राजनीतिक हस्तक्षेप
खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को अस्पष्ट राष्ट्रिय खेलकुद नीतिले गर्दा जिल्ला खेलकुद विकास समितिहरूको हरिविजोग भएको छ । राखेपको यही रवैयाले अहिले जिल्लामा खेलकुदका गतिविधि प्राय: ठप्प हुन पुगेका छन् भने खेलाडीले पलायनको मानसिकता बनाएका छन् । खेलाडी उत्पादन गर्ने प्रमुख थलोको रूपमा रहेको जिल्लालाई राखेपले सौताको व्यवहार गर्दा यस्तो स्थितिको सिर्जना भएको हो । जसले गर्दा खेलकुदको मेरुदण्डको रूपमा रहेको जिल्ला अहिले ‘जिल्ला खेलकुद विकास समिति’को बोर्ड झुन्ड्याउनमै सीमित रहेका छन् । राखेपले समग्र खेलकुद विकासका लागि विद्यालय, कलेज र जिल्लालाई पहिलो प्राथमिकतामा राखे पनि त्यो व्यवहारमा लागू गर्न सकेको छैन । उल्टै गरिएका निर्णयहरूलाई फाइलमा बन्द गरेर राखेको छ । जसलाई कार्यान्वयन गर्नेपट्टि सम्बन्धित निकायले कुनैै पहल गरेको छैन । परिणामस्वरूप जिल्लाको खेलकुद गतिविधि शून्य भएको छ ।
तलबको रूपमा मात्रै वार्षिक बजेट प्रदान गर्दै आएको राखेपले जिल्ला खेलकुद विकास समितिलाई सधैँ नजरअन्दाज गर्दै आएको छ । खेलकुद विकास र तालिमका लागि कुनै रकम छुट्याएको छैन । मुखले आकाशका तारा धर्तीमा खसाल्ने प्रतिबद्धता राखेपले बारम्बार जाहेर गरे पनि त्यसको सानो अंश पनि जिल्ला खेलकुदको विकासमा पुग्न सकेको छैन, जुन जिल्लाका लागि दुर्भाग्य बनेको छ । सधैँ राजनीतिले गाँजेको खेलकुदमा जिल्लास्तरमा पनि राजनीतिको पकडले गर्दा खेलकुदको विकासमा नकारात्मक प्रभाव परेको छ । राजनीतिक परिवर्तनसँगै हुने जिल्ला विकास समितिको परिवर्तनले खेलकुदलाई अझ अधोगतितर्फ धकेलिदिएको छ । खेलकुदको ‘खे’ सम्म नजान्ने विशुद्ध राजनीतिक कार्यकर्तालाई समितिमा राखेर खेलकुदको हुर्मत लिने कार्य गरिएको छ । जुन खेलकुद र खेलाडीका लागि दुर्भाग्य बन्न पुगेको छ । आर्थिक स्रोत जुटाउने, व्यवस्थापन गर्ने र प्रतियोगिताको आयोजना गर्ने काम जिल्ला समितिको भए पनि त्यहाँ राजनीतिक कार्यकर्ताको उपस्थितिले गर्दा खेलकुद घर न घाटको बन्न पुगेको छ । राजनीति गर्नबाटै फुर्सद नपाउनेलाई पद ओगट्नका लागि मात्र पार्टीहरूले समितिमा ल्याउनु अहिले विडम्बना भएको छ । जसलाई अब राखेपले मूल्याङ्कन गर्नुपर्ने जरुरी भइसकेको छ ।
यो स्तम्भकार हालै डडेल्धुरा जिल्ला खेलकुद विकास समितिमा पुग्दा त्यहाँको दुर्दशा र बेथिति देखेर चकित परेको थियो । त्यहाँ खेलकुदका लागि चाहिने सामान्य आधारभूत आवश्यकताका सामग्रीसमेत थिएनन् । विकास, अनुशासन र गतिशीलताको नारा बोकेको जिल्ला खेलकुदको यस्तो दयनीय अवस्था देख्दा निकै निराशा लागेको थियो । स्वस्थ सामाजको निर्माणका लागि पहरेदारी र जिम्मेवारी बोकेको संस्था आफँैमा रोगी बनेर इलाजको पखाईमा बसेको देख्दा निकै कुठाराघात भएको थियो । ०४० सालमा तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले करिब ६ लाखमा निर्माण गरेको टेबुलटेनिस कभर्डहलबाहेक अहिलेसम्म त्यहाँ अन्य कुनै भौतिक पूर्वाधारको निर्माण हुन सकेको छैन । अहिले यही कभर्डहलमा कराते, तेक्वान्दो, बक्सिङ र टेबुलटेनिसको प्रतियोगिता हुन्छ भने आउटडोरमा भलिबल र क्रिकेटको हुन्छ । यसरी बेलाबेलामा अर्थात् मौसमी रूपमा हँुदै आएका प्रतियोगिताको भारलाई थेग्दै आएको उक्त कभर्डहल पनि अहिले मर्मतसम्भारको अभावका कारण जीर्ण अवस्थामा पुगेको छ । यदि यसतर्फ सम्बन्धित निकाय राखेपले समयमै कुनै कदम चालेन भने कुनै बेला पनि अप्रिय घटना नघट्ला भन्न सकिँदैन ।
