प्रचण्ड आत्मसमर्पणवादी रहेछन्– मोहन वैद्य ‘किरण’

प्रचण्ड आत्मसमर्पणवादी रहेछन्– मोहन वैद्य ‘किरण’


kiran० सरकारले तपाईंहरूलाई चुनावविरोधी गतिविधि गर्न छोडेर वार्तामा आउन आग्रह गरेको छ, तर तपाईंहरू वार्तामै नबस्ने कुरा गरिरहनुभएको छ, किन ?
– हामी रेग्मी सरकारसँग वार्तामा बस्न सक्दैनौँ । चार दलको सिन्डिकेटद्वारा निर्देशित जुन सहमति भएको छ, यो प्रतिगमनकारी कदम हो । यो नसच्चिएसम्म हामी वार्तामा बस्दैनौँ भनेर स्पष्ट पारिसकेकै छौँ ।
० यसरी वार्तामै नबसिदिएपछि कसरी सहमति हुन्छ, कसरी कुरा मिल्छ र कसरी चुनाव सम्भव हुन्छ त ?
– सैद्धान्तिक रूपमा भन्नुपर्दा त वार्तामा बस्नै हुन्न भन्ने कुरा आउँदैन, त्यसैले निरपेक्ष रूपमा वार्तामा बस्दै बस्दैनौँ भन्न खोजेको होइन । अहिलेको स्थितिमा वार्तामा बस्ने अवस्था छैन । आरोप लगाएजस्तो चुनाव भाँड्ने पक्षमा पनि हामी होइनौँ । तर, चुनावकै सम्भावना नभएको अवस्थामा यस्ता वार्ताले के हुन्छ र ? चार दलको सिन्डिकेटले यस ढङ्गले चुनाव गराउन सक्ला भन्ने कल्पना नै हामीले गरेका छैनौँ ।
० निर्वाचनको विकल्पै छैन भनी सबैले भनिरहेको अवस्थामा चुनाव हुनै सक्दैन भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ ?
– निर्वाचनको विकल्प छ भनेर त हामीले पनि भनिरहेका छैनौँ । तर, निर्वाचन गराएर नयाँ संविधान बनाउने भन्ने कुराभन्दा पनि देशलाई फासीवादतिर लैजाने प्रक्रिया अगाडि बढाउन रजनीतिक दलहरू अग्रसर भएको हाम्रो बुझाइ छ । हिजो चार दलको सरकारले त चुनाव गराउन सकेन भने अब निर्दलीय सरकारले के चुनाव गराउला ? यो सम्भव छैन ।
० प्रमुख दलका नेतृत्वले त यही सरकारले चुनाव गरेर देखाउँछ भनेर विश्वास व्यक्त गरिरहेका छन् नि त ?
– भन्ने काम त सजिलो कुरा हो, भनिहाल्छन्, काम गरेर देखाउन पो सक्नुप-यो । बाहिर–बाहिर भनेका मात्र हुन् तर कसैको पनि असारमा चुनाव गराउने मनसुवा छैन, यो लेखेर राख्नुस् ।
० तपाईंहरूले गर्दा चुनाव नहोला जस्तो छ भनी कतिपयले भन्न थालेका छन्, यदि निर्वाचन भएन भने तपाईंहरू दोष लिनुहुन्छ ?
