अर्घाखाँचीका यी विषयवस्तु समाचार बनेपछि…

अर्घाखाँचीका यी विषयवस्तु समाचार बनेपछि…


bichar-मुक्तिनाथ भुसाल
०६३ सालको वैशाख १० गते राजा वीरेन्द्रले प्रजातन्त्र घोषणा गर्ने कुरा चैतमै घटना र विचारले दाबीका साथ बाहिर ल्याएको थियो । जनआन्दोलनपछि बनेको प्रचण्ड-सरकारको समाप्तिबारे पनि किटानका साथ चार महिनाअघि नै आफ्ना पाठकलाई सुसूचित गराएको हो । पछिल्लो चरणका खिलराज रेग्मी प्रधानमन्त्री बन्ने समाचार प्रचण्डले उद्घोष गर्नुभन्दा साता-दश दिनअघि नै घटना र विचारले नै खुलासा गरेको आमपाठक साक्षी छन् । ०५१ साल असारदेखि प्रत्येक बुधबारका दिन निरन्तर प्रकाशित हुँदै आएको घटना र विचार साप्ताहिकले सूचना सम्प्रेषणमा पु-याएको यी केही उदाहरण मात्र हुन् । घटना र विचारको यस गौरवमय यात्रामा यो पङ्क्तिकार पनि २०५४ मै जिल्ला समाचारदाताका रूपमा सहयात्री बनेको हो । बीचमा व्यक्तिगत समस्याका कारण विदेश भासिएपश्चात् सहकार्यमा क्रमभङ्गता आए पनि हाल पुनः आफूले पत्रकारिताको कखरा सिके-बुझेको यस संस्थासँग आबद्धता रहेकोमा पङ्क्तिकार गौरवान्वित छ ।
यो भूमिका बाँध्नुको आसय हो- गत मङ्सिरदेखि पुनः जिल्ला संवाददाताका रूपमा घटना र विचार साप्ताहिकसँग जोडिएर काम सुरु भएयता अर्घाखाँचीमा यस साप्ताहिकमा प्रकाशित समाचारले पारेको प्रभावबारे प्रकाश पार्ने सानो जमर्को गर्नु । जिल्लाको वाङ्ला गाविसको मथुराबेसीमा अवस्थित नेपालको ऐतिहासिक जंगबहादुरको घर बेवारिसे अवस्थामा रहेकोबारेमा हामीले सम्प्रेषण गरेकोे समाचारप्रति गाविसको ध्यान पुगेको र आगामी गाविस परिषद्मा व्यापक छलफलपश्चात् सुधारका काममा आफूहरू लाग्ने गाविससचिव विष्णुप्रसाद भट्टराईले जानकारी गराउनुभएको छ । काठमाडौंमा रहेका कैयन राणासन्ततिहरूले घटना र विचारको कार्यालयमा सम्पर्क गरी आफ्ना पुर्खाको जन्मघरबारे प्रकाशमा ल्याएकोमा साधुवाद दिएका थिए भने अब उक्त स्थानमा पुगी सो घरलाई लावारिस अवस्थाबाट उद्धार एवम् जीर्णोद्धारबारेका कदम चाल्ने उहाँहरूको प्रतिबद्धता थियो । उहाँहरूले हाम्रो केन्द्रीय कार्यालयमा पुगी समयअनुकूललाई मिलाई त्यो क्षेत्रको अवलोकन गर्ने प्रतिबद्धता जायर गरेका छन । यस्तै, अर्घाखाँचीकै नरपानी गाविसमा रहेको नर्चनाचल पर्वतको चुनढुङ्गा उत्खनन् कार्य कति जायज भन्ने सन्दर्भमा घटना र विचारमार्फत पङ्क्तिकारले समाचार प्रकाशमा ल्याएपछि अर्घाखाँचीमा नयाँ तरङ्ग पैदा भएको र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू चुनढुङ्गा खानीका सन्दर्भमा एक ठोस निचोडमा पुग्न उत्प्रेरित भएको अनुभूति गरिएको छ । यस्तै, लाहुरको कमाइले आफ्नो गाउँमा विद्यालय बनाउने सपना पाल्ने समाजसेवीबारे समाचार प्रकाशित भएपछि सम्बन्धित पात्र विद्यालय स्थापना र कैयन सुधारका कार्यमा लागिसकेको जानकारी जिसिअ मित्रमणि खनालबाट जानकारी मिलेको छ ।
रहस्यमय जालमा फसेका दुईवटा कारागार भन्ने समाचार प्रकाशन भएयता नेपाल सरकारले हालसम्म १० लाख रुपैयाँको बजेटमा कारागार मर्मत गरिरहेको कुरा प्रजिअ गोविन्दमणि भुर्तेलबाट जानकारी मिलेको छ । यस्तै नापी कार्यालयमा परेको समाचारको प्रभाव पनि स्मरणीय छ । नापी कार्यका सम्बन्धमा समाचार प्रकाशित भएको महिना दिनभित्रै कार्यालयले आफ्नो काम-कारबाही अगाडि बढाएको यथार्थ सबैसामु छर्लङ्ग छ । यस्तै, जहाँ विश्वभरका सिकारीद्वारा नाउर र