(सन्दर्भ जङ्गबहादुर राणाको २०५औँ जन्मजयन्ति)
नेपालप्रति जङ्गबहादुरको प्रेम र उनले गरेका कार्यहरू इतिहासमा बिर्सन नसकिने खालका छन् । जङ्गबहादुरकै कारण सुगौली सन्धिमा गुमेका जमिन नेपालले वि.सं. १९१७ मा फिर्ता पायो । नेपाल र भारतबीचको सीमाना स्पष्ट पार्न उनले ‘जङ्गे स्तम्भ’हरू स्थापना गरे जसले देशको सार्वभौमिकता जोगाउन मद्दत गऱ्यो ।
✍ रमेश राई

नेपालको इतिहासमा कतिपय ब्यक्तित्व यस्ता छन् जसको प्रभाव उनीहरूको जीवनकाल भन्दा धेरै परसम्म फैलिएको छ । यस्तैमध्येका एक नाम हो- जङ्गबहादुर राणा । नेपालको इतिहासमा कहिल्यै बिर्सन नसकिने शक्तिशाली र दूरगामी प्रभाव छाडेका एक ऐतिहासिक पात्र हुन् उनी, जसलाई बिर्सेर आधुनिक नेपालको निर्माण र सीमानाको बहस पूरा हुन सक्दैन ।
वि.सं. १९०३ को रक्तपातपूर्ण ‘कोत पर्व’बाट सत्ताको शिखरमा उक्लिएका जङ्गबहादुर राणा आज पनि इतिहास र आम मानिसका बीच उत्तिकै आलोचना, प्रशंसा र चर्चाका पात्र हुन् । कसैका लागि उनी नेपालको सार्वभौमिकता जोगाउने दूरदर्शी नेता हुन् भने कसैका लागि राजा र दरबारको घाँटी निमोठेर १०४ वर्षे निरंकुश जहानियाँ राणा शासनको जग बसाल्ने संस्थापक हुन् ।
जङ्गबहादुरको शासनकालमा नेपाली सेनाको संगठनलाई थप बलियो बनाउने तथा राज्यको नियन्त्रणलाई प्रभावकारी तुल्याउने कामहरू गरिएका थिए । उनले १९०६ मा बेलायत भ्रमण गरी नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्धलाई नयाँ उचाईमा पु ऱ्याउन ठुलो योगदान दिएका थिए । इतिहासकारहरूका अनुसार जङ्गबहादुर राणा आधुनिक प्रशासनिक सुधारका अग्रदुत थिए भने अर्कोतिर सीमित परिवारभित्र सत्ता केन्द्रित गरी निरंकुश शासन व्यवस्थाको आधार तयार गर्ने शासक पनि थिए । नेपालको इतिहासमा जङ्गबहादुर राणाको भूमिका आज पनि अध्ययन, बहस र अनुसन्धानको महत्वपूर्ण विषय बनेको छ । उनको शासनकालमा देशको राजनीतिक, प्रशासनिक र सामाजिक संरचनामा गहिरो प्रभाव पारेको तथ्य इतिहासका पानाहरूमा स्पष्ट रुपमा अंकित छ ।
वि.सं. १८७४ असार ४ मा पिता बालनरसिंह कुँवर र माता रक्षा कुमारीबाट अर्धाखाँचीमा जन्मिएका वीर नरसिंह कुँवरको बाल्यकाल र युवावस्था निकै उत्तरचढाव र संघर्षले भरिएको थियो । उनी सम्पन्न परिवारमा जन्मेका भएतापनि राजनीतिक परिवर्तनका कारण चरम गरिबी र संकटको सामना गर्नुपरेको थियो । भीमसेन थापाको पतनपछि बालनरसिंहको जागीर खोसियो । पिताजीको जागिर र सम्पति दुवै गुमेपछि भोकभोकै बस्नुपर्ने र खर्च चलाउनका लागि भौंतारिनुपर्ने