भारोत्तोलनका भरोसा बन्दै विपिन महर्जन

भारोत्तोलनका भरोसा बन्दै विपिन महर्जन


sportविपिन महर्जनको शारीरिक बनावट देखेर प्रशिक्षक जगदीश प्रधानले उनीमाथि आँखा गाडेका थिए । अग्लो र खाइलाग्दो भएकाले भारोत्तोलनमा केही गर्ने विश्वासका साथ प्रधानले विपिनलाई भारोत्तोलन खेलाडी बन्न प्रस्ताव राखेका थिए । ०५८ मा एसएलसी दिएका विपिनको सोख बास्केटबल खेलाडी बन्ने भए पनि अप्रत्यासित रूपमा आएको यो प्रस्तावले उनको मन दोमन भएको थियो । के गरूँ, कसो गरूँ भन्ने कुराको निर्णयमा पुग्न उनका लागि निकै कठिन भएको थियो । तर, एक मनले मोटोपन पनि घट्ने ज्यान पनि बन्ने भएकोले उनलाई भारोत्तोलनले आकर्षित गरेको थियो । तर, विडम्बना, विपिनलाई भारोत्तोलनको ‘भा’समेत थाहा नभएकाले उनी द्विविधामा थिए । पछि घरपरिवार र जगदीश गुरुको प्रेरणाले उनले भारोत्तोलन खेल्ने निर्णय गरेका थिए । जुन निर्णय आज उनका लागि सही सावित भएको छ । विपिन भारोत्तोलनको उदीयमान खेलाडीको रूपमा देखिएका छन् ।
०५८ सालमा भारोत्तोलनको बेसिक टे«निङ गरेका विपिनले पहिलो टे«निङमा नै भारोत्तोलनलाई आत्मसात् गरेका थिए । आफूभन्दा निकै दुब्ला–पातला साथीहरूले टे«निङ गरेको देखेर उनको आत्मविश्वास अझ बढेको थियो । आफूमा केही गर्नसक्ने विश्वास पलाएर आएको थियो । यसरी निकै मिहिनेतका साथ टे«निङ गरेका विपिनले दुई महिनाकै अवधिमै आफ्नो लक्ष्य भेट्टाउन सफल भएका थिए । अर्थात् उनी पूर्णरूपमा भारोत्तोलन खेलाडी बन्न सफल भएका थिए । ९४ केजी खुलातर्फ पहिलोपटक प्रतिस्पर्धा गरेका विपिनले उक्त प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका थिए । आफ्नो पहिलो सहभागितामै पदक जितेपछि निकै उत्साहित भएका उनी त्यसपछि अझ मिहिनेतका साथ प्रशिक्षणमा होमिएका थिए । नियमित प्रशिक्षण केही गर्नुपर्छ भन्ने भावनाले नै होला विपिनले अहिलेसम्म कुनै पनि प्रतियोगितामा पदकविहीन बन्नुपरेको छैन ।
मुलुकमा भारोत्तोलनका प्रतियोगिता निकै कम हुने भएकाले त्यसबेला सोचेअनुरूप अगाडि बढ्न नसकेको उनको गुनासो रहेको छ । अझ फाट्टफुट्ट हुने प्रतियोगितामा लोड बढी लिने कारणले उनको प्रदर्शनमा निकै उतारचढाव आएको थियो । जसले गर्दा उनी पटकपटक घाइते हुन पुगेका थिए । घाइते भएकै कारणले थुप्रै पटक उनले स्वर्ण पदकबाट विमुख हुनुपरेको छ । र, पनि कुनै पनि प्रतियोगितामा पदक विमुख भने हुनुपरेन । उनले राष्ट्रियस्तरमा थुप्रैपटक स्वर्ण पदक जितेर आफूलाई उदीयमान खेलाडीको रूपमा स्थापित गरेका थिए । ०६२ सालमा श्रीलङ्का आयोजना भएको दशौँ दक्षिण एसियाली प्रतियोगिता (साग) को छनोट चरणमा १०५ किलोग्राममा स्वर्ण पदक जितेर दशौँ सागका लागि छनोट भएपछि उनको खेलजीवनले कोल्टे फेरेको थियो । यसपछि उनी राष्ट्रियबाट अन्तर्राष्ट्रिय खेलाडीमा बढुवा भएका थिए ।
भारोत्तोलन खेल्न थालेको तीन वर्षकैै छोटो अवधिमा १०औँ सागमा प्रतिस्पर्धा गर्ने अवसर पाएका विपिनले । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता अनुभवको निकै कमीले गर्दा उनले दशौँ सागमा चौथो स्थानमै चित्त बुझाउनुपरेको थियो । उनले उक्त प्रतियोगितामा क्लिन एन्ड जर्कतर्फ एक सय २५ र स्न्याचतर्फ १०० किलोको भार उचालेर आफ्नो कीर्तिमान तोडे पनि पदक जित्नबाट भने चुकेका थिए । यो असफलतालाई निकै नजिकबाट आत्मसात् गरेका विपिनले त्यसपछि नवौँ सागका लागि दिनरात एउटै बनाएर कडा प्रशिक्षण गरेका थिए । तर दुर्भाग्य, प्रशिक्षणकै क्रममा घाइते भएपछि नवौँ सागमा पदक जित्ने उनको सपना अधुरै रहेको थियो । जसलाई उनी आफ्नो खेल जीवनको ‘कालो’ पाटोको रूपमा विश्लेषण गर्छन् । आफूले वर्षाैंदेखि गरेको मिहिनेत खेर गएकोमा उनी निकै चिन्तित थिए । ‘यदि एघारौँ सागमा आफूले प्रतिस्पर्धा गर्न पाएको भए पदक अवश्य जित्थेँ,’ विपिनले भने ।
भारोत्तोलन खेल्न थालेको छोटो अवधिमा पनि विपिनसँगै थुप्रै स्मरणयोग्य कुराहरू छन् । जसमा उनी श्रीलंकाको दशौँ सागमा घटेको घटनालाई कहिल्यै बिर्सन सक्तैनन् । विपिनले स्न्याचतर्फ सय किलो उचाले पनि त्यसलाई रेफ्रीले ‘नो लिपm्ट’को सङ्केत दिएपछि निकै विवाद भएको थियो । पछि मुख्य प्रशिक्षक पार्थसारथी सेन गुप्त र प्रशिक्षक तिलक रावलले रेफ्रीको उक्त निर्णयको प्रतिवाद गरेपछि ‘गुड लिफ्ट’ भएको थियो । यसरी उनले छोटो समयमा साग खेल्न पाउनुलाई सुखको क्षणको रूपमा लिएका छन् भने घाइते भएर दशौँ साग खेल्न नपाउनुलाई दु:खको क्षणको रूपमा लिएका छन् । जुन घटनाले अहिले पनि उनको मनलाई कताकता पोलिरहेका अनुभूति हुन्छ ।
एघारौँ साग खेल्न नपाएपनि १२औँ सागलाई विपिनले मुख्य तार्गेट बनाएका छन् । त्यसका लागि अहिले उनी निरन्तर प्रशिक्षणमा छन् । मिसन सागअन्तर्गत प्रशिक्षणमा रहेका विपिनले यसपटक सागमा पदक जित्ने कुरामा विश्वस्त छन् । विपिनले भने, ‘स्वर्ण पदक त भन्दिनँ, कास्य पदकचाहिँ अवश्य जित्छु ।’ यो मेरो विश्वास हो । यसपटक प्रशिक्षण राम्रो भएकाले पदक जित्ने कुरामा आफू निकै आशावादी भएको तर प्रतियोगिताको टुङ्गो नलाग्दा निराशा आएको बताए । आईओसीले भारतलाई प्रतिबन्ध लगाएपछि अहिले १२औँ साग कहाँ र कहिले हुने भन्नेबारे अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । यस्तो अवस्थामा पनि आफूले प्रशिक्षणलाई पहिलो प्राथमिकतामा राखेर निरन्तर प्रशिक्षण गरिरहेको बताएका छन् । १२औँ सागको पर्खाइमा बसेका विपिनले उक्त प्रतियोगितामा पदक जितेर मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा फैलाई राष्ट्रिय झण्डालाई विदेशी भूमिमा फहराउने लक्ष्य राखेका छन् ।
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लिगामेन्ट च्यातिएर डाक्टरले नखेल्न सल्लाह दिए पनि सहभागिता जनाएका विपिनले छैटौँमा रजत पदक जित्न सफल भएका थिए । छैटौँमा पाएको सफलतालाई निकै चुनौती र उपलब्धिपूर्ण ठानेका विपिनले भारोत्तोलन पावरगेम भएकाले यसका लागि डाइटको अत्यधिक भूमिका रहने बताएका छन् । निरन्तर प्रशिक्षणका लागि राम्रो डाइटको आवश्यकता पर्ने भए पनि नेपालमा ३० प्रतिशत मात्र भएको उनले बताए । तसर्थ सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले भारोत्तोलनलाई अन्य गेमसरह हेर्नु नहुने उनको राय छ । टेबुलटेनिस खेल्ने र भारोत्तोलन खेल्नेलाई एउटै डाइट दिन मिल्दैन । खेलअनुसारको एक्ट्रा डाइटको व्यवस्था गर्नुपर्छ । अर्को कुरा भारोत्तोलनका प्रतियोगिता निकै कम हुने भएकाले सङ्घले यसलाई मध्यनजर गरेर बढीभन्दा बढी प्रतिायोगिताको आयोजना गर्नु अहिलेको आवश्यकता भएको छ । अहिले टे«निङ राम्रो र निरन्तर भइरहेको छ तर कोसँग प्रतिस्पर्धा गर्ने त्यसबारे टुङ्गो लागेको छैन । तसर्थ खेलाडीको असली प्रतिभा जाँच्न प्रतियोगिता अधिक हुनु जरुरी भइसकेको छ ।
