चलचित्र ‘संगम’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका निर्माता राजकुमार राई यतिबेला चलचित्र निर्माताहरूको छाता सङ्गठन चलचित्र निर्माता सङ्घको अभिभावक हुन् । यसै साता सम्पन्न चलचित्र निर्माता सङ्घको अध्यक्ष पदको चुनावमा उनी विजयी भएका छन् । दोस्रोपटक चुनाव जितेका राईसँग यसपटक केही कुराकानी गरिएको छ ।
० बधाई छ तपाईंलाई ।
– धन्यवाद ।
० चलचित्र निर्माता सङ्घको चुनाव संविधानसभाको चुनावभन्दा पनि महत्वपूर्ण रह्यो नि ?
– कुरा त्यस्तो होइन । समग्र चासो र कुतूहलका कारण यसो भएको हो । आफ्नो संस्थाको नेतृत्व छान्ने कार्यमा चासो जाग्नु नराम्रो पनि त होइन नि ?
० सदस्य निर्माताहरूमा चासो कत्तिको पाउनुभयो त ?
– अत्यधिक, त्यही भएका कारण पनि काम गर्न ऊर्जा मिलेको छ । उहाँहरूकै कारण मैले जितेको हुँ । अब उहाँहरूकै हितका लागि लड्छु र पहिले पनि लडेकै हुँ ।
० तपाईंको प्रतिद्वन्द्वीलाई के भन्नुहुन्छ ?
– यहाँ जित र हारको कुरै छैन । उहाँ मेरा लागि सम्मानित व्यक्तित्व हो । जो आए पनि नेपाली सिनेमा क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले नै आउने हो । त्यसकारण यसमा कसैको जित र कसैको हार होइन सबैको जित हो ।
० वर्षौंदेखि कपाल पाल्नुभएको थियो । चुनावकै दिन काट्नुभयो । कसरी आयो कपाल काट्ने सोच ?
– साथीभाइहरूकै सल्लाहमा कपाल काटेको हुँ । मेरो काम गराइ र सकारात्मक सोचमा यो कपाल बाधा बन्दैन । कपाल पाल्नु र काट्नुमा के नै छ र ।
० तपाईंले त कपाल मत्र होइन परिआए घाँटी नै काट्छु भन्नुभएछ नि ?
– यो कुरा मैले नेपाली सिनेमाको हितका लागि त्यसो गर्नुपरे पनि गर्छु भनेको हुँ । यही क्षेत्रमा समर्पित भएपछि त्याग गर्नैपर्छ ।
० मतदाताहरूको सेन्टिमेटल क्यास गर्न यसो भन्नुभएको त होइन नि ?
– कसैको भावनासँग म खेल्न सक्दिनँ । मैले कसैलाई सेन्टिमेटल पारेर मत पनि मागिनँ । राम्रो काम गरेको थिएँ र गर्छु पनि भनेर भोट मागेको हुँ । काम गर्न र देखाउन भावनासँग खेल्नुहुन्न ।
० अब के छ त योजना ?