– गर्न नसक्ने उनीहरू दोष हामीले किन लिने ? हामीले दोष बोक्नुपर्ने त सवालै रहन्न नि । हामी त साँच्चीको चुनाव होस् जसले मुलुकका सबै क्षेत्रको समस्या सम्बाधेन गरोस् भन्ने चाहिरहेका छौँ । चुनावको डङ्का मात्र पिटाउने तर मनसायचाहिँ अर्कै–अर्कै राख्नेहरूले पो कुरा बिगारे त । नेपालले निकास पाओस् भनी हृदयदेखि हामी लागिरहेका छौँ तर उल्टै हामीलाई वातावरण बिथोल्न लागेको आक्षेप लगाइँदै छ । वातावरण बिथोल्ने त उनै पार्टीहरू नै हुन् । बाबुरामजीले संविधानसभा नै विघटन गरिदिएपछि वातावरण बिग्रन थालेको हो । मङ्सिरमा चुनाव गराउँछु भन्नुभयो– सक्नुभएन । अरूले नै निर्दिष्ट गरेअनुसार वर्तमान सरकार बनेको छ । यस्तो सरकारले निर्वाचन गर्न सक्दैन, गाह्रो छ भनेर मैले किन भनेको भने जनयुद्धबाट आएको शक्तिलाई उपेक्षा गर्दै आत्मसमर्पणवादी तप्कालाई मात्र साथ लिएर अर्थात् माओवादी आन्दोलनको मूलधारलाई पन्छाएर हिँड्न खोजेपछि निर्वाचन सम्भव हुने त कुरै भएन नि ।
० प्रचण्डजी त नेपालको मुख्य मूलधारको माओवादी कम्युनिस्ट पार्टी भनेकै एमाओवादी हो भन्नुहुन्छ नि त, होइन र ?
– मुखले भनेर सन्तुष्टि लिन पाइहाल्नुहुन्छ नि उहाँले । व्यवहारमा के देखिएको छ, मूलधारको कम्युनिस्ट पार्टीको व्यवहार यस्तै आत्मसमर्पणवादी हुन्छ त ? मूलधार हुनका लागि त त्यहीअनुकूलको सही राजनीति हुनुप-यो, सही विचार हुनुप-यो, सही सिद्धान्त हुनुप-यो । त्यत्तिकै मूलधार कसरी हुन्छ ?
० एमाओवादीका नेताहरूले तपाईंहरू चुनावमा नगए पनि केही फरक पर्दैन, चुनाव हुन्छ भनिरहेका छन् नि ?
– हामीलाई निषेध गरेर चुनावको कल्पना कसैले गर्छ भने त्यस्ता व्यक्तिलाई के भन्ने खै ! त्यो काम असम्भव छ ।
० सरकारले बल प्रयोग ग-यो भने ?
– त्यसरी बल प्रयोग गरेर हुने चुनावहरू त भइरहन्छन् । पञ्चायती व्यवस्थामा पनि हुन्थे त्यस्ता चुनाव, तर हामीले किन आन्दोलन गरिरहनुप-यो त ? बलजफ्ती गरेको चुनावले निकास दिन्छ त ? हामीले उठाएका जनताका मुद्दालाईचाहिँ कहाँ मिल्काउने नि ? सबैलाई चित्त नबुझेसम्म जतिवटा चुनाव भए पनि देशले निकास त पाउँदैन, जनताले सुखशान्ति त पाउँदैनन् । अनि के गर्ने ? समस्याको समाधान निकाल्नका लागि पो चुनाव गर्ने हो त समस्या बल्झाउन त होइन नि । सत्ताले बल प्रयोग गर्छ भन्ने हामीलाई थाहा छ तर जनताको आकाङ्क्षाविपरीत गएर बल प्रयोग गर्ने सत्ताहरू दीर्घकालसम्म टिक्दैनन् । त्यसैले बल प्रयोग गरेर निर्वाचन गराउने प्रयत्न बेकार हुनेछ ।
० त्यसो भए रेग्मी सरकारले गरिरहेको चुनावी पहलसँग तपाईंहरू सहमत हुनुहुन्न, होइन त ?
– हामी मात्र होइन हाम्रा सहयात्री दलहरू थुप्रै छन्, उपेन्द्रजी, अशोक राईजीहरू सबै यो प्रक्रियामा हुनुहुन्न । यत्रो शक्तिलाई पाखा लगाएर कसरी चुनाव हुन्छ, कसरी त्यसले निकास दिन्छ ?
० तपाईंहरू चुनावमा आउनका लागिचाहिँ सरकारले के–के गरिदिनुपर्ने हो त ?
