महिनौँको प्रचण्ड–प्रयासपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्ने अवसर मिलेको छ । भारतको चारदिवसीय यात्रा पूरा गरी दाहाल स्वदेश फर्किएका छन् । उत्तरी छिमेक चीनको यात्राबाट फर्किएको साता दिनमै ‘नयाँदिल्लीसँग विश्वासको नयाँ आधार बनाउने’ उद्घोष गर्दै भारत यात्रामा निस्केका दाहाल सबभन्दा नजिकको छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धमा विश्वासको नयाँ आधार खडा गर्न कति सफल भए या भएनन् भन्ने सन्दर्भमा बौद्धिक तहमा चर्चा सुरु भएको छ ।
दाहालले छिमेकी देशहरूको यस भ्रमणलाई निकै महत्वशाली दर्शाउने प्रयत्न सुरुदेखि नै गरिरहेका छन् । एक पार्टीविशेषको प्रतिनिधित्व गर्दै या निजी तवरबाट गरिएको भ्रमण भए पनि उनले आफ्नो भ्रमणलाई राष्ट्रिय महत्वको विषयका रूपमा चित्रित गराउन खोजेको प्रस्टै छ, जो पुष्पकमलको चरित्र या स्वभावविपरीतको विषय पनि होइन । यस ‘प्रोपोगण्डापूर्ण’ भ्रमणमार्फत उनले आफूलाई नेपाली राजनीतिको केन्द्रीय पात्रका रूपमा प्रस्तुत गर्ने भरपूर प्रयत्न गरेका छन् । भ्रमण व्यक्तिगत भएर पनि ‘त्रिपक्षीय सम्बन्धको नयाँ आयाम’का रूपमा प्रतिक्रिया दिएर दाहालले यसको सङ्केत गरेकै हुन् । तथापि, दाहालले जतिसुकै बढाइचढाइ गर्न खोजे पनि उनको यस यात्राले त्यति सघन विषयको एक छेउसम्म पनि समेट्न नसकेको या नसक्ने त स्पष्टै छ । भारतीय विदेशमन्त्री सलमान खुर्सिदको ‘त्रिपक्षीय सम्बन्ध तत्काल सम्भव नरहेको र यस्तो प्रयास हतारको कदम ठहरिने’ अभिव्यक्तिले दाहालको जबर्जस्ती बडप्पन दर्शाउने अधिकाङ्क्षामाथि तुषारापात गरिसकेकै पनि छ ।
खासगरी छिमेकी भारतसँग एमाओवादी र आफ्नो व्यक्तिगत सम्बन्धमा आएको ह्रासका कारण दिनानुदिन विचलित बन्दै गएका दाहाल भारतसँग सम्बन्ध बढाउन अत्यन्त व्याकुल रहँदै आएका थिए भन्ने अनुमानलाई चाहिँ उनको यस भारत यात्राले पूरै यथार्थमा रूपान्तरण गरिदिएको छ । भ्रमणका दौरान कतिपय भारतीय नेताहरूले दिएका अभिव्यक्तिले पनि दाहालको यस अभीष्टलाई छर्लङ्ग तुल्याइदियो । विगत एक वर्षअघिदेखि दाहालले आफू भारत भ्रमणका लागि व्यग्र रहेको सन्देश विभिन्न च्यानलमार्फत लगातार पठाएको खुलासा ती नेताहरूले मिडियामार्फत सार्वजनिक गरेका छन् । यसले छिमेकी भारतसँगको असल या खराब सम्बन्धले नेपालको राजनीति तथा समग्र उन्नति र विकासमा कति सकारात्मक या नकारात्मक महत्व राख्छ भन्ने वास्तविकताको बोध पुष्पकमल दाहालमा गराएको अनुभूति हुन्छ । ढिलै भए पनि उनलाई यो चेत खुल्नु सकारात्मक सन्दर्भ नै मान्नुपर्छ ।
तर, के दाहाल या उनका अनुयायीले प्रचार गरेझैँ उनी एक्लै नेपाली राजनीतिका केन्द्र हुन् त ? कत्ति पनि अप्ठ्यारो नमानीकन आफूलाई नेपालको एक मात्र नायक या भाग्यविधाता दाबी गर्ने पुष्पकमल दाहाललाई नजिकका छिमेकी देशहरूले पनि सोही रूपमा अङ्गीकार गरेकै हुन् त ? सतही रूपमा अनुमान गर्नेले यसको जवाफ दाहाल छिमेकीहरूको निर्विकल्प रोजाइ हुन् भनेर दिन सक्छन् । तर, दाहालको स्वभाव, शैली, चरित्र, महत्वाकाङ्क्षा र रणनीतिमाथि गहिरिएर विश्लेषण गर्ने हो भने उनका यतिखेरका बोली र व्यवहार नितान्त अवसरवादी सोचको परिणति हो भन्दा अतिरञ्जना ठहर्न सक्दैन । आफ्नो स्वार्थविपरीत व्यवहार भएझैँ लाग्दा ‘सुरुङ युद्ध’को तयारी गर्ने र छिमेकी–व्यवहार सहज हुँदा ‘भारतसँग नेपालको सम्बन्ध अन्योन्याश्रित रहेको’ तर्क गर्ने पुष्पकमल दाहाल कसैका लागि पनि विश्वासयोग्य राजनीतिक पात्र हुन सक्दैनन् भन्ने विश्लेषणलाई पनि हचुवा मान्न मिल्दैन । यसका आधारमा भन्नुपर्दा परिस्थिति या आवश्यकता हेरेर कुरा बदल्न सक्ने र झुटलाई पनि विश्वास गर्न बाध्य पार्ने प्रचण्ड–खुवीलाई छिमेकी मित्रराष्ट्रहरूले समेत उपेक्षा गर्न नसकेका हुन् भन्दा फरक नपर्ला ।
मुलुकमा प्रजातान्त्रिक शक्तिहरू परिस्थितिवश कमजोर देखिएका कारण पनि दाहालजस्ता ‘अविश्वसनीय’ पात्रलाई विश्वासमा लिन भारत र चीन बाध्य भएका पनि हुन सक्छन् । अर्थात्, लोकतन्त्रविरोधी शक्तिलाई बिच्क्याएरभन्दा फकाएर नै वशमा लिन सकिन्छ या लिनुपर्छ भन्ने मान्यताबाट पनि उनीहरू प्रेरित भएका हुन सक्छन् । यथार्थ जे भए पनि एउटा कुराचाहिँ सत्य हो कि जतिसुकै महत्वको दर्शाउन खोजे पनि पुष्पकमल दाहालको यस भ्रमणबाट मुलुक र मुलुकको राजनीतिमा तत्काल कुनै सकारात्मक प्रभाव पर्ने आधार निर्माण भएको छैन । दाहालले आफू या आफ्नो पार्टीबारेका यथार्थ वा भ्रमबारे छिमेकी मित्रहरूलाई बुझाउने र बुझ्ने सवालमा भने उनको यो चीन–भारत यात्रा पक्कै अर्थपूर्ण रहेको हुनुपर्छ । खासगरी भारतले एमाओवादीलाई हेर्ने दृष्टिकोणमा थोरै मात्र पनि सकारात्मक परिवर्तन आएमा यसलाई दाहालको उपलब्धि मान्नुपर्ने हुन्छ ।
प्रतिक्रिया