अवस्था आयो । आर्थिक समस्याका बीच उनमा जुवा खेल्ने लत बस्यो । जुवामा टाट पल्टिएका जङ्गबहादुर ठुलो ऋणमा डुबे र ऋण तिर्न नसक्दा साहुहरूको डरले उनी काठमाडौंबाट भागेर जागिरको खोजीमा तराई र भारतसम्म भौंतारिएका थिए । तराईमा रहँदा ऋण तिर्नका लागि जङ्गबहादुरले जंगली हात्तीहरू समात्ने र तिनलाई बेच्ने निकै जोखिमपूर्ण काम गरे । त्यो काम ज्यान नै जान सक्ने खालको थियो, तर त्यो कामले उनलाई शारीरिक रुपमा बलीयो र साहसी बनायो । साहुहरूको ऋण तिरेपछि उनी पुनः काठमाडौं फर्किए र सेनामा सानो पदबाट जागिर सुरु गरे । राजा राजेन्द्र र रानी राज्यलक्ष्मीको मन जित्न जङ्गबहादुरले कयौँ साहसिक कामहरू गरे, जस्तै – त्रिशुली नदीमा घोडासहित हामफाल्ने, बौलाहा हात्तीलाई नियन्त्रणमा लिने र धरहराबाट हामफाल्ने ! यस्ता कार्यले उनलाई राजा राजेन्द्र, रानी राज्यलक्ष्मी र दरबारको नजरमा पाऱ्यो र बिस्तारै जङ्गबहादुरको शक्ति बढ्दै गयो ।
जङ्गबहादुर राणा शारीरिक रुपमा निकै बलिया, फुर्तिला र असाधारण रुपमा साहसी थिए । दरबारको नजरमा पर्न र राजा–रानीको मन जित्न उनले ज्यानकै बाजी राखेर अद्भूत एवम् खतरनाक स्टन्टहरू गरेका थिए । राजा राजेन्द्र विक्रम शाह र युवराज सुरुन्द्र सिकार खेल्न नुवाकोट जादा जङ्गबहादुर पनि साथै थिए । सनकी स्वभावका सुरेन्द्रले जङ्गबहादुरको साहसी परीक्षा लिन त्रिशुली नदीको अग्लो भिरबाट घोडासहित नदीमा हामफाल्ने आदेश दिए । जङ्गबहादुरले कत्ति आपत्ति नमानी ‘हवस् सरकार’ भन्दै घोडाको आखाँमा पट्टी बाँधे र सिधै उर्लंदो त्रिशुलीमा हाम फाले । जङ्गबहादुरको साहस र कुसल पौडीकला देखेर युवराज सुरेन्द्र छक्क र स्तब्ध भएका थिए भनिन्छ ।
त्यसैगरी युवराज सुरेन्द्रले एकपटक जङ्गबहादुरलाई काठमाडौं सुन्धरामा रहेको धरहराबाट हामफाल्ने आदेश दिए, जुन सरासर आत्मघाती आदेश थियो । उक्त आदेशलाई पनि सहजै स्विकार गरी आफ्नो साहस र बुद्धिमत्ताले युवराज सुरेन्द्रको मन जितेका थिए । दरबारको एउटा ठुलो हात्ती बहुलाएर नियन्त्रणबाहिर जाँदा, त्यसले शहरमा आतङ्क मच्चाउन थालेपछि त्यस हात्तीलाई मार्ने वा नियन्त्रण गर्ने कसैको हिम्मत भइरहेको थिएन । तर, बिना हतियार जङ्गबहादुरले हात्तीको पुच्छरबाट चढ्दै टाउकोमा पुगे, हात्तीको कानको पछाडि अंकुश लगाएर आफ्नो बल प्रयोग गरी गुड्गुडाएर हात्तीलाई पुर्ण रुपमा नियन्त्रणमा लिए । यो दृश्य देख्ने दरबारका सबै मानिसहरू चकित भएका थिए । आफ्नो ज्यानको बाजी राख्ने साहसिक कार्यले गर्दा नै जङ्गबहादुर साधारण सैनिकबाट बिस्तारै युवराज सुरेन्द्रको अङ्गरक्षक र रानी राज्यलक्ष्मीको विश्वासपात्र बन्न सफल भए, जसले उनलाई सत्ताको शिखरमा पुऱ्यायो ।
