अब त खोला फर्कनुपर्छ !

अब त खोला फर्कनुपर्छ !


– त्रिभुवनचन्द्र वाग्ले

नेपाल सांस्कृतिक सङ्घले आफ्नो स्थापना दिवस मनाएको छ । कला, साहित्य, मनोरञ्जन र विविध सांस्कृतिक विधामार्फत मुलुकमा प्रजातान्त्रिक आदर्श, राष्ट्रियताको संवद्र्धन, विविधतापूर्ण नेपाली संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २०६३ जेठ १० गते स्थापित सङ्घले आफूलाई नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था बनाएको छ । कलाकारहरू पार्टीका झन्डामा विभाजित हुनु स्वाभाविक हो र भन्ने प्रश्नमा सङ्घका अध्यक्ष तीर्थ थापा भन्नुहुन्छ, ‘कुनै पनि मुलुकमा कलाको निर्वाध प्रचारप्रसार हुन त्यहाँ प्रजातान्त्रिक शासन व्यवस्था, उदार समाज र सहिष्णु संस्कृति हुनु आवश्कयक पर्छ । यस्ता पक्षमा नेपाली काङ्ग्रेसले मात्र प्रत्याभूत गर्न सक्ने विश्वासले हामी ऊप्रति विश्वस्त भएका हौँ ।’

सङ्घको १२औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सङ्घद्वारा गत बुधबार बानेश्वरमा आयोजित ‘सम्मान, सुरक्षा र स्वाभिमानका लागि काङ्ग्रेसको पहिचान, सांस्कृतिक अभियान’ विषयक अन्तरक्रियामा सङ्घका अध्यक्ष तीर्थ थापाले असाध्यै तीतो सत्य बोल्नुभयो । आज यस स्थानमा हामी सबै काङ्ग्रेको आदर्शप्रति आस्थावान् मानिस रहेकाले म केही अप्रिय भनाइ राख्नेछु भन्दै उहाँले भन्नुभयो, ‘काङ्ग्रेस दासहरूको पार्टी भएको छ । जसले धेरै दासगिरी गरेर नेताको ढोकाढोका चहार्छ ऊ असल र राम्रो कार्यकर्ता हुन्छ । जसका ढोकामा धेरै दास जम्मा हुन्छन् ऊ ठूलो नेता भएको छ ।’ तीनवटा अधिवेशन गरिसक्दा नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरी नेपाली काङ्ग्रेसको क्रियाशील शुभेच्छुक बनाउन विशिष्ट योगदान दिनुभएका अध्यक्ष थापामा यस्तो चिडचिडाहट आउनुको कारणबारे पार्टी नेतृत्व गम्भीर हुनुपर्छ । यो थापाको मात्र व्यक्तिगत अनुभव होइन, सङ्घमा आबद्ध हजारौँ कलाकार, लेखक र मनोरञ्जन क्षेत्रका आमप्रतिभाको हो भनेर नेतृत्वले बुझ्नुपर्छ ।

पछिल्लोपटक तेस्रो अधिवेशन गरेको सङ्घमा नेतृत्व चयनका लागि माउ पार्टीले निर्वाचन निर्वाचन गर्न नदिएर ‘सहमति’मा नेतृत्व छान्ने निर्णय लादेको भए पनि अहिलेसम्म ८५ सदस्यीय केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छैन । थापाको चिन्ता यसैप्रति पनि लक्षित थियो । उक्त कार्यक्रममा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले सङ्घले नयाँ सांस्कृतिक मूल्य, मान्यता स्थापनामा नेतृत्व गर्नुपर्ने सैद्धान्तिक पक्षमा जोड दिनुभयो भने वरिष्ठ कवि एस्पी कोइरालाले सङ्घले जिल्लाजिल्लामा सङ्गठन विस्तार र सशक्तीकरण, अनुसन्धान तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । वरिष्ठ चलचित्रकर्मी यादव खरेलले सङ्घले राजनीतिक आस्थामा मात्र नभएर कला र सांस्कृतिक विकासमा राष्ट्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