– एक नम्बरमा त चैत १ गतेको आदेश र त्यो आदेशका लागि भए–गरिएका सहमतिहरू सबै खारेज गरिनुपर्छ । अर्को नम्बरमा सबै दलहरूको सर्वपक्षीय बैठक बसाल्नुपर्छ, त्यो बैठकले दलहरूबीचबाट नयाँ प्रधानमन्त्री खोज्नुप-यो र अनि त्यस्तो सहमति गर्नुप-यो जसका आधारमा साँच्चै नयाँ नेपाल निर्माण हुनसक्छ, यस्ता छलछामपूर्ण सहमति खारेज हुनुप-यो । यस्तो अवस्थामा मात्र निर्वाचन हुन सक्छ, निर्वाचनमा जान सकिन्छ । कसैलाई काखा र कसैलाई पाखा लगाएर त यो प्रक्रिया अघि बढ्न सक्दै सक्दैन ।
० यस्तो हो भने त कुरै मिल्दैन नि किरणजी ?
– त्यही त ! कुरै नमिल्ने देखिरहेको छु म पनि । कुरा मिलाउनै नखोज्नेहरू हाबी भएपछि कसरी कुरा मिल्छ त ? अनि कुरा नमिल्ने भएपछि हामी कसरी यो नक्कली चुनावमा होमिन सक्छौँ त ? उहाँहरू गलत बाटो अवलम्बन गरिरहनुभएको छ, हामी बाटो सुधारेर अगाडि बढ्न चेतावनी दिइरहेका छौँ । यसरी गलत बाटो हिँड्नेहरूसँग हामी सती गइदिनुपर्छ भनेर कसैले जिरह गर्दैमा हामी पतनको बाटोमा लाग्नैपर्ने भन्ने त छैन होला नि ! मनपरी ढङ्गले संविधानका २२–२५ वटा धारा बदलेर आफूखुसी हिँड्न खोज्नेहरूलाई हामीले लाहाछाप ठोकेर सदर गरिदिनुपर्ने ? उहाँहरू ‘गल्ती ग-यौँ’ भन्दै आउनुपर्छ अनि मात्र नयाँ प्रक्रियाको सुरुवात हुन्छ । गल्ती हामीले होइन उहाँहरूले गरेको हुनाले उहाँहरू त्यो स्वीकार गरेर आउनुपर्छ ।
० दलहरूले त आफ्नो कमजोरी स्वीकार गरेर प्रधानन्यायाधीशलाई चुनावी सरकारप्रमुख बनाएर जिम्मेवारी दिइसके नि ?
– त्यसरी नसकेरै जिम्मेवारी सुम्पिएका हुन् भने अब ती दलहरूको यो मुलुकमा के काम त ? विघटन गरेर बसे हुन्छ नि । यी सबले सन्न्यास लिएर हिँडुन्, यसले मुलुक र जनताको कल्याण गर्छ । निर्दलीय परिपाटीमा देशलाई होमिसकेपछि वास्तवमा यिनीहरूको के काम छ त अब ? यिनीहरूले आफूलाई ठूला र शक्तिशाली भनेर गफ लगाउनु बेकारको कुरा भएन त अब ?
० खिलराज रेग्मीलाई नियन्त्रण गर्न त दलहरूकै संयन्त्र छ नि, कसरी दलको काम छैन भन्नुहुन्छ ?
– त्यो संयन्त्रको संवैधानिक अधिकार के छ र ? केही पनि अधिकार छैन, उहाँहरू त अब सेरेमोनियल भइसक्नुभयो । अधिकारवाला त खिलराज रेग्मी र राष्ट्रपति रामवरण यादव मात्रै बाँकी रहे । राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्ष अधिकारसम्पन्न हुन् भने यी चार दलका नेतृत्व सेरमोनियल मात्रै हुन् । हेर्दै जानुस्, समयले यो सिद्ध गराएर छोड्छ ।
० चार दलका नेताहरूको कुरा खिलराज रेग्मीले मानिरहनुभएको छ त ?