जङ्गबहादुर राणा सत्ताको शिखरमा पुग्न उनको साहस, चतुऱ्याइँ, आवश्यकताअनुसारको षड्यन्त्र र राजनीतिक सुझबुझले भूमिका निर्वाह गरेको पाइन्छ । दरबारको आन्तरिक कलह र कमजोरीको फाइदा उठाउँदै तत्कालिन समयमा राजा राजेन्द्र, रानी राज्यलक्ष्मी र युवराज सुरेन्द्रबीच शक्तिको लडाइँलाई जङ्गबहादुरले उल्लिखित तीनै पक्षलाई एकअर्काविरुद्ध उचालेर र सबैको विश्वास जितेर आफ्नो शक्ति बढाएका थिए । १९०२ मा रानीको आदेशमा आफ्नै मामा तत्कालीन प्रधानमन्त्री माथवरसिंह थापाको गोली हानी हत्या गरे र उनले रानीको चरम विश्वास जितेर नै सेनाको उच्च पद हासिल गरे । रानीको सबैभन्दा प्रिय शक्तिशाली भारदार गगनसिंहसँग जङ्गबहादुरले सुमधुर सम्बन्ध बनाएका थिए । रानीको शक्ति र गगनसिंहको सामिप्यताको प्रयोग गरेर उनले दरबारभित्र आफ्ना विरोधीहरूलाई कमजोर पार्ने रणनीति लिए । गगनसिंहको रहस्यमय हत्यापछि जङ्गबहादुरले रानीलाई उक्साएर सबै भारदारहरूलाई कोतमा जम्मा गर्न लगाए । पहिले नै हतियारसहित आफ्ना सैनिकहरूलाई तयारी अवस्थामा राखेर सुनियोजित रुपमा दरबारका दिग्गज भारदारहरूको १९०३ मा कत्लेआम गराएर (कोत पर्व) आफू मुख्तियार (प्रधानमन्त्री) बने । यसकारण जङ्गबहादुर अतन्तै चतुर, षड्यन्त्रकारी र अवसरवादी राजनीतिक खेलाडी थिए भन्न सकिन्छ ।
एतिहासिक भ्रमणपछि नै जङ्गबहादुरले बेलायतको शक्ति बुझे र ‘अंग्रेजसँग कहिल्यै युद्ध नगर्ने तर मित्रता कायम राखेर फाइदा लिने’ नीति लिएका थिए, जसका कारण नेपालले गुमाएको जमिन बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाउन सफल भयो ।
कोत पर्वपछि रानीले आफ्नो छोरालाई राजा बनाउन जङ्गबहादुरलाई आदेश दिइन्, तर रानीको आदेशलाई जङ्गबहादुरले अस्वीकार गरे । त्यसपछि रानीले जङ्गबहादुरको हत्या गर्ने योजना बनाइन् र भण्डारखालमा भोजनको आयोजना गरिन् । जङ्गबहादुरले पहिले नै सुइँको पाएर उल्टै रानीका समर्थकहरूको नरसंहार गरे र रानीलाई देश निकाला गरिदिए । रानी राज्यलक्ष्मीलाई पछ्याउँदै बनारस गएका राजा राजेन्द्रले जङ्गबहादुरविरुद्ध सेना उठाएर नेपाल फर्कने प्रयास गरे, तर जङ्गबहादुरले अलौ भन्ने ठाउँमा राजाको सेनालाई हराए र राजा राजेन्द्रलाई भक्तपुर दरबारमा आजीवन बन्दी बनाइ युवराज सुरेन्द्रलाई राजा घोषणा गरे । यसरी वीर नरसिंह कुँवर ‘जङ्गबहादुर राणा’ देशको सर्वेसर्वा बने र राजाचाहिँ खोपाको देवता ! राजा सुरेन्द्रकी छोरीहरू, आफ्ना छोरा जगतजङ्ग र जितजङ्गसँग र आफ्नी छोरी राजा सुरेन्द्रका छोरा युवराज त्रैलोक्यसँग विवाह गराएर खोपाका राजालाई सम्धी मात्र नबनाइ जंगबहादुरले राजाको मन जितेर जङ्गबहादुर राणा ‘श्री ३’ महाराजको उपाधिसमेत लिन सफल भए ।