यसैगरी, वरिष्ठ पत्रकार हरिहर विरही, पुरुषोत्तम दाहाल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, डा. विष्णुविभु घिमिरे, लेखक तथा काङ्ग्रेस नेता लोकेश ढकाल, पत्रकार कविर राणालगायतले पनि सङ्घको क्रियाशीलताका लागि नेपाली काङ्ग्रेस र काङ्ग्रेसको शुद्धीकरणका लागि सङ्घले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो । वक्ता र उपस्थित सबैले काङ्ग्रेसको वर्तमान नेतृत्वले सङ्घको केन्द्रीय समितिलाई पूर्णता दिन देखाएको उदासीनताको विरोध गर्दै चिन्ता व्यक्त गरेका थिए । अहिले काङ्ग्रेसमा काङ्ग्रेस हराएको चिन्ता व्यक्त गरिएको थियो त्यहाँ । अहिलेको काङ्ग्रेसमा आन्तरिक रूपमा आफ्नो पार्टीभित्र आफैँ मान्छेलाई जित्ने विजयीहरूको ठूलो जत्था उभिएको छ, तर त्यही जत्थाका कारण अन्तरपार्टी प्रतिस्पर्धामा काङ्ग्रेसलाई पराजित पारिएको छ । आफ्नै पार्टीभित्र आफ्ना मान्छेलाई जित्ने र हराउने खेले नै अर्को पार्टीसँग पराजय भोग्नुपरेका यथार्यलाई पार्टीको वर्तमान नेतृत्वले आत्मसात् गर्न सकेको छैन । यसैमा नेपाल सांस्कृतिक सङ्घका आमकलाकार चिन्तित देखिएका थिए ।

सांस्कृतिक शब्दले ज्यादै ठूलो क्षेत्रलाई सम्बोधन गर्छ । यो संस्कृतिसँग सम्बन्धित छ । संस्कृतिको परिभाषा दिँदै बेलायती मानवशास्त्रीले ईबी टेलरले भनेका छन्, ‘संस्कृति त्यो जटिल समग्रता हो, जसमा कला, विश्वास, मूल्य, मान्यता, रहनसहन, सीप, लोकपरम्परा र अन्य दक्षता जो मानिसले समाजका सदस्यका नाताले आर्जन गरेका हुन्छन् ती सबै संस्कृति हो ।’

आमकलाकारको चिन्ता थियो– हामीलाई यो वा त्यो पक्षको भनेर विभाजित नगरिदिनुहोस् । कलाकार तथा प्रतिभाहरूले भनिरहेका थिए– ०६२/६३ को आन्दोलनको बेला नेपाली काङ्ग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको विशेष चाहना र दिर्नेशनमा सङ्घ स्थापना भएको थियो । यसले उक्त आन्दोलन सफल बनाउनदेखि त्यसपछिका निर्वाचनलगायतमा काङ्ग्रेसलाई जिताउन आफूलाई क्रियाशील बनाउँदै आएको छ, तर यसको मूल्याङ्कन हुन सकेको छैन । कलाकारहरू नाच्ने र नचाउने वा रुवाउने, हसाउने जनशक्ति मात्र होइनन् मुलुक र समाजकै संस्कृति बदल्न सक्ने सिपाही पनि हुन् भन्दै आफूहरूलाई पार्टीको वर्तमान नेतृत्वले उपेक्षा गरेकोमा उनीहरू बढी नै चिन्तित थिए ।

