पात्रो बदलियो– शुभकामना !

पात्रो बदलियो– शुभकामना !


sampadakeeyaपुरानो साल ओझेलिएर नयाँ साल आरम्भ भएको छ । ‘नयाँ’ भन्ने शब्द त्यसै–त्यसै सुन्दर सुनिन्छ, नवीन कुरा सबैका लागि जिज्ञासा र पे्रमको विषय नै बन्दछ । त्यसैले होला, हरेक नयाँ वर्षलाई संसारभर नै यथाशक्य हर्षोल्लासका साथ मनाउने गरिन्छ । तर, ‘मान्नु’ र ‘मनाउनु’ दुई अलग कुरा रहेकोे हाम्रो परिवेशले सिद्ध गरिरहेको अनुभूति हुन्छ । कुनै पनि कुरा स्वतःस्फुर्त रूपले ‘मान्नु’मा प्राप्त हुने आनन्द अलौकिक प्रकृतिको हुन्छ भने ‘मनाउनु’चाहिँ देखावटी हो, जहाँ एउटाले गरेकोलाई अर्कोले देखासिकी मात्र गर्छ । यसरी देखावटीका खातिर मनाउने कार्यले आनन्द प्रदान गर्छ भन्न सकिन्न, बरु उल्टै पीडा दिन सक्छ ।
हो, नयाँ वर्ष २०७० को आगमन आमनेपालीका निम्ति देखावटीका लागि मात्र उल्लास र उमङ्गको अवसर बन्न पुगेको छ । ‘न्यु इयर’का नाममा शुभकामना बाँड्ने काम प्रशस्तै भए, भोजभतेर या पार्टी र पिकनिक आयोजना गरेर रमाइलो गर्ने प्रयत्न पनि नयाँ वर्षको बहानामा धेरै भए होलान् । तर, यी सबै अन्तरहृदयबाट नभई फगत् ‘मनाउन’का लागि या देखावटी रमाइलोकै निम्ति गरिए । नयाँ वर्ष आगमनमा वास्तविक रूपमा खुसी हुने नेपालीको सङ्ख्या नगन्य नै रहेको हुनुपर्छ । किनकि, अन्तस्करणबाटै खुसी हुनुपर्ने कुनै कुरा न बितेको वर्षले दियो न त नयाँ सालले प्रदान गर्ने कुनै सङ्केत नै देखाएको छ ।
वर्ष २०६९ पनि अनेक आशा बोकेर आएको थियो । खासगरी राजनीतिक रूपमा निकै आशा गरिएको वर्ष थियो बितेको वर्ष । तर, आशानुरूप नेपाल र नेपालीलाई कत्ति खुसी दिन सकेन बितेको वर्षले । लामो समयदेखि देश उकुसमुकुसको अवस्थामा छ । अर्थात् राजनीतिक रूपमा मुलुक निकै लुलो बन्न पुगेको छ । राजनीति कमजोर भएपछि सबै कुरामा तल परिने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण बन्न पुगेको छ यतिबेला नेपाल । जनतामा चरम निराशा छ । देशमा शान्ति छाएको भनिए पनि जनताको मनमा शान्तिको अनुभूति हुन पाएको छैन । वर्षौंको प्रतीक्षापछि पनि नेपालीले नयाँ संविधान त पाएनन् नै आफ्नो अधिकार स्थापित गर्न खडा गरिएको संविधानसभा नै गुमाउनुप¥यो । नेताहरूले देश र जनतालाई अनेक बहानाबाजी गरी गोलचक्करमा घुमाइरहे । आज हुन्छ, भोलि हुन्छ, यति दिनमा त पक्कै हुन्छ भन्दै जनता झुक्याउने क्रम चलिरह्यो, जो नयाँ वर्ष आरम्भ हुँदा पनि जारी नै छ । जनताले किचलोको अन्त्य खोजेका छन्, गरेर खान पाउने अवस्था सिर्जना होला कि भन्ने अपेक्षा गरेका छन् । तर, इमानदारीको खडेरीबाट ग्रसित राजनीतिक नेतृत्व असंवेदनशील, अकर्मण्य र गैरजिम्मेवार बनिदिँदा जनताको स्वाभाविक इच्छा पूरा हुने लक्षण देखिएको छैन । संविधानसभाको एउटा चुनाव दिन्छु भनेको थियो ‘वर्ष ०६९’ले, तर चुनाव मात्रै होइन अन्य धेरै कुरा दिन सकेन जो नेपाल र नेपालीका आधारभूत एवम् अपरिहार्य चाहना थिए । उल्टै अनेक अभिसाप दिएर बितेको छ पुरानो वर्ष । पुरानो त जानु नै थियो– गयो, तर नयाँ वर्षलाई पनि धमिल्याउने सङ्केतहरू छोड्दै गयो ।
असारभित्रै चुनाव गराउने उद्देश्यका साथ नयाँ चुनावी सरकार बनेको एक महिना नाघेको छ । तर, अहिलेसम्म सरकारले चुनावको पक्षमा कुनै आशा र विश्वास जगाउन सकेको छैन । यो सरकारले असार त के कहिल्यै पनि निर्वाचन गराउन सक्ने छैन भनी मानिसहरू अड्कल काट्न थालेका छन् । आखिर यो निराशा किन प्रकट भइरहेछ ? साँच्चै, बिहानीले दिनको सङ्केत गर्दछ भन्ने भनाइसँग सहमत हुने हो भने त विगतको जस्तै अस्वस्थ राजनीतिक खिचातानीमै गुज्रनेछ नयाँ वर्ष २०७० । हिजोका अनिष्टकारी छायाले आज पनि नेपाल र नेपालीलाई पछ्याइरहेको अनुभूति हुन्छ । अत्यन्त दीनहीन अवस्थाबाट नेपाल र नेपालीजन गुज्रनुपरेको छ । उन्नतिको गफ मार्दै हामी अवनतिको वेग मार्दै छौँ ? विश्वमञ्चमा हाम्रो पहिचान, इज्जत, मान्यता या अस्तित्व कसरी खस्किरहेको छ भन्ने हेक्का राख्ने चेष्टासम्म हामी गरिरहेका छैनौँ । कोट्याइरहने हो भने नरमाइला या दुःखानुभूति गराउने उदाहरण अनगिन्ती छन्, जसको फेहरिस्त प्रस्तुत गर्नु भनेको भावी दिनलाई जानाजान थप कहालीलाग्दो तुल्याउन गरिएको धृष्टता सावित हुनसक्छ ।
यस्तो परिवेशमा ‘नयाँ वर्ष’को आगमन भएको छ । चलिआएको चलनअनुसार फगत देखावटीका निम्ति पनि आशाका कुरा त गर्नैपर्छ । यसर्थ, हरेक नयाँ सालको आरम्भमा झैँ हामी दोहो¥याउन चाहन्छौँ– नयाँ वर्षले सुख–समृद्धि ल्याओस्, प्रत्येक नेपाली घर–आँगनमा खुसी छाओस्, नयाँ वर्ष–२०७० आगमनको अवसरमा समस्तमा हाम्रो कोटी–कोटी शुभकामना !