देउता पनि अझै टहरामै !

देउता पनि अझै टहरामै !


– किशोर बुढाथोकी, सिन्धुपाल्चोक

भूकम्पले भत्काएको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित ऐतिहासिक कृष्ण मन्दिर अझै पुनर्निर्माण भएको छैन । भूकम्पले मन्दिर भत्काएपछि स्थानीयले जस्ताको बार लगाएर अहिले पूजाआजा गरिरहेका छन् ।

वि.सं. १९६४ सालमा निर्माण भएको यो मन्दिरमा जात्रा सञ्चालनार्थ गुठी बनाई हरेक कृष्णाष्टमीमा जात्रा सञ्चालन गर्दै आएको चलन अद्यापि चल्दै छ । समाजसेवी भक्तध्वज प्रधानका बाजेले चौतारामा घर बनाउने क्रममा ल्याएको इँटा धेरै भएपछि त्यसको सदुपयोग गर्दै मन्दिर निर्माण गरिएको थियो ।

अरनिको राजमार्ग बन्नुभन्दा पहिले भोट आवतजावत गर्ने मुख्य बाटो नै यही मन्दिरको प्राङ्गण थियो । मन्दिरवरिपरि रहेको पेटीमा भोट आवतजावत गर्ने बटुवाले थकाइ मात्र मार्दैन थिए, साँझ परेको बखत त्यही मन्दिरमा बास बस्ने पनि गर्दथे । प्रारम्भकालदेखि नै मन्दिरमा भजनकीर्तन हुने गथ्र्यो । कृष्णाष्टमीमा कृष्णको प्रतिमालाई रथमा राखी बाजागाजा र लाखे नाचसहित बजार परिक्रमा गर्ने चलन अद्यापि छ । प्राम्भमा महाकली नाच, घिन्ताङ किसी नाच प्रदर्शन हुने गथ्र्यो । अहिले भने ती नाचहरू हराइसकेको स्थानीय कमलचरण कक्षपतिको भनाइ छ । ‘यहाँको लाखे नाच अनि बजारको संस्कृति अवलोकन गर्न बाहिरी जिल्लबाटसमेत दर्शनार्थी आउने गरेका थिए,’ कमलचरण भन्छन्, ‘भूकम्पले मन्दिर ढालेपछि यहाँको पहिचान गुमेको छ ।’

मन्दिर निर्माणपछि जात्रा लगाउनुपर्छ भन्ने स्थानीयको आवाज आएपछि त्यसैबेला यो मन्दिरमा जात्रा सुरु गरिएको स्थानीय बताउँछन् । जात्रा गर्नका लागि बाजा बजाउने मान्छे चौतारामा तत्कालीन समयमा थिएनन् । त्यति बेला चित्लाङबाट कसुले मगाई बाजा बजाएर जात्राको थालनी भएको स्थानीय जीवन श्रेष्ठ बताउँछन् । ‘त्यतिबेला सांस्कृतिक कार्यक्रम, भक्तिभावका सन्देशप्रदान नाटकहरू प्रदर्शन हुने गरेको थियो,’ उनी सम्झन्छन्, ‘वर्षको तीनचोटि विविध सांस्कृतिक कार्यक्रम हुन्थे ।’

निर्माणको केही समयपछि सांस्कृतिक कार्यक्रमको सञ्चालन पनि भयो । मन्दिरको प्राङ्गणमा मञ्च निर्माण गरी स्थानीय कलाकारको नाचगान र नाटक हेर्न दूरदराजबाट मान्छेहरू आउने गर्दथे । जात्रा र सांस्कृतिक कार्यक्रम रातभरि नै चल्ने गथ्र्यो । तीसको दशकसम्म सांस्कृतिक कार्यक्रमलाई कृष्ण गुठीले निरन्तरता दिए । तत्पश्चात् त्यसको बिँडो जुगल सांस्कृतिक परिवारले थाम्न थाले । पञ्चायती शासनको दबदबा, स्थानीय प्रशासनको रवैया र स्थानीय शोषक–सामन्तीहरूको विरुद्धमा जुगलले त्यो ताका सांस्कृतिक कार्यक्रममार्फत धावा बोलेको थियो । पचासको दशकमा भने त्यो बिँडोलाई कला पुञ्जले थामेको थियो । मुलुकमा द्वन्द्व भएकाले त्यसले पनि श्रीकृष्ण डबलीबाट हुने नाटक मञ्चन तथा सांस्कृतिक कार्यक्रममा प्रभाव परेको कक्षपति बताउँछन् । ‘पहिलेको स्थितिलाई फर्काउन सबैभन्दा पहिले मन्दिर पुनर्निर्माण आवश्यक छ,’ कमलचरण भन्छन्, ‘यो मन्दिर निर्माण भए पुरानो परम्परागत कार्यक्रमले फेरि पूर्णता पाउने थियो ।’

