गिनिज बुकमा ‘कर्णालीका हिरो’

गिनिज बुकमा ‘कर्णालीका हिरो’


sportदाजु कृष्णप्रसाद रोकायको प्रेरणाले खेलकुदतर्फ आकर्षित भएका उनले चौध वर्षको उमेरबाट खेल्न थालेका थिए । कलिलो मस्तिष्क कुन खेल रोज्ने कुराको द्विविधा भए पनि उनले दाजु एथलेटिक्स खेल्ने भएकाले एथलेटिक्सलाई नै आत्मसात् गरेका थिए । विद्यालयबाट आफ्नो खेलकुदको भविष्य शुभारम्भ गरेका उनले विद्यालयस्तरका प्रतियोगितामा एकछत्र राज गर्न सफल भएका थिए । विद्यालयस्तरमा पाएको अकल्पनीय सफलताले सानो उमेरमै उनलाई कर्णाली जिल्लामा परिचित गराउनुको साथै जिल्लाको हिरोसमेत बनेका थिए । यसरी सानो उमेरमा पाएको सफलताले उनमा नयाँ जोस–जाँगर भरिदिएको थियो । योभन्दा उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा मिलेको थियो । जसलाई उनले वास्तविकतामा बदल्न अथक मिहिनेत गरेका थिए । त्यही अथक मिहिनेत र परिश्रमका कारण आज उनी नेपालका चर्चित राष्ट्रिय खेलाडी मात्र नभई कीर्तिमानी पुस्तक ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा आफ्नो नाम खेलाउन सफल भएका छन् । उनी हुन्– विकट कर्णालीका नेपाली ‘हिरो’ हरिबहादुर रोकाय ।
एथलेटिक्स एकल खेल भएकाले आफ्नो प्रतिभा देखाउन पाइने कुरालाई आत्मसात् गर्दै हरिको पहिलो रोजाइमा एथलेटिक्स परेको थियो । एथलेटिक्समा केही गरेर देखाउने मनभित्रको चाहनालाई पूरा गर्न उनले सर्वप्रथम आफूलाई वीरेन्द्र सिल्ड प्रतियोगितामा होमेका थिए । शुभारम्भमा नै चार सय, आठ सय र १५ सय मिटरमा सहभागिता दिएका हरिले उक्त तीनै समूहमा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । स्कुलेजीवनमा तीनपटक वीरेन्द्र सिल्ड खेल्न भ्याएका हरिले तीनैपटक आफूले सहभागिता जनाएका प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेर कीर्तिमानसमेत कायम गरेका थिए । यसरी जिल्लास्तरीय प्रतियोगितामा पाएको सफलताले उनको जीवनमा नौलो तरङ्ग उत्पन्न भएको थियो । हरिलाई अब जिल्लामा नभई राष्ट्रियस्तरमा तहल्का मच्चाउने सोच पलाएको थियो । यही कुरालाई लक्ष्य बनाउँदै हरिले निकै रगत–पसिना सुकाएका थिए ।
कर्णालीबाट ०३९ सालमा काठमाडौं झर्ने क्रममा हरिले पहिलोपटक एथलेटिक्सको राष्ट्रिय जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मौका पाएका थिए । जिल्लाबाट पहिलोपटक काठमाडौं आएको र राजधानीको सम्पन्नताले उनको मन निकै चञ्चल बन्न पुगेको थियो । सपनामा पनि नदेखेको रङ्गीन दुनियाँमा प्रवेश गर्दा उनले निकै अप्ठ्यारोको अनुभव गरेका थिए । गृहजिल्ला जुम्लाको सानो मैदानमा दौडिरहेका उनलाई दशरथ रंगशाला निकै विशाल लागेको थियो । दशरथ रंगशालामा दौडिँदा उनको मन अशान्त हुनुको साथै खुट्टा काँपेका थिए । र पनि, उनले हिम्मत नहारी १५ सय मिटरको दौडमा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रियस्तरको पहिलो प्रतिस्पर्धामा हरिले कुनै चमत्कार देखाउन नसके पनि चौथो स्थान प्राप्त गरेर भविष्यको ढोका खोल्न भने सफल भएका थिए ।
