महात्मा गान्धी, विश्वेश्वर र प्रचण्ड आस्था र कमजोरीको प्रसङ्ग

महात्मा गान्धी, विश्वेश्वर र प्रचण्ड आस्था र कमजोरीको प्रसङ्ग


bichar-वीरेन्द्रमणि पौडेल
दक्षिण एसियाको सार्क सदस्य राष्ट्रहरूमध्ये हाम्रो देश नेपालको सीधा सम्पर्क र सम्बन्ध भारतसँग छ । चीनसँग उत्तरी सिमाना जोडिए पनि नेपालको ज्यादा सम्पर्क, लेनदेन, कुराकानी, आवतजावत भारतसँग युगौँयुगदेखि हुँदै आएको छ । पृथ्वीनारायण शाहले एकीकरण गरेर नेपाल निर्माण गरेपछि यो देशमा विभिन्न नामका शासन व्यवस्थाहरू चले । विभिन्न नामका शासन व्यवस्था चल्दा नेपालमा पृथ्वीनारायण शाहपछि बहादुरी, सुझबुझ, कमजोरी अनि दूरदर्शिताका हिसाबले राजा महेन्द्र, वीरेन्द्र, विश्वेश्वरप्रसाद कोइराला र प्रचण्ड ज्यादा चर्चामा रहे भने भारतमा आजसम्म सबैभन्दा चर्चित र सम्मानित नेताका रूपमा महात्मा गान्धीलाई लिने गरिएको छ । नेपालको हकमा राजा महेन्द्रलाई राष्ट्रवादी, दूरदर्शी, प्रजातन्त्रविरोधीको रूपमा चर्चा गरिन्छ भने उनको कमजोरीको रूपमा सिर्फ मदिरा सेवनलाई मान्ने गरिएको छ । महेन्द्रका छोरा वीरेन्द्रलाई प्रजातन्त्रप्रेमीको नाममा ठूलो सङ्ख्याका नेपालीले सम्मान गर्ने गरेका छन् भने उनको पनि जरायोको मासु र भ्याट ६९ नामको ह्विस्की कमजोरी थियो भन्ने गरिन्छ । अब रह्यो जनताका छोराको रूपमा जन्मिएर तहल्का पिट्ने विश्वेश्वरप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डका कमजोरीबारे केही चाखलाग्दा प्रसङ्ग ।
पहिले कमजोरीसहितको चर्चा विश्वेश्वरको । नेपालमा राणाशासन ढाल्न र प्रजातन्त्र स्थापना गर्न उपल्लो स्तरको योगदान पु-याएका, कृष्णप्रसाद कोइरालाका माइला छोरा विश्वेश्वरप्रसाद कोइराला अति तीक्ष्ण बुद्धिका थिए । हरेक शीर्षकमा इमानदार थिए । सहनशील थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका ज्ञातासमेत थिए । तर उनमा एउटा डरलाग्दो कमजोरी थियो । त्यो कमजोरी थियो- स्त्री भोगको कमजोरी । बीपी कोइराला आफैँमा सुन्दर थिए, शारीरिक रूपले सक्षमसमेत थिए यसका अतिरिक्त उनमा सम्भोगप्रति ज्यादा लगावसमेत थियो । एउटा धेरै पुरानो भइसकेको बीपीको तरुनीप्रेम प्रसङ्ग यस्तो छ ।