स्थानीय भूकम्पपीडितहरू धमाधम टहराबाट पक्की घरतिर सरिरहे पनि कृष्णमन्दिर निर्माणतर्फ खासै कसैको चासो देखिएन । न त यो मन्दिर निर्माणकै लागि भनेर कतैबाट बजेट विनियोजन भयो । सांस्कृतिक सम्पदा निर्माणका लागि स्थानीय तहमा बजेट भने छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ नगरपालिकाले यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा पहल गरिने बताए । ‘यो हाम्रै सम्पत्ति हो, यसको जगेर्ना हामी आफैँले गर्नुपर्दछ,’ तामाङले भने, ‘पुनर्निर्माणका लागि स्थानीय तवरबाट समिति निर्माण गरी प्रस्तावना पेस गरेमा कुनै बजेट छुट्याउन सकिन्छ ।’
स्थानीय जुटेर कृष्ण मन्दिर निर्माण गरिनुपर्ने तामाङको भनाइ छ । पुरातात्विक सम्पदाको रूपमा रहेको यो मन्दिर पुनर्निर्माण भएमा चौतारा मात्रै होइन सिङ्गो सिन्धुवासीले गर्व गर्ने अर्को पाटो थपिने उनले बताए । ‘मन्दिर पुनर्निर्माण भएमा चौतारामा पर्यटन विकास, आर्थिक उन्नतिको बाटो खुल्नेछ,’ नगरपालिकाका प्रमुख अमानसिंले भने ।

यस्तो इतिहास छ मन्दिरसँग जोडिएको शैक्षिक पक्ष
धार्मिक मन्दिर र शैक्षिक मन्दिर बिल्कुलै फरक फरक पाटो हो । तर, यहाँको इतिहास हेर्दा यही मन्दिरबाट शैक्षिक गतिविधिहरू प्रारम्भ भएको देखिन्छ । यही मन्दिरबाट सिन्धुपाल्चोक जिल्लाकै पहिलो विद्यालय श्री कृष्ण रत्नगंगा उमाविको शैक्षणिक क्रियाकलापको प्रारम्भ भएको पाइन्छ । २००४ सालको सेरोफेरोमा यसै मन्दिरमा स्थानीय शिक्षाप्रेमीहरूले स्थानीय बालबालिकाहरू जम्मा गरेर शैक्षिक गतिविधिलाई अगाडि बढाएको थियो । सो समयमा हालको श्री कृष्ण रत्नगंगा उमाविलाई श्री कृष्ण विद्याश्रम भन्ने गरिन्थ्यो । जिल्लाकै पुरानो विद्यालयको नामसमेत यसै मन्दिरको नामबाट जुराइएको कमलचरण कक्षपतिको भनाइ छ ।

‘विद्यालयसँगै यस मन्दिरबाट जिल्लामा पहिलोपटक पुस्तकालयको पनि सुरुवात भएको थियो,’ उनी भन्छन्, ‘जिल्लाकै पहिलो पुस्तकालय ग्रामीण विकास पुस्तकालय वि.सं. ०१२ सालमा यसै मन्दिरको कोठाबाट प्रारम्भ भएको हो ।’

पचासको दशकसम्म सञ्चालनमा रहेको सो पुस्तकालय ६० को दशकमा भने हालको वडा कार्यालयमा सार्ने काम भयो र अन्ततः २०७२ को भूकम्पमा कार्यालय भग्न भएपछि पुस्तकहरू सबै पुरियो । गाईजात्रे भित्तेपत्रिकाको प्रारम्भ पनि यसै मन्दिरको भित्ताबाट भएको हो । यस्ताखाले परम्परा मुलुकको अन्य भागमा सायदै देख्न पाइन्छ । वि.सं. ०३६ सालबाट प्रारम्भ भएको गाईजात्रे भित्तेपत्रिका अझै पनि प्रकाशन हुने गरेको स्थानीय जीवन श्रेष्ठ बताउँछन् ।

