– किशोर बुढाथोकी, सिन्धुपाल्चोक
अरनिको राजमार्गस्थित खाडीचौर बजारबाट दुई घन्टा सवारी यात्रापछि पुगिन्छ लिसंखुपाखर गाउँपालिकाको ठूलोधादिङस्थित व्यार्सा गाउँमा रहेको हरिसिद्धि धाम । प्राकृतिक सुन्दरताले भरिएको प्रसिद्ध हरिसिद्धि मन्दिर पुग्नुअघि एक घन्टाको देवदह जङ्गल पार गर्नुपर्छ । देवदहलाई छोएर पवित्र भएलगत्तै व्यार्सा गाउँ कटाएपछि बराजुद्वार, महादेव गुफा, द्वारपाल हुँदै जङ्गलको बीचमा एउटा प्राकृतिक मन्दिर भेटिन्छ हरिसिद्धि देवी ।
दर्जनौँ प्राकृतिक संरचनादेखि हरिसिद्धि देवीको मन्दिर वर्षौंदेखि प्रचारप्रसारको पर्खाइमा छ । नवरात्रि शुरु भएलगत्तै हरिसिद्धि क्षेत्रमा हजारौँ दर्शनार्थीको घुइँचो लाग्छ । राजधानीदेखि धादिङ, मेलम्चीदेखि जिल्लाभरबाट विभिन्न भाकल राखेर नवरात्रिको पहिलो दिनदेखि यहाँ जात्रा मनाउन भक्तजनहरू यहाँ आउने गरेको स्थानीय बताउँछन् । रातिदेखि शुरु भएको जात्राको शुरुवात भोलिपल्ट बिहान नहुन्जेल चलिरहन्छ । रातभर दर्शनार्थी त्रिशूल, ध्वजा चढाइरहन्छन् ।
रातको नौ बजेदेखि शुरु हुने हरिसिद्धि महाकालीको पूजा गर्ने रित रहेको छ । यहाँ महिला, भिक्षु, तान्त्रिकले प्रवेश पाउँदैनन् । यहाँ मासु, मदिरा पूर्ण रूपमा बन्देज छ । धार्मिक महत्व बोकेको हरिसिद्धि क्षेत्रमा रातको दुई बजे अलग्गै दुई धामीद्वारा गोप्य रूपमा पूजा हुन्छ ।
दश फिट अग्लो रहेको हरिसिद्धि देवीको मन्दिर प्राकृतिक ढिस्कोले बनेको छ । त्यहाँ मानवनिर्मित कुनै संरचना छैनन् । ढोकादेखि देवीस्थानमा रहेको शिलासमेत सबै प्राकृतिक छन् ।
अनौठो पक्षी र देवदह
व्यार्सागाउँ पुग्नुअघि घनाजङ्गलमा एउटा रहस्यमयी देवदह छ । घना जङ्गलबीचमा रहेको प्राचीन देवदह कुण्डको आफ्नै इतिहास छ । प्रत्यक्षदर्शीका अनुसार सात वर्ष अगाडिसम्म त्यहाँ दुईवटा नीलो र हरियो रङको अनौठो चरा आएर बस्ने गरेका थिए । जसले उक्त कुण्डको फोहोर चुच्चाले सफा गर्ने गरेका थिए । ‘तालनजिकै जङ्गलभर दसैँ शुुरु भएलगत्तै ठूलो जात्रा सुरु हुन्थ्यो,’ ठूलोधादिङ व्यार्साका वृद्ध सन्तवीर तामाङले भने, ‘काटमार चलेर झगडा भएपछि त्यो चरा हरायो र ताल सुक्दै गएर सानो बन्यो ।’ हरिसिद्धि देवीको क्षेत्रमा टेक्नुअघि यस कुण्डमा छोएर पवित्र हुनुपर्ने धार्मिक प्रावधान छ । दश हात लामो देवदहवरिपरि तीन किलोमिटर परसम्म सुन्दर जङ्गलैजङ्गल छ ।
जङ्गलसम्म मुडे बजारबाट देवदह जङ्गलसम्म कच्ची सडक जोडिएको छ । एक घन्टाको जङ्गल पार गरेपछि मनोरम व्यार्सागाउँमा टेकिन्छ ।
बराजु ढोका
एक घन्टाको जङ्गल पार गरेपछि व्यार्सागाउँलगत्तै शुरु हुन्छ वरिपरि पहाडले घेरिएको सुन्दर जङ्गल । आधा घन्टाको पैदल हिँडाइपछि बराजुद्वार पुगिन्छ । प्राकृतिक रूपले बनेको बाजे–बराजुद्वारभित्र पस्नुअघि ‘ढोका खोल्नुस् बाजे–बराजु’ भनेर छिर्ने चलन छ । त्यसो नभने यात्रा नजुर्ने विश्वास गरिन्छ ।