वर्तमान अवस्थामा नेपाल पुलिसबाट भारोत्तलन खेल्दै आएका विपिनले अब एजुकेसनअनुसारको दर्जा पाए मात्र त्यहाँबाट खेल्ने बताए । बीएमा अध्ययनरत उनी अहिले पुलिसमा सिपाही पदमा कार्यरत छन् । अन्तर्राष्ट्रिय खेलाडी र एजुकेसन भएर पनि सिपाहीकै दर्जा पाउनु न्यायसङ्गत नभएको भन्दै यदि त्यसमा सुधार नभए आफूले प्रहरी सेवा त्यागेर प्रशिक्षकको भूमिका सम्हालेर भारोत्तोलनको विकासमा लाग्ने बताए ।

हैबुङ डोजाङद्वारा तेक्वान्दो खेलको प्रदर्शन
सिन्धुपाल्चोकको हैबुङ गाविसस्थित हैबुङ तेक्वान्दो डोजाङले हालै एक विशेष कार्यक्रमकोे आयोजना गरी तेक्वान्दो खेलको प्रदर्शन गरेको छ । डोजाङप्रमुख रामकुमार तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तेक्वान्दोसँग सम्बन्धित विभिन्न कलाहरूको प्रदर्शन गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि तथा अन्तर्राष्ट्रिय प्रशिक्षक वसन्त पाण्डेले यस्तो विकट ठाउँमा पनि तेक्वान्दो खेलाडी देख्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै डोजाङका लागि सहयोग जुटाउने वाचा गरेका थिए । त्यस्तै विशेष अतिथिका रूपमा हैबुङ पुगेका नेपाली राष्ट्रिय टिमका कोरियन प्रशिक्षक क्वान योङदलले आफू पनि यस्तै विकट ठाउँमा जन्मिएको र तेक्वान्दो खेलेर नै यो अवस्थामा आइपुगेको बताएका थिए । प्रशिक्षक क्वानले गाउँबाटै राम्रो खेलाडी जन्मिने भन्दै सम्पूर्ण खेलाडीलाई मिहिनेतका साथ खेल्न आह्वान गरेका थिए । सो अवसरमा उनले तेक्वान्दोको नयाँ नियमबारे खेलाडीलाई जानकारी गराएका थिए । त्यस्तैै सोही कार्यक्रममा अतिथि प्रशिक्षक अशोक खड्काले हैबुङमा तेक्वान्दोलाई स्थापना गर्न आफूले निकै मिहिनेत गरेको बताउँदै भविष्यमा यहाँका खेलाडीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउने बताए । त्यस्तै डोजाङ प्रमुख रामकुमार तामाङले विभिन्न कठिनाइका बाबजुत पनि आफूले डोजाङ सञ्चालन गरिरहेको बताए । पहिले धेरै खेलाडी थिए, अहिले थोरै छन् तर पनि आफूले तेक्वान्दोलाई नै विशेष प्राथमिकतामा राखेर कार्य गर्दै आएको तामाङले भने ।

राप्रपा नेपालको खेलकुद सङ्घ गठन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको खेलकुद सङ्गठन ‘राष्ट्रिय खेलकुद सङ्घ, नेपाल’को फुटबलका पुराना गोलरक्षक लोकबहादुर शाहीको अध्यक्षतामा औपचारिक रूपमा गठन भएको छ । २४ सदस्यीय सङ्घमा विभिन्न खेलकुदसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता रहेको छ । सङ्घको पाँच उपाध्यक्षमा प्रताप अधिकारी (ब्याडमिन्टन), मणि शाह, अजितराज भण्डारी र रमेश शाही (फुटबल) र सञ्जीवकुमार शर्मा कराते रहेका छन् । महासचिवमा फुटबलका गणेश पाण्डे रहेका छन् ।
त्यस्तै सदस्यहरूमा फुटबलका मुकेश शाही, राजेश मानन्धर, जीवन लामा, मृगेन्द्र मिश्र, राजुमान तुलाधर, रवि महत, राजेश हमाल, सन्त माझी र कुमार महर्जन, माउन्टेनियरिङका सुश्री सुस्मिता मास्के र भिभाश्वरी राई, भारोत्तोलनका अनील पिया, बास्केटबलका सिकेन्द्र महर्जन, करातेका गोपाल खड्का, क्योकुसिनका प्रेमबहादुर लामा र फिफा सहायक रेफ्री विना श्रेष्ठ रहेका छन् ।