जङ्गबहादुर राणा श्री ३ प्रधानमन्त्री भएपछि उनले नेपालको हित, प्रशासनिक सुधार र सीमा सुरक्षाका लागि कयौँ महत्वपूर्ण कामहरू गरे । आफ्नो चतुर कुटनीतिको बलमा उनले ब्रिटिस इस्ट इण्डिया कम्पनीबाट नेपालको गुमेको जमिन समेत फिर्ता गराए । वि.सं. १८७३ को सुगौली सन्धिमा नेपालले झण्डै एक–तिहाइ भूभाग ब्रिटिस इस्ट इण्डिया कम्पनीलाई सुम्पनुपरेको थियो । वि.सं. १९१४ मा भारतमा ब्रिटिस शासनविरुद्ध ‘सिपाही विद्रोह’ भयो । ब्रिटिस सरकार संकटमा परेपछि जङ्गबहादुर आफैं नेपाली सेनाको नेतृत्व गर्दै लखनाउसम्म पुगेर अंग्रजहरूलाई त्यो विद्रोह दबाउन मदत गरे । नेपाली सेनाको यो सहयोगबाट खुसी भइ ब्रिटिस सरकारले सन् १८६० नोभेम्बर १ मा नेपालसँग एउटा सन्धि गऱ्यो । उक्त सन्धिबमोजिम सुगौली सन्धिमा गुमेका नेपालको तराईका पश्चिमी चारवटा जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरे । नेपालको नक्सामा पुनः जोडिएका यी चार जिल्लाहरूलाई इतिहासमा ‘नयाँ मुलुक’ भनेर चिनिन्छ, जसले नेपालको अर्थतन्त्र र भूगोलमा ठुलो योगदान पुऱ्याएको छ ।
वि.सं. १९०३ मा कोत पर्व, भन्डारखाल पर्व, रानीलाई देश निकाला, राजालाई आजीवन बन्दी र युवराजलाई खोपाको राजा बनाइ सत्ताको शिखरमा पुगेर श्री ३ प्रधानमन्त्री बनेपछि जङ्गबहादुर आफ्नो सत्ता बलियो बनाउन चाहन्थे । त्यस समय भारतमा ब्रिटिस इस्ट इण्डिया कम्पनीको साम्राज्य तीव्र रुपमा फैलिरहेको थियो र जङ्गबहादुरले बुझेका थिए कि यदि नेपालको अस्तित्व जोगाउने र आफ्नो शासन सत्ता टिकाउने हो भने ब्रिटिस सरकारसँग सिधा र बलियो मित्रता राख्नुपर्छ । त्यसैले उनले बेलायत जाने योजना बनाए । जङ्गबहादुर राणाको बेलायत भ्राणको सन्दर्भमा उनी आफैले बेलायत जाने प्रस्ताव राखेका थिए र त्यसपछि मात्र ब्रिटिस सरकारले उनलाई औपचारिक निमन्त्रणा पठाएको थियो । यो कुनै अचानक भएको यात्रा थिएन, बरु जङ्गबहादुरको एक चतुर राजनीतिक कुटनीति थियो । जङ्गबहादुरले काठमाडौंमा रहेका ब्रिटिस रेजिडण्ट (राजदुत) मार्फत ‘म नेपालको राजाको तर्फबाट बेलायती महारानी भिक्टोरियालाई भेट्न र दुई देशको सम्बन्ध सुधार गर्न बेलायत भ्रमण गर्न चाहन्छु’ भन्ने प्रस्ताव पठाएका थिए । जङ्गबहादुरले पठाएको प्रस्ताव, भारतका तत्कालीन ब्रिटिस गभर्नर जनरल लर्ड डलहौजी र लण्डनमा ब्रिटिस सरकारबीच छलफलपश्चात ब्रिटिस सरकारले नेपालका नयाँ र शक्तिशाली प्रधानमन्त्री कस्ता छन्, उनीहरूको नीति के छ भनी बुझ्न उत्सुक थिए र जङ्गबहादुरको प्रताव स्विकार गरेका थिए ।