– एकछिनलाई या केही समय त मान्नु पनि होला, तर दलका नेताहरूले आफ्नो सबै बुझाइसकेका छन् । त्यो शक्ति रेग्मीजीमा सरिसकेको छ, अब विस्तारै शक्ति देखाउन थाल्नुहोला रेग्मीजीले । ती दलहरूले त आफूलाई पनि पङ्गु बनाए अरू राजनीतिक शक्तिहरूलाई पनि अप्ठ्यारोमा पु-याइदिए, फेरि अधिकारका लागि थप लड्नुपर्ने बनाइदिए । आफूहरू त निषेधमा परे–परे हामीलाई पनि निषेधको गर्तमा धकेल्ने कुचेष्टा गरे उनीहरूले । ध्वंसवादीहरूले बर्बाद नै पारिदिए ।
० दलका नेताहरूले गरेपछि सबै काम–कुरा भएकै छन् नेपालमा, सबैले स्वीकार गरिहाल्छन्, तपाईंले यस्तो कुरा गरेर के गर्ने ?
– सबैले स्वीकार गर्ने भए हामीले विरोध गरिरहेकोचाहिँ के हो त ? यत्रो ठूलो शक्ति विरोधमा छ र पनि नदेखेझैँ गरेर कसको हित हुन्छ भनेको ? हेर्नुहोला जनता अब सडकमा आउनुपरेपछि कसरी आउँछन् !
० चुनावविरोधी अभियानलाई कुन जनताले साथ दिन्छन् भनेको ?
– हाम्रो अभियान चुनावविरोधी अभियान होइन भनेर म कतिपटक भनूँ ? नक्कली चुनाव पो हुनुभएन, समस्या समाधान गर्न नसक्ने चुनाव फजुलमा किन गरिरहने भन्ने पो हाम्रो कुरा हो त, चुनाव नै चाहिन्न भनेर हामीले कहिले कहाँ भन्यौँ ? नौटङ्कीको विरुद्ध पो अभियान हो त हाम्रो चुनावविरोधी त होइन नि । चुनाव भन्दै नौटङ्की गर्न थालेपछि टुलुटुलु कसरी हेरिरहने हामीले ?
० जनतामा मत लिन जाने कुरा कसरी नौटङ्की भयो ? तपाईंहरू पनि सरिक हुनुस्, जनताले तपाईंहरूको कुरा सुनेर, मानेर, पत्याएर मत दिएछन् भने त तपाईंहरू नै आफ्नो एजेण्डा लागू गरेर शासन गर्न सक्नुहुन्छ नि, किन जनतालाई गुमराहमा पार्न खोज्नुहुन्छ ?
– निर्वाचनका लागि निर्वाचन गर्ने त होइन नि, साँच्चै संविधान बनाएर देशलाई अघि बढाउने प्रयत्न पो गर्नुप-यो । यसो नगरेपछि नौटङ्की नभनेर के भन्ने त ? हामी चुनावबाट भाग्ने शक्ति होइनौँ, भागेका छैनौँ । तर, यो गलत प्रक्रिया खारेजी गरियोस् भन्ने हाम्रो कुरा जायज छ । तानाशाही र फासीवादतिर जाने बाटो नसच्याएसम्म हामी नक्कली चुनावको फन्दामा किमार्थ फस्न चाहन्नौँ ।
० प्रचण्ड त आफूलाई चमत्कारी व्यक्ति ठान्नुहुन्छ, साँच्चै चुनाव भएर चमत्कार देखाइदिनुभयो भने नि प्रचण्डले ?
– ठीक कुरा गर्नुभयो, प्रचण्ड फगत चटके र आत्मसमर्पणवादी रहेछन् । प्रचण्डजीले के–के चमत्कार देखाउनुभयो र के–के अझै देखाउने सुर कस्दै हुनुहोला । उहाँको चमत्कारले नै मुलुक आज यस्तो अप्ठ्यारोमा फस्न पुगेको छ । यस्ता चटके कुराले देश र जनताको भलो गर्छ कि रसातलमा पु-याउँछ ? जब तार्किकता, बौद्धिकताबाट गिरेर मान्छे चमत्कारको कुरा गर्न थाल्छ तब पतनको बाटो खन्यो भनेर बुझ्नुस् ।
० तपाईंहरू आफ्नो नवगठित पार्टीलाई जनतामा चिनाउन मात्रै यो प्रोपोगण्डा गरिरहनुभएको छ पनि भन्छन् नि विश्लेषकहरू त ?
