डेटिङ होइन घरै जान मन लाग्छ

डेटिङ होइन घरै जान मन लाग्छ


funtimeयतिबेला आशालाग्दी अभिनेत्रीको रूपमा लिइएको छ विजिना रोकायालाई । नृत्य र अभिनयमा निकै निपुण मानिने उनी अहिले कान्तिपुर टेलिभिजनको चर्चित सिरियल किलो ट्याङ्गो माइकमा सीआईडीको भूमिकामा छिन् भने विजिनाले अभिनय गरेको पहिलो ठूलो पर्दाको चलचित्र लुकीलुकी पनि प्रदर्शनको क्रममा रहेको छ । यसैगरी उनले अभिनय गरेको अर्को टेलिचलचित्र ‘काइँली’ चाँडै नै नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
० लुकेर त्यस्तो के गरिएको छ र चलचित्र लुकीलुकीमा ?
– त्यस्तो केही गरिएको छैन । फिल्मको नाम मात्र लुकीलुकी हो ।
० भनेपछि केही कुरा त होलान् नि ?
– अवश्य पनि छ । गलत सोच अनि क्रियाकलापमा आफूलाई प्रस्तुत गर्न हुन्न भन्ने सन्देश भने यो चलचित्रले दिएको छ ।
० कलाकारिता क्षेत्रमा लाग्न परिवारबाट कस्तो साथ मिलेको छ त ?
– त्यही साथ पाएर त लागेकी छु नि । आमाको साथ र पे्ररणाका कारण नै म कलाकारितामा लागेकी हुँ ।
० भनेपछि छोरीमाथि आमालाई त्यत्रो विश्वास ?
– हजुर, यो संसार नै विश्वासमा अडिएको छ । विश्वास नभए त सबै कुरा भताभुङ्ग भइहाल्छ नि ।
० फुर्सदमा के गरिन्छ नि ?
– म त फुर्सद मिल्नासाथ घरतिरै बस्छु ।
० धेरै युवती फुर्सद पाउनासाथ डेटिङतिर जान्छु भन्छन् तर विजिनाले त घरतिर बस्छु भनिन् नि ?
– मैले सही कुरा भनेकी हुँ । केटा बनाएर घुम्न जाने वा रमाइलो गर्ने उमेर होइन यो । पहिले म आफ्नो क्यारियर बनाउनतिर लाग्छु ।
० आँखा मार्नेहरू त होलान् नि ?
– त्यो त आफूमा भरपर्दो रहेछ । वास्ता नै नगरेपछि आँखा मार्नेहरूको आँखा नै बन्द हुन्छ नि । केटाले जिस्क्यायो भने दङ्ग पर्न म अरूजस्ती केटी होइन ।
० विजिता त राम्रो डान्सर पनि हो । कस्तो खालको डान्स मनपर्छ ?
– मलाई सिनेमामा आइटम डान्स मनपर्छ ।
० किन नि ?
– यस्तो नृत्यबाट दर्शकहरूले बढी मनोरञ्जन लिन पाउँछन् । नृत्याङ्गनाको उद्देश्य नै आफ्नो नृत्यप्रति अरूलाई मोहित पार्नु हो नि ।

अलग स्वाद खोज्नेलाई नोटबुक
यदि गीत चल्यो भने नेपाली सिनेमा चल्यो र गीत राम्रो छ भने चलचित्र पनि चल्यो । यो कुरामा नेपाली सिनेमाको पुरानो इतिहास साक्षी छ । गीत राम्रो भएका प्रायश: चलचित्र चलेका उदाहरण हुँदाहुँदै पनि चलचित्रमेकरहरू त्यो कुराको वास्ता नगरी गीत÷सङ्गीतलाई छायामा पार्न खोज्दा अन्तत: आफैँ मारमा पर्ने गरेका छन् ।
तर एउटा चलचित्रले यो कुरालाई बुझेर अगाडि बढ्दा अहिले नाम र दाम दुवै कमाएको छ । चलचित्र हो ‘नोटबुक’ । यो चलचित्रलाई व्यावसायिक रूपमा सफल बनाउन र दर्शकहरूमाझ पु-याउन ‘गाला रातै गाला रातै…’ बोलको गीतको महत्वपूर्ण भूमिका रहेको कुरा यतिबेला सत्य सावित भइदिएको छ । वसन्त सापकोटाको सङ्गीत रहेको चलचित्र नोटबुकलाई प्रज्ञा जोशीले बनाएकी हुन् भने योगेश घिमिरे यसका निर्देशक हुन् । नयाँ विषय, नयाँ धार अनि क्यामेरा र प्रविधिको कुरा गर्ने तर सिनेमा भने छेउ न छुप्पोको बनाएपछि दर्शकहरू सिनेमा नै हेर्न आउँदैनन् भनेर गुनासो गर्न मिल्छ ? यतिबेला नेपाली सिनेमा हेर्न दर्शकहरूको कमी होइन कि राम्रो सिनेमाको कमी भएको हो भन्दा फरक पर्दैन । यदि नेपाली सिनेमा हेर्ने ददर्शकको कमी भइदिएको हो भने चलचित्र नोटबुकले कसरी राम्रो व्यापार गर्न सक्दथ्यो ? यो चलचित्रको सफलताले त नेपाली चलचित्र चल्दैन भनेर गलत हल्ला फैलाउने चलचित्रकर्मीहरू पनि हिस्स भएका छन् ।
नयाँ कथा र प्रविधिको नाममा छाडा विषय, दृश्य र प्रस्तुति लिएर आउने अधिकांश चलचित्र माइनस हुँदै जान थालेपछि अन्तत: दर्शकहरूले मूल प्रवाहका चलचित्रमाथि विश्वास गर्न थालेका छन् । नयाँ अनुहार र क्षमता भएका चलचित्रकर्मी भनेर आफ्नै बखान गर्नहरूले एकपटक चलचित्र ‘नोटबुक’ हेर्नैपर्छ । सिनेमाले दर्शकहरूलाई झनै तनाव दिने होइन कि त्यो तनाव बिर्साउने काम गर्नुपर्दछ । यसकारणले पनि दर्शकहरू चलचित्र नोटबुकप्रति आकर्षित हुन थालेका छन् । जीवन लुइँटेल, नीता ढुङ्गाना र सेन सापकोटाको प्रमुख अभिनय रहेको छ चलचित्र ‘नोटबुक’मा ।