झारलको सिकार गरिन्छ भन्ने शीर्षकमा ढोरपाटन आरक्षस्थलको स्थितिलाई हामीले जानकारीमा ल्याएका थियौँ भने राज्यले गुमाउन लागेको लेजर हिमालय बचाउने अभियान नरपानीबाट भन्ने समाचार सामग्री प्रकाशन भएयता स्थानीय जनतालाई जताततैबाट सहानुभूति मिलेको जानकारी प्राप्त भएको छ । यसबारे समाचारको प्रभावकै कारण राज्यले आफ्नो कार्यनीति परिवर्तन गरेको पनि हामीलाई जानकारी मिलेको छ । भ्रष्टाचारले जरा गाडेको गोरुसिङ्गे-सन्धिखर्कको ज्यानमारा सडकबारे समाचार आएपछि सडकमा माटो छर्केर बजेट पचाउने बानी परेकाहरू अहिले बिग्रिएको सडक सुधारका लागि जुटेको अवस्था छ भने पर्यटकीय महत्व बोकेको डम्मरु दह उपेक्षित भएकोबारे घटना र विचारमा समाचार प्रकाशन भएपछि सरोकारवालाको ध्यान पुगेको र सुधारका लागि बजेटसम्म गएको जानकारी मिलेको छ ।
अतिक्रमणले सन्धिखर्कको सौन्दर्य चकनाचुर भएको विषयमा पनि हामीले समाचार सम्प्रेषण गरेका थियौँ । उक्त समाचार प्रकाशमा आएयता जिल्लामा यसबारे बहस सुरु भएको अवस्था छ । काम नसक्दै भुक्तानी किन दिइयो भन्ने सम्बन्धमा समाचार आएपछि विश्व उमावि ढाकावाङलाई तत्काल कार्य सम्पन्न गर्नका लागि ताकेता गर्दै कारबाहीको सूचीमा अगाडि बढाइसकेको थप जानकारी पनि जिशिअ खनालले जानकारी गराउनुभएको छ । यस्तै भ्रष्टाचारका विरुद्ध आमरण अनशनमा बसेकी शारदाबारेका समाचार सामग्री या नेताहरूले भुलेका नौमुरे जलविद्युत् आयोजनाबारेको समाचार, फितलो नीतिका कारण अर्घाखाँचीमा वन विनाश तीव्र भएको यथार्थ पाटो उघारेको विषय नै किन नहोस्, समाचार प्रकाशनपश्चात् सम्बन्धित निकायको ध्यान आकृष्ट भएको जानकारी पाउँदा हामीलाई सन्तुष्टि मिलेको छ । जिल्लाभरका वनको अवस्थाबारे अब आफ्नो ध्यान विशेष तवरमा केन्द्रित भएको जिल्ला वनप्रमुख पञ्चलाल साहले जानकारी गराउनुभएको छ । उता जरेखोलाका मजदुरको कसले सुन्ने पीडा भन्ने समाचार प्रकाशनपछि त्यहाँका बालबालिकालाई विद्यालय भर्ना गराई अनिवार्य रूपमा स्कुलमा उपस्थित गराइराख्न निर्देशन दिइएको जिशिअ खनालले जानकारी गराउनुभएको छ । सरकारीलाई बेवारिस बनाउँदै चिकित्सक निजीतर्फ तानिएपछि भन्ने समाचारले जिल्ला अस्पतालमा अख्तियारको ध्यान खिचिन लागेको जानकारी मिले पनि थप प्रतिक्रिया आउन बाँकी रहेको अवस्था छ । किन जालझेल गर्दै छ नापी कार्यालय भन्ने समाचारले नापी कार्यालयलाई मनोमानी र गोप्य क्रियाकलाप गर्न धौ-धौ परेको अनुभूति गरिएको छ, सरकारी र सार्वजनिक जमिनको लालपुर्जा पाइन्छ भन्दै भ्रमको खेती गर्नेहरू अहिले आत्तिन थालेका छन् भने पीडितहरू न्याय प्राप्तिका लागि सङ्गठित हुन थालेका छन् । यस्तै, राज्य अनिर्णयको बन्दी हुँदा खानी विवाद यथावत् भन्ने समाचारले उद्योगबाट जिल्ला र प्रभावित गाविसलाई प्राप्त भएको रकमबारे सर्वसाधारणमा चेतना प्रदान गरेको विश्वास हामीले लिएका छौँ । गत साता प्रकाशित कृषकको नाममा आएको बेलायती सहयोगमा अख्तियारको आँखा पुग्ला ? भन्ने समाचारले पनि सरोकारवाला पक्षमा छटपटी बढाएको स्रोतको भनाइ छ ।
समग्रमा भन्नुपर्दा समाजका विभिन्न पाटामा देखिएका असल या खराब विषयवस्तुलाई प्रकाशमा ल्याएर आमपाठकको आँखा खोल्नु र समाजलाई सकारात्मक दिशातर्फ डो-याउने प्रयत्न गर्नु हामी आफ्नो धर्म सम्झन्छौँ । यसमा सबैको साथ-समर्थन मिलोस्, जसले गर्दा हामी आफ्नो अभियानलाई अझ प्रखरताका साथ अघि बढाउन सकौँ ।