सङ्घको सल्लाहकारमा दमन बस्नेत र ओलम्पियन बक्सिङ खेलाडी उमेश मास्के रहेका छन् । सङ्घलाई शुभकामना व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् खेलाडी कमल थापाले खेलमा मात्र अनुशासन र समावेशी भएकोप्रति औल्याउँदै हारलाई स्वीकार गर्न सक्ने क्षमता भएको कुरा व्यक्त गरेका थिए । रापप्रा नेपालले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको र राप्रपा नेपाल सरकारमा आएमा खेलकुदमा आमूल परिवर्तन हुने विश्वास दिलाउनुभयो । यसका साथै अध्यक्ष थापाले खेलाडी तथा खेलकर्मीलाई सङ्गठनमा आबद्ध हुन आह्वान गरेका थिए ।

जिम्न्यास्टिक्स प्रशिक्षण कोर्स हुने
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद प्रतिष्ठानले सबैका लागि जिम्न्यास्टिक्स, नेपाल परियोजना र राष्ट्रिय विद्यालय जिम्न्यास्टिक्स महासङ्घको संयुक्त आयोजनामा चैत १७ गतेदेखि २४ गतेसम्म ‘सबैका लागि जिम्न्यास्टिक्स लेभल–१’ प्रशिक्षक प्रशिक्षण कोर्स काठमाडांैमा आयोजना हुने भएको छ । खेलहरूको माता भनेर जानिने जिम्न्यास्टिक खेलको विकास र विस्तार गर्ने र स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने कोर्समा स्कुल तथा संस्थामा कार्यरत जिम्न्यास्टिक्स, अन्य खेलकुद तथा क्रियाकलाप र नृत्यसँग सम्बन्धित शिक्षक÷शिक्षिका र प्रशिक्षकहरूको सहभागिता रहने सबैका लागि जिम्न्यास्टिक्स नेपाल परियोजनाका निर्देशक प्रकाशलाल श्रेष्ठले जानकारी गराएका छन् ।

प्रथम राष्ट्रिय क्लब लिग भलिबल हुने
नेपाल भलिबल सङ्घको आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबल यसै महिनाको अन्तिम साता हुने भएको छ । प्रतियोगिता चैत २६ देखि ३१ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङले जानकारी गराएका छन् । गत भदौमा राजधानीमा सम्पन्न प्रथम एनभीए कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषमा शीर्ष ६ तथा महिलामा शीर्ष चार स्थान हात पार्ने टिमले यो लिगमा सहभागिता जनाउने भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।
पुरुषतर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लब, विश्वविद्यालय, जी फोर स्पोर्टस् क्लब तथा पश्चिमाञ्चल भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् । महिलामा एपीएफ क्लब, नेपाल प्रहरी, न्यु डायमन्ड तथा पश्चिमाञ्चल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्ने बताइएको छ । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १ लाख ५० हजार, ७५ हजार र ४० हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई २५ हजार नगद दिइनेछ । त्यस्तै विभिन्न पाँच विधाका उत्कृष्टले समान पाँच–पाँच हजार नगद जित्नेछन् । लिग भलिबल सङ्घको यस वर्षको अन्तिम कार्यक्रम हो । लिगअघि तेह्रथुममा २७औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुनेछ ।

ब्याडमिन्टन अम्पायर वर्कसप सम्पन्न
काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनमा भएको ब्याडमिन्टन अम्पायर डेभलपमेन्ट वर्कसप सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा सहभागी अम्पायरलाई नेपाल ब्याडमिन्टन सङ्घका महासचिव रामजीबहादुर श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा महासचिव श्रेष्ठले प्रतियोगितामा अम्पायरिङको काम भइरहे तापनि प्रामाणिक रूपमा राष्ट्रिय अम्पायरको प्रमाणपत्र प्रदान गर्न नसकेकोप्रति दु:ख व्यक्त गर्दै काठमाडांै जिल्ला ब्याडमिन्टन सङ्घको कार्यको प्रशंसा गरेका थिए ।