जङ्गबहादुर बेलायत जानका लागि मरिहत्ते गर्नुका पछाडि केही राजनीतिक कुटनीतिहरूले काम गरेको थियो । जङ्गबहादुर ब्रिटिस शक्तिको असली रुप हेर्न र अंग्रजहरूको सैन्य क्षमता एवम् त्याँको कलकारखानाहरू आफ्नै आँखाले हेर्न चाहन्थे । उनी अंग्रेजहरू कति शक्तिशाली छन् र उनीहरूसँग युद्ध गर्दा नेपाललाई के-कस्ता घाटा हुन्छ भन्ने कुराको प्रत्यक्ष आँकलन गर्न र विश्वलाई यो देखाउन चाहन्थे कि नेपाल इस्ट इण्डिया कम्पनीको अधीनमा रहेको भारतका स-साना राज्य होइन, बल्की नेपाल एक पूर्ण स्वतन्त्र र सार्वभौम राष्ट्र हो । औपचारिक रुपमा जङ्गबहादुर वि.सं. १९०६ मा भारतको पटना र कलकता हुँदै ‘पिएण्डओ हेड्रस’ नामक पानीजहाज चढेर बेलायत यात्रामा निस्केका थिए । यो एतिहासिक भ्रमणपछि नै जङ्गबहादुरले बेलायतको शक्ति बुझे र ‘अंग्रेजसँग कहिल्यै युद्ध नगर्ने तर मित्रता कायम राखेर फाइदा लिने’ नीति लिएका थिए, जसका कारण नेपालले गुमाएको जमिन बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाउन सफल भयो । नेपालमा ‘नयाँ मुलुक’ थपियो, अनि विश्व इतिहासमा नेपाल कहिल्यै ब्रिटिसको गुलाम हुनु परेन ।
जङ्गबहादुरलाई बेलायतको लण्डनमा महारानी भिक्टोरियासँगको भेटमा भब्य राजकीय सम्मान दिइयो । उनले बेलायतकी महारानी भिक्टोरियासँग विशेष भेटवार्ता गरे । त्यहाँ उनले ब्रिटिस सेनाको परेड, आधुनिक हातहतियारको कारखाना, कलकारखाना र बेलायती जीवनशैलीको अवलोकन गरेका थिए । बेलायतको भ्रमण सकेर उनी फ्रान्सको राजधानी पेरिस पुगे । त्यहाँ जङ्गबहादुरले फ्रान्सका तत्कालीन राष्ट्रपति नेपोलियन तृतियसँग भेट गरे । फ्रान्सको कला संस्कृति र त्यहाँको सैन्य सङ्गठनबाट जङ्गबहादुर निकै प्रभावित भएका थिए । उनले बेलायत र युरोप भ्रमण गर्नुका मुख्य कारण नेपालको सार्वभौमसत्ताको रक्षाका साथै नेपाल एक स्वतन्त्र राष्ट्र हो र यसको आफ्नै छुट्टै अस्तित्व छ भन्ने सन्देश युरोपमा फैलाउनु थियो । बेलायत भ्रमणको क्रममा बेलायतको कानुनी प्रणाली र अदालतहरू देखेर प्रभावित भइ जङ्बहादुर नेपाल फर्केपछि वि.सं. १९१० नेपालको पहिलो लिखित कानुन ‘मुलुकी ऐन’ जारी गरे । पश्चिमा शिक्षाको महत्व बुझेर उनले दरबारभित्र नेपालको पहिलो आधुनिक विद्यालय ‘दरबार हाइ स्कुल’ स्थापना गरे । साथै युरोपेली कला–संस्कृतिबाट प्रभावित उनले थापाथली दरबार लगायतका भवनहरू युरोपेली (नियो-क्लासिकल) शैलीमा निर्माण गर्न लगाएका थिए ।
