नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन् ।
धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनः धितो राखी अरु कसैले रु. चार करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए ।
धनुषाको विदेह नगरपालिका-८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-२ मा बसोबास गर्दै आउनुभएका सुरक्षाकर्मी साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
पूर्वएसएसपी साहका अनुसार विसं २०७९ मा चिनजानका व्यक्तिसँग रु ९९ लाख ऋण लिइ विदेह नगरपालिका-६ तीनकौरियाको पत्नीका नाममा रहेको पाँच कठ्ठा १३ धुर दृष्टिबन्धक गरिदिएकामा उनलाई थाहा नै नदिइ ती व्यक्तिले अर्कालाई त्यो जग्गा पुनः धितो राखी रु चार करोड ऋण लिएका थिए ।
पूर्वसुरक्षाकर्मी साहका अनुसार ऋणको साँवा-ब्याज तिर्ने र जग्गा फिर्ता गरिदिन पटक-पटक आग्रह गर्दा ती व्यक्तिले विभिन्न बहाना बनाएपछि उनले ठगीको उजुरी दर्ता गराएका छन् ।
पूर्ववरिष्ठ उपरीक्षक साहको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगीको अभियोग लागेका स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया