– स्वयम्भूनाथ कार्की
पञ्चायत समाप्त भएर बहुदलीय व्यवस्था आएपछिको पहिलो प्रतिनिधिसभामा एकपटक एमालेले सदन बहिष्कार ग¥यो । संसदीय परम्पराको मान्यताअनुसार संसद्मा प्रतिपक्षविहीन अवस्थामा कुनै छलफल हुन सक्दैन । जसरी सञ्चार जगत्लाई कतै पनि आधिकारिक रूपमा राज्यको चौथो अङ्ग लेखिएको हुन्न, तर संसारभर यही मान्यता छ त्यसरी नै यो मान्यता पनि छ । त्यसबेला संसद्को छलफल स्थगन हुनुपर्ने थियो, तर स्थगन भएन । ०४७ को संविधानअन्तर्गत भएको निर्वाचनमा पञ्चको दुई पार्टीमध्ये राप्रपाबाट एक मात्र प्रतिनिधिले जितेका थिए । संसद्मा उपस्थित उनी एक मात्र सत्ताधारी पार्टीभन्दा बाहिरका थिए । उनैलाई प्रतिपक्षीको कुर्सीमा आसन गराएर संसद्को कारबाही चल्यो ।
आफूलाई तत्कालीन प्रजातन्त्र अहिले लोकतन्त्रको एक मात्र व्याख्याता, रक्षक भन्ने नेपाली काङ्ग्रेसले रोपेको यो बुख्याचा प्रतिपक्षको बिरुवाले झन्डै २८ वर्षपछि फल दिएको छ । तत्कालीन एमाले अहिले नेकपा (नेकपा) सांसदले नेपाली काङ्ग्रेसले सदन छोडेर गए हुन्छ भन्ने हुङ्कार गरेका छन् । त्यसबेला दार्चुलाबाट निर्वाचित एक्ला अकबरबहादुर सिंहले सम्पूर्ण प्रतिपक्ष धानेका थिए भने वर्तमानमा त्यस्ता एकसिटेहरू प्रसस्त छन् जो सत्तापक्षलाई कृपा (?) गरेर प्रतिपक्षको भूमिका शून्य हुन नदिई सहायता गर्न तयार छन् ।
नेपाली काङ्ग्रेसले राखेको संसदीय प्रणालीको यो नजिरले आज नेकालाई नै पोलेको छ । त्यसैले त पहिले सदन छोड्ने धम्की दिँदै गरेको नेकाको गर्जन एकाएक मत्थर भएको छ । हामी सदन छोड्दैनौँ भनेर भन्ने अवस्थामा नेकालाई नेकपा (नेकपा)ले पुऱ्याएको होइन कुनैबेलाको बहुमतको दम्भले आफैंले गरेको कामले पुऱ्याएको हो । कुनैबेला केवल पञ्चायत शब्द राखेर बाँकी संविधान बनाउनुस् भनेर मि. स्कोपमार्फत राखिएको प्रस्ताव ठाडै अस्वीकार गर्ने नेतृत्व स्खलित भइसकेको छ । पञ्चायतकालमा बहुदलको गुन गाउँदै जनतामा बहुदलीय व्यवस्था मात्र प्रजातन्त्र हो भनेर भोकभोकै घुम्ने नेका कार्यकर्ता अहिले कतै आफूले गल्ती त गरेनौँ भनेर सोच्नुपर्ने अवस्थामा पुगेका छन् ।
कुनै बेला राजनीति आदर्श थियो, तर अहिले ‘जोगी हुन राजनीति गरेको होइन’ भन्ने सोच बलवान छ । कुनै बेला अराजक र अनियन्त्रित भिडलाई राजनीतिले सही दिशा दिने गर्दथ्यो, अहिले त्यो भिडले राजनीतिलाई दिशा दिन्छ ।