डडेल्धुरामा खेलकुदको अवस्था र सम्भावनाबारे भलिबल प्रशिक्षक नरेश थापासँगको जम्काभेटमा उनले भने, ‘खेलकुदलाई राजनीतिले नराम्रोसँग गाँजेको छ, खेलकुदको विकास र विस्तारको ठेक्का लिएर समितिलाई हाँकिरहेकाहरू राजनीति गर्नमै व्यस्त छन, खेलकुदको गतिविधि शून्य छ, प्रतियोगिताहरू हुन सकेका छैनन्, खेलाडीमा निराशा छाएको छ, जसले गर्दा जिल्लामा खेलकुद प्राय: मृत अवस्थामा पुगेको छ ।’ र पनि सम्बन्धित निकाय राखेपले वास्तविकता बुझेर पनि कुनै कदम नचाल्नु जिल्लाका लागि दुर्भाग्य भएको छ ।
प्रशिक्षक थापाले डडेल्धुरामा भलिबल, क्रिकेट र मार्सल आर्टस्का खेलहरू निकै लोकप्रिय रहेको बताए । अझ यी खेलहरूमध्ये पनि भलिबल यहाँका जनताले सर्वाधिक रुचाएको खेल हो । यसको उदाहरणका लागि थापाले जिल्लास्तरीय प्रतियोगितामा २० वटा टिमले दिएको सहभागितालाई प्रमुख कारकतत्वको रूपमा लिएका छन् । यसैले उनी भन्छन्, ‘जिल्लामा जुन खेल लोकप्रिय छ त्यसलाई फोकस गर्नुपर्छ ।’ सम्भावित खेलको विकासमा राखेपले नै पहल गर्नुपर्ने हो त्यो हुन नसकेकोमा थापाले निकै चिन्ता प्रकट गरेका थिए ।
प्रशिक्षक थापाका अनुसार अहिले विभिन्न खेलका खेलाडीको अत्यधिक चाप बढेकाले यो कभर्डहलले थेग्न नसक्ने अवस्था छ । खेलाडीलाई प्रशिक्षण गर्न आउँदासमेत निकै कठिनाइ भोग्नुपरेको उनको गुनासो थियो । यही कुरालाई दृष्टिगत गर्दै अहिले यहाँका जनता र खेलाडीको माग बहुउद्देस्यीय कभर्डहलको रहेको छ । तर, जिल्लाको माग बहुउद्देस्यीय कभर्डहलको भए पनि जिल्ला विकास समिति, अमरगढी नगरपालिका र स्थानिय व्यापारीहरूको असहयोगका कारणले गर्दा राखेपको मुख ताक्नुबाहेक अर्को विकल्प नरहेको थापाले सुनाए । अर्को कुरा जुन पार्टीको नेतृत्वमा सरकार बन्यो त्यही पार्टीका कार्यकर्ताले समितिको नेतृत्व सम्हाल्ने भएकाले पनि जिल्लामा खेलकुदले फड्को मार्न नसको उनको दाबी थियो । जसले नेतृत्व लियो उसैले खेलकुदको विकासको सम्पूर्ण कार्यक्रम सञ्चालन गर्ने भएकाले दायित्व पनि उसैको हुन्छ, प्रशिक्षकले खेलाडी उत्पादन मात्रै गर्ने हो । तर विडम्बना, खेलकुदको जस्तो रचनात्मक ठाउँमा खेलकुदलाई नजिकबाट आत्मसात् गरेको, खेलकुदको मर्म बुझेको, खेलकुदको विकासमा केही गर्नुपर्छ भन्ने भावना बोकेको व्यक्तिको अभावले गर्दा आज जिल्ला खेलकुदले यस्तो दुरावस्थाको सामना गर्नुपरेको थापाको तीतो अनुभव रहेको थियो ।
