नेपालको माओवादी जनयुद्धको विषयमा थुपै्र अनुसन्धान, अध्ययन र विश्लेषण भएका छन् र थुपै्र ‘थेसिस’ प्रकाशित भएका छन् । गुगलमा सर्च गर्नेबित्तिकै लाखौँ लेख–रचना र समाचार देखापर्छन् । तर, धेरैजसोले नेपाली जनयुद्धका केही महत्वपूर्ण कुरा छुटाएको देखिन्छ र विश्लेषण पद्धति पनि एकाङ्गी र मनोगत देखिन्छ ।
नेपालमा जनयुद्ध किन भयो ? यस प्रश्नको जवाफमा कोही विद्वान्हरूको निष्कर्ष छ– नेपालको चरम गरिबी । यसलाई ‘गरिबीको सिद्धान्त’ पनि भनिन थालेको छ । अर्काथरी विद्वान्हरूको मत छ– राज्यसत्ता समावेशी नहुनुले जनयुद्ध भयो । यसलाई ‘संरचना सिद्धान्त’ भनिन्छ । अर्काथरी विद्वान्हरूको मत छ– वर्गीय उत्पीडन, जातीय उत्पीडन, धार्मिक उत्पीडन, जातपातको उत्पीडन, क्षेत्रीय उत्पीडन, महिलामाथिको उत्पीडन, आदिले गर्दा नेपालमा जनयुद्ध भयो । यसलाई ‘उत्पीडन सिद्धान्त’ भनिन्छ । अर्काथरी विद्वान्हरू जनयुद्धलाई ‘उग्रवामपन्थी भड्काउ’ वा ‘आतङ्ककारी भड्काउ’को परिणाम पनि ठान्छन् । उनीहरूका अनुसार केही कम्युनिस्ट नामधारी नेता कार्यकर्ताको दिमागमा निम्नपुँजीवादी अधैर्यताका कारण उग्रवामपन्थी र आतङ्ककारी भडकाउ देखाप-यो र त्यसको परिणामस्वरूप जनयुद्ध भयो ।
जनयुद्धलाई विश्लेषण गर्ने यी सबै तरिका र त्यसका निष्कर्षहरू एकाङ्गी (एकपक्षीय) र यान्त्रिक छन् । यी सबैले इतिहासको (घटनाहरूको) एकपक्षलाई मात्र केलाउँछ, जसले गर्दा ती घटनाको वैज्ञानिक र सही विश्लेषण हुन सक्दैन । जस्तै चरम गरिबीले गर्दा नै जनयुद्ध भएको हो भने नेपालजस्तै र नेपालभन्दा पनि गरिब देशहरूमा जनयुद्ध किन भएन भन्ने प्रश्नको उत्तर ‘गरिबीको सिद्धान्त’ले दिन सक्दैन । राज्यसत्ता समावेशी नभएकाले जनयुद्ध भएको हो भने यस्तै अरू देशमा जनयुद्ध किन भएन ? विभिन्नखाले उत्पीडनले गर्दा जनयुद्ध भएको हो भने यस्तो उत्पीडन भएका अरू देशमा किन जनयुद्ध भएन ? अनि के उग्रवामपन्थी भउकाउ, आतङ्ककारी भडकाउ या निम्नपुँजीवादी अधैर्यले गर्दा जनयुद्ध हुन सक्छ ? यो पनि गलत र एकपक्षीय दृष्टिकोण हो ।
जनयुद्ध एउटा बहुआयामिक परिघटना हो । बहुसङ्ख्यक विश्लेषकहरूले एक या केही आयामहरूको मात्रै विश्लेषण गरेको पाइन्छ र त्यो नै मुख्य कारण हो भन्ने निष्कर्ष निकालेको पाइन्छ ।
