यस्तो बन्दैछ नायिका श्वेताको माझी बस्ती

यस्तो बन्दैछ नायिका श्वेताको माझी बस्ती


– किशोर बुढाथोकी, सिन्धुपाल्चोक

के वृद्धवृद्धा, के महिला, बालबालिका । उनीहरू बिहानै निर्माण सामग्री बोकेर बाहिर निस्कन्छन् । अनि ढुंगा, माटो मात्र नभई सिमेन्ट, बालुवा अनि गिट्टीसँग खेल्न थाल्छन् आफ्नो बस्ती ठड्याउन ।

आलोपालो सबैले मिलेर काम गरेकै कारण अहिले उनीहरुको गाउँ एकैसाथ बन्दैछ । पहिले इन्द्रावतीमा माछा मारेर गुजारा चलाउने चौतारा साँगाचोकगढी नगरपालिका–१४ का माझी समुदाय अहिले एकीकृत बस्ती निर्माणमा जुटेका छन् । ‘हामी सबै मिलेर काम गरिरहेका छौँ,’ स्थानीय मिलन माझीले भने, ‘जसरी हुन्छ छिट्टै घर निर्माण सकेर नयाँ छानामुनि जाने हाम्रो इच्छा छ ।’ उनले गाउँका सबै महिला तथा पुरुषहरू आवास निर्माणका लागि खटिएको बताए ।

सबैजना हरसमय भूइँचालोले ‘ग्राउण्ड जिरो’ तुल्याएको आफ्नो बस्ती जतिसक्दो चाँडो ठड्याउने धुनमा व्यस्त हुन्छन् । अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता खड्काको अगुवाईमा ठूलोसिरुवारीको माझी गाउँलाई नमूना बस्ती बनाइन लागिएपछि माझी समुदायमा नयाँ जोससमेत भरिएको हो । श्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको यो बस्तीको निर्माण तीव्र गतिमा भइरहेको छ ।

योे बस्तीलाई फाउण्डेसनकी अध्यक्ष श्वेता खड्का र पुनर्निर्माण प्राधिकरणका तत्कालिन कार्यकारी डा. प्रमुख गोविन्द पोखरेलले नमूना बस्तीको शिलान्यास गरेपछि निर्माण कार्य सुरु गरिएको थियो । भूकम्पपछि टहरामा जीवन गुजारिरहेका सीमान्तकृत जाति माझीगाउँको ५३ परिवारलाई समेटेर एकीकृत नमूना बस्ती निर्माणमा सुरु गरिएको हो । शहरी विकास तथा भवन डिभिजन कार्यालयले माझी गाउँमा भौगोलिक अनुगमन गरेर एकिकृत बस्ती बनाउन अनुमति दिएपछि यो अभियान सुरु गरिएको हो ।

एकीकृत नमूना माझी बस्ती विकास परियोजनाका नाममा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माणाधीन परियोजनामा रकम अभाव भएपछि सहकारी संस्थाबाट ऋण निकालेर लगानी गरेको उनले बताइन् । श्वेताले आवास निर्माणका लागि आवश्यक रकम नहुँदा आफ्नो घर राखेर सहकारीबाट पैसा समेत लिएकी छिन् ।

‘काठमाडौँको बागबजारमा रहेको घर सहकारीमा धितो राखेर जुटाएको २० लाख रुपैयाँ बस्ती विकासमा लगाएको छु । त्यसवापत सहकारीलाई मासिक व्याज मात्र २२ प्रतिशत तिरिरहेको छु,’ परियोजनाबारे फाउन्डेसनकी अध्यक्ष रहेकी खड्काले भनिन् ।

सरकारी झञ्झटिलो प्रक्रियाले आवास अनुदान आउन ढिलाई भएको र कानुनी जटिलताले बैंकबाट भूकम्पपीडितले पाउने सहज कर्जा प्रवाहमा समस्या उत्पन्न भएपछि निर्माणाधीन बस्ती विकासको काम रोक्न नदिन निजी सम्पत्ति धितो राखेर लगानी जुटाउनु परेको गुनासो उनले गरिन् । पीडितले अनुदानको ३ लाखमा बैंकबाट ४ लाख ऋण थपेर ७ लाख रुपैयाँ जुटाउने र बस्तीको सम्पूर्ण भौतिक पूर्वाधार विकासमा फाउन्डेसनले सघाउने गरी खड्काले गत वर्षको जेठमा परियोजना शिलान्यास गरेकी थिइन् ।

फाउन्डेसनका अनुसार १९ रोपनी क्षेत्रफल जमिनमा निर्माण भइरहेको बस्तीमा तीन घर सम्पन्न भइसकेका छन् भने गारो लगाइसकिएका २२ घर निर्माण अन्तिम चरणमा पुगेका छन् । १० घरको भुईँ तलाको संरचना (डिपिसी) तयार हुँदा अरु सात घरको जग खन्ने काम भइरहेको छ । बाँकी १३ घरको जग खन्ने काम सुरु हुन सकेको छैन ।