सांस्कृतिक शब्दले ज्यादै ठूलो क्षेत्रलाई सम्बोधन गर्छ । यो संस्कृतिसँग सम्बन्धित छ । संस्कृतिको परिभाषा दिँदै बेलायती मानवशास्त्रीले ईबी टेलरले भनेका छन्, ‘संस्कृति त्यो जटिल समग्रता हो, जसमा कला, विश्वास, मूल्य, मान्यता, रहनसहन, सीप, लोकपरम्परा र अन्य दक्षता जो मानिसले समाजका सदस्यका नाताले आर्जन गरेका हुन्छन् ती सबै संस्कृति हो ।’ यति विशाल क्षेत्रमा काम गर्नुपर्ने संस्थाको महत्व र औचित्यलाई सङ्घभित्रैका सदस्यले कति बुझेका छन् यसको एउटा समीक्ष हुन सक्छ । यसैगरी नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्वले पनि सङ्घको कार्यक्षेत्रलाई यति विशालसँग बुझेको छ वा छैन अथवा सङ्घलाई त्यसअनुरूपको व्यवहार गरेका छ–छैन भनेर भनेर बुद्धिजीवी तहबाट समीक्षा गरिनुपर्छ । यसरी, मुलुकको समग्र सांस्कृतिक रूपान्तरणका लागि सांस्कतिक सङ्घले नेतृत्व लिन सक्ने गरी उभ्याउनु अहिलेको आवश्यकता हो । आगामी दिनमा सङ्घको औचित्य र महत्वलाई यसरी व्यापक रूपमा लिन सकियो भने मात्र सङ्घको महत्व बुझिएको ठहर्नेछ ।

सङ्घको १२औँ स्थापना दिवसका उपलक्ष्यमा शुक्रबार काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी समापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीको पराजयबारे चिन्ता व्यक्त गर्नुभयो । दुई कम्युनिस्ट पार्टी मिलेका र काङ्ग्रेसमा भएका अन्तरघातले नै पार्टी पराजय भएको बताउनुभयो । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घको केन्द्रीय समितिलाई तत्काल पूर्णता दिनुपर्ने, सङ्घले सांस्कृतिक अभियानअन्तर्गत गीत तथा अभिनय अभियानलाई गाउँगाउँमा लैजानुपर्ने, आमजनताको मन जित्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा पनि सङ्घका अध्यक्ष तीर्थ थापालगायतले कलाकार र सांस्कृतिक सङ्घमा आबद्धलाई पार्टीका नेताले यो र ऊ पक्षमा विभाजन नगरिदिन आग्रह दोहऱ्याउनुभयो । यस्ता भनाइ आफैँमा मीठा लाग्छन् । सत्य पनि हो, तर सङ्घमा आबद्धहरू आफैँ पनि विभाजित हुनुहुँदैन । नेपाली काङ्ग्रेसको विवाद र पक्षगत विभाजन जरैसम्म पुगेका छन्, त्यसलाई हटाउन सांस्कृतिक सङ्घले पहल गर्न सक्छ । नेतृत्व लिन सक्छ ।

यसैगरी सङ्घले सशक्त सांस्कृतिक अभियान गर्न सक्छ । यसका लागि पर्ने साधनस्रोतको समस्या आफ्नो ठाउँमा छ, तर सङ्घले वैचारिक अभियानको नेतृत्व दिन सक्छ । आज काठमाडांैमा मेलम्चीको पानी आउँदै गर्दा सङ्घले त्यो पानी र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई जोड्ने गरी अभियान सञ्चालन गर्न सक्छ । यसले गर्दा आगामी पुस्तालाई के हो मेलम्चीको पानी र को हुन् सन्तनेता कृष्णप्रसाद भट्टराई भनेर बुझाउन सकिन्छ । यहीँ नै काङ्ग्रेस बाँच्ने गर्छ । सुन्दरीजललाई एउटा विशिष्ट सांस्कृतिक केन्द्र बनाउन सङ्घले पहल गर्न सक्छ । यसैगरी मुलुकभर सांस्कृतिक अभियानलाई रचनात्मक र सिर्जनशीलता केन्द्रित गर्न सकिन्छ । विद्यार्थी वा राजनीतिक दलका कार्यकर्ताले गर्ने आन्दोलन र सांस्कृतिक सङ्घले गर्ने आन्दोलन वा अभियानका मौलिक तरिकामा नै भिन्नता हुनुपर्छ । अहिले सङ्घले यस्तै पक्षमा आफूलाई केन्द्रित गर्नुपर्छ । यो आन्दोलनको बेला होइन । अभियानको समय हो । नेपाल सांस्कृतिक सङ्घले स्थापनाको १२ वर्ष मनाएको छ । अब त उसको पक्षमा खोला फर्कनुपर्छ ।