जिल्ला खेलकुदको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने प्रशिक्षक थापाले कुन जिल्लामा कुन खेल लोकप्रिय छ त्यसको मूल्याङ्कन गरेर राखेपले अगाडि बढ्नुपर्ने सुझाव दिए । राखेपले कर्मचारीलाई तलब बाँड्ने जति मात्रै बजेट दिने र जिविस र नगरपालिकाले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न ५०–५० हजार मात्र दिने हुँदा त्यसले खेलकुदको विकास गर्न नसकिने बताए । कुनै खेलको जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्दासमेत लाखौँ रुपैयाँ खर्च हुने भएकाले तलब खान पठाएको रकमले कसरी प्रतियोगिता सञ्चालन गर्ने थापाले प्रतिप्रश्न गरेका थिए । अफिस सञ्चालन गर्नसमेत नपुग्ने रकम जिविस र नगरपालिकाले खेलकुदलाई दिने हुँदा खेलकुद के हो, खेलाडी के हो, र खेलकुदले स्वस्थ समाजको निर्माणका लागि कस्तो प्रभाव पार्छ ? भन्ने कुरालाई नबुझ्नु हो । त्यो स्थानीय निकायमा नबुझेको प्रस्ट रूपमा देखिन्छ । तसर्थ खेलकुदको वास्तविकता, प्रभावकारिता, प्रभावशालीता र महत्वलाई जिल्लास्तरमा बुझाउन राखेपले विशेष अभियान चलाउनुपर्ने देखिन्छ । अन्यथा तलब खाएर बस्नेहरू कुवाको भ्यागुतोझैँ रमाउने कुरामा दुईमत छैन ।
अब गुन्डागर्दी होइन, खेलकुद र समाजसेवा
साथीभाइ र सङ्गतका कारण कुनै एक समय गुन्डागर्दी मात्रै गरेर हिँडेका जिरे भनिने सन्तोष गुरुङ यतिबेला आफ्नो विगतलाई बिर्साउने अभियानमा जुटेका छन् । विगतमा गरेको गल्तीबाट पाठ सिकेका सन्तोष अहिले सक्रिय राजनीति, खेलकुद अनि समाजसेवामा क्रियाशील हुन थालेका छन् । कुनै समयमा जिरे उपनामले चिनिएका सन्तोष गलत सङ्गतका कारण गुन्डागर्दीमा आफू होमिएको दाबी गर्छन् । त्यसैले अब विगतलाई बिर्साउँदै नयाँ छवि बनाउन आफू दिनरात मिहिनेत गर्ने उनको भनाइ छ । त्यसैले त गुरुङ अहिले आफ्नो जिल्लामा हुने खेलकुद, राजनीति र समाजसेवालगायतका गतिविधिमा सक्रिय भएर लाग्न थालेका छन् । जिल्लामा रहेको शिवपुरी युवा क्लबमार्फत गुरुङ खेलकुदका कार्यक्रम पनि गराउने अभियानमा जुटेका छन् । नुवाकोट सिक्रे– ४ का सन्तोष तीन महिना पहिले मात्रै नुवाकोटमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपाल र नुवाकोटका एमालेका नेता राजेन्द्रप्रकाश लोहनीसहितको उपस्थितिमा २५ युवासहित एमालेमा प्रवेश गरेका थिए । अन्य पार्टीका युवा सङ्गठनभन्दा एमालेको युवा सङ्गठन खेलकुद र समाजसेवा अनि युवाहरूको हकहितको सवालमा बढी क्रियाशील भएकाले आफू युवा सङ्घमा लागेको उनको भनाइ छ । नुवाकोट जिल्ला क्षेत्र नम्बर एकमा गठन भएको युवा सङ्घमा सन्तोषले सहसचिवको जिम्मेवारी पाएका छन् । युवाहरूलाई समाजसेवा र खेलकुदमा सक्रिय बनाउन गुरुङसहितको टोलीले विभिन्न कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । निकट भविष्यमा नै सन्तोषसहितका युवाको टोलीले जिल्लाका विद्यालयलाई समावेश गरी भलिबल प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरिरहेको छ ।
गुन्डागर्दी गरेर हिँड्दा व्यक्तिगत रूपमा आफ्नो मात्र नभई परिवार र समाज नै ध्वस्त हुँदोरहेछ भन्ने पाठ आफूले सिकेका कारण पनि अहिले त्यो क्षेत्रलाई चटक्कै बिर्सने अभियानमा आफू जुटेको सन्तोष बताउँछन् । सबैले जिरे भनेर चिन्ने तर सन्तोषभन्दा नचिन्ने अवस्था आउँदा आफ्नो परिचय नै गुम्दै गएको उनको भनाइ छ । गुन्डागर्दीको भविष्य हुँदैन र यसले राम्रो परिणाम पनि नदिने नभएकाले यस्तो क्षेत्रमा लाग्ने युवालाई यो क्षेत्र छाड्न पनि सन्तोषले आग्रह गरेका छन् । युवालाई गलत क्रियाकलापबाट जोगाउन खेलकुद क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम भएकाले सबै युवालाई खेलकुदका गतिविधिमार्फत समाजसेवामा सक्रिय हुन पनि सन्तोषले आग्रह गरेका छन् । राज्यले खेलकुदलाई प्राथमिकता दिएर युवालाई अगाडि बढाउन सकेमा युवा बिग्रने अवस्था नरहने पनि उनको भनाइ छ ।