त्यसको एक वर्षपछि हरिले ०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाएका थिए । लामो दूरी दौडन मन पराउने उनले उक्त प्रतियोगितामा पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय प्रतियोगितामा अलि निडर देखिए पनि उनले यहाँ पनि चौथो स्थानमै चित्त बुझाउनुपरेको थियो । त्यसको एक वर्षपछि ०४१ सालमा दाङमा भएको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा हरिले १५ सय र पाँच हजार मिटरमा दौडेका थिए । उक्त दुवै समूहमा तेस्रो स्थान हासिल गरेर उनी कर्णाली अञ्चललाई पहिलोपटक राष्ट्रियस्तरमा पदक दिलाउने पहिलो खेलाडी बन्न पुगेका थिए । यसरी राष्ट्रियस्तरमा पहिलोपटक जितेपछि निकै उत्साहित बनेका हरिले ०४३ सालमा वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । कर्णाली अञ्चलबाट एक सय ७२ जना खेलाडीले सहभागिता रहेको उक्त राष्ट्रिय प्रतियोगितामा हरिले पाँच हजार मिटरमा प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगितामा अन्य सबै खेलाडी पदक जित्न असफल भए पनि हरिले कास्य पदक जितेर कर्णाली अञ्चलको नाक काटिनबाट बचाएका थिए ।
यसरी राष्ट्रियस्तरमा पदक जित्ने क्रम दोहोरिँदा हरिको आत्मविश्वास निकै बढेर गएको थियो । उनलाई योभन्दा राम्रो गर्ने जोस–जाँगर पलाएको थियो । तसर्थ उनले दिनरात एउटै बनाएर कडा अभ्यासमा जुटेका थिए । मिहिनेतको फल मीठो हुन्छ भनेझैं सोही साल अर्थात् ०४३ मा काठमाडौंंमा भएको २७औँ एथलेटिक्स राष्ट्रिय प्रतियोगितामा हरिले पाँच हजार र दश हजार मिटरमा सहभागिता जनाएका थिए । हरिको जीवनमा निकै खुसी ल्याएको यो प्रतियोगितामा उनले पाँच हजारतर्फ स्वर्ण र दश हजारतर्फ रजत पदक जित्न सफल भएका थिए । यो जितसँगै हरि कर्णाली अञ्चललाई स्वर्ण र रजत पदक दिलाउने पहिलो खेलाडी बनेका थिए । यसरी खारिँदै गएको मिहिनेत र बढ्दै गएको आत्मविश्वासले हरिलाई सफल खेलाडी बनाउँदै लगेको थियो । सोही कुरालाई आत्मसात् गर्दै हरि नयाँ चुनौती र केही गरेर देखाउनुपर्छ भन्ने भावनाका साथ ०४४ सालमा वीरगञ्जमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा होमिएका थिए । उक्त प्रतियोगितामा हरिले पाँच हजार, दश हजार र ३५ किलोमिटर (हाप म्याराथन) मा प्रतिस्पर्धा गरेका थिए । हरिले उक्त तीनै विधामा स्वर्ण पदक जितेर नौलो कीर्तिमान कायम गरेका थिए । यसरी यो प्रतियोगितामा पाएको सफलताले हरिको नाम कर्णाली अञ्चलमा मात्र नभई राष्ट्रियस्तरमा पनि गुन्जिन थालेको थियो । उनी राष्ट्रियस्तरमै एक सफल खेलाडीको रूपमा परिचित हुन पुगेका थिए ।
एथलेटिक्समा आफ्नो सशक्त पहिचान बनाउन सफल भएपछि हरिले राष्ट्रियस्तरका प्रतियोगिताहरूमा कहिल्यै दोस्रो हुनुपरेन । ०४५ सालमा महेन्द्रनगरमा आयोजना भएको एथलेटिक्स प्रतियोगितामा १५ सय, पाँच हजार र दश हजार मिटरमा स्वर्ण पदक जित्नुका साथै जावलाखेलले प्रत्येक वर्ष आयोजना गर्ने २७ किलोमिटर दौडमा तीनपटक लगातार प्रथम स्थान हासिल गरेर कीर्तिमान बनाउन पनि सफल भएका थिए । लामो दूरीका खेलमा पाएको लगातार सफलतापश्चात् हरिले ०४६ सालमा झापामा भएको एथलेटिक्स प्रतियोगिताको म्याराथनतर्फ पहिलोपटक सहभागिता जनाएका थिए । म्याराथनतर्फ पहिलो सहभागितामै प्रथम स्थान हात पारेपछि हरिले म्याराथनलाई नै आफ्नो पहिलो रोजाइमा राखेका थिए । हरिले नेपालमा आयोजना भएको काठमाडौं म्याराथनमा तीनपटक दौडिने अवसर पाएका छन् । जसमा प्रथम स्थान हासिल गर्न नसके पनि काठमाडौं म्याराथनमा एकपटक दोस्रो र दुईपटक तेस्रो स्थान भने हात पारेका छन् ।