श्री ३ पद्मशमशेर जबराकी नातिनी, वसन्तशमशेरकी छोरी किशोरी राणा त्यतिबेलाकी यस्ती सुन्दरी थिइन् स्त्रीभोग गर्न इच्छा राख्ने जोकोही पुरुष पनि तिनलाई देखेपछि हेरेको हे-यै हुन्थे । एकैछिन त जो कोही पनि टोलाउँथ्यो । अचाक्ली राम्री भएकीले लटरपटर व्यक्तिले त तिनलाई आँट्न सक्ने कुरै थिएन । मिलेका दाँत, मृगका जस्ता आँखा, बारुले कम्मर, लामो कपाल, घायल पार्ने मुस्कानवाली तिनलाई आँट्न रूप चाहिन्थ्यो, शक्ति पनि चाहिन्थ्यो । यी दुवै कुरा भएका बहादुरहरूमध्ये एक नम्बरका थिए विश्वेश्वरप्रसाद कोइराला र अर्का नम्बरका थिए डा. तुलसी गिरी । विश्वेश्वरप्रसाद कोइराला र डा. तुलसी गिरी एउटै पार्टी नेपाली काङ्ग्रेसमा संलग्न भएका हुँदा यी दुईबीच अचाक्ली राम्रो दोस्ती पनि थियो । यो दोस्ती डा. गिरीले राजा महेन्द्रसँग मिलेर बीपीलाई राजनीतिक धोका नदिउञ्जेल कायम रहेको थियो । बीपी र डा. गिरी अचाक्ली सुन्दरी किशोरी राणाप्रति मोहित भए । किशोरी विश्वेश्वरप्रसादसँग लहसिइन् । डा. गिरीले पनि हिम्मत हारेनन् । उनले किशोरीलाई पछ्याइरहे । विश्वेश्वरप्रसादपछि किशोरीलाई डा. गिरीले स्याहारे । पुरुष फेर्न बानी परेकी सुन्दरी किशोरी राणाले डा. तुलसी गिरीका भाइ भरत गिरी जो लङ्गडो पनि थिए तिनैलाई लोग्ने बनाइन् । भरत गिरी र किशोरीबीच ‘लैला मजनु’को जस्तो पिरती गाँसिएपछि दुवैजना भागेर इन्डिया गएर बसे । लामो समयको भारत बसाइपछि बुढेसकाल बिताउन उनीहरू यतिबेला पुनः नेपालमा आएका छन् । विस्तृत जानकारीका लागि डा. तुलसी गिरी बूढो भए पनि अझै जीवित छन् । नेपालमै छन् । नेपाली काङ्ग्रेसका महामानव विश्वेश्वरप्रसाद कोइरालाको यो एउटा कमजोरी थियो । भनिन्छ कोइरालाको यही एउटा कमजोरीका कारण राजा महेन्द्रले तिनै किशोरीलाई प्रयोग गरेर उनको गोप्य योजनाहरू थाहा पाई दलमाथि सजिलैसँग प्रतिबन्ध लगाएर प्रजातन्त्रलाई घेराबन्दी गरे । विश्वेश्वरमाथि धनको लोभी भन्ने आरोप लगाउनेहरू पनि छन् तर यो सत्य होइन । सत्य नभएको प्रमाणका लागि एउटा ऐतिहासिक घटना प्रस्तुत गर्न उपयुक्त ठानिएको छ ।
०३६ सालको कुनै एक दिन विश्वेश्वरप्रसाद कोइराला चितवन क्षेत्रपुरनिवासी श्यामकृष्ण प्रधानको घरमा आएका थिए । श्यामकृष्ण काङ्ग्रेसी कार्यकर्ता भएकैले हुनुपर्छ उनले त्यहीँ बसेर खानासमेत खाएका थिए । विश्वेश्वरप्रसाद कोइराला घाँटीको क्यान्सरबाट पीडित थिए । पछि जन्मिएका नेपालीलाई उनको यो रोगबारे थाहा नहुन सक्छ । घाँटीको क्यान्सर उपचार गर्न विश्वेश्वरलाई पैसाको खाँचो थियो । यो अवस्थाबारे जानकार त्यतिबेला चितवन नेपाली काङ्ग्रेसका सचिव मुक्तिलाल चुकेले ध्रुवबाबु श्रेष्ठलाई बीपीलाई आर्थिक सहयोग गर्न अनुरोध गरे । अनुरोधलाई सकारात्मक रूपमा लिएर भरतपुरका ध्रुवबाबुले श्यामकृष्णको घरको भित्री कोठामा बीपीलाई आफ्नै हातले पाँच हजार रुपैयाँ दिए । तर, बीपीले ध्रुवबाबुसँगै बाहिर निस्किएर त्यो पाँच हजार रुपैयाँमा