नेपालका बाह्र जिल्लामा सिँचाइको सुव्यवस्थाका लागि भारतले ९ करोड ९२ लाख ११ हजार ८ सय त्रियानब्बे रुपैयाँ उपलब्ध गराएको छ । नेपाल–भारत मैत्री सिँचाइ परियोजनाअन्तर्गत सेलो ट्युबेल निर्माणका लागि सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कन्चनपुर जिल्लाका लागि सो रकम उपलब्ध गराइएको हो । सो रकमबराबरको चेक नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई सोमबार हस्तान्तरण गरेका छन् ।
सिँचाइ परियोजनाका लागि प्रदान गरिएको उल्लिखित रकमसहित भारतले नेपाललाई २२ करोड ७६ लाख सहयोग उपलब्ध गराएको छ, जसबाट ८ हजार एक सय पन्ध्र हेक्टर जमिनमा सिँचाइ सुविधा पुगी धान, गहुँ, तरकारीलगायतका नगदेबाली उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी, हुलाकी राजमार्ग निर्माणको सहयोगार्थ भारत सरकारले नेपाललाई ३३ करोड १० लाख ७८ हजार ७ सय अन्ठाउन्न रुपैयाँ प्रदान गरेको छ । उक्त रकमबराबरको चेक नेपालका लागि भारतीय राजदूतावासका मिसन उपप्रमुख डा. अजय कुमारले भौतिक संरचना र यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीलाई गत साता सिंहदरबारस्थित मन्त्रालयमा एक विशेष अवसरबीच हस्तान्तरण गरेका छन् ।
यो रकम नेपाल र भारत सरकारबीचको हुलाकी राजमार्ग निर्माणसम्बन्धी सम्झौताअनुसार वीरगञ्ज–ठोरी सडकखण्डअन्तर्गतका दुई प्याकेजका लागि आवश्यकमध्येको २५ प्रतिशत हो । पछिल्लोपटक प्रदान गरिएको उल्लिखित रकमसहित हालसम्म भारतले नेपाललाई हुलाकी सडक निर्माणका चौध प्याकेजको निम्ति एक अर्ब ८८ करोड २१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
यसअघि हुलाकी राजमार्गअन्तर्गतका दुई सडकखण्ड धनगढी–भजनिया–सत्ती र लम्की–टीकापुर–खक्रौला सडक निर्माणका लागि भारतले एक अर्ब दुई करोड आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त सडकको गत वर्ष (१७ जनवरी २०१७) उद्घाटन गरिएको थियो ।
प्रतिक्रिया