कुनै अन्न या बोटबिरुवा उत्पादनका लागि दुई पक्ष आवश्यक हुन्छ– धर्ती (माटो, हावापानी आदि) र वीज (बिउ) साथै सचेत मानवीय प्रयास (बिउ रोप्ने) वा अचेत प्राकृतिक कार्य (विउ जमिनमा रोपिनु) आवश्यक हुन्छ । त्यस्तै जनयुद्ध (जनक्रान्ति, आन्दोलन) का लागि पनि भौतिक पक्ष र वैचारिक पक्ष दुवै आवश्यक हुन्छ । भौतिक पक्षभित्र गरिबी, उत्पीडन, राज्यसत्ता अर्थात् आर्थिक कारण, सामाजिक, सांस्कृतिक कारण, राजनीतिक कारण, सैन्य कारण आदि सबै पर्छन् । अन्याय, अत्याचार असमानताको भौतिक परिस्थिति हुनेबित्तिकै जनयुद्ध, जनक्रान्ति आदि स्वत: भइहाल्दैन । धेरैजसो बिहान तथा विश्लेषकहरूले यही गल्ती गरेका छन् । जनयुद्ध (जनक्रान्ति) सुरुवात हुनका लागि जनयुद्ध गर्ने विचार बोकेको नेता र कार्यकर्ताको सङ्गठन पनि अनिवार्य चाहिन्छ ।
अन्याय, अत्याचार, असमानता तीव्र रूपमा भएको देशहरू इतिहास र वर्तमान अवस्थामा पनि धेरै थिए र छन् । तर, त्यहाँ जनयुद्ध र जनक्रान्ति भएन । त्यसैले जनयुद्धको विचार बोकेको र जनयुद्ध गर्न हृदयदेखि नै प्रतिबद्ध र तयार नेता र कार्यकर्ताको टिम (पार्टी, गुट, दल) जुन बेला बन्दछ, त्यो देशमा जनयुद्धको सुरुवात ढिलोचाँडो भएरै छोड्छ । अर्थात् जनयुद्धको सुरुवातका लागि भौतिक पक्ष नै पर्याप्त हुँदैन । जनयुद्धको सुरुवातका लागि निर्णायक पक्ष भनेको त्यस्तो भौतिक पक्ष भएका देशमा जनयुद्धको विचार आत्मसात् गरेको र जनयुद्ध सुरु गर्न तयार नेता तथा कार्यकर्ताहरूको टिम (पार्टी, गुट) निर्माण नै हो । यहाँ हामीले जनयुद्धको सुरुवात गर्नु र सफलता पाउनुबीचको फरकलाई भने अलग ढङ्गले लिनुपर्छ । जनयुद्ध सुरुवात गर्ने कारण र परिस्थिति तथा पूर्ण सफल हुने कारण र परिस्थिति फरक हुन्छन् । यहाँ हामी जनयुद्धको सुरुवातको कुरा गरिरहेका छौँ ।
नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टी गठन भए पनि यसले छापामार युद्ध गर्ने, आधार इलाका बनाउने र गाउँले सहर घेर्ने रणनीतिसहित दीर्घकालीन जनयुद्ध गर्ने नीति लिएन । चीनको कम्युनिस्ट पार्टी र सोभियत कम्युनिस्ट पार्टीको बीचमा सन् १९५६ बाट सुरु भएको बहसमा शान्तिपूर्ण रूपान्तरण कि सशस्त्र क्रान्ति भन्ने विवादले चर्को रूप लिएपछि विश्व कम्युनिस्ट आन्दोलन पुन: विभाजन भयो । यसको परिणामस्वरूप सबैजसो देशका कम्युनिस्ट पार्टीहरूभित्र पनि बहस र विभाजन भयो । भारतमा कम्युनिस्ट पार्टीका तत्कालीन केन्द्रीय नेताहरूले सोभियत सङ्घका नेता ख्रुश्चेभको शान्तिपूर्ण रूपान्तरण (संसद्मा बहुमत जितेर सरकार बनाई पुरानो राज्यसत्तालाई क्रमश: रूपान्तरण गर्दै