बौद्धिक सम्पत्ति दिवस मनाउने तयारी
संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत संस्था ‘वल्र्ड इन्टलेक्च्युअल प्रोपर्टी अर्गनाइजेसन’ले हरेक वर्ष अप्रिल २६ (वैशाख १३, शुक्रबार)का दिन विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाउन आह्वान गरेअनुसार नेपालमा यस वर्ष सङ्गीत रोयल्टी समाज नेपालको संयोजकत्वमा सो दिवस मनाउने तयारी गरिएको छ । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयको सहयोगमा सो दिवस भव्य रूपले मनाउन लागिएको समाजका अध्यक्ष एवम् लोकप्रिय सङ्गीतकार सुरेश अधिकारीले जनाउनुभयो ।
उक्त दिन नेपालका सम्पूर्ण कला, साहित्य, औद्योगिक, वैज्ञानिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रका सरोकारवाला सबै सङ्गीत उत्पादक, प्रस्तोता, हस्तकला, ललितकला, नाट्यकर्मी, चलचित्रकर्मी, सञ्चारकर्मी, नृत्यकर्मी, पुस्तक व्यवसायी, प्रकाशक, साहित्यकार, फोटोग्राफर, ग्राफिक डिजाइनर, फेसन डिजाइनर, -याम कोरियोग्राफर, कम्प्युटर सफ्टवेयर क्रियटरलगायतको सहभागितामा प्रभातफेरीमार्फत जनचेतना जगाउने क्रार्यक्रम रहेको जानकारी दिँदै अध्यक्ष अधिकारीले आगामी शुक्रबार बिहान ७:३० बजे प्रदर्शनीमार्ग (भृकुटीमण्डप)मा उपस्थिति जनाई प्रभातफेरीमा सहभागी हुन उल्लेखित सबै पक्षलाई आग्रह गर्नुभएको छ । प्रदर्शनीमार्गबाट सुरु हुने प्रभातफेरी भद्रकाली, न्युरोड, वसन्तपुर, रत्नपार्क हुँदै साढे नौ बजे समापन गरिने जनाइएको छ ।

इतिहास रच्दा करोड चुर्लुम्म
सिनेमा मात्र राम्रो बनाएर हुँदैन, समय, परिवेश र भाग्यले पनि साथ दिनुपर्छ भन्ने भनाइ नेपाली चलचित्र क्षेत्रमा प्रचलित छ । यो भनाइ निर्देशक दीपेन्द्र खनालमाथि यतिबेला चरितार्थ भएको छ । सबैबाट वाहवाही मिले पनि आफ्नो सिर्जना लक्षित वर्गसम्म नपुग्दा सर्जक तनावमा आउनु सामान्य नै हो । यस्तै भएको छ निर्देशक दीपेन्द्र खनाललाई ।
नेपाली सिनेमाको इतिहासमै पहिलोपटक थ्रीडी प्रविधिको सिनेमा बनाएर निर्देशक खनालले इतिहास त रचे तर उनी सन्तुष्ट छैनन् । ‘यो इतिहास रच्ने कार्य मलाई निकै महँगो प-यो,’ खनाल भन्छन् । कुरा के रहेछ त भन्ने जिज्ञासाको जवाफमा बेलिविस्तार लगाउँदै खनालले गुनासो गरे, ‘थ्रीडी सिनेमा त बनाएँ तर यो प्रविधिमा बनेका सिनेमा देखाउने हल भने नेपालभर जम्मा चारवटा मात्र रहेछन् । मैले चाहेर पनि सबै दर्शकसमक्ष यो फिल्म पु-याउन सकिनँ र दर्शकले चाहना राखेर पनि यो सिनेमा हेर्न पाउनुभएन ।’
जम्मा चारवटा हल पनि काठमाडौंमा मात्र भएकाले काठमाडौंबाहिरका दर्शक त पहिलो थ्रीडी नेपाली सिनेमा हेर्नबाट वञ्चित हुन पुगेका छन् । ‘यो सिनेमाको मज्जा र आकर्षण भनेको विशेष चस्मा लगाएर हेर्नु हो, तर त्यो नै दर्शकहरूले उपभोग गर्न नपाएपछि दिक्क नलाग्ने कुरै भएन’ भन्छन् दीपेन्द्र ।
एक करोड हाराहारीको लगानीमा बनेको चलचित्र भिजिलान्ते काठमाडौंमा जति चले पनि त्यति लगानी नउठ्ने कुरा अब निश्चित छ । हेर्ने सबैले तारिफ गरेजस्तै सबै वर्ग, तह र तप्काका दर्शकमाझ पु-याउन नसक्दा चिन्तित बनेका निर्देशक दीपेन्द्र खनाल इतिहास लेख्न पाएकोमा भने केही राहत महसुस भएको स्वीकार गर्छन् । खनाल भन्छन्, ‘थ्रीडी नेपाली चलचित्रको प्रयोगमा सफल भएको छु, यो पनि एउटा इतिहास रचेकैसरह हो । अहिलेलाई यत्तिकैमा चित्त बुझाउनुपर्ला ।’