राष्ट्रियस्तरमा पाएको सफलताले हरिको अन्तर्राष्ट्रियस्तरमा साइनो गाँसिनु स्वाभाविकै थियो । सो क्रममा उनले सन् १९८५ मा इन्डोनेसियामा आयोजना भएको एसिया एथलेटिक्स प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन पाएका थिए । उक्त प्रतियोगिताको पाँच हजार मिटरमा प्रतिस्पर्धा गरेका हरिले २८ जनामा १५औँ स्थान हासिल गरेका थिए । त्यसपछि बंगलादेशको ढाकामा भएको एसियन एथलेटिक्स प्रतियोगितामा पाँच हजार मिटरमा सहभागिता जनाएका हरिले चौथो स्थान हासिल गरेका थिए । अन्तर्राष्ट्रिय सहभागिता बाक्लिँदै गएपछि हरिले थाइल्यान्डको बैंककमा भएको अन्तरक्लब आमन्त्रण एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्दै मुलुकको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रमा उँचो पार्न सफल भएका थिए । हरिले उक्त प्रतियोगिताको पाँच हजार, दश हजार र १६ सय रिलेमा सहभागिता जनाएकोमा पाँच र दश हजारतर्फ स्वर्ण र रिलेमा कास्य पदक जितेका थिए । त्यस्तै सिंगापुरमा भएको आमन्त्रण एथलेटिक्स प्रतियोगितामा पनि हरिले पाँच र दश हजारतर्फ क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । यसैगरी भारतको कोलकोतामा भएको तेस्रो साफ गेममा पाँच हजार मिटरतर्फ कास्य पदक जितेका हरिले पाकिस्तानमा भएको चौथो साफमा भने चौथो स्थानमै चित्त बुझाउनुपरेको थियो ।
सन १९८६ मा दक्षिण कोरियाको सिउलमा आयोजना भएको एसियाली खेलकुदमा १० हजार मिटरमा सहभागिता जनाएका हरिले उक्त प्रतियोगितामा कुनै चमत्कार देखाउन सकेनन् । एसियन गेममा उनको सहभागिता नै ठूलो उपलब्धि बन्यो । तर, सन् १९८८ मा सिउलमै आयोजना भएको ओलम्पिकमा भने उनले १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान तोड्न सफल भएका थिए । त्यसपछि सन् १९९२ मा स्पेनको बार्सिलोनामा आयोजना भएको ओलम्पिक खेलकुदमा हरिले म्याराथनमा सहभागिता जनाउन पाएका थिए । पदक जित्नुभन्दा पनि राष्ट्रिय कीर्तिमान तोड्ने उद्देश्य लिएका हरिले उक्त ओलम्पिकमा ७०औँ स्थान भने हासिल गर्न सफल भएका थिए । त्यसपछि उनले आफ्नो सारा ध्यान म्याराथनतर्फ नै केन्द्रित गरेका थिए ।
०२२ सालमा बुबा कर्णबहादुर र आमा उमादेवी रोकायका कोखबाट जन्मिएका हरिले सन् १९८७ मा पहिलोपटक अन्तर्राष्ट्रिय सिङ्गापुर म्याराथन दौडिने अवसर पाएका थिए । जसमा उनी नवौँ स्थान रहन सफल भएका थिए । पहिलो म्याराथनबाट हौसिएका हरिले सन् १९८९ मा मलेसियामा भएको मलेसिया म्याराथनमा तेस्रो स्थान हात पार्न सफल भएका थिए । यो म्याराथनमा तेस्रो स्थान हासिल गरेबापत उनले सात सय अमेरिकी डलर पनि पुरस्कारस्वरूप हात पारेका थिए । तर, विडम्बना अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा पनि खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले कुनै सम्मान नगर्दा हरिले निकै कुठाराघात भएको बताए । त्यसपछि सन् १९९३ मा नेपालमा भएको एभरेष्ट म्याराथनमा हरिले सहभागिता जनाएका थिए । जसमा उनले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । पहिलो सहभागितामै एभरेष्ट म्याराथनमा दोस्रो स्थान हासिल गरेपछि हरिलाई यो म्याराथन