जाने) नीतिलाई समर्थन गरे भने पश्चिम बंगालका केही जिल्ला नेताहरूले नेपालको झापानजिकको गाउँ–नक्सालवादीबाट छापामार युद्ध सुरु गरेको घोषणा गरे ‘त्यो बेला चारु मजुमदार जिल्ला नेता मात्रै थिए र उनी विधानसभा चुनावमा पराजित पनि भएका थिए । चारु मजुमदारको नेतृत्वमा सुरु भएको त्यो छापामार युद्धले भारतमा नक्सलवादी आन्दोलन नामबाट सशस्त्र सङ्घर्ष गर्नुपर्छ भन्ने नयाँ धार सिर्जना भयो । त्यसकै प्रभावबाट ०२८ सालमा नेपालमा पनि दीर्घकालीन जनयुद्ध गर्नुपर्छ भन्ने सानो टिम झापा जिल्ला बन्यो । त्यसले २८ सालमा गरेको छापामार युद्धका गतिविधिले नेपालमा नयाँ धार खडा ग-यो ।
यसले नयाँ जनवादी क्रान्ति गर्न छापामार युद्ध, आधार इलाका, गाउँले सहर घेर्ने रणनीतिसहितको दीर्घकालीन जनयुद्ध आवश्यक छ भन्ने विचार नेपाली कम्युनिस्ट आन्दोलनमा घोषित रूपमा भित्यायो र छापामार युद्ध सुरु ग-यो । तर, यो छापामार युद्ध व्यवस्थित र योजनाबद्ध तथा आवश्यक तयारीबिना र दीर्घकालीन सोचविना भएकाले लामो समय टिकाउने र विकास गर्ने काम सफल भएन । यसकै उत्साह र पे्ररणाबाट नेकपा (माले) हुँदै एमाले पार्टी त बन्यो तर यसले छापामार युद्धसहित दीर्घकालीन जनयुद्ध र माओ विचारधारा परित्याग ग-यो ।
पुष्पलालले गोरखपुर सम्मेलनमा दीर्घकालीन जनयुद्ध आवश्यकता स्वीकार गरेका छन् । तर, पुष्पलालले छापामार युद्धको तयारी गर्ने, योजना बनाउने काममा नेतृत्वदायी पहल लिएनन् । मोहनविक्रम, निर्मल लामाको नेतृत्वमा ०३१ सालमा भारतको बनारसमा सम्पन्न चौथो महाधिवेशनले झापा आन्दोलनलाई उग्रवामपन्थी भडकाउ भन्दै विरोध ग-यो । यसले छापामार युद्धको अनिवार्यता, दीर्घकालीन जनयुद्धको बाटोलाई आफ्नो दस्तावेजमा कतै पनि समावेश गरेन । यसले जनसङ्घर्षको विकास गरेर क्रान्तिकारी परिस्थिति बनाउने, तलैदेखि उठेको व्यापक संयुक्त मोर्चामा आधारित सशस्त्र सङ्घर्षजस्ता अमूर्त कुराहरू मात्रै ग-यो । ०३५ सालमा भएको सेक्रेटरी सम्मेलनमा किरणले पेस गरेको प्रस्तावमा आएर मात्रै छापामार युद्ध, आधार इलाका, गाउँले सहर घेर्ने रणनीतिसहित दीर्घकालीन जनयुद्धको आवश्यकताबारे उल्लेख भयो । तर, किरण मुख्य नेतृत्वमा नरहेको र ०३६÷०३७ सालको आन्दोलन, जनमतसङ्ग्रह आदिको वातावरणमा छापामार युद्ध सुरु गर्ने परिस्थिति नबनेको देखिन्छ । त्यसपछि ०४१ सालको पाँचौँ महाधिवेशनमा मोहनक्रिमद्वारा लिखित र चित्रबहादुर केसीद्वारा पेस गरिएको दस्तावेजमा सङ्घर्षको प्रधान रूप सशस्त्र नै हुने, युद्धको चरित्र दीर्घकालीन हुने, युद्धको प्रारम्भ र विकास गाउँस्तरबाट नै हुने, आधार इलाका सुदृढ बनाउँदै जानुपर्ने, छापामार युद्धको भूमिका रणनीतिक र दीर्घकालीन हुने, सशस्त्र सङ्घर्षको प्रचार, तयारी र सङ्गठनमा जोड दिने आदि कुरा उल्लेख छन् ।
