व्यर्थै भेटेछु तिमीलाई व्यर्थै भयो चिनाजानी
व्यर्थै अधरहरु हाँसीदिएछ व्यर्थै भयो नयनको लुकामारी
जानेर होस् अनजानमै के-के पो भइदिएछ
आखिर यो मन पो साटिएछ जानी-नजानी
जति गर्नु छ घात गर्दै जाऊ ढुङ्गा झैं सहि दिनेछु
तिमी खुशी हुन्छौं भने यसरी नै बाँचिरहने छु
म त के नै हुँ र ? अस्ताउन लागेको घामसिवाय
तिमी बाँच हाँसी-हाँसी यसैमा रमाइरहने छु
यो जिन्दगी खै के भनौं कहिल्यै आफ्नो भएन
नसोचेका कुरा धेरै भए सोचेजस्तो हुँदै भएन
न त अधर नै फुल्न सके न त आँशु नै झर्न सके
बाटोहरू फगत हराउँदै गए लक्ष्य कहिल्यै भेटिएन
जिन्दगी फगत दुःखै मात्र हो भने के काम यस्तो जिन्दगी
सधैं अरूकै सहारा बन्नुपर्ने हो भने के अर्थ भो जिन्दगी
भन्नेले त सधैं भन्थे तेरो भाग्य नै ठूलो
आश्वासनमै यति धेरै हिँडीसके अरू कति हिँड्नु पर्ने यो जिन्दगी
प्रतिक्रिया