– यो बेकारको कुरा हो । हामीले आफूलाई प्रोपोगण्डा गरेर चिनाइरहनु आवश्यक छैन । आमशोषित–पीडित जनताले हामीलाई चिनेका छन् । प्रोपोगण्डा गरेर बस्ने न हामीलाई फुर्सद छ न त्यस्तो गर्न हामीजस्तो जिम्मेवार पार्टीलाई शोभा नै दिन्छ । चारदलीय सिन्डिकेटले प्रदर्शन गरिरहेको जबर्जस्तीपनको विरोध गर्नु कसरी प्रोपोगण्डा हुन्छ ?
० जबर्जस्ती त तपाईंहरूले पो गरिरहनुभएको छ त, मतदाता नामावली सङ्कलन गर्न गएका कर्मचारीहरूमाथि किन दुव्र्यवहार गर्दै हुनुहुन्छ तपाईंहरू ?
– हामीले दुव्र्यवहार गरेका होइनौँ बरु तिनै चार दलले नै दु:ख दिएका हुन् । गलत कामको अवरोध गरेका हौँ कर्मचारीलाई दु:ख दिएका होइनौँ ।
० तपाईंहरू खिलराज रेग्मीको सरकार रहेसम्म यस्तै अवरोध गरिरहने त्यासो भए ?
– यसरी हुँदैन भनेको सरकार नै रहिरहे त के–के हुन्छ के–के हेर्दै जानुस् । अहिले देखिएका त सामान्य सङ्केत मात्रै हुन् । हाम्रो माग सम्बोधन भएन भने उहाँँहरूले चुनाव गराउन सक्नुहुन्न, जनताले चुनाव रोक्नेछन्, ढुक्क हुनुस् ।

मिति नसर्नेगरी तोकिन्छ : नीलकण्ठ उपे्रती :प्रमुख निर्वाचन आयुक्त
० सबैले भनिसक्दा पनि निर्वाचन आयोगले असारमा निर्वाचन हुन सक्दैन भनेर किन भन्न नसकेको ?
– निर्वाचन आयोगले असारमा निर्वाचन हुँदैन भनेर भन्ने बेला भएको छैन । सबै दलहरूको चाहना छिटोभन्दा छिटो गर्नुपर्छ भन्ने छ । निर्वाचनमा जाने र लोकतान्त्रिक प्रक्रियालाई जीवन्त राख्ने उनीहरूको चाहना एकदमै पवित्र छ । त्यसैले हामी निर्वाचनको तयारीमा जुटेका छौँ । तर, निर्वाचनको तयारी गर्नु एकदमै जटिल विषय हो । निर्वाचनसम्बन्धी ऐन बनाउने विषयमा हामीले दुई–चार दिन खर्चिनुप-यो । ऐनबिना अगाडि बढ्न सक्ने अवस्था थिएन । अब हामीले त्यो गरेर मन्त्रिपरिषद्मा पठाएका छौँ । राष्ट्रपतिले अध्यादेशमार्फत जारी गरेपछि मतदाता नामावली सङ्कलनमा देखिएको अवरोधलाई हेरेर हामी निर्वाचनका लागि यति दिन चाहिन्छ भनेर भन्छौँ । अहिले नै भन्ने विषय होइन । असार पहिलो साता निर्वाचन सम्पन्न गर्न समय साँघुरो भइसक्यो, चुनौतीहरू धेरै छन् । त्यसैले अवस्था हेरेर केही दिनमै यो विषयमा औपचारिक धारणा सार्वजनिक गर्छौं ।
० निर्वाचन आयोग मङ्सिरमा निर्वाचन गर्ने गरी तयारीमा जुटेको हो ?