बालगृहलाई जुडोको खेलसामग्री प्रदान
राजधानीका विभिन्न ठाउँमा सञ्चालित ६ वटा बालगृहलाई जुडोको ‘गी’ र म्याट उपलब्ध गराइएको छ । उक्त सामग्री फिनल्यान्ड जुडो सपोर्ट सङ्घका अध्यक्ष ज्भष्पपष् ीबतजभलपयचखब तथा अस्ट्रेलियाका जुडो ओलम्पियन :बतत म्’ब्त्रगष्लय ले उपलब्ध गराएका हुन् । फिनल्यान्ड जुडो सपोर्ट सङ्घका अध्यक्ष कोर्भाले ‘गी’ तथा अस्ट्रेलियाबाट जुडो खेलबाट सन् २००८ को ओलम्पिकमा सहभागी एक्विनोले म्याट उपलब्ध गराएका हुन् । दुवैजनाले उक्त सामग्री माउन्ट एभरेस्ट जुडो रिसर्च केन्द्रलाई उपलब्ध गराएका थिए । उपलब्ध भएको सामग्रीलाई रिसर्च केन्द्रले एक कार्यक्रमबीच ६ वटै बालगृहलाई हस्तान्तरण गरेको थियो । कन्सिन नेपालका अध्यक्ष गणेशभक्त श्रेष्ठ, नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य तथा केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले उक्त सामग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए ।
भलिबलमा विद्युत् प्राधिकरण विजयी
नेपाल विद्युत् प्राधिकरण ‘अन्तरट्रेड युनियन भलिबल प्रतियोगिता’को विजेता बनेको छ । विद्युत्ले पब्लिक क्याम्पस प्राध्यापक सङ्घलाई फाइनलमा २५–१८, २६–२४, १८–२५ र २५–१७ ले पराजित गरेको हो । विजेता विद्युत्ले नगद १५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त ग-यो । यस्तै दोस्रो हुने प्राध्यापक सङ्घले मेडल, प्रमाणपत्र, ट्रफीसहित नगद १० हजार प्राप्त ग-यो । विद्युत्का सुनील मानन्धर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।
तेक्वान्दो कोषाध्यक्ष रवि निलम्बित
राष्ट्रिय खेलकुद परिषद्ले नेपाल तोक्वान्दो सङ्घका कोषाध्यक्ष रविराज सिंहलाई निलम्बन गरेको छ । सिंहले नेपालको प्रचलित कानुनविपरीत नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहेको र अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहेको हुँदा अनुसन्धान प्रक्रियाको टुङ्गो नलागेसम्म निजलाई तेक्वान्दो सङ्घको कोषाध्यक्ष पदबाट राखेपले निलम्बनमा राख्ने निर्णय गरेको हो ।
अपाङ्ग फुटबल सम्पन्न
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको ‘फरक क्षमता भएका व्यक्तिहरूको खेलकुद कार्यक्रम’अन्तर्गत भएको ‘आठौँ महिला तथा पुरुष फुटबल प्रतियोगिता’मा पुरुषतर्फ नीलो टोलीले सेतो टोलीमाथि ५–३ गोलअन्तरले जित हात पा-यो । नीलोका लागि रामबहादुर कवारले २, कप्तान सञ्जीव श्रेष्ठले १, विकास बस्नेतले १ र रमेश थापाले १ गोल गरेका थिए । सेतोका लागि ऋषिराम बास्कोटाले २ र रूपबहादुर वाइवाले १ गोल गरेका थिए । त्यस्तै महिलातर्फको खेलमा रातो टिमले हेमकला राईको १ मात्र गोलको मद्दतले नीलोमाथि जित हात पार्न सफल भयो ।
युवा विकास र समाज सेवा नै मेरो लक्ष्य हो—सुनील केसी (कोषाध्यक्ष, सामाजिक युवा क्लब कोटेश्वर)
० तपाईं जल्दोबल्दो युवा खेलकुदलाई कसरी आत्मसात् गर्नुभएको छ ?