‘यहाँ अदृश्य ढोका रहेको विश्वासमा यस्तो गरिएको हो, ढोका माटोको ढिस्कोले बनेको छ,’ स्थानीय बोकेन लामाले भने, ‘देवीको शरणमा गएका बाजे–बराजुले देवताको रूप धारण गरेकाले उनीहरूसँग अनुमति लिनुपर्छ भन्ने धार्मिक धारणा छ ।’
द्वारपाल
देवीको मन्दिर क्षेत्रअघि रहेका बराजुढोका प्रवेश गरेलगत्तै केही मिनेटमै द्वारपालसँग अनुमति लिनुपर्ने चलन छ । द्वारपाल महादेवीको रक्षक भएकाले ‘उनीसँग हामी गयौँ है भनेर’ अनुमति लिएपछि अगाडि बढ्ने गरिन्छ ।
द्वारपाल देवतासँग अनुमति नलिई गएमा बिरामी पर्ने, चोटपटक लाग्ने गरेको स्थानीयको कथन छ । ‘द्वारपालको डरले सबै देवी मन्दिर प्रवेश गर्नुअघि अवश्य द्वारपालसँग अनुमति माग्छन्,’ धाँमी सन्तवीरले भने, ‘यहाँ भने कुखुरा, पशुचौपायाको बलि चढाइन्छ ।’

धम्मयु या भोजचौर र हुकिल, भान्सास्थल
द्वारपालपछि सुन्दर मैदानमा पुगिन्छ । जसलाई पाली भाषामा भनिन्छ ‘धम्मयु’ यसको अर्थ हो भोजचौर । यहाँ सबै बसेर भोज खाने भएकाले यसको नाम भोजचौर भनिएको हो । दुई किलोमिटर फराकिलो रहेको चौर दुबो र बीचमा अग्लो भागको संरचनाले बनेको छ ।
धम्मयुमा जात्रामा र पर्वमा भोज लगाउने गरिन्छ । सत्ययुगमा देवताले नृत्य गर्ने स्थान भएकाले त्यहाँ अपवित्र काम गर्न बर्जित छ । पिकनिक र विभिन्न कार्यक्रमका लागि उत्तम धम्मयु पर्यटकीय गन्तव्य बन्दै आएको छ ।
धम्मयुकै दाहिने दिशामा हुकिल भन्ने कुना रहेको छ । हुकिलको अर्थ भान्साकोठा हो । जसमा हावाहुरी चल्दैन । हावाहुरी नचल्ने कारणले त्यो स्थान भान्साको नाममा राखिएको स्थानीय बताउँछन् । भोजभतेर लगाउँदा हुकिलमा स्थानीय भोजन पकाएर धम्मयुमा भोजन लगाउने गर्छन् ।
महादेव गुफा
द्वारपालसँग अनुमति लिएपछि केही ओरालो झरेपछि महादेव गुफा पुगिन्छ । देवाधिदेव महादेवले तपस्या गरेको मानिने पवित्र गुफामा धार्मिक मान्छे मात्रै प्रवेश गर्न सक्ने विश्वास गरिन्छ ।
एक किलोमिटरसम्म फराकिलो रहेको उक्त सुरुङ बाहिरबाट पूर्ण रूपमा बन्द भएजस्तो देखिन्छ । गुफाभित्र प्रवेश गरेपछि अर्कै संसारमा पुगेजस्तो अनुभुति हुने गर्छ । गुफाको माथिल्लो भागमा शङ्खको विशाल छाप प्राकृतिक रूपमा बनेको छ । गुफाभर भित्तामा दुईवटा प्राकृतिक शङ्ख छन् । जसलाई देवत्व पाएको मानिसले मात्रै फुक्न सक्ने विश्वास गरिन्छ । गणेश, कुमार, कार्तिकेय, त्रिशूल, डमरु, गैँडाको खागलगायतका विभिन्न दुरुस्त प्राकृतिक आकार सुरुङभित्र प्रस्ट देख्न पाइन्छ । महादेवले तपस्या गरेको स्थानमा ठूलो सिंहमर्मर शिला रहेको छ । जसमा छुन पाइँदैन । महादेवले कैलाश शिखर छाडेर मनोरञ्जन लिन यस क्षेत्रमा आएको र यही गुफामा ध्यानमग्न भएको शिवपुराणमा उल्लेखसमेत छ ।
प्राकृतिक हरिसिद्धिको अनौठो इतिहास