चैत २० गतेदेखि आयोजना हुन गइरहेको ‘३६आँै राष्ट्रिय ब्याडमिन्टन च्याम्यिनसिप २०६९’लाई मध्यनजर राख्दै पहिलोपटक काठमाडांै जिल्ला ब्याडमिन्टन सङ्घले आयोजना गरेको कोर्समा भक्तपुर, काठमाडौं, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी ३० प्रशिक्षार्थीले विश्व ब्याडमिन्टन सङ्घद्वारा लागू नियमावलीबारे शिक्षित हुने मौका प्राप्त गरेका थिए । यसले आगामी दिनमा ब्याडमिन्टन प्रतियोगिताबीच हुने कमी–कमजोरीलाई हटाई मर्यादित रूपमा प्रतियोगिता सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको ‘३६औँ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप’का अध्यक्ष एवम् आयोजक काठमाडांै जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापाले बताए ।

खेलकुदमन्त्री श्रेष्ठद्वारा पदवहाली
नवनियुक्त युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले हालै पदवहाली गरेका छन् । पदवहालीपश्चात् मन्त्री श्रेष्ठले युवा शक्तिलाई देश विकासको अभियानमा बढाउनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय जगत्मा मुलुकलाई चिनाउने खेलकुद सशक्त माध्यम भएको र यसमा रहेका कमी–कमजोरीलाई निराकरण गर्नुपर्नेमा जोड दिएका थिए । ‘विश्वका अन्य मुलुकले खेलकुदमा राम्रो गरिरहेका छन् । त्यसका लागि पर्याप्त बजेट र खेलाडीलाई उत्कृष्ट तालिम दिन जरुरी छ,’ उनले भने, ‘म यसका लागि सक्दो प्रयास गर्छु ।’ मन्त्री श्रेष्ठले ओलम्पिक कमिटीको विवादलाई मिलाउन अझ गहन रूपले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए । श्रेष्ठले खेलाडीको समस्या थ्रुप्रै भएको बताउँदै खेलाडी र सम्बन्धित संस्थालाई कसरी बढाउन सकिन्छ ठोस योजना ल्याउनुपर्ने विचार व्यक्त गरेका थिए ।
‘मेरोतर्फबाट तपाईंहरूको अधिकार क्षेत्रमा अतिक्रमण हुन्नँ’ पदवहालीपश्चात् मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीको भेलालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘उत्कृष्ट नतिजा आउने गरी काम गर्नुस् । म सहयोग गर्न तयार छु ।’ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिएको ओलम्पिक कमिटीको कार्यक्रममा सहभागी नहुन परिषद्ले निर्देशन दिए पनि केही सङ्घले उल्लङ्घन गर्दै आएको अवगत गराए । उपाध्यक्ष तिम्सिनाले मन्त्री श्रेष्ठको कार्यकाल स्वर्णिम बनाउन परिषद् हातेमालो गरी अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले ओलम्पिक कमिटीको विवादले काम गर्न असजिलो भएको बताउँदै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न जग्गा खोजी भइरहेको जानकारी दिएका थिए । पदवहालीअघि परिषद्का पदाधिकारी र कर्मचारी, मन्त्रालयका कर्मचारीहरूले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए ।

‘स्पोर्टस्म्यानसिप स्पिरिट’ राजनीतिक क्षेत्रमा हुनुपर्छ : गच्छेदार
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसी र एसियाली खेलकुदकी पदक विजेता सीताकुमारी राईलाई नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासङ्घले सम्मान गरेको छ । महासङ्घको उद्घाटनका अवसरमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले पदक विजेताद्वयलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । जितबहादुरले सन् १९७३ मा फिलिपिन्समा भएको एसियाली ट्रयाक एन्ड फिल्डमा कास्य जितेका थिए । सीताले