बेलायत भ्रमणका क्रममा जङ्गबहादुरले त्यहाँको कानुनी प्रणाली र अदालबाट प्रभावित भइ १९१० मा जारी गरेको मुलुकी ऐन नेपालको इतिहासमा पहिलो लिखित कानुनी दस्तावेज हो, जसले देशको प्रशासनिक र कानुनी प्रणालीमा ठुलो सुधार ल्याएको थियो । पहिलो लिखित कानुन अनुसार ‘धर्मशास्त्र र परम्पराका आधारमा’ चल्दै आएका न्याय प्रणालीलाई प्रतिस्थापन गरी पहिलो पटक लिखित संहिताबद्ध कानुन लागु गरेका थिए । जसअन्तर्गत ‘समान अदालत प्रणाली’ देशैभरिका अदालहरूका लागि एउटै कानुनी कार्यविधि र नियमहरू तय गरिएको थियो । त्यसैगरी सती प्रथालाई पुर्णरुपमा रोक्न नसकेपनि बालविधवा र गर्भवती महिलालाई सती जान निषेध गरेर सती प्रथालाई धेरै हदसम्म सीमित गरे । साथै दासीहरूलाई जबर्जस्ती राख्न नपाइने, अपराधीहरूको हातखुट्टा काट्ने, आँखा फुटाउने जस्ता क्रुर र अमानवीय ‘अंगभंग गर्ने सजायमा रोक’ लगाइ शारीरिक सजायहरूलाई कानुनी रुपमा निषेध गरे । समाजलाई हिन्दु वर्णक्रम अनुसार पाँच तहमा वर्गीकरण गरी जातअनुसारको दण्ड र सजायको व्यवस्था गरे । तथापि, यो व्यवस्था वर्तमान समयको दृष्टिकोणबाट विभेदकारी देखिन्छ । यसरी नेपालको कानुनलाई संहिताबद्ध बनाएर मुलुकी ऐन जारी हुनुमा जङ्बहादुर राणाको ठुलो योगदान रहेको छ ।
जङ्गबहादुरकै कारण सुगौली सन्धिमा गुमेका जमिन नेपालले वि.सं. १९१७ मा फिर्ता पायो । नेपाल र भारतबीचको सीमाना स्पष्ट पार्न उनले ‘जङ्गे स्तम्भ’हरू स्थापना गरे जसले देशको सार्वभौमिकता जोगाउन मद्दत गऱ्यो । एउटा सम्पन्न परिवारमा जन्मिएर साधारण युवा अवस्था बिताएका वीर नरसिंह कुँवर ‘जङ्गबहादुर राणा’ आफ्नो साहस र चतुऱ्याइँका कारण साधारण सिपाही हुँदै सत्ताको शिखरसम्म पुगेका थिए ।
नेपालप्रति जङ्गबहादुरको प्रेम र उनले गरेका कार्यहरू इतिहासमा बिर्सन नसकिने खालका छन् । भीषण कोत पर्व मच्चाएर उदाएका जङ्गबहादुर राणा वि.सं. १९३३ मा सिकार खेल्ने क्रममा ५९ वर्षको उमेरमा सदाका लागि अस्ताए । विर्सनयोग्य उनका कयौँ कर्तुत नभएका होइनन्, तर उल्लिखित कामहरूले जङ्गबहादुरलाई सम्झिरहन कर लाग्छ । आज (७ असार) ‘श्री ३ जङ्गबहादुर’को २०५औँ जन्मजयन्तीको अवसरमा उनप्रति हार्दिक श्रद्धासुमन !
प्रतिक्रिया