माग्नुमा गौरव ?

माग्नुमा गौरव ?


nisedhदिनु महानता हो भने माग्नुचाहिँ के हो ? समान्यतया मानव समाजले माग्ने कामलाई तुच्छ, उपेक्षापूर्ण र अपमानजनक मान्दछ । त्यसैले विश्वमा माग्नेहरू कहीँ पनि सम्मानित हुन सकेका छैनन् । तर, हाम्रा राजनीतिकर्मीहरू भने गौरवसाथ माग्छन्, माग्नुमा गौरव गर्छन् र मगन्ते भएबापत सम्मान पनि खोज्छन् । नेकपा एमाओवादीका अध्यक्ष प्रचण्डले चीन भ्रमणबाट फर्किएपछि बडो गौरवका साथ युद्धै जितेर आएझैं गरी आफूले चीनसँग सहयोग मागेर आएको बताउनुभयो । उहाँले आफूले मागेर आएको कुरालाई यसरी व्यक्त गर्नु भो मानौँ– माग्ने काम मंगलग्रहमा मानिस पठाउनेभन्दा धेरै ठूलो थियो । भारत जानुअघि पनि उहाँले आफू सहयोग माग्न जान लागेको बताउनुभएको थियो । विकासका लागि र संविधानसभाको निर्वाचनका लागि नेपाललाई छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको उहाँको धारणा छ । तर, वास्तविकता त के हो भने जुन सहयोगका लागि उहाँ दौडिरहनुभएको छ, ती दुवै कुरा बाहिरी सहयोगबाट भन्दा पनि हामी आफ्नै प्रतिबद्धता र कार्यान्वयनमा भर पर्ने कुरा हुन् । नेपालले विकास गर्न नै चाह्यो भने कुनै पनि मुलुकले रोक्न सक्दैन र रोक्दैन पनि । चाहे त्यो चीन होस्, भारत या अन्य तेस्रो मुलुक, सबै नै खुसी नै हुनेछन्, सहयोग गर्नेछन् । यहाँको विकासमा दु:खी भएर असहयोग कसैले गर्लान् जस्तो लाग्दैन । नेपालको विकास रोक्ने त हामी नेपाली नै हौँ । दश वर्षसम्म द्वन्द्वका नाममा हामीले विकासका कामहरू अवरुद्ध पा¥यौँ, त्यसपछि शान्तिका नाममा अहिलेसम्म विकासका कामहरू हुन सकेका छैनन् । नेपालका नदीनालामा बगेको पानीबाट बिजुली निकाल्न कुनै विदेशीले हामीलाई रोकेको छैन न त रोक्ने हैसियत नै कसैले राख्छ । हाम्रै नेता र कर्मचारीका कारण जलस्रोतको धनी देश भएर पनि हामीले दिनको १८ घन्टासम्म लोडसेडिङ खप्नु परिरहेको छ । हाम्रा कल–कारखाना र उद्योग–व्यवसाय ध्वस्त बनाउने भारत र चीन होइनन्, हामी नै हौँ । कुनै उद्योग–व्यवसाय फस्टाउन लाग्यो भने तालाबन्दीको अवस्थामा पु¥याउने बाह्य मुलुक या तिनका नागरिक होइनन् हामी नै हौँ । समस्या हामीमैँ छ, हामीसँगै छ, अनि समाधान खोज्न बाहिर गएर पाइने केही छैन । आफैँभित्र समाधान खोज्ने हो भनेचाहिँ पाउने सम्भावना प्रसस्त छ ।
देश विकास मात्र होइन, संविधान पनि हाम्रै कारणले नबनेको हो अरूका कारणले होइन । यदि अरूकै कारणले रहेछ भने पनि त्यसप्रकारको परिस्थिति हाम्रै नेतृत्व वर्गले निम्त्याएका हुन् । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक नेपालका कुनै पनि नेता या प्रधानमन्त्री नेपालको हितका लागि प्रस्तुत नभएको निष्कर्ष भारतले निकालेको भन्ने कुरा केही दिनअघि मात्रै सार्वजनिक भएको छ । धेरै अर्थमा यो निष्कर्ष सही लाग्छ । छिमेकी मुलुकमा जति पनि औपचारिक राष्ट्रिय भ्रमणहरू भए ती मुलुकका लागि कति हितमा थिए भन्ने कुराको लेखाजोखा गर्ने बेला शायद अब भएको छ । नेताहरूले त्यहाँ गएर के बोले ? गोप्य बैठकहरूमा के कुरा राखे ? र ती कति राष्ट्रिय हितमा थिए भनेर नेपाली जनताले कहिल्यै खोजीनिती गरेनन् । बीपी कोइराला प्रधानमन्त्री हुँदा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँगका संवाद निकै चर्चित बने, तर तिनको अर्थ केसम्म हुन सक्छ भनेर नेपालीबीच भने चर्चाको विषय बनेन । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएर भारत भ्रमणमा जानुभएको बेला नेपाली सेनामा मधेसी समुदायको प्रवेश र सहभागिताको कुरा उताबाट राख्दा उहाँले दिनुभएको जवाफले उपस्थित सबैलाई मौन बनाइदिएको तथ्य इतिहासमा जीवितै छ । तत्कालीन प्रधानमन्त्री भट्टराईको जवाफ थियो, ‘त्यही त, यो कुरामा मलाई पनि आश्चर्य लाग्छ, किन सहभागिता भएन होला ? हामीकहाँ त मधेसीको सहभागिता कम भयो भयो भारतले लिने गोर्खाली सेनामा पनि किन नलिएको होला ? त्यस्तो केही कारण छ कि ? आखिर उनीहरू पनि त नेपाली नै हुन्, नेपाली हुनुको अर्थ गोर्खाली नै हुन् । भारतले यो विभेद किन ग¥यो होला भनेर म पनि छक्क परेको छु ।’ यस्ता कतिपय कुराले त उहाँलाई अरू नै सूचीमा राख्नुपर्ने हो । तर, अन्तत: भारतले उहाँलाई नै राष्ट्रको हितमा बोल्ने नेता भनेर घोषित ग¥यो । यसो गर्नुका पछाडि उहाँले देशको हितमा लिनुभएको अडान नै प्रमुख हो । त्यस्तै मनमोहन अधिकारीको पनि राष्ट्रिय हितबाहेक अर्को स्वार्थ थिएन । तर, धेरैजसो नेता त्यहाँ पुगेपछि आफ्नै लागि कुरा गर्ने गरेका अनेकौँ दृष्टान्त छन् । आफ्ना छोराछोरी तथा आफन्तलाई छात्रवृत्तिदेखि आफूलाई चुनाव खर्चसम्म जुटाउन थालेपछि इज्जत रहने कुरा पनि आएन ।
राष्ट्रका लागि केही गर्छौं भनेर जनतासँग विश्वास लिई अघि बढेका नेताले मात्र होइन कुनै पनि क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरूले व्यक्तिगत हितका निम्ति मात्रै कार्य गरेको राम्रो मानिँदैन । हाम्रा छिमेकी मुलुकहरूका प्राध्यापकदेखि पत्रकारसम्मले आफ्नो कुरा गर्दैनन्, देशको कुरा गर्छन् । मुलुकको नीतिको कुरा गर्छन् तर हामीकहाँचाहिँ धेरैजसो आफ्नै हितको मात्रै कुरा गर्ने प्रचलन छ, जसका कारण सम्बन्धित व्यक्तिको कद त घट्छ नै मुलुकलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ । हामी आफ्नै कारणले ‘दिने होइन माग्नेहरूको मुलुकका बासिन्दा’झैं भएका छौँ । छिमेकी मुलुकका कतिपय अधिकारीहरूसँग कुरा गर्दा भन्ने गर्छन्, हामीलाई नेपाली भएर कुरा गर्ने नेता या व्यावसायिक व्यक्ति मन पर्छ तर यहाँ त अधिकांशले आफू तिम्रै मुलुकसँग नजिक रहेको भन्दै आफ्नो देश र यहाँ भइरहेका क्रियाकलापप्रति अनेक टीका–टिप्पणी गर्न थाल्छन् । कति प्रो चाइनिज छन्, कति प्रो इन्डियन छन्, हामीलाई त प्रो नेपाली भएकै राम्रो लाग्छ, किन बुझ्दैनन् मानिसहरू ? यस्ता प्रश्नहरूले धेरैपटक हीनातबोध पनि गराएको छ । चीन गयो चीनकै नजिकको अनुभूति दिलाउन खोज्ने, भारत गयो भारतसँगै नजिक छु भन्ने छाप छोड्न खोज्ने नेताहरूदेखि नेपाली मात्र होइन सम्बन्धित मुलुककै मानिस पनि आजित छन् । आफ्नो देशलाई केन्द्रमा राखेर छिमेकी मुलुकलाई छिमेकी मुलुककै रूपमा हेर्ने दृष्टिकोण नबनुन्जेलसम्म हामी उनीहरूसँग केही माग्न पाएकोमा गर्व गरिरहनेछौँ । राजनीतिक दल र दलभित्र पनि व्यक्तिपिच्छेका परराष्ट्रसम्बन्धी दृष्टिकोण बनिदिँदा नेपालीले नेताका कारण सधैँ शिर निहु¥याउनुपर्ने परिस्थिति बन्ने गरेको छ । कसले कहाँ गएर के बोलिदिने हो, के मागिदिने हो भनेर स्वाभिमानी नेपालीले सधैँ एकप्रकारको त्रास मान्नुपर्ने अवस्था छ । मुलुकको परराष्ट्रनीति भनेको काङ्ग्रेसको एउटा, माओवादी या एमालेको अर्को भन्ने हुँदैन, यो त देशको नीति हो त्यसैले हाम्रो परराष्ट्रनीतिबारे अब गम्भीर रूपमा छलफल हुनु आवश्यक छ ।