‘शुक्राणु’ चोर गर्लफ्रेण्ड

‘शुक्राणु’ चोर गर्लफ्रेण्ड


ramailoकुनै महिलालाई गर्भवती नबनाइकन तिनले जन्माएको सन्तानको बाबु बनेर स्याहारसुसार गर्नुपर्ने बाध्यता आइलाग्यो भने पुरुषको कस्तो अवस्था होला ? अमेरिकाका लेन हार्डिन नामक व्यक्ति यस्तै चक्करमा पसेका छन् । लेनले आफ्नी पूर्वगर्लफ्रेण्डले आफ्नो वीर्य चोरी गरेको आरोप लगाएका छन् । त्यसो त अमेरिकामा शुक्राणुु (मानव वीर्य) चोरीको घटना नौलो होइन । यस्तै घटना लेन हार्डिनमाथि घटेको छ । आफूलाई झुक्याएर वीर्य चोरी गरी गर्लफ्रेण्डले गर्भधारण गरेकोले त्यसरी चोरी गर्न सघाउने एक क्लिनिकसमेतलाई मुद्दा दिने तयारी गरेको उनले मिडियालाई बताएका छन् । आर्डिनका अनुसार गर्लफ्रेण्डले अरू नै कारण दर्शाएर मेरो वीर्य झिक्न लगाई एक क्लिनिकमा राख्न लगाइन् र पछि उनलाई नसोधी उक्त क्लिनिकबाट वीर्य लिएर फर्टिलिटी सेन्टरमा गई गर्भधारण गरेकी थिइन् । त्यसरी नसोधी क्लिनिकले वीर्यको बोतल गर्लफ्रेण्डलाई दिनु अपराध भएको उनको दाबी छ ।
उनको वीर्यबाट जन्मेको बच्चा नै अब दुई वर्षको भइसकेको छ भने सो बच्चाको पालनपोषणका लागि उनले खर्च दिनुपर्ने अवस्था निम्तिन सक्छ । यही त्रासका कारण उनले वीर्यचोर पूर्वगर्लफ्रेण्ड र चोर्न सघाउने क्लिनिकमाथि मुद्दा हाल्न लागेका हुन् ।

मस्तले सुत्नुस्, स्वस्थ रहनुस्
हिन्दीमा एउटा भनाइ छ– जो सोता है वो खोता है ! अर्थात्, जो सुत्छ उसले गुमाउँछ । यो धारणामा विश्वास गरेर तपार्इं कम सुत्न थाल्नुहुन्छ भने सचेत रहनुस्, तपाईंको स्वास्थ्य बिग्रन सक्छ । बेलायती शोधकर्ताहरूले हालै गरेको एक अध्ययनले यही दर्शाएको छ कि निद्रा पुगेन भने मानव शरीरको भित्री कार्यप्रणालीमा नकारात्मक प्रभाव पर्न सक्छ । साताभरमा जम्मा ६ घन्टा मात्र सुत्ने व्यक्ति पनि शोधकर्ताहरूले भेटेका थिए । तिनीहरूको शरीरको जिनमा सयकडौँ परिवर्तन आएको देखियो ।
प्रोसिडिङ्ग्स अफ नेसनल एकेडेमी अफ साइन्स जर्नलमा शोधकर्ताहरूले लेखेअनुसार हृदयरोग, मधुमेह, मोटोपन एवम् कमजोर दिमागजस्ता रोगहरू खराब निद्रासँग जोडिएका हुन्छन् । शरीरको पुनर्निर्माण तथा त्यसलाई चालू हालतमा राख्नका लागि निद्रा अत्यन्त जरुरी हुन्छ । अन्यथा मानिसलाई बिरामी बनाउने दिशामा लैजाने क्रममा तीव्रता पैदा हुन्छ । जो मस्तसँग निदाउँछ उसको स्वास्थ्य अवस्थामाथि निकै हदसम्म निश्चिन्त रहन सकिने विज्ञहरूको कथन छ ।

विवाहअघि सम्बन्ध राखेकोमा सय कोर्रा
माल्दिभ्समा एक पन्ध्र वर्षीया किशोरीलाई अदालतले सय कोर्राको सजाय सुनाएको छ । विवाहअघि नै यौन–सम्बन्ध राखेको आरोप प्रमाणित भएको भन्दै अदालतले सो सजाय सुनाएको हो । उनलाई आठ महिनासम्म एक बालगृहमा थुन्ने र १८ वर्षको उमेर पुगेपछि सय कोर्रा लगाउने सजाय कार्यान्वयन गरिने बताइएको छ । अचम्म त के छ भने ती किशोरीले आफ्नो इच्छाले यौन–सम्बन्ध राखेकी थिइनन् । आफूमाथि आफ्नै सौताने बाबुले यौन शोषण गरेको कुरा असैह्य भएर उनैले सार्वजनिक गरेकी थिइन् । झड्केला बाबुले आफूलाई गर्भवती तुल्याएर बच्चासमेत मारिदिएकोप्रति उनको गुनासो थियो । तर, किशोरीको यो गुनासोले उनीमाथि बलात्कार भएको सावित नहुने सरकारी वकिलको तर्क छ । मानवअधिकारसम्बन्धी सङ्गठन एम्नेस्टी इन्टरनेसनलले निरपराध किशोरीमाथि दिइएको सजाय क्रूर, अपमानजनक र अमानवीय भन्दै आलोचना गरेको छ ।

बालिकालाई बनाइयो यौनदासी
दश–एघार वर्षको उमेर भनेको कुनै पनि बालिकाका निम्ति पुतलीसँग खेल्ने समय हो । तर, बेलायतजस्तो मुलुकमा जम्मा ११ वर्षकी बालिकालाई यौनदासी बन्न विवश तुल्याइएको घटना सार्वजनिक भएको छ । अक्सफोर्ड सिटीको अदालतमा यससम्बन्धी मुद्दाको सुनुवाइ सुरु भएको एजेन्सीहरूले जनाएका छन् । यस अपराधमा नौजना युवा संलग्न रहेको बताइएको छ । उनीहरूले ललाइफकाई एकपछि अर्को गर्दै ६ जना बालिकामाथि उक्त कुकृत्य गर्न भ्याइसकेका रहेछन् । घटनाको खुलासा गर्ने बालिकाले आफूलाई प्रेमिका बनाएको भनिएको तर त्यो कुरा झुटो रहेछ भन्ने पछि मात्र थाहा भएको अदालतसमक्ष बताएकी छिन् । ‘अहिले प्रेम गर्दै गरौँ तिमी १५ वर्ष पुगेपछि विवाह गरौँला’ भनेर यौनशोषण गर्ने पुरुषले आफूसँग भनेको किशोरीको भनाइ छ । प्रेमिकाका रूपमा आफूले पटक–पटक आफ्नो बालयौन समर्पण गरेको खुलासा गरेकी थिइन् । आफूलाई मदिरा सेवन गराएर सेक्स सम्बन्धमा रत्याउने गरेको बयान पनि उनले दिएकी छिन् । यसरी कलिला किशोरीलाई यौनदासीका रूपमा प्रयोग गर्नेहरूमा २७ वर्षका कमार जामिल, ३२ वर्षका अख्तर डोगरा, ३२ वर्षकै असद हुसेन, ३८ वर्षका मोहम्मद करार, ३३ वर्षका बसाम करार, २४ वर्षका मोहम्मद हुसेन, २७ वर्षका जिसान अहमद र २६ वर्षका बिलाल अहमद रहेका छन् ।