जापानको हिरोसिमामा भएको १२औँ एसियाली खेलकुदअन्तर्गत करातेमा कास्य हात पारेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गच्छदारले खेलकुदमा राजनीति गर्न नहुने बताउँदै आफ्नो पार्टीको भ्रातृ संस्थाको रूपमा स्थापना भएको महासङ्घले पनि राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष गच्छदारले नेपाली राजनीतिक क्षेत्रमा खेलकुदको जस्तै ‘स्पोर्टस्म्यानसिप स्पिरिट’को भावना हुनुपर्नेमा जोड दिँदै खेलाडीले खेल हार्दा पनि अङ्कमाल गर्ने गरेको उदाहरण दिँदै राजनीतिमा पनि त्यसको अनुशरण गर्नुपर्ने बताए । उनले भने, ‘खेलमा जस्तै राजनीतिमा पनि हारजित हुन्छ, जितलाई सहज रूपमा स्वीकार गरेजस्तै हारेको व्यक्तिलाई पनि प्रतिनिधित्व गराउँदै अगाडि बढ्नुपर्छ ।’ उनले पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले खेलकुदका भ्रातृ सङ्गठनहरू खेलकुदको हितका लागि तयार गरिने नीति, नियमलगायत अन्य कार्यमा एकीकृत भएर अगाडि बढ्न सके खेलकुदको विकास सम्भव हुने बताए । नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासङ्घका अध्यक्ष काजीमान श्रेष्ठले खेलकुदबाट राजनीति गर्न नभई खेल क्षेत्रको विकास गर्ने उद्देश्यले महासङ्घ गठन गरिएको बताए । कार्यक्रममा नवगठित महासङ्घका पदाधिकारीलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेश्वरीलाई तेक्वान्दो उपाधि
दोस्रो काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि विजेश्वरीले जितेको छ । ६ स्वर्णसहित विजेश्वरी टिम च्याम्पियन बनेको हो । ब्वाइज युनियन तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा सीतापाइला तेक्वान्दो डोजाङ दोस्रो भयो । सीतापाइलाले पाँच स्वर्ण जितेको थियो । चार स्वर्ण जितेको आयोजक ब्वाइज युनियन तेक्वान्दो डोजाङ तेस्रो स्थानमा रह्यो । ढल्कु तेक्वान्दो डोजाङका सुरज बोगटी उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई समाजसेवी एवम् काभ्रे जिल्ला लोकतान्त्रिक फोरमका सदस्य टोकन लामाले पुरस्कार प्रदान गरेका थिए भने प्रतियोगिताको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य एवम् खेलकुद विभाग प्रमुख गणेश लामाले उद्घाटन गरेका थिए । त्रिपुरेश्वरमा भएको दुईदिने प्रतियोगितामा १९ टिमका तीन सय चार खेलाडीले १९ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक राजेन्द्र खत्रीले जनाएका छन् ।

जुनियर टेनिस चैतको तेस्रो सातादेखि
जेटीआई जुनियर खुला राष्ट्रिय टेनिस प्रतियोगिता आगामी चैत १९ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा आयोजना हुने उक्त प्रतियोगितामा दुई सय ५० जना खेलाडीले सहभागिता रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा ब्वाइज, गल्र्स दुवै समूहमा यू–९, यु–१०, यू–१२, यू–१४, यू– १६ र यू–१६ डबल्सको प्रतिस्पर्धा हुनेछ । जुनियरलाई लक्षितगरी वर्षको तीनपटक प्रतियोगिता हुँदै आएको स्मरण गराउँदै सङ्घका अध्यक्ष मनोज राणाले यो वर्षदेखि कलेजस्तरमा पनि सुरु गर्ने बताए । राणाले नेपालका युनियर खेलाडी एसियाली जुनियर बरियता क्रममा रहेकाले यो प्रतियोगिताले उनीहरूको वृद्धि विकासमा अझ टेवा पुग्ने बताए । झन्डै चार लाख खर्च हुने यो प्रतियोगिताको केसा ग्रुपको मुख्य प्रायोजक र श्रीमान्–श्रीमती वसन्त माथेमा सहप्रायोजक रहेका छन् ।