‘निर्माण सामग्री, कामदार अभावलगायत धेरै कारण बस्ती निर्माणमा ढिलाई भइरहेको छ,’ अभियन्ता खड्काले भनिन्, ‘मुख्य त लगानी अभावमै कामलाई तीव्रता दिन सकिएको छैन ।’ फाउन्डेसनकै अगुवाइमा निजी क्षेत्रको लक्ष्मी बैंक पीडितलाई सहुलियत ब्याजमा ४ लाखका दरले ऋण उपलब्ध गराउन तयार छ । आवास बन्ने एकीकृत बस्तीको जग्गा कित्ताकाट नहुँदा उक्त ऋण पीडितले लिन नसकेको फाउन्डेसनका सचिव तथा परियोजना संयोजक यज्ञराज कार्कीले बताए । ‘बैंकले धितोमा जग्गा खोजेको छ । कित्ताकाट हुन नसक्दा धितो जुटाउन सकिएन,’ उनले भने ।

फाउन्डेसनका अनुसार सबै पीडितले पहिलो किस्ताको ५० हजार पाइसकेका छन् । बल्ल ३१ परिवारले दोस्रो किस्ता हात पारेका छन् । तेस्रो किस्ता १ लाख रुपैयाँका लागि प्रक्रिया नै सुरु भएको छैन । तेस्रो किस्ता लिन अनिवार्य शौचालय निर्माण वा सोलार बत्ती जडान गर्नुपर्ने व्यवस्था छ । तत्कालै सहज रुपमा पीडितले यो किस्ता पाउने देखिँदैन ।

‘अनुदान वितरणमा विलम्ब हुँदा र ऋण पाउन सहज नदेखिँदा काम नरोकियोस् भनेर नायिका खड्काले आफ्नो घर नै धितोमा राख्नु प¥यो,’ परियोजना संयोजक कार्कीले स्पष्ट पारे । लामो र झञ्झटिलो सरकारी प्रक्रियाकै कारण समयमै पीडितले अनुदान नपाउँदा बस्ती निर्माण धकेलिँदै गएको उनले दुःखेसो पोखे । उनका अनुसार हालसम्म १४ परिवारको घँडेरी मात्र कित्ताकाट भएको छ ।

पीडितले आवास निर्माणको लागि ३ लाख सरकारी अनुदान र ४ लाख बैंक ऋण गरी ३ करोड ७१ लाख जुटाउने र समग्र भौतिक संरचना निर्माणमा फाउन्डेसनले २ करोड ९ लाख रुपैयाँ सहयोग गर्ने गरी एकीकृत बस्ती विकासको काम थालिएको थियो । भौतिक संरचना निर्माणका लागि धेरै सहयोग जुटिसके पनि रकम अभावमा पहिला पीडितकै घर ठड्याउन नसकेको फाउन्डेसनको गुनासो छ । ‘निर्माणलाई रोक्न नदिन पछि पीडितको अनुदानबाट शोधभर्ना गर्ने गरी भौतिक पूर्वाधार विकासका लागि संकलित सहयोग परिचालन गरिरहेका छौँ,’ कार्कीले भने ।

प्रस्तावित एकीकृत बस्तीका घर तीन रोपनी जग्गामा बनिरहेका छन् । ‘इन्टर लक’ इँटा प्रयोग गरी आरसीसी पिलर जडित घर तीन कोठे छन् । रंगिन जस्ताले छाइने घरमा एकै रंगरोगनको साजसज्जाद्धारा एकरुपता ल्याइने फाउन्डेसनले जनाएको छ । एक घर अनिवार्य एक जनशक्ति निस्किएर सिंगो माझी गाउँ बस्ती ठड्याउन तल्लिन छ ।

गाउँका युवा सम्मिलित झ्याडी टोल सुधार समितिले स्थानीय स्तरमा बस्ती निर्माणको नेतृत्व लिइरहेको छ । फाउन्डेसनले भौतिक पूर्वाधार विकासअन्तर्गत बस्तीसम्म पुग्ने सडक, खुला रंगमञ्च, बाल बगैँचा, पानीको फोहोरा, सामुदायिक भवन, चौतारी, मन्दिर, ढल, नाला, साझा सेफ्टी ट्यांकी, व्यक्तिगत र सार्वजनिक खानेपानी धारा, शौचालय, विद्युत व्यवस्थापन लगायतमा सघाउने प्रस्ताव छ ।

‘माझी बस्तीलाई होमस्टे गाउँ बनाउँछौँ । गाउँका युवा र महिलालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगार अवसर सिर्जना गर्ने वातावरण बनाउँदै छौँ,’ परियोजनाकी अभियन्ता नायिका खड्काले भनिन् ।