प्राकृतिक घेराउमा रहेको हरिसिद्धिदेवीको असली नाम तुङ महाकाली/हुँगुर देवी हो । तुङ महाकाल÷महाकाली शक्तिशाली देवीदेवता यहाँ बस्ने गरेका छन् । दश फिटको उचाइमा रहेको हरिसिद्धि मन्दिर पूरा अनौठो कालो शिलाले बनेको छ । जहाँ जान उत्तरतर्फको शिलाले बनेको ढोका छ भने फर्किंदा पूर्वको द्वार ।
खुला रहेको उक्त मन्दिरमा पुजक धामी अलग्गै बीचको शिलाले बनेको द्वारबाट जान्छन् । धाँमी जाने द्वारबाट कसैले प्रवेश पाउँदैनन् । धामीले त्यसद्वारबाट जान अलग्गै मान्त्रिक पूजा गर्नुपर्छ ।
मानवनिर्मित संरचनाको नाममा झुन्ड्याइएको घन्टी, पूर्वतर्फको फलामे भऱ्याङ मात्रै हो । अरू सबै प्राकृतिक रूपमा शिलाले बनेका छन् । भक्तजनले चढाएको त्रिशूलको थुप्रोले मन्दिरको देब्रे भाग पूरा ढाकेको छ । जसमा फलाम, तामादेखि सुनसम्मले बनेका त्रिशूल थुप्रिएका छन् । सुनको त्रिशूल भए पनि देवीको डरले चोरी नहुने गरेको स्थानीयको भनाइ छ ।
कसरी देवी यहाँ आएर बसिन् र तीर्थस्थल बन्यो भन्ने कुरामा आचार्य लामा ग्योलेङले अनुभव ग्रन्थमा लेखेका छन् । पाली भाषामा लेखिएको ग्रन्थअनुसार आचार्य ग्योलेङ गोरखा र धादिङमा बुद्धदर्शनबारे उपदेश दिन यात्रा गरिरहेका थिए । उनले नदीकिनारमा थकाइ मार्न खोज्दा संयोगवश आचार्यले एउटा सुन्दर चम्किएको शिला फेला पारे । उनले मन परेपछि आफूसँगै लैजाने योजनासहित घर फर्के ।
त्यतिबेला व्यार्सागाउँतर्फ आउँदै गर्दा जङ्गलमै रात पऱ्यो । जति बोक्यो उति गह्रौँ भएपछि उनले पत्थरलाई हाल मन्दिर भएको स्थानमा राखेर सुते । त्यसैबेलामा भाले बासेको थियो । सपनामा देवीले दर्शन दिएर ‘मेरो अगाडि भएर पनि केही वास्ता मान गर्दैनस् त’ भनेपछि उनले क्षमायाचना गर्दै ‘के गर्न सक्छु’ भनेका थिए । देवीले कन्याकेटीको बलि मागेपछि आचार्यले ‘म भगवान् बुद्धको शिष्य हुँ कसैको हत्या गर्न सक्दिनँ, क्षमा गर्नुस्, म ध्वजा, पूजाचाहिँ गर्न सक्छु’ भनेका थिए । ‘छ्योसेङ नाम्थोइबा’ वा लामाले चारवटा सोल्ते बनाएर जोखना हेरेर देवीलाई पूजा गरेका थिए । ‘ढिकार मेल्दा फूल’ अर्थात् चामल र फूलले पूजा गरेका थिए ।
त्यसपछि देवीले क्रोधित भई महिला, भिक्षु, तान्त्रिक कसैले मेरो दर्शन गर्न नआउनू भनेकोले वर्जित रहेको स्थानीयको कथन छ । ग्याल्जसी वा चार ढोकामा सामान्य पुरुषले मात्रै दर्शन गर्न पाउने भएकाले अरूलाई द्वारबाहिर राखिन्छ ।
भाकल राखेको पूरा भएको भन्दै भारतदेखि जिल्लाभरका दर्शनार्थीको यस क्षेत्रमा भिड लाग्ने गरेको छ । पवित्र देवीको मन्दिरमा सामान्य पुरुषलाई मात्रै प्रवेश रहेको छ ।
आफ्नो भाकल पूरा भएकाले काठमाडांैबाट परिवारसहित आएका व्यवसायी सानु श्रेष्ठले बताए । ‘छोरा बारम्बार बिरामी भइरहेकाले सञ्चो पार्न यहाँ आउने भाकल राखेको थिएँ,’ उनले भने, ‘जुन दिन भाकल राखंँ, त्यही दिनको बेलुकाबाट छोरा तन्दुरुस्त भयो ।’ उनले देवीको चमत्कारबाट प्रभावित भएकाले यहाँ छोरालाई लिएर दर्शन गर्न आएको सुनाए । उनीजस्तै टाढाटाढाबाट हरिसिद्धि आउनेको लर्को हुने गरेको छ ।

प्रतिक्रिया