– हामीहरूले अहिले असारमा निर्वाचन हुँदैन भनेर भनेका छैनौँ । असारमा निर्वाचन गर्न समय धेरै साँघुरिँदै गइरहेको छ । हामी अब सर्तसहितको कार्यतालिका सरकारलाई बुझाउँछौँ । जुन किसिमको निर्वाचनको परिकल्पना हामीले गरेका छौँ त्यसका लागि असारको समय साँघुरो हुन थालिसकेको छ । ऐन बनिसकेपछि र बाहिरको अवस्थाको मूल्याङ्कन गरेर समय तोक्छाँै । दुई–चार दिनमै मतदाता नामावली सङ्कलनको वातावरण बन्यो, जनतासँग सहज रूपमा जाने वातावरण बन्यो भने गर्न सकिन्छ । त्यस्तो सम्भावना रहेकोले निर्वाचन आयोग नबोलेको हो । असहज अवस्था आयो भने निर्वाचन आयोग बसेर सबै कुराको आँकलन गरेर सरकारलाई समय सिफारिस गर्छौं ।
० सरकारलाई कहिलेसम्म कार्यतालिका बुझाउनुहुन्छ ?
– धेरै दिन लाग्दैन । हामीहरूले ऐन कुरेका थियौँ । ऐन सरकारलाई पठाइसकेका छौँ । त्यो अध्यादेशबाट जारी भएपछि करिब पाँच दिनको अवधिमा हामी कार्यतालिका बनाएर सबै कुरा स्पष्ट पार्छांै । दलहरूको कुरामा एकमत अहिलेसम्म आउन नसकेको कुरा सञ्चारमाध्यमले नै प्रस्ट बनाइसकेका छन् । अब धेरै दिन नलगाई वास्तविकता जानकारी दिन्छाँै ।
० असारमा निर्वाचन हुन नसक्नुको कारण के–के हुन सक्छन् ?
– सरकारले निर्वाचनको मिति तोकेको छैन । सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन सक्दैन भनेर निर्वाचन आयोगले भन्न मिल्दैन । त्यही पनि पहिलो कारण निर्वाचन आयोगको गठनमै ढिलाइ भयो । हामीले निर्वाचनका लागि १२० दिन भन्ने गरेका थियौँ । पछि जबर्जस्ती ९० दिनमा झा-यौँ अब त्यो पनि रहेन । निर्वाचनसम्बन्धी ऐन आएपछि १२० दिन चाहिने हो । निर्वाचन आयोगले जसरी निर्वाचन गर्न चाहेको छ त्यसका लागि यति छोटो समयमा सम्भव थिएन । तथापि प्रयास गरेर देशलाई लोकतान्त्रिक प्रक्रियामा ल्याउन धेरै ढिला भयो भनेर हामीले प्रक्रियाहरू छोट्याएर चौबीसै घन्टा काम गरेर गरौँ भनेका हौँ । तर, जनतालाई राति बोलाउन सकिँदैन, बाढीमा बोलाउन सकिँदैन । जनतालाई कार्यालय समयभन्दा अघिपछि बोलाउन गाह्रो हुन्छ । यी सबै कारण हुन् । मुख्यचाहिँ छोटो समय नै हो । नागरिकता पाउनुपर्ने व्यक्तिले नागरिकता नपाएसम्म, मतदाता नामावली सङ्कलन नभएसम्म निर्वाचनमा जानु भनेको प्रत्येक नेपालीको अधिकारलाई सुनिश्चित गर्न नसकेको ठहरिन्छ । यो प्रक्रियामा समय लाग्ने देखिएको छ । प्रक्रिया पूरा गर्ने काममा बाधा अवरोध पनि देखिएको छ ।
० त्यसो भए अब सार्न नपर्ने गरी मिति घोषणाको तयारीमा हुनुहुन्छ ?
– निर्वाचन बारम्बर सारिरहनु हुँदैन । सार्दाखेरि त्यसमाथिको विश्वास रहँदैन । त्यसैले निर्वाचनको मिति नसर्ने किसिमले तोक्नुपर्छ । अब गरिने निर्वाचन राम्रोसँग व्यवस्थित रूपमा गर्नुपर्छ । सबैले परिणाम स्वीकार गर्न सक्ने स्थितिमा मात्र निर्वाचन गर्नुपर्छ । यस विषयमा सम्झौता गरिनुहुँदैन ।
–ऋषि धमला