– यो क्षेत्रसँग सम्बद्ध सबैसँग हातेमालो गरेर अगाडि बढ्ने र समग्र नेपाली सिनेमाको पक्षमा काम गर्ने, बोल्ने र दौडधुप गर्ने । तर, यो कार्यमा सबैबाट म साथ र सहयोगको अपेक्षा राख्दछु ।
कस्तो होला ‘परिबन्द’
एउटा समय यस्तो थियो कि नेपाल टेलिभिजनमा पारिवारिक सिरियलहरूको वर्चश्व रहँदा रिमोटहरू विदेशी टेलिचलचित्रतिर मोडिँदैनथे । त्यो समयमा निर्माण भएका टेलिरियलका सर्जकहरूले साँच्चि नै नेपाल टेलिभिजनका दर्शकहरूको ‘वाहवाही’ नै पाएका थिए । यसरी सफलतातर्फ उन्मुख टेलिसिरियलको जमात्मा केही फटाहा र असफल मेकरहरूको प्रवेशपछि अन्ततः यो क्षेत्रलाई पनि हानि पुग्यो । अहिले नेपाल टेलिभिजनमा पारिवारिक सिरियल नै छैनन् ।
यो कुरालाई मनन गर्दै र मध्यनजर राख्दै यसअघि माइती, खुसी पलभरकोलगायत राम्रा सिरियलका निर्देशक बाबुराम ढकालले भीकेएस ठकुरीको निर्माणमा एउटा पारिवारिक सिरियल बनाएका छन् । परिबन्द नामक सो सिरियल आज बुधबारदेखि नेपाल टेलिभिजनमा राति साढे नौ बजेखि प्रसारण हुने भएको छ । सुदर्शन श्रेष्ठ निर्माण परिल्पनाकारको भूमिका छन् भने श्याम घिमिरे, सिरु विष्ट र भीकेएस ठकुरीलगायतका कलाकारको अभिनय रहेको छ परिबन्दमा ।
पहिलोपटक निर्माण गरिएको टेलिचलचित्र नेपाल टेलिभिजनबाट प्रसारण हुँदा यसका निर्माता भीकेएस ठकुरी पनि कम दङ्ग छैनन् । उनले भने, ‘म ज्यादै हर्षित छु । पहिलो कामबाट नै राम्रो रिजल्ट पाउने आशामा छु । यसले गर्दा अन्य काम गर्न उत्साह मिलेको छ ।’
मिडिया हवको सहकार्यमा प्रसारण हुन लागेको परिबन्दबाट अझै आफ्नो साख बढ्ने दाबी निर्देशक बाबुराम ढकालले गरेका छन् ।
निखिल खुसुक्क आए लुसुक्क गए
कुनै समय आफ्नो उपस्थितिलाई पनि समाचार बनाउन सफल भएका र सबैबाट ‘वाहवाही’ पाएका अभिनेता निखिल उपे्रती यतिबेला गुमनाम छन् । गुमनाम मात्र होइनन् कि कसैले थाहा पाउलान् भन्ने डरले मुम्बई र काठमाडौंको यात्रा उनी सुटुक्क गर्ने गर्दछन् । उनी एक महिनाको बीचमा कतिपटक यसरी ओहोरदोहोर गर्छन् थाहा छैन तर यसपटकको उनको काठमाडौं आगमनबारे भने घटना र विचारले पनि जानकारी पायो ।
नेपाली सिनेमा क्षेत्रको आलिशान जीवनलाई लात्ती हानेर के-के नै गर्छु र के-के नै बन्छु भनेर मुम्बई छिरेका निखिलको यतिबेला खास भन्नुपर्दा अवस्था नाजुक छ । उनको मात्र अवस्था नाजुक छैन कि यता नेपालमा भने उनले दुई श्रीमती अनि तीन सन्तानको अवस्था पनि नाजुक नै पारिदिएका छन् । काम बिगारेपछि नै मानिस डराउँछ र लुसुक्क लुसुक्क व्यवहार गर्छ उसले । यस्तै गर्छन् निखिल पनि । गत साता उनी लुसुक्क नेपाल आएर केही दिन बसेपछि लुसुक्क फेरि फर्किएका थिए । मुसो आयो कि बिरालो ? कसैले पनि थाहा पाएनन् । उनले जेठी धर्मपत्नीलाई भने भारतीय साथीलाई नेपाल घुम्न ल्याएको बताएका थिए । आफ्नो घरमा केहीबेर मत्र समय बिताएका निखिल हायत होटलमा बसेको कुरा भने बताइएको छ । निखिलको यो आगमनलाई भने अहिले बजारमा लुसुक्क आएर लुसुक्क जाने अनि नेपालको स्टारले विदेशीलाई नेपाल घुमाउने कुरा गर्दा निखिल टुरिस्ट गाइड पो भए कि क्या हो ? भन्ने चर्चा पनि चल्न थालेको छ ।
प्रतिक्रिया