‘स्थानीय जनतालाई सिंहदरबारकै सरह सुविधा’ : हरेराम

‘स्थानीय जनतालाई सिंहदरबारकै सरह सुविधा’ : हरेराम


हेमशंकर सिंह

राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जनताले अब सिंहदरबार जस्तै सुविधा पाइरहेका दाबी गरेका छन् । घण्टौँ कुरेर पनि हुन नसक्ने काम समेत अहिले सेवाग्राही आउनेवित्तिकै हुने गरेको उनको भनाई छ ।

सिंहदरबारबाट जस्तै सुविधा जनतालाई स्थानीय स्तरमा दिने प्रयास गरिरहेको जनाउँदै उनले पूर्वाधार विकास ठुलो चुनौती भएपनि सडक, सिचाइँ, स्वास्थ्य क्षेत्रमा तिव्र रूपमा कार्य अघि बढाइएको बताए ।

अध्यक्ष यादवले गाउँपालिकाका विकासका लागि निर्वाचित भएदेखि नै विकासिय कार्यलाई अगाडी बढाएको बताए । उनले जनतासँग राय लिएर समस्या र पीडाको आधारमा विकासका पूर्वाधारहरुमा काम अघि बढाउँदै भौतिक पूर्वाधारसँगै मानव विकासतर्फ पनि केही काम शुरु भइसकेको, त्यसका लागि खासगरी शिक्षा, सामाजिक विकास, लक्षित वर्ग सञ्चार विकासको क्षेत्रमा पनि गाउँपालिकाको बजेट प्रयोग गरेको जानकारी दिए । गाउँपालिकामा रहेका ६ वडा मध्ये पाँचवटा वडामा ८० प्रतिशत बजेट पूर्वाधारको क्षेत्रमा खर्च गरिसकेको तर बाँकी २० प्रतिशत जेष्ठ महिनाभित्र खर्च भइसक्ने बताए ।

विकास निर्माणका गतिविधिलाई तदारुकताका साथ अघि बढाएको र वडा कार्यालयहरुमा आफै गई अनुगमन गर्ने गरेको बताए । तपाईंको मूलभुत समस्या के हो ? भन्ने प्रश्नमा उनले स्थानीय सरकारको रुपमा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै आफूहरुसँग उपयुक्त भौतिक पुर्वाधार नभएको दुःखेसो गरे । यसका लागि गाउँपालिकामा रहेको कृषि भवनको माथिल्लो तल्ला थप्ने क्रम जारी रहेको र केही दिनमा कार्यालय व्यवस्थापन गरी थप जिम्मेवारीका साथ काम गर्ने उनले बताए । भने, ‘यहाँ पूर्वाधको, आवश्यक जनशक्ति र उपकरणको आभाव छ, हामी सँग कर्मचारीको पनि अभाव छ, विस्तारै यी समस्यालाई सामाधान गर्नेतर्फ हाम्रो टिम अगाडी बढ्दै छ ।’

गाउँपालिकामा भइरहेको काम जनतामा पनि सन्तोषजनक छ । गाउँपालिकाभित्र रहेको कार्यपालिकामा सबै कार्यक्रम अनुमोदन गरेर मात्र अगाडि बढाइरहेको जिकीर उनले गरे । अध्यक्ष यादवलाई गाउँपालिकाभित्र कुन काम गर्न चुनौती रहेको छ भनी सवाल राख्दा सडक बाटो फराकिलो गर्न चुनौती भएको बताउँदै विगतका दिनमा यो चुनौतीको सामना गरी विकासिय कामलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जाहेर गरे ।