किन उपेक्षित मालारानी र मनोचिन्ते पानी ?

किन उपेक्षित मालारानी र मनोचिन्ते पानी ?


bichar-मुक्तिनाथ भुसाल
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कदेखि ३० किलोमिटर कच्ची सडक यात्रामा पुग्न सकिने खनदह– ४ मा रहेको ‘मालारानी मन्दिर’ र दुई सय वर्षभन्दा बढी पुरानो ‘मनोचिन्ते पानी’ दिनप्रतिदिन ओझेलमा पर्दै गएको छ । खनदह र हंसपुर गाविसको सिमानामा रहेको मालारानी मन्दिर २२ से २४ से राज्यको पालामा, माला नाम गरेकी रानी यो स्थानमा बसेकी कारण उनैको नामबाट मालारानी रहेको किंबदन्ती छ । स्थानीय बूढापाकाको भनाइअनुसार मन्दिरनजिकै माला नाम गरेकी रानी बसोबास गर्ने समयमा गाउँका गोठाला यहाँको घनघोर जङ्गलमा गाई चराउन जान्थे र यहीँबाटै गाई फर्काउने कारण यो स्थानलाई गाईखर्केनी भनिएको हो । यसरी चर्न आएका गाईले यो स्थानमा रहेको एउटा ढुङ्गामाथि दूध चढाउने गरेका कारण दिनप्रतिदिन यो स्थानको महत्व बढ्दै गएको जनविश्वास रहेको छ ।
वि.स. १९६५ सालमा गाईहरूले आफैँ दुध चढाउने शिलाको सम्मान गर्दै स्थानीय धामी हरिनन्दको मन्दिर बनाउने प्रस्तावलाई स्थानीयहरूले स्वीकार गर्दै मन्दिर निर्माण भएको थियो । परापूर्वकालदेखि हालसम्म स्थानीयको घरमा पशुबाट फलिफाप नभएमा यो मन्दिरलाई सम्झने वा पशुका दाम्ला चढाउने गरेमा घरको गोठ भरिभराउ हुने कुरामा स्थानीयहरू विश्वस्त छन् । मालारानी मन्दिरभित्र कालीका देवी, सिद्ध गणेश, हनुमान, होमनकुन्ड, शिवलिङ्गलगायतका मूर्तिहरू देख्न सकिन्छ भने प्रत्येक आइतबार र मंगलबार पूजा गरिन्छ । वर्षे दशैँमा घटस्थापनादेखि त्रयोदशीसम्म पूजापाठ गरिने यो मन्दिरमा त्रियोदशीका दिन श्राय निकालिन्छ । चैतेदशैँमा प्रतिपदादेखि अष्टमीसम्म भव्य पूजापाठ हँुदै आएको छ । पाँच रोपनी जग्गा मन्दिरको भए पनि रतनमारे र खनदहबाट मालारानीसम्म पुग्न मोटरबाटो पक्की नगरिदिँदा वरपरका जनताले बर्खामा सास्ती भोग्नुपरेको स्थानीयको गुनासो रहेको छ । पञ्चबलि चढ्ने यो मन्दिरमा रातो टाउको अनि चन्द्रमा आकारको सर्प दिउँसो वा रातमा यो स्थानमा आउने गर्छ । यसरी आउने उक्त सर्पले कसैलाई पनि नसताउने र मन्दिरमा आएका भक्तजनहरूसँग केही समय खेली त्यहाँबाट हराउने गरेको देखिनु स्थानीयवासीका लागि नौलो कुरा होइन ।
मालारानी मन्दिरदेखि पाँच मिनेट पैदल यात्रामा पुग्न सकिने मनोचिन्ते पानी यो स्थानको अर्काे आकर्षण हो । अत्यन्तै अप्ठ्यारो गोरेटो बाटोको यात्रा गरी मनोचिन्ते पानी भएको स्थानमा पुग्न सकिन्छ । त्याँ एउटा ठूलो गुराँसको रूख तेर्सिएको छ र गुराँसको फेदमा प्रशस्त पानी छ । पानी भएको रूखको तलपट्टि सुक्खा रहेको छ । अचम्मको कुरा के भने त्यो पानी कहिल्यै पनि सुक्दैन, घट्दैन र कहाँबाट आएको छ अनि कहाँ गइरहेको छ भन्ने कुरा हालसम्म खोजीको विषय बनेको छ । स्थानीय बूढापाकाका अनुसार उनीहरू केटाकेटी छँदा पनि यो रूखमा यस्तै पानी भएको र उनका बुबा हजुरबुबाले पनि आफूहरू जन्मँदा यो यस्तै नै देखेको स्मरण गर्छन् । जसबाट पनि मनोचिन्ते पानी परापूर्वकालदेखि नै हाम्रो समाजमा रहेको अनुमान लगाउन सकिन्छ । स्थानीय वृद्धहरूले जानकारी दिएअनुसार वि.सं. १९६५ मा यही गुराँसको फेदमा रहेको पानी बोकेर मालारानी मन्दिर निर्माण गरेको ताजा अनुभव उनीहरूले सुनाएका थिए । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थलमध्ये प्रख्यात मानिने मनोचिन्ते पानी नेपालकै महत्वपूर्ण र हेर्न लायक भए पनि हालका दिनमा यसमाथि जोखिम बढ्दै गएको छ । मनोचिन्ते पानी रहेको गुराँसको रूखभन्दा तलबाट हंसपुरको रतनमारे बजारमा डोजरद्वारा गतसाल मोटरबाटो पु-याइएको थियो । जुन आफँैमा राम्रो भए पनि मोटरबाटोको उपल्लो भागमा पर्खाल उठाइएको छैन । जसको कारण यो ऐतिहासिक स्थान वर्षामा जोखिम बन्नसक्ने अनुमान लगाउन सकिन्छ ।
चारैतर्फ हरियाली, चिसो र स्वच्छ हवाले भरिपूर्ण यो स्थानलाई जोगाउन सक्ने हो र अलिकति राज्यले ध्यान दिने हो भने स्वदेशी र विदेशी पाहुनाका लागि यो एउटा कोछेढुङ्गा बन्ने सुनिश्चित देखिन्छ । हाम्रा भावी पुस्ताका लागि यो महत्वपूर्ण स्थानलाई जोगाइराख्ने हो भने मालारानी मन्दिरबाट मनोचिन्तेसम्म जानका लागि गोरेटो बाटो निर्माण गरिनु आवश्यक छ भने मनोचिन्ते पानीदेखि तल खनिएको मोटरबाटोमा पक्की पर्खाल उठाउनु अत्यावश्यक भएको छ । केही दिनअगाडि प्रजिअ गोविन्दमणि भुर्तेल, प्रनाउ हीराबहादुर पाण्डे र अनुसन्धान अधिकृत लीलाधर पौडेललाई साथमा लिई मालारानी मन्दिरमा पुगेका थिए । यो ऐतिहासिक र पवित्र स्थानको अवलोकनपश्चात् तिनैले यसको प्रशंसा गर्दै यसलाई जोगाउन र प्रचारप्रसारका लागि आफूहरू लालायित रहेको अभिव्यक्ति दिएका छन् ।