प्रजातन्त्रमा मतदातालाई छान्ने अवसर दिनुपर्छ भनेर गाउँफर्के पोलिटब्युरोको अनुमोदनको विरोध गर्ने त्यसवेलाको नैतिक बल अब गुमाएको छ । नेकाका कार्यकर्ताहरूलाई निर्वाचन हार्नु लाजमर्दो लाग्न थालेको छ । कुनैबेला एक भोट आए पनि आफ्नो सैद्धान्तिक जित ठान्ने नेपाली काङ्ग्रेस सत्ता नभएमा आफ्नो प्राण नै नरहेको ठान्न थालेको छ । मुखले बहुलवाद भने पनि सहमतीय प्रणालीको नाममा भागबन्डामा सामेल हुनुपर्छ भन्ने सदस्यहरू लिएर अब नेकाले सैद्धान्तिक लडाइँ लड्न सक्ला ? बहुदल स्वीकार गरे पनि बहुलवाद नमान्ने वामपन्थी कार्यनीतिलाई मलजल गर्ने नै नेका भएको छ । त्यसैले सत्तापक्षले संसद् छोडेर जा भन्दा त्यसलाई संसदीय प्रणालीमाथिको आक्रमण भनेर भन्न सकेका छैनन् काङ्ग्रेस जनहरूले ।
कुनै बेला राजनीति आदर्श थियो, तर अहिले ‘जोगी हुन राजनीति गरेको होइन’ भन्ने सोच बलवान छ । कुनै बेला अराजक र अनियन्त्रित भिडलाई राजनीतिले सही दिशा दिने गर्दथ्यो, अहिले त्यो भिडले राजनीतिलाई दिशा दिन्छ । वामपन्थी र प्रजातान्त्रिक सोच एक–अर्काको विलोम हुन विशेष अवस्थामा देशको निमित्त सहकार्य गरे पनि सत्ताको निमित्त सहमति र भागबन्डा गर्नु प्रजातान्त्रिक सोचको स्खलन हो । वामपन्थ त हमेसा ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिमा विश्वास गर्छ । त्यसैले लक्ष्यमा पुग्न जे पनि वामपन्थलाई जायज हुन्छ । त्यसैले वामपन्थी नेता एक समयमा मन्दिर भत्काउनेहरूसँग तालमेल गर्दै हुन्छ भने अर्को समयमा महायज्ञको प्रमुख अतिथि हुने अवसर पनि छोड्दैन ।
नेकामा प्रसस्त नाम चलेका विचारक छन्, आगो उकेल्ने जल्दबल्दा नेताहरू पनि छन् । समाजमा प्रभावशाली ढङ्गले कुरा राख्न सक्ने बुद्धिजीवीहरू पनि छन् । के सबैले प्रतिपक्षविहीन संसद्को दमित इच्छाउजागर हुँदा मौन व्रत नै बस्नुपर्छ भन्ने सोचेका छन् ? नेकाका मूर्धन्यहरूले आफ्नो वैचारिक स्वतन्त्रता र त्यसको उपभोग नगरेको हो वा प्रतिपक्षी विचार हुनुपर्ने भनेर आफूले जीवनभर स्थापना गरेको मान्यता गलत रहेछ भन्ने सोच आएको हो ? वा कतै केहीको समुहले ङ्खयाक लागेर सत्तारोहण गर्ने सपना देखेको हो ? यो कुरा सोध्न सम्भवतः उचित नहोला किनभने भरतपुरमा ‘रेणु’ विजय गराएर खसी काटेर भोज गर्ने महानता काङ्ग्रेसजनमा छ ।
हुन त राणासँग डराएनौँ, पञ्चायतसँग डराएनौँ भनेर फोस्रो हुङ्कार गरेको नसुनिएको होइन । राणासँग लड्दा स्वयम् राजा त्रिभुवन साथ थिए । त्यसैले उनको सुरक्षाको निमित्त पाल्पामा राख्न नेकाले प्रयत्न गरेको कुरा बीपीको आत्मवृत्तान्तमा छ । नेका असफल भएपछि राजा त्रिभुवन भारतको दूतावास पुगेका थिए । पञ्चायतलाई जनताको रगतको चासो थियो र सयको आसपास ज्यान जानेबित्तिकै घुँडा टेक्यो । अहिले सदन प्रतिपक्षीविहीन बनाउने तानाशाही हुङ्कारको जवाफ त दिने ह्याउ नभएको नेपाली काङ्ग्रेसले ‘मेरा बराजुले घिउ खाएका थिए मेरो हात सुँघ’ भनेर कसले पत्याउला ?
प्रतिक्रिया