वासन्तीका, कुसुम वनझैँ, सिर्जना चम्चमाऊन् ।
झर्नाजस्तै, झरर लयमा, सिर्जना छम्छमाऊन् ।।
बोलून् क्वैली, मधुर रसनाभित्र डाँफे नचाई ।
हामी भन्छौँ, नव–दिन खुलून्, देशलाई हँसाई ।।१।।
नारा मात्रै, पिउन जनता, आज छैनन् तयार ।
झारा मात्रै, नतिर अगुवा ! बन्नु है होसियार ।।
ढाँट्ने छाँट्ने, दिन अब गए, जुर्मुरायो समाज ।
सामन्तीका, धुमिल– सपना, त्याग नेता जमात ।।२।।
यी फक्रेका, उपवन–लता, वृक्ष–छाँगा –नदीमा ।
यी अग्लेका, शिखर–पहरा, कन्दरा वा थलीमा ।।
यै माटोमा, अमर तृणका, औषधिको छ खानी ।
नेता राम्रा–असल नहुँदा, झुल्किएनन् बिहानी ।।३।।
धेरै ठूलो, प्रकृति–सुषमा, चिन्न कैल्यै सकेनौँ ।
नेपालीका, मन–मुटु बुझी, हिँड्न कैल्यै सकेनौँ ।।
नेताका यी, मलीन– मतिले, दक्षता नै लछा-यौँ ।
सामन्तीकै, अनुचर हुँदा, योग्यता नै पछा-यौँ ।।४।।
आऊ नेता ! गरिप–हितमा, माफ मागेर आऊ ।
गाऊ गाना, मुलुक–हितमा, मृत्तिका सुम्सुम्याऊ ।।
माफी माग्दै, जनमन सधैँ, गर्नु पूजा र पाठ ।
फर्कन्नन् है, अवसर यहाँ, स्वार्थलाई छिनाल ।।५।।
प्रतिक्रिया