पाँचौँ महाधिवेशनले निर्वाचन गरेको केन्द्रीय समितिमा किरण महासचिव छानिए । ०४२ सालमा यो पार्टी पनि फुटेर किरणको नेतृत्वमा नेकपा (मसाल) र (मोटो श) र मोहन विक्रमको नेतृत्वमा नेकपा (मसाल) र पातलो स) बनेपछि किरण नेतृत्वको मसालमा दीर्घकालीन जनयुद्धबारे तीव्र बहसका साथै दीर्घकालीन जनयुद्धको ठोस तयारी र सुरुवात गर्नका लागि कार्यकर्ता पङ्क्तिबाट तीव्र दबाब बढ्न थाल्यो । दुवै पार्टीको महाधिवेशनको दस्तावेज एउटै थियो– मोहनविक्रमद्वारा लिखित । सारमा फरक के हो त ? किरण नेतृत्वको मसालका केन्द्रीय सदस्यहरू भन्न बँध्य भए कि हामी दीर्घकालीन जनयुद्धको ठोस तयारी र सुरुवातमा लाग्छौँ ।
पञ्चायती व्यवस्था चरम सीमामा पुगेको बेला थियो त्यो । ०३६ सालको आन्दोलनमा विकास भएका युवाहरूको जमातमा तत्कालीन नेताहरूले केही पनि गरेन भन्ने भावना व्याप्त थियो । पुष्पलाल, तुलसीलाल, मनमोहन, मोहनविक्रम, निर्मल लामा कसैले पनि केही गरेन भन्ने असन्तोष थियो । त्यही बेला किरणको नेतृत्वमा प्रचण्ड, बादल सीपी गजुरेल, देव गुरुङ, हरिभक्त कँडेल, असारे, खम्ब सिंह, शेरसिंह, पोष्टबहादुर बोगटीलगायतका पुराना र नयाँ नेताहरूमाथि तीव्र दबाबका कारण दीर्घकालीन जनयुद्धबारे अन्य देशका अनुभवहरूको अध्ययन र नेपालमा कसरी गर्न सकिन्छ भन्नेबारे पार्टी केन्द्र र तलसम्म पनि व्यापक बहस हुन थाल्यो ।
किरण पक्षको (मशाल) र मोहनविक्रमको (मसाल) का बीच बहस चल्ने किरण पक्षले छापामार युद्धको तयारीमा जोड दिएर सङ्घर्षको मूख्य स्वरूप दीर्घकालीन जनयुद्ध हो भन्न थाल्यो भने मोहनविक्रम पक्षले तत्काल जनसङ्घर्ष प्रधान स्वरूप हो भन्ने थाल्यो । किरण पक्षले छापामार युद्ध क्रान्तिकारीहरूका लागि प्रतिकूल स्थितिमा पनि सुरु गर्न सकिन्छ भन्यो भने मोहनविक्रम पक्षले जनसङ्घर्ष विकास गरी क्रान्तिकारी स्थिति तयार पारेपछि मात्रै सशस्त्र सङ्घर्ष गर्ने भनेर सशस्त्र विद्रोह र दीर्घकालीन जनयुद्धको तरिका एउटै जस्तो व्याख्या गर्न थाल्यो ।