पञ्चायती शासनको दबदबा, वाक् स्वतन्त्रतामाथिको प्रतिबन्धका कारण स्थानीय प्रशासन र सरकारको विरुद्धमा बोल्नु, लेख्न नपाउने सो समयमा गाईजात्राको दिनमा भने छुट थियो । ‘यही छुटको उपयोग गर्दै स्थानीय युवाहरूले स्थानीय प्रशासन, सरकार र राजनीतिक व्यक्तित्वहरूको चरित्र उदाङ्गो पार्ने हेतुले व्यङ्ग्यात्मक लेख, समाचार कार्टुन गीत, कविताहरूलाई समेटी भित्तेलेखनको सुरुवात गरेका थिए,’ स्थानीय हेमन प्रधान भन्छन्, ‘अहिले मन्दिर छिट्टै पुनर्निर्माण हुनुपर्ने भएमा सबै इतिहासको पाना फेरि पल्टनेछ ।’ छिट्टै पुनर्निर्माण भएमा मन्दिरमा हुने चहलपहल फेरि पहिलेकै जस्तो हुने विश्वास स्थानीयको छ ।

बल्ल सुरु भयो चासो
भूकम्पले ध्वस्त सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि पहल थालिने भएको छ । जिल्ला सदरमुकाम चौतारा साँगाचोकगढी–५ स्थित कृष्णमन्दिर पुनर्निर्माणका लागि पहल लिने भएको हो ।
पुरातात्विक सम्पदाको रूपमा रहेको ऐतिहासिक सो मन्दिर २०७२ साल, वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको थियो । १९६३ सालमा निर्मित कृष्णमन्दिर पुनर्निर्माणका लागि कहीँकतैबाट चासो नगरिएको अवस्था थियो । कृष्ण मन्दिरको अस्तित्वसँगै चौताराको अस्तित्व जोडिएकाले स्थानीयले यसको पुनर्निर्माणका लागि जुटेका हुन् ।

स्थानीयवासीलाई यो सम्पदा पुरातात्विक विभागमा दर्ता छ या छैन भन्ने यकिन छैन । अहिले यसको सोधखोजका लागि चौतारा साँगाचोकगढी नगरपालिका– ५ का अध्यक्ष नरमान श्रेष्ठको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ । समिति आवश्यक कागजात तयार गरी पुरातत्व पुग्ने समितिका संयोजक एवम् वडाध्यक्ष श्रेष्ठले बताए । ‘यो मन्दिर एक सय वर्ष पुरानो हो, यो पुरातत्व विभागमा दर्ता छ या छैन भन्नेबारे कसैलाई थाहा छैन,’ उनले भने, ‘यदि पहिल्यै दर्ता भएको भए पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्नुपर्ने हुन्छ ।’

कुनै पनि सम्पदा पुरातात्विक हुन निर्माण भएको एक सय वर्ष पुग्नुपर्छ । विक्रम सम्वत् १९६३ मा निर्माण भएको हिसाबले कृष्णमन्दिर पुरातात्विक विभागमा दर्ता हुनुपर्छ । यदि दर्ता भएको खण्डमा र फेरि अहिले बनेको समितिको सक्रियताले दर्ता गराए भूकम्पले भत्काएको कृष्ण मन्दिर राष्ट्रिय पुननिर्माण प्राधिकरणले निर्माण गर्नेछ ।

जस्ताको टहरामा मन्दिर अहिले सञ्चालित छ । मन्दिर पुनर्निर्माण नहुँदा चहलपहलमा कमी छ । ‘दर्शनार्थी अहिले आएकै छैनन्,’ हेमन प्रधान भन्छन्, ‘मन्दिर निर्माण भएको भए हरेक बिहान र साँझमा समेत दर्शनार्थी हुन्थे ।’

स्थानीय तहका जनप्रतिनिधि, गुठियार, स्थानीय सरोकारवाला व्यक्तिहरूले पनि मन्दिरको पुनर्निर्माण गराउनुपर्नेमा जोड दिएका छन् । छलफलले समितिको सदस्यहरूमा दीपक प्रधान, अशोक श्रेष्ठ, हेमन प्रधान, कमलचरण कक्षपति, सुरेश कसजू, राजेन्द्रभक्त प्रधान चयन गरेको थियो । कार्यदलले मन्दिरको ऐतिहासिक पृष्ठभूमि सङ्कलन गर्दै सरोकारवाला निकायमा प्रस्तावना पेस गर्नेछ । यदि यो मन्दिर छिट्टै पुनर्निर्माण भएमा चौताराको महत्व बढ्ने मात्रै नभई पर्यटन नगरीको रूपमा विकास गर्नसमेत सकिन्छ ।