अर्को दुई सय रुपैयाँ थपेर मुक्तिलाल चुकेलाई ‘पार्टी हाँक्न खर्च चाहिन्छ राख’ भनेर दिए । यो एउटा बलियो प्रमाण हो- बीपी पैसाप्रति मोह राख्दैनथे । पैसाप्रति मोह नराखे पनि उनलाई क्यान्सरको उपचारका लागि पैसा चाहिएकै थियो । केही समयपछि तत्कालीन राजा वीरेन्द्रले पैसा दिएर बीपीको क्यान्सर रोगको उपचार गराउन विदेश पठाएका थिए । तर, बीपीको क्यान्सर रोग निको भएन । ०३९ सालमा काठमाडौंको मित्रपार्कमा रहेको आफन्तको घरमा बीपीले प्राण त्यागे ।
अर्का छन् वर्तमान नेपालका हिरो पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रचण्ड यसमानेमा हिरो भएका छन् कि गिरिजाप्रसाद कोइरालाको निधनपछि उनको उचाइबराबरको नेता छैनन् जस्तै देखिएको छ यतिबेला । नेपालमा उनको राजनीतिक गतिविधि बिहानदेखि बेलुकासम्म महसुस गरिन्छ । अरू पार्टीका अरू नेताहरू प्रचण्डले के भन्लान् र हुँदैन, ठीक छैन भनौँला भनेर जिब्रो उद्याएर बस्छन् । ठीक बोले पनि प्रचण्ड बोल्छन् गलत बोले पनि उनै बोल्छन् । अरू नेताहरू बोलेका छन्-छैनन् पत्तै हुँदैन । त्यसमाथि हालसालै उनी चीन घुमेर फर्किए । चीनमा उनलाई निर्वाचित बहालवाला प्रधानमन्त्री र राष्ट्रपतिकै हैसियतमा स्वागत-सम्मान गरेको देखियो । पहिले यस्तो कहिल्यै भएको थिएन । यसपटक किन यस्तो भयो राजनीतिक हिसाबकिताब गर्ने पण्डितहरूसमेत अलमलमा परेका छन् । चीनबाट फर्किएर नेपाल आएलगत्तै उनी भारत गए । भारतमा पनि उनलाई करिबकरिब चीनकै जस्तो सम्मान गरियो । नेपालमा सरकार छ । अरू राजनीतिक दलहरू पनि छन् । प्रचण्ड सरकारले पठाएर वा सरकारलाई जानकारी गराएर चीन र भारत गएका पनि होइनन् । सिर्फ एउटा पार्टीका अध्यक्ष र भूतपूर्व प्र्रधानमन्त्री मात्रै हुन् तर भारतमा समेत बहालवाला राष्ट्रपतिलाई जस्तो स्वागत र सम्मान अनि आधिकारिकता प्रदान गरिनुलाई चानचुने मान्न सकिँदैन र यी कोणबाट व्याख्या गर्दा धेरैलाई मन नपरे पनि प्रचण्ड यतिबेलाका चर्चित नेपाली राजनीतिक फाँटका ‘हिरो’ हुन् । तर, यी हिरोका पनि नेपाल र नेपाली जनतालाई मर्का पर्ने खालका कमजोरीहरू देखिएका छन् । प्रचण्ड आज एउटा कुरा बोल्छन् । भोलिपल्ट कसैले विरोध ग-यो भने ‘मैले भन्न खोजेको अर्कै हो’ भन्न भ्याउँछन् । सङ्घीयता चाहियो कसैले भन्यो भने ‘हुन्छ’ भनिदिन्छन् । सङ्घीयता चाहिँदैन कसैले भन्यो भने ‘विचार गरौँला’ भन्छन् । कसैले यो चाहियो भने ‘हस्’ कसैले ऊ चाहियो भने ‘हस्’ भनिदिन्छन् । कुल मिलाएर प्रचण्डमा सीधा धनमोह वा तरुनीमोह त देखिएन, तथापि कुरा काट्नेहरूले रेखा थापा नामकी सिनेमा खेल्ने तरुनीसँग सार्वजनिक कार्यक्रममा कम्मर मर्काएर काठमाडौंमा नाच्दाचाहिँ ठीक मानेका थिएनन् ।
