‘जन्मे हुर्केको गाउँ, हिँडेको बाटा र साथीभाइको याद आउँछ’ –राष्ट्रपति

‘जन्मे हुर्केको गाउँ, हिँडेको बाटा र साथीभाइको याद आउँछ’ –राष्ट्रपति


भोजपुरे सेवा समाज, काठमाडौँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन, शीतलनिवास, महाराजगञ्जमा शनिबार बधाई तथा शुभकामना दिँदै अभिनन्दन गरेको छ ।

समाजका अध्यक्ष पासाङदोर्ची शेर्पा र कार्यक्रममा उपस्थितमध्येका ९० वर्षीय ज्येष्ठ नागरिक मदनबहादुर खत्रीले राष्ट्रपतिलाई पुष्पगुच्छा र अभिनन्दनपत्र समर्पण गरेका थिए ।

राष्ट्रपति भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो माइती जिल्लाका तर्फबाट प्रकट गरिएको बधाई, अभिनन्दन तथा शुभकामना आफ्ना लागि मार्गदर्शन हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘यो प्रेम, सद्भाव र शुभेच्छाले राष्ट्र र जनताप्रतिको जिम्मेवारी र कर्तव्य निर्वाह गर्न मलाई शक्ति प्राप्त हुने मैले ठानेकी छु ।’

सम्बोधनका क्रममा भावुक हुँदै उनले आफू जन्मे हुर्केको गाउँ, हिँडेका बाटा र साथीभाइको झलझली याद आउने गरेको उल्लेख गर्दै समय र परिस्थितिले राष्ट्रप्रमुखको पदमा पु¥याए पनि आफ्नो मन भने सधैँ जनसमुदाय र गाउँबस्तीमै पुगिरहने गरेको सुनाइन् । राष्ट्रपतिले भोजपुरको समृद्धिका लागि आफ्नोतर्फबाट सक्दो सहयोग हुने विश्वास पनि दिलाइन् ।

समाजका अध्यक्ष शेर्पाले भोजपुरकी चेली राष्ट्रको सर्वोच्च पद राष्ट्रपतिमा पहिलो कार्यकाल सफलतापूर्वक पूरा गरी दोस्रो कार्यकालका लागि चुनिनु अत्यन्त हर्ष र गौरवको विषय भएको विचार व्यक्त गर्दै राष्ट्रपतिज्यूको दोस्रो गौरवमय कार्यकाल अनुकरणीय होस् भनी कामना गरे ।

समाजका सचिव शशि लुमुम्बूले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रपतिका सहपाठीमध्येका तर्फबाट टंकप्रसाद श्रेष्ठले कार्यकाल सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरे । राससका अनुसार कार्यक्रममा पूर्वमन्त्रीद्वय कृपाशुर शेर्पा, शंकरप्रसाद कोइराला, सांसद सुदन राई, पूर्व सांसदहरू जयन्ती राई, तारादेवी राईलगायत भोजपुरसँग सम्बन्धित विभिन्न संघसंस्था र जनसमुदायको उपस्थिति थियो ।