आफूले जित्न सक्ने आत्मविश्वास पलाएको थियो । यसरी दुई वर्षको अन्तरालमा आयोजना हुने यो म्याराथनका लागि हरिले विशेष तयारी गरेका थिए । ‘तँ आँट म पु¥याउँछु’ भनेझैं सन् १९९५ को एभरेष्ट म्याराथनको दोस्रो संस्करणमा हरिले प्रथम हुने लक्ष्य लिए पनि यसपटक पनि दोस्रो स्थानमै चित्त बुझाउनुपरेको थियो । तर, हरिले हिम्मत हारेनन्, उनले आफ्नो लक्ष्यमाथि अर्जुनदृष्टि लगाइरहे । फलस्वरूप सन् १९९७ को तेस्रो संस्करणमा उनले प्रथम स्थान हासिल गर्दै बाजी मारिछाडे । त्यसपछि सन् १९९९ मा आयोजना भएको एभरेष्ट म्याराथनमा हरिले लगातार चौथोपटक सहभागिता जनाउँदै ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएका थिए । हरिले यो संस्करणमा विश्वकीर्तिमान कायम गर्दै एभरेष्ट म्याराथन जित्न सफल भएका थिए । हरिले उक्त दूरी तीन घन्टा ५६ मिनेट १० सेकेन्डमा पार गरेका थिए । हरिभन्दा पहिले ब्रिटिस खेलाडीले तीन घन्टा ५९ मिनेट ३५ सेकेन्डमा यो दूरी पार गरेर विश्व रेकर्ड राखेका थिए । यो उपलब्धिसँगै हरिको नाम गिनिज बुक अफ बल्र्ड रेकर्डमा दर्ता भएको थियो । जुन सन् २००५ को संस्करणमा छापिएको छ ।
हरिले सफलतामाथि सफलता पाउँदा उनको खेलजीवनले पनि शिखर छोएको थियो । एभरेष्ट म्याराथनमा विश्वकीर्तिमान कायम गरेपछि सबैको वाहवाही बटुलेका हरिले सन् २००० मा पुन: आफ्नो विश्वकीर्तिमान भङ्ग गर्दै एभरेष्ट म्याराथनमा नौलो विश्वकीर्तिमान कायम गरेका थिए । यसपालि उनले तीन घन्टा ५० मिनेट २३ सेकेन्डमा दौड पूरा गर्न सफल भएका थिए । यो विजयसँगै हरिले एभरेष्ट म्याराथनमा ह्याट्रिक गरेका थिए । जुन कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । यसरी हरिले आफ्नो म्याराथनको यात्रा जारी राख्दै सन् २००१ मा स्विटजरल्यान्डमा भएको एङफ्रो म्याराथनमा सहभागिता जनाउँदै आठौँ स्थानमा आउन सफल भएका थिए । सन् २००३ मा आयोजना भएको एभरेष्ट म्याराथन उनको अन्तिम म्याराथन बन्न पुगेको थियो । ४० वर्षभन्दा माथिको उक्त म्याराथनमा उनले प्रथम स्थान हासिल गरेर सक्रिय खेलजीवनलाई विश्राम दिएका थिए ।
हरि खेलकुदमा लागेर विश्वकीर्तिमान र राष्ट्रिय झन्डा अन्तराष्ट्रमा फहराउन पाएकोमा निकै खुसी छन् । उनले यस्तो सफलता सबै खेलाडीले चुम्न नपाउने भएकाले आफू यसमा भाग्यमानी भएको बताएका छन् । त्यसैले हरिले विश्वकीर्तिमानलाई आफ्नो अविष्मणीय क्षणको रूपमा आत्मसात् गरेका छन् । त्यस्तै, उनी पहिलोपटक कर्णाली अञ्चललाई पदक र स्वर्ण पदक दिलाउँदाको क्षणलाई पनि अविष्मणीय घटना मान्छन् । एथलेटिक्स नेपाली खेलाडीले पदक जित्नका लागि राज्यले विशेष रूपमा पहल गर्नुपर्ने बताउने हरिले त्यसका लागि १६ वर्षभन्दा माथिका खेलाडीलाई छनोट गरेर निरन्तर चार वर्ष प्रशिक्षण गराउनुपर्ने सुझाब दिएका छन् । उनले बूढा खेलाडीमाथि लगानी गर्न बालुवामा पानी हालेसरि हुने बताउँदै त्यसबारेमा सम्बन्धित निकाय राखेपले बेलैमा सोच्नुपर्ने बताएका छन् । वर्तमान अवस्थामा राखेपको एथलेटिक्स प्रशिक्षकको रूपमा कार्यरत हरि अहिले प्रतिभाशाली खेलाडी उत्पादन गर्न कठोर मिहिनेतका साथ लागेका छन् । उनले उत्पादन गरेको महिला खेलाडी विश्वरूपा बुढाले राष्ट्रियस्तरमा स्वर्ण पदक जितिसकेकी छिन् ।