रङको पर्व र राजनीतिको रङ

रङको पर्व र राजनीतिको रङ


sampadakeeyaभनिन्छ, रङहरूले जीवन जिउने कला सिकाउँछ, रङले माया गर्न पनि सिकाउँछ, रङ र जीवनको समागम वा सम्भोगबाट नै स्वस्थ, सबल र समृद्ध सिर्जना सम्भव छ, जीवनको उत्कर्ष भन्नु पनि एकप्रकारले रङ नै हो । यसर्थ, रङ र जीवनको सम्बन्ध आदिम समयदेखिकै हो । थरीथरीका रङको आ–आफ्नै अर्थ र महत्व रहने भएकाले सबै रङ उत्तिकै आवश्यक र एक–अर्कामा परिपूरक पनि छन् । जस्तोसुकै भए पनि सबै रङ हामीलाई चाहिन्छ, सबै जीवन हामीलाई चाहिन्छ ।
हो, उपरोक्त अवधारणाअनुसार नै नेपाली समाज यतिबेला रङको पर्व ‘होली’ (फागूपर्व)मा रमाइरहेको छ । विशेषगरी तराई–मधेसवासीको अत्यन्त प्रिय र उमङ्गको पर्व भए पनि पहाडमा समेत होलीको रङले गाढा प्रभाव पारेको छ । अर्थात्, प्रत्येक नेपालीका लागि यो रङ्गीबिरङ्गी उमङ्गको पर्वले उत्तिकै छुन थालेको छ । विकृत र क्लेषयुक्त राजनीतिले विषाक्त तुल्याएको नेपाली समाजका लागि रङ (होली) एक–अर्कालाई जोड्ने प्रभावशाली माध्यम बन्दै आएको अनुभूति गरिन्छ । सामान्य मनमुटाव, अविश्वास र असहमतिदेखि शत्रुतापूर्ण सम्बन्धसम्मको कठोर साँध–सीमा तोडेर विश्वास, मेलमिलाप र मित्रताको साँघु या सम्बन्ध–सेतुको निर्माणमा फागुपर्वले विशेष भूमिका निर्वाह गरिरहेको छ ।
त्यसो त रङ र राजनीति नितान्त फरक पाटोका फरक शब्द या विषय हुन् । तर, मानवजीवनमा रङको महत्वलाई मिहिनतापूर्वक नियाल्दा यी दुवैलाई एकै पेटारोमा राखेर घोल्नैपर्ने हुन्छ । अझ हाम्रोजस्तो असहमतिको राजनीतिले खग्रास तुल्याएको परिवेशमा त रङलाई राजनीतिको मिश्रण हरदम अपरिहार्य नै छ भन्दा अत्युक्ति ठहरिन्न । किनकि, राजनीतिले उजाड तुल्याइदिएको प्रत्येक नेपाली मनमा उमङ्ग पैदा गर्न यो एक अत्यन्त सहज र प्रभावी माध्यम बन्न सक्छ ।
फागुपर्वको सन्दर्भ–परिवेशका कारण मात्र उपरोक्त शब्द व्यक्त गरिएका होइनन् । वास्तवमा सहमतिको दिशामा गएको भनिएको नेपाली राजनीतिले अझै पनि सहमति र विश्वासको मार्ग पहिल्याइनसकेको कतिपय दश्य–परिदृश्यले छर्लङ्ग पारिरहेकै छन् । येनकेन एउटा पक्षलाई सहमत गरायो अर्को पक्ष बिच्कने, अर्कोलाई तह लगाउन भ्याएको छैन फेरि अर्को झन् चर्कोसँग तर्कने उच्चाटलाग्दो खेल यहाँ जारी देखिन्छ । विपरीत ध्रुवमा उभिएका काङ्ग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाजस्ता प्रमुख राजनीतिक शक्तिहरू बल्लतल्ल सहमति निर्माण गरी निर्वाचनको बाटोमा लाग्दै गर्दा उता मोहन वैद्यले नेतृत्व गरिरहेको माओवादीसहितका कैयन साना दल चुनाव हुनै नदिने उद्घोषका साथ आन्दोलित बनेका छन् । यता शीघ्र निर्वाचन हुने वातावरण निर्माणका लागि निर्वाचन आयोगलाई घच्घच्याइँदै छ भने उता गाउँ–जिल्लातिरबाट मतदाता नामावली सङ्कलनमा जुटेका कर्मचारीका कम्प्युटर लुटेर खेदिएका समाचार प्राप्त हुँदै छन् । एक पक्षले अपरिहार्य ठानेको विषय अर्कोका लागि अनावश्यक, एउटाले ग्राह्य ठानेको कुरा अर्कोको निम्ति अमान्य, कसैका लागि नभइनहुने त कसैका लागि त्यही कुरा हुनै नहुने विडम्बनाकारी प्रसङ्गहरू फेरि पनि उजागृत हुन थालेका छन् । यस्तै सन्दर्भले गर्दा नै हो सहमति र मेलमिलापको दरकार देखिएको सन्दर्भ छेड्नुपरेको पनि । होलीलाई सौहार्दता, मेलमिलाप, सहमति र समृद्धिको पर्वका रूपमा जीवनसँग नै अन्योन्याश्रित रहेकोमा विश्वास गर्ने प्रत्येक राजनीतिक शक्तिले यतिबेला एकपटक फेरि प्रतिबद्धता जनाउनु आवश्यक छ कि राजनीति जीवनका लागि हुनुपर्छ न कि विनासका खातिर, अनि जीवनका लागि सिर्जना, विकास वा समृद्धिको उत्तिकै दरकार पर्छ र यी कुराहरूका लागिचाहिँ सहमति, सद्भाव, विश्वास र ऐक्यबद्धताको राजनीति अपरिहार्य हुन आउँछ । सधैँ विपरीत र विमतिको कुरा गरेर हामी नेपालीले कहिलेसम्म अवनतिको मार्ग पछ्याइरहने ? एकले अर्कोलाई छिर्के मारेर को कहिले उठ्ने, दौडने र गन्तव्यमा पुग्ने ? जनता, समाज र राष्ट्रलाई डो¥याउने उद्देश्य बोकेका व्यक्ति, समूह, दल वा अन्य कुनै पनि शक्तिले यो नबुझेका होइनन् तर कुन दुर्उद्देश्यले फेरि पनि विमति र विद्रोहका लागि उक्साइरहेछ त ? यो प्रश्नमा घोत्लिएर अब प्रत्येकले सकारात्मक निचोडमा आफूलाई पु¥याउनैपर्छ । फागुपर्वले सम्झाएका यी सवाल वा प्रसङ्ग हाम्रो परिवेशमा हरदम सान्दर्भिक छन्, जिम्मेवार राजनीतिक तह–तप्कालाई हरपल हेक्का रहोस् ।