हमालको ५० लाखको फाउन्डेसन

हमालको ५० लाखको फाउन्डेसन


funtimeनायक राजेश हमाललाई एउटा आरोप बारम्बार लाग्ने गरेको छ । त्यो हो– उनी सामाजिक बन्नै सकेनन्, पैसाका लागि मात्र काम गर्छन् र पैसा पायो भने जहाँ, जस्तो अवस्थामा पनि आफ्नो उपस्थिति जनाउँछन् । पैसाकै लागि काम गर्ने हमाल असामाजिक बन्दै गइरहेका छन् भन्ने अनेकौँ आरोप खेपिरहेका र यस्तै–यस्तै कारणले गर्दा कुनै सामाजिक कार्यक्रमतिर पनि बाक्लो उपस्थिति उनको हुन छोडेको थियो ।
तर यसै हप्ता महानायक राजेश हमालले सबैलाई चकित पार्ने र सबैबाट वाहवाही पाउने एउटा गजवको सामाजिक कार्य गर्ने अठोट गरे । उनको यो सोच अनि योजनाले अहिले हमालको उचाइ र उपस्थिति झनै अग्लिएको छ । कलाकारिता क्षेत्रमा लागेको करिब २५ वर्षपछि हमालले पहिलोपटक सामाजिक कार्य गर्ने उद्देश्यले ‘राजेश हमाल फाउन्डेसन’को स्थापना गरेका छन् । आफूलाई असामाजिक व्यक्ति भनेर आफ्नो धज्जी उडाउनेहरूलाई हमालले यो फाउन्डेसन खोलेर नराम्ररी थप्पड हानेका छन् । उनले भने। ‘कसैलाई देखाउन वा सुनाउन र कसैको मुख टाल्नका लागि यो फाउन्डेसनको स्थापना गरेको होइन मैले । सामाजिक क्रियाकलापमा सहभागी हुन र आफ्नोतर्फबाट दीनदु:खीहरूलाई सहयोग गर्न सकिन्छ कि भनेर यो फाउन्डेसनको सोच आएको हो,’ उनले भने ।
हमालले यो फाउन्डेसनमा अहिले आफ्नोतर्फबाट ५० लाख जम्मा गरेका छन् भने अन्य दाताहरूबाट पनि रकम आउने आश्वासन पाएको कुरा उनले बताएका छन् । गरिब, जेहेनदार तथा आत्मविश्वासी जोकोहीको क्षमता विस्तार र अभिवृद्धिका लागि फाउन्डेसन लाग्ने भएको छ । हमालले राजेश हमाल फाउन्डेसन व्यक्तिगत नभएर सामाजिक भएकाले जो पनि यसमा सहभागी हुन सक्ने कुरा बताए । ‘देश तथा विदेशमा रहनुभएका नेपालीलाई फाउन्डेसनमा सहभागी हुन म आह्वान गर्दछु,’ उनले भने ।