०४२ देखि ०४६ सालको बीचमा किरण नेतृत्वको (मशाल) ले छापामार युद्धको रूपमा दीर्घकालीन जनयुद्धको सुरुवात गर्न ठोस वैचारिक, सङ्गठनात्मक, फौजी तथा भौतिक तयारी ग-यो र राजतन्त्र र पञ्चायती व्यवस्थासहितको पुरानो सत्ताविरुद्ध भण्डाफोर आन्दोलन पनि अघि बढायो । यहाँनेर सन् १९८० (वि.सं. २०३७) तिरबाट पेरूमा गोन्जालोको नेतृत्वमा सुरु भएको दीर्घकालीन जनयुद्धको विकासलाई पनि सम्झनुपर्छ । किरण नेतृत्वको (मशाल) को लागि पेरूको जनयुद्ध ठूलो पे्ररणा तथा वैचारिक पथप्रदर्शक बनेको थियो । माओका योगदानहरूलाई माओ विचार वा विचारधारा होइन कि माओवाद भन्नुपर्छ र उनका शिक्षाहरू माक्र्सवाद लेनिनवादमा थप विकास हो भन्ने कुरा सर्वप्रथम पेरू कम्युनिष्ट पार्टीमा गोन्जालोले पेस गरी पारित गरेका थिए । दीर्घकालीन जनयुद्ध कसरी सानो शक्तिबाट योजना बनाएर सुरुवात गरी विकास गर्न सकिन्छ भन्ने पनि गोन्जालोले व्यवहारमै सिकाए । त्यसबाट पनि किरण पक्षले धेरै कुरा सिके । किरण पक्षको नेकपा (मशाल) ले ०४५ सालमा ‘माओवाद’ पारित ग-यो । साथै भारतको (पिपुल्स वार) समूह र माओवादी कम्युनिस्ट सेन्टरको नेतृत्वमा चलिरहेको दीर्घकालीन जनयुद्ध र श्रीलङ्काको लिट्टेको छापामार युद्ध पनि पे्ररणाका स्रोतहरू थिए ।
०४५ सालबाट छापामार तालिम सुरु भयो । तर, ०४६ सालमा सहरीया जनआन्दोलन अघि बढ्ने स्थिति आएपछि छापामार युद्ध सुरु गर्ने या सहरीया जनआन्दोलनमा अघि बढ्ने भन्ने छलफल सुरु भयो । तत्कालको स्थितिमा छापमार युद्ध सुरु गर्ने होइन कि जनआन्दोलनमा नै लाग्ने निर्णय भयो । यदि ०४६ सालमा जनआन्दोलन नभएको भए (मशाल) को त्यतिबेलै दीर्घकालीन जनयुद्ध सुरुवात गर्ने निर्णय थियो ।
तथ्य यो हो कि ०४२ देखि ०४६ सालको अवधिमा नै नेपालमा दीर्घकालीन जनयुद्धको विचार र नेतृत्व टिमको उदय भएको हो । राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष र भारत र अमेरिकाविरोधी सङ्घर्ष तथा जनयुद्धविरोधी अरू नेताहरूको विरुद्धको वैचारिक सङ्घर्षको क्रममा नै नेपालमा त्यसबेला जनयुद्धको विचार र नेतृत्व टिमको उदय भयो जसमा पेरूको जनयुद्धको प्रभाव विशेष उल्लेखनीय छ ।
नेपालमा माओवादी जनयुद्धको सुरुवात ०५२ मा भयो तर यसको विचार र नेतृत्व टिमको निर्माण ०४२ देखि ०४६ सालको अवधिमै भयो । ०४६ सालपछिको राजनीतिक, आर्थिक व्यवस्थाले ०४६ सालअघिको भन्दा आधारभूत परिवर्तन गर्न सकेन र जनयुद्धको विचार र नेतृत्व टिमलाई पनि नजरअन्दाज ग-यो । परिणाम–०५२ सालमा जनयुद्ध भयो ।
प्रतिक्रिया