– खेलकुदबिना स्वास्थ्य राम्रो हुन सक्तैन, स्वस्थ युवा जन्मिन खेलकुदको महत्वपूर्ण भूमिका हुन्छ । मुलुकको समग्र विकासका लागि स्वस्थ युवाहरूको खाँचो भएकोले यही कुरालाई आत्मसात् गरेर म खेलकुदमा लागेको हुँ । अझ मेरो घरअगाडि नै फुटबलको क्लब भएकाले मेरो योगदानले क्लबको वृद्धि विकास हुन्छ भन्ने ठानेर बिनास्वार्थ लागेको हुँ, सदा लागि रहनेछु ।
० फुटबलप्रति आकर्षक हुनुको कारण के हो नि ?
– फुटबल विश्वमै सर्वाधिक रुचाइएको खेल हो, यसमा धेरै युवाहरूको रुचि संलग्नता रहेको छ । मेरो उद्देश्य पनि युवा जमातको विकासप्रति रहेकाले उनीहरूलाई सही मार्ग निर्देशन गर्न र अन्य दुव्र्यसनमा बचाउन खेलकुदको सशक्त माध्यम फुटबललाई रोजेको हुँ । जसले सीमित युवालाई खेलकुदसँगै पढाइमा पनि निरन्तरता दिन सकेका छौँ । क्लबको यस्तो कदमप्रति अभिभावकहरूमा पनि सकारात्मक सन्देश गएको छ भने ३५ वडाका समितिका सबैको विशेष सहयोग प्राप्त भएको छ ।
० तपाईंले युवा र फुटबलको विकासलाई विशेष प्राथमिकतामा राख्नुभएको छ, यसले समाजमा पार्ने प्रभाव र सफलताबारे के धारणा राख्नुभएको छ ?
– युवा र फुटबललाई विशेष प्राथमिकतामा राख्नुको कारण स्वस्थ समाजको निर्माणका सँगसँगै युवाहरूको उज्ज्वल भविष्यका लागि हो । जसलाई मैले अन्तर आत्मादेखि आत्मसात् गरेर अगाडि बढेको छु । यसको प्रभाव समाजमा सकारात्मक परेकाले मैले सोचअनुरूप नै सहयोग प्राप्त गरेको छु । अहिले प्रारम्भिक चरण अर्थात् सुरुवातको समय मात्रै हो, अझ धेरै गर्न बाँकी छ । यदि टोलवासीको यस्तै सहयोग पाएको खण्डमा यो भन्दा निकै राम्रो गर्नेछु । क्लबलाई ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा अर्को वर्षमा पु-याउनेछु ।
० खेलकुद र सामाजिक सेवालाई सँगसँगै लग्नुभएको छ, यस्तो गर्नुको कारण के हो ? के यी एक–अर्काका परिपूरक हुन् ?
– खेलकुदबाट युवालाई समेट्न सकियो भने पनि त्यो पनि सामाजिक कार्य हो । मैले गर्दा ३०–४० जना युवा बिग्रनबाट बच्छन् र भविष्यमा ती युवा राम्रो बन्छन् भने त्यसलाई पनि मैले सामाजिक कार्य हो भनेर बुझेको छु । यसका लागि मैले दिनरात एउटै बनाएर कार्य गरेको छु । यसका साथै सामाजिक कार्यमा मेरो छुट्टै लगाव छ । जसका लागि मैले टोलका चारवटै नाकामा खानेपानीको व्यवस्था गरेको छु, टोलमा सेक्युरिटी साइरनको व्यवस्था गरेको छु, पुलिस चौकीको निर्माण गरेको छु, मठमन्दिरको निर्माण गरेको छु, स्वास्थ्य उपचारका लागि विशेष सहयोग गर्दै आएको छु । विभिन्न समयमा रक्तदानका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छु । यी समाजका अभिन्न पाटा भएकाले मैले यसलाई एक–अर्काका परिपूरक मानेको छु । यसको परिणाम भविष्यमा सकारात्मक आउने कुरामा म ढुक्क छु ।
० तपाईंले यी कार्यहरू गर्नुको पछाडि कतै स्वार्थ लुकेको त छैन ?