दर्शकले किन थुके पुजानालाई
नाम ठूलो कि दाम ठूलो ? इज्जत हुनेहरू, भविष्य देख्नेहरू र सकारात्मक सोच भएकाहरूका लागि त नाम नै ठूलो हो । तर, केही यस्ता पनि छन् जो भविष्यको बारेमा सोच्दैनन् र तुरुन्त जवाफ दिइहाल्छन् दाम ठूलो ।
दामलाई सर्वोपरी ठान्ने र दाम पाएपछि कलाकारिताको नाममा जे गर्न पनि तयार हुने एउटी युवती हुन् पुजाना प्रधान तर अहिले पुजाना स्त्री । दार्जिलिङकी पुजनाको काठमाडौं प्रवेशपछि बोलीचाली, लवाइखवाई मात्र होइन कि नाम पनि फेरियो । तर, सोच भने फेरिएन । त्यही सोचकै कारण एउटै चलचित्र ‘हिरो’बाट चलचित्रमा प्रवेश गरेकी पुजना र रेखामध्ये आज पुजना हजारका लागि मरिमेटिरहेकी छिन् तर रेखा लाखौँमा खेल्छिन् । यस्तो चर्चा र दामका लागि सिनेमामा जस्तो दृश्य पनि दिने पुजना यतिबेला भने दर्शकहरूबाट टाढिएकी मात्र छैनन् कि अहिले उनको पोस्टरमा नै दर्शकहरूले थुक्न थालेका छन् । कुरा चलचित्र ‘रक्षा’को हो । काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा ‘रक्षा’ हेर्न आएका अधिकांश दर्शकले फिल्म हेरेर फर्किएपछि पोस्टरमा नग्न रूप देखिएकी पुजनालाई थुकेका दृश्य निकै हेर्न लायकको थियो । ‘अब त यस्तीको कुनै पनि फिल्म हेर्नुहुन्न । यस्तो फिल्म बनाउने निर्माता पवन बस्नेत र निर्देशक राजु गिरीलाई पनि धिक्कार छ ।’ त्यही हलमा लागेको अर्को चलचित्र ‘रिदम’लाई दर्शकहरूले स्वीकार गरेको र रक्षालाई बहिष्कार गरेको दृश्य हेर्न लायकको थियो । यस्ता केही ‘सी गे्रड’का चलचित्रका कारण पनि स्वच्छ नेपाली चलचित्रलाई पनि असर पर्ने गरेको कुरा यतिबेला बहसको विषय बनेको छ । चलचित्र रक्षामा पट्यारलाग्दा करिब पाँच मिनेटको बेडसिन दिँदा पुजनाको अनुहारमा कुनै सङ्कोच र ग्लानि झल्केको छैन । बरु उत्साहित भएर त्यस्ता दृश्य दिएकी छिन् । नयाँ कलाकारले पनि नखेलेको यो रोल पैसाका लागि पुजनाले खेलेको कुरा भने पक्का भएको छ ।

अब विदेशमा नेपाली च्यानलहरू
तपाईं विदेशको कुन कुनामा हुनुहुन्छ ? अनि तपाईंलाई नेपालका टेलिभिजनहरू हेर्ने इच्छा छ । तर, तपाईंको त्यो इच्छा पूरा भइरहेको छैन । अब अनात्तिनुस् ! तपाईंहरूको त्यो इच्छा पूरा गर्न एउटा युवा जमात लागिपरेको छ ।
लामो समयदेखि बेलायतमा प्राविधिक पक्षबाट आफ्नो समूहलाई बलियो बनाउँदै अगाडि बढेको बेलायतमा नै बसोबास गर्ने नेपालीद्वारा सञ्चालित गोर्खा टेलिभिजनले विदेशमा रहेका नेपालीसक्षम नेपालको विभिन्न टेलिभिजन च्यानल पु-याउँदै छ । ‘हामी अहिले अन्तिम तयारीमा छौँ । केही नेपाली च्यानलसँग सम्झौता भएको छ भने केहीसँग हुँदै छ । कानुनी रूपमा नै यो काम गर्दै छौँ,’ बेलायतबाट अमन गौचनले भने । बेलायतमा मुख्य कार्यालय रहेको गोर्खा टेलिभिजनले ती च्यानलहरू सिंगापुरबाट प्रसारण गर्ने भएको छ ।
गैरकानुनी रूपमा नेपालमा च्यानलहरू डाउनलोड गरेर प्रसारण गर्ने वेबसाइटहरूलाई पनि आफ्नो च्यानलले कानुनी दायरामा ल्याउने र केही रकम भए पनि नेपाली च्यानललाई दिने उद्देश्य हाम्रो हो,’ गोर्खा टेलिभिजनका गौचनले भने । आफ्नो यो कार्य विशुद्ध रूपमा विश्वभर छरिएर रहेका नेपालीमाझ नेपाली कला, भाषा र संस्कृतिको प्रचार गर्ने भएको कुरा उनले बताए । अमनका अनुसार बेलायतमा नेपालीको पहुँच रहेका विज्ञापनलाई पनि नेपालबाट प्रसारण गर्न गोर्खा टेलिभिजन लाग्दै छ । यसको अलावा यो समूहले नेपाली चलचित्रलाई बेलायतमा देखाउने र त्यसबाट उठेको रकम निर्मातालाई उपलब्ध गराएर आर्थिक राहत पनि दिँदै आएको छ ।