प्रचण्डमा विश्वेश्वरप्रसाद कोइरालामा भएजस्तो कमजोरी नदेखिए पनि उनमा ‘पदमोह’वाला कमजोरी भने देखिएको छ । यतिबेलाको उनको चीन भ्रमण र भारत भ्रमणको अर्थ निकट भविष्यमा राष्ट्रपति बन्ने चाँजोपाँजो मिलाउन खोजिएको देखिन्छ । यो एउटा स्पष्ट ‘पदमोह’ हो र यो एउटा कमजोरी पनि हो । हाम्रा स्वर्गीय महान् नेता विश्वेश्वरप्रसाद कोइरालाको कमजोरीले नेपाली प्रजातन्त्रलाई घाटा पु-यायो । वर्तमान नेपालका ‘राजनीतिक हिरो’ प्रचण्डको पदमोहवाला कमजोरीले पनि नेपाल र नेपालीको हित गर्ने छैन । चाहे राजनीतिज्ञ हुन् वा अन्य पेसाका मानव हुन् बाँचुञ्जेल मानवले खोजेको सम्मान हो । सम्मान ‘पद वा ओहदा’मा मात्र हुन्छ भन्ने सोच्नु गलत हो । भारतका महात्मा गान्धीले कहिल्यै पनि पदको लोभ गरेनन् । न उनी प्रधानमन्त्रीको पदमा बसे न त राष्ट्रपतिको । उनी निस्वार्थ भावनाले राजनीतिज्ञको रूपमा मात्रै रहे । उनले कुनै पनि प्रकारको भौतिक लोभ गरेनन् । त्यही एकजना लोभरहित महामानव महात्मा गान्धीका कारण बेलायती उपनिवेशबाट मात्रै भारत मुक्त भएन, वर्तमान विश्वमा भारतको नाम, प्रतिष्ठा, आर्थिक अवस्था निकै उच्च महसुस गरिएको छ । अन्य पेसाका नागरिकको कमजोरीले सम्बन्धित व्यक्ति वा एउटा परिवारलाई नोक्सान पर्ला तर सबैभन्दा माथिल्लो नेतामा स्वार्थ वा कमजोरी देखियो भने त्यसको नकारात्मक असर सिङ्गो राष्ट्रलाई पर्न जान्छ । विश्वेश्वरप्रसाद कोइराला धर्तीमा छैनन् । प्रचण्ड जीवित छन्, नेपाली राजनीतिको टुप्पामा छन् । माओवादी पार्टी र सिद्धान्तलाई ‘दुर्गन्धित’ ठान्ने अरू विचारका नेपालीका लागि समेत चीन र भारतले प्रचण्डलाई नेता स्वीकार्न एकप्रकारले बाध्यता सिर्जना गरिदिएका छन् । विभिन्न परिस्थिति वा प्रचण्डको भाग्य वा उनको चतु-याइँका कारण उनी वर्तमान नेपालका एक नम्बरका नेता हुन् । आउने दिनमा उनले विगतमा देखाएका कमजोरी सुधार्न सके भने नेपाल र नेपाली जनता लाभान्वित हुन सक्छन् भने उनी आफैँ पनि माओवादीइतर शक्तिबाट समेत सम्मानित हुनेछन् । नेपाली जनताले उनलाई युगौँयुगसम्म स्मरण गर्ने छन् । तर, यदि उनले आफ्ना कमजोरी बेलैमा सुधार्न सकेनन् भने उनको नाम भूतपूर्व प्रधानमन्त्रीको रूपमा सिंहदरबारको भित्तामा झुन्डिने एउटा फोटोमा मात्रै सीमित हुनेछ । कमजोरी हटाएर नेपाली जनताको मनमस्तिष्कमा लामो समयसम्म रहने वा अरू भूतपूर्व प्रधानमन्त्री जस्तै बिलाउने कमरेड प्रचण्डकै मर्जी ।