इन्द्रेणीहरु

इन्द्रेणीहरु


indreniदेव मरेको यो गाउँ– पुरुषोत्तम ढकाल
सूर्य छोपियो हिजो
दिन नरमाइलो भो
सूर्योदय आज
जगत् घमाइलो
मन नै रमाइलो
कति फरक छ
सायद मान्छेका हकमा पनि
देवजस्तै आकृति भएको मान्छेको उपस्थितिमा
उस्तै हुनुपथ्र्यो जस्तो सूर्योदयको ।

जिन्दगी भन्नु पनि यस्तै रहेछ
जस्तो सूर्योदय र सूर्यास्त
उदय प्रारम्भ र अस्त अन्त्य
परिवर्तन शाश्वत सत्य
जन्म जवानी र मृत्यु
त्यही परिवर्तनलाई
भन्छ मान्छे रगत देऊ र जिन्दगी देऊ
भन्छ देवले मागेको छ, युगले मागेको छ
यो महा झुट हो
मान्छेको छल र जाल
मान्छे मार्ने चाल ।

दिएकै छन् नि ईश्वरले अपार यो धर्ती
र पनि पसिना चुहाउने भोकै छ
नङ्ग्रा खियाउने रोएकै छ
दया, माया र प्रेमको भो कुरै नगरूँ
यत्रतत्र सर्वत्र
देवतुल्य मान्छेको मरेतुल्य हाल छ
देवको यो रचना देवकै नजरमा बेहाल छ
र त्यही घरमा, त्यही ठाउँमा
सूर्योदय उज्यालो र चम्किलो छ
तर त्यही घरमा, त्यही ठाउँमा
हजारौँ तन र मन जलिरहेको छ
त्यही सूर्यको राप र तापको ज्वालामा
ऊसँगै उसको गाउँ र ठाउँ बलिरहेको छ ।।

त्यस्तै छु भन्छ मान्छे
जस्तो सूर्योदय
र आफू बाँच्नुको पुरुषार्थमा
भन्छ दुर्जनहरू मरे
हे मूर्ख मनुवा
मृत्यु त मोक्ष हो
अहो भाग्य सूर्यको तापले
उनीहरू गए मोक्षमार्गमा सूर्योदयको रापले
यता भोकै थिए
बाँच्न नपाएर चिच्याउँदै रोएकै थिए
उता गए, भोक छाडेर, रोग छाडेर
देव मरेको यो गाउँ, यो ठाउँ छाडेर
विभाजनको विषुवत रेखा तोडेर
चिरनिद्रामा
स्वर्णिम यात्रामा …।।
– ढिकुरेबजार, नुवाकोट
हाल : उडब्रिज, भर्जिनिया, संयुक्तराज्य अमेरिका

रक्सी– मोतीराज बम
लगातार
तीन दिनसम्म वाकवाकी लाग्यो
टाउको दुख्यो, रिंगटा लाग्यो
र हनहनी ज्वरो आयो
बिचरी श्रीमती आत्तिएर छट्पटिई
बिचरा बच्चाहरूका आँखा टिलपिलाए
सज्जन साथीहरूले
एक पेग फेरि खानु खुमरी उत्रिन्छ भने
मैले पनि
खान छोडिनँ रक्सी खाइरहेँ निस्फिक्री
कविता लेख्दा पनि, कथा लेख्दा पनि
खेत खन्दा पनि, भाषण गर्दा पनि
कसले खान्न र ? रक्सी
प्रदीप गिरी, मनमोहन भट्टराई
सीके लाल, खगेन्द्र सङ्ग्रौला
भन्दै रहेँ परिवारलाई
मान्छेको उचाइ
विवेकले होइन रक्सीले पो नपिँदो रहेछ ।
रक्सीलाई कुलिनता ठानेर
बेपरवाह, बेहिसाब, बेस्सरी पिइरहे
र सोचिरहे
साला ! खसीको मिर्गाैला, भुटन, मुटु र कलेजोसँग
कुखुराको साँग्रा, बँदेलको फिलासँग
म खाँदै छु रक्सी ।
तर
रक्सी खाँदाखाँदै
म रित्तिएको, म सिद्धिएको
थाहै रहेनछ मलाई
म भ्रममा रहेछु बिल्कुल भ्रममा
रक्सीले मेरो मिर्गाैला, मेरो मुटु, मेरो कलेजो र
मेरो भुटनसँग
मलाई पो खाइरहेको रहेछ ।
एक दिन
भट्टीबाट कसैले उठाएर
सहिद गंगालालमा पु-याएछ
होस खुलेपछि सफेद शøयाबाट
विनयभावमा भगवान कोइरालालाई भनेँ
डाक्टर भगवान मेरो मुटु बचाइदेऊ !
कहिल्यै नरिसाउने डाक्टर भगवानले
क्रोधित हुँदै कडा शब्दमा भने
तिम्रो मुटु अब कुनै भगवानले बचाउन सक्दैन
मात्र रक्सीले बचाउँछ
फेरि भट्टीमा जाऊ दुई–चार पेग अरू लगाऊ ।