सङ्कट बढ्दै जाँदा सोभियत सङ्घको सम्झना

सङ्कट बढ्दै जाँदा सोभियत सङ्घको सम्झना


bichar-लालकृष्ण धमला
विगत ०६४ सालमा संविधानसभाको निर्वाचन हुनुभन्दा पहिले नेपालका राजनीतिक हस्ती भनिनेहरूले संविधानसभाको निर्वाचन एक युगमा एकपटक मात्र आउँछ, पटकपटक आउँदैन । यतिबेला एकपटक संविधानसभाको निर्वाचन भएपछि फेरि अर्कोपटक कहिल्यै संविधानसभाको निर्वाचन गर्नुपर्ने छैन भन्ने गुलियो वचन बाँडेका थिए । २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । निर्वाचनपश्चात् दलहरूले मानेको अन्तरिम संविधान २०६३ मा व्यवस्था भएअनुसार दुई वर्षभित्र मुलुकलाई नयाँ संविधान दिन्छौँ भनेर नेपाली जनतालाई बाँडेको आशा चार वर्षमा पनि संविधान दिन नसकेर गत जेठ १४ गते संविधानसभा आफैँ विघटन भयो । संविधानसभाको निर्वाचन एक युगमा एकपटक मात्रै आउँछ भनेर व्याख्या गर्दै गरेको संविधानसभाले मुलुकलाई संविधान दिन नसकेर संविधानसभा विघटन भएपछि फेरि अर्कोपटक संविधानसभाको निर्वाचन हुनेतर्फ मुलुक जाने हो भने संविधानसभाबाट भएका सबै कार्यले वैधानिकता पाउन सक्दैन । संविधानमा मरेको र उसले गरेका कार्य अवैध भएको अवस्थामा त्यही संविधानसभाको बहुमतले टेबुल ठटाएर २ सय ४० वर्षको इतिहास बोकेको राजसंस्था हटाएको विषयलाई वैध मान्न सकिन्न । अब फेरि मुलुकमा संविधानसभाको निर्वाचन हुने हो भने राजसंस्थाको उपस्थितिमा हुनुपर्छ । विगतको संविधानसभाले संविधान दिन नसकेपछि राजसंस्था फालिइसक्यो भन्न मिल्दैन ।
विगत २०६३ वैशाखमा बनेको संवैधानिक सरकारले असंवैधानिक कार्यद्वारा निलम्बन र आफूले आफैँलाई स्वघोषित राष्ट्राध्यक्षको जिम्मेवारी दिँदै अघि बढ्दाको परिणामले मुलुकलाई संविधानविहीन र विदेशी हस्तक्षेपको चपेटामा गुज्रिरहेको सत्यतथ्यलाई ध्यान नदिएर फेरि पनि असंवैधानिक बाटो प्रयोग गरी सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने कार्यशैली अगाडि बढ्न अन्तरिम नामधारी मरेको संविधानको अङ्ग–प्रत्याङ्ग २५ वटा धारा अध्यादेशद्वारा साटफेर गरेर नियुक्त भएको अवैधानिक रेग्मी सरकारले निष्पक्ष संविधानसभाको निर्वाचन गराउला र त्यसरी बन्ने संविधानसभाले मुलुक सपार्ने संविधान बनाउला भनेर सोचियो भने मुलुकका लागि त्योभन्दा ठूलो विडम्बना अरू केही हुने छैन ।
यी घटनाक्रम र विदेशी चलखेलले यतिबेला नेपालमा विगत १९८९ मा सोभियत सङ्घ टुक्र्याउने मुख्य भूमिकामा रहेका खलपात्र तत्कालीन सोभियत राष्ट्रपति मिखायल गोर्भाचोभको सम्झना आउँछ । त्यतिबेला साराले भन्ने गर्थे– मिखायल गोर्भाचोभ कलियुगका दोस्रा बुद्ध हुन् । आखिर सोभियत सङ्घ रहेन, टुक्राटुक्रा भयो । रुस र चेचेन्याको सङ्घर्ष भयो । के त्यो सङ्घर्षलाई गृहयुद्ध नमान्ने र ? नेपालमा पनि ०६३ साल वैशाखदेखि सुरु भएको अवैधानिक कार्यले बढावा पाइरहँदा र मुलुकमा संवैधानिक सङ्कट बढिरहँदा सोभियत सङ्घमा त्यतिबेलाका असल पात्र भनेकोबाटै घात भएझैं अवैधानिक बाटोबाट लुसुक्क मन्त्रिपरिषद्को अध्यक्ष बन्न गएका खिलराज रेग्मीबाट मुलुकलाई धोका भयो भने के गर्ने ? दलीय व्यवस्थामा निर्दलीय सरकारको निर्माण कसरी र किन भयो ? दलहरू निरीह किन भए ? कारण के छ ? सबै कुरा कहाँबाट भइरहेको भनेर बेलैमा विचार गरिएन भने यतिबेला सोभियत सङ्घ खोज्न इतिहासको पाना पल्टाउनु परेझैं नेपाल खोज्न इतिहासको पाना पल्टाउनुपर्ने दिन नआउला भन्न सकिन्न ।
राजसंस्थाको अनुपस्थितिमा फेरि दोस्रोपल्ट संविधानसभाको निर्वाचन गराउन राष्ट्र र नेपाली जनतालाई धोका दिनु हो भन्ने कुराको हेक्का गरिएन भने पछि पछुताएर केही हुने छैन । खिलराज रेग्मी असल पात्र हुनुहुनेछ अथवा खलपात्र समयले देखाउनेछ । कुमार लामा बेलायतमा पक्राउ परेको घटनाक्रमले आफूहरू असुरक्षित रहेको दलीय नेताहरूलाई याद छ भनी मुलुकको पनि माया छ भने न्याय दिने न्यायापालिकाका प्रमुख कार्यपालिकाको प्रमुख बन्दा राष्ट्र र नेपाली जनतालाई न्याय दिने र विदेशी हस्तक्षेपलाई बाईबाई गर्ने दृढसङ्कल्प गरेर झिनामसिना कुरा छाडेर सर्वप्रथम खिलराज रेग्मी मन्त्रिपरिषद्ले ०४७ सालको संविधान क्रियाशील गराउन सबै दलको समर्थन रहनेछ । आशा गरौँ छिटोभन्दा छिटो २०४७ सालको संविधान क्रियाशील हुनेछ ।