तपाईं एक ग्लास पूरै ह्विस्की सेवन गर्नुहुन्छ भने शरीरलाई एक सय ७८ क्यालोरी ऊर्जा हासिल हुन्छ । यो भनेको दुईवटा ठूला चकलेट र बिस्कुट खाँदा प्राप्त हुने बराबरको ऊर्जा हो । यति ऊर्जा दोहन गर्न कम्तीमा पनि आधा घन्टा तीव्र गतिमा हिँड्नुपर्ने हुन्छ ।
जब तपाईं नियमित रूपमा खानेकुरा ज्यादा खानुका साथै मदिरा पनि नियमित पिउने गर्नुहुन्छ भने तौल पनि तीव्र गतिमा बढ्न पुग्छ । तर, खानेकुरामा पोषक तत्व रहने भए पनि मदिरामा भने पोषक तत्वविहीन हुन्छ । उक्त प्रतिवेदनअनुसार तपाईंलाई आफ्नो बढिरहेको तौलमाथि नियन्त्रण गर्नु छ भने मदिरा सेवनमा अङ्कुश लगाउनु अत्यावश्यक छ । यति मात्र नभई मदिराको कम सेवनले क्यान्सरको खतरासमेत कम गर्न सकिने अध्यताको दाबी छ । स्मरण रहोस्, मदिरा सेवनका कारण विशेषत: महिलामा स्तन, पेट, मुख र लिवरको क्यान्सर हुने खतरा बढाउने विज्ञहरूको मत छ ।
कण्डमको घट्दो प्रयोगसँगै बढ्दो एचआईभी
सुरक्षित यौन सम्बन्धका लागि कण्डमको प्रयोग गर्ने प्रचलन विश्वव्यापी भएको छ । तर, शोधकर्ताहरूले बेलायतमा समलैङ्गिक पुरुषबीच कण्डमको प्रयोग गर्ने प्रवृत्तिमा कमी आएको र उनीहरूमा एचआईभी सङ्क्रमण बढ्न थालेको खुलासा गरेका छन् । त्यहाँको हेल्थ प्रोटेक्सन एजेन्सी (एचपीए) तथा कतिपय विश्वविद्यालयद्वारा गरिएको अनुसन्धानबाट सन् १९९० देखि २०१० को अवधिमा पुरुषसँग बिनाकण्डम शारीरिक सम्पर्क राख्ने पुरुषहरूमा २६ प्रतिशतले एचआईभी सङ्क्रमण बढेको पाइएको छ । सन् २०११ मा ६ हजार दुई सय ८० व्यक्तिमा एचआईभी सङ्क्रमण पाइएकोमा तीमध्ये लगभग आधाजसो समलिङ्गी पुरुष नै रहेको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । सङ्क्रमितहरूलाई एन्टी रेट्रोभाइरल औषधि प्रयोग गर्न नदिएको भए सङ्क्रमितको प्रतिशत ६८ पुगिसक्ने थियो भन्ने तथ्य पनि शोधकर्ताले सार्वजनिक गरेका छन् ।
विश्वकै लामो गोहीको मृत्यु
लोलोङको नामबाट परिचित संसारकै सबभन्दा लामो गोहीको मृत्यु भएको छ । फिलिपिन्समा हालै मरेको उक्त गोहीको तौल एक हजार पचहत्तर किलो रहेको र लम्बाई २१ फिट थियो । पेट फुल्ने व्यथाले च्यापेको केही घन्टामै उसको मृत्यु भएको पिलिपिन्सका अधिकारीहरूले जानकारी दिएका छन् ।
लोलोङले आफ्नो जीवनकालमा एक मानिसको ज्यानसमेत लिएको बताइन्छ । सेप्टेम्बर २०११ मा उसलाई एक महिना लगाएर समातिएको थियो, त्यसपछि जीव विविधतायुक्त एक पार्कमा राखिएको गोही धेरैको आकर्षणको केन्द्र रहँदै आएको थियो । एक महिनाअघिदेखि नै उसले खाना खान मानेको थिएन र उसको शरीरको रङमा पनि परिवर्तन देखिन थालेको थियो । निरन्तर पेट फुल्न थालेपछि उसको मृत्युको आशङ्का गरिएको थियो ।
प्रतिक्रिया