– मान्छे सबै स्वार्थी हुन्छ, म पनि छु । तर, अहिलेसम्म मैले निस्वार्थ भावनाले यी कार्य गर्दै आएको छु । भोलि यसैको माध्यमबाट माथि पुगियो भने योभन्दा राम्रो दक्षता देखाउने कुरामा विश्वस्त छु जुन कुराको म प्रतिबद्धता पनि गर्छु । समय कसले देखेको छ र ? म पनि समयको प्रभावसँग जे पनि अर्थात् राजा या रंक बन्न सक्छु । तसर्थ म जहाँ पुगे पनि आफ्नो कर्तव्य र जिम्मेवारीलाई कदापि बिर्सने छैन ।
० कुनै कार्यको थालनी गर्दा बाधा, अडचन र अवरोधको सामना गर्नुपर्छ, तपाईंले यसको समन्वय कसरी गरिरहनुभएको छ ?
– सबभन्दा पहिले खुट्टा तान्नेहरूसँग डराउनुहुँदैन, आत्मविश्वास दह्रो बनाउनुपर्छ । काम गर्दा बाधा, अडचन र अवरोधहरू कदमकदममा आउने भएकाले त्यसलाई हामीले सहज रूपमा लिएका छौँ । अझ यसका लागि क्लबका साथीहरूको विशेष सहयोग रहेकाले मलाई काम गर्न निकै सजिलो भएको छ । म निर्धक्क रूपमा काम गरिरहेको छु ।
० नेपाली खेलकुदलाई कसरी हेर्नुभएकोे छ र नेपाली फुटबललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
– सर्वप्रथम नेपाली खेलकुद निकै अस्तव्यस्त र चिन्ताजनक छ । काम गर्न निकै गाह्रो छ भने व्यवस्थापन गर्न त्योभन्दा कठिन छ । सम्पूर्ण खेलाडी बाहिरबाट ल्याउनुपर्छ, घरभाडादेखि खेलाडीको सम्पूर्ण भार क्लबले व्यहोर्नुपर्छ । ‘बी’ डिभिजनका लागि एन्फाले एक लाख ७५ हजार दिन्छ त्यो पनि दुई किस्तामा । त्यसमा पनि १० हजार विभिन्न वाहनामा काटिन्छ । वास्तविक रूपमा भन्ने हो भने उक्त रकम त खेलाडी खोज्नमा नै सकिन्छ । ‘बी’ डिभिजनमा सहभागिता जनाउन हाम्रो २० लाख खर्च हुन्छ, तसर्थ क्लबलाई टिकाउन निकै गाह्रो छ । यो कुरा एन्फाले बुझेर पनि बुझपचाउँदा क्लबहरू निकै आर्थिक मारमा परेका छन् ।
० अन्त्यमा, समग्र खेलकुदको विकासका लागि तपाईंको सोच के छ ?
– टोलसमाजको विकासबिना मुलुकको विकास असम्भव हुने भएकाले सर्वप्रथम त्यसैलाई केन्द्रित गरेर अगाडि बढ्नेछु । भविष्यमा यही क्लबबाट राम्रो जिम्मेवारी पाए क्लबलाई ‘ए’ डिभिजनमा पु-याएर एउटा राष्ट्रियस्तरको क्लबको रूपमा परिचित गराउनेछु । अहिले हामीले क्लबका लागि नरेफाँटमा १६ रोपनी जग्गा लिएका छौँ । त्यसमा ३० लाख खर्च गरेर पर्खालसमेत लगाएका छौँ । यसमा दिनेश थपलिया र टोलवासीको विशेष भूमिका रहेको छ । भविष्यमा पनि यस्तै सहयोग प्राप्त भए हाम्रो क्लबले पनि समग्र खेलकुदको विकासमा अहम् भूमिका खेल्ने मेरो विश्वास छ ।
प्रतिक्रिया