एउटा कमिजको मूल्य अढाई लाख डलर ! सुन्दा पत्याउन गाह्रो छ । तर, यो सत्य हो र यति महँगो कमिज पहिरिने व्यक्ति पनि धेरै टाढाका नभई नजिकको छिमेकी मुलुक भारतवासी हुन् । हो, भारत पूणेका दत्ता फुग्गे संसारकै एक त्यस्ता व्यक्ति हुन् जसले एउटै कमिजका लागि अढाई लाख डलर अर्थात् सवा करोड रुपैयाँ खर्च गरेका छन् । आखिर शरीरमा पहिरिने एउटा कपडा किन यति महँगो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । उक्त कमिज यत्तिकै महँगो परेकोचाहिँ होइन, वास्तवमा त्यो सर्ट तीन किलो तीन सय ग्राम सुन खर्च गरेर तयार भएको छ । सुनका आभूषण भनेपछि हुरुक्कै हुने दत्ताको गला, नाडी र औँलाहरू पनि सुनैसुनले लदिएका छन् । कपडा र गरगहना गरी कुल मिलाएर झन्डै पाँच केजीजति सुन उनको शरीरमा रहेको हुन्छ । सुनको उक्त वस्त्र पूणेकै एक एक सय ३३ वर्ष पुरानो ज्वलरी सपले विशेष मिहिनेत गरी तयार गरेको हो । ‘गोल्डम्यान’का नामले समेत चिनिन थालेका दत्ता आफ्नो अलग पहिचानका लागि सुनको कपडा बनाएर पहिरिएको सगर्व बताउँछन् । कलेज पढ्दा कसैले ‘ठूलो घरानाका व्यक्ति कहलिनु छ भने जतिसक्दो सुनका गहना प्रयोग गर्नुपर्छ’ भनेको सुनेदेखि आफूमा सुनप्रति लगाव बढेको फुग्गे बताउँछन् । उनले सुनको कपडा र गरगहना पहिरिएर हिँड्दा सुरक्षाकर्मीको एउटा बेग्लै दस्ता साथ लाग्ने गरेको छ । अब फुग्गेको चाहना एउटा सुनको मोबाइल र एकजोर सुनको जुत्ता पहिरिने रहेको छ ।
एक लिटरले एक सय ११ किलोमिटर
एक लिटर डिजलबाट एक सय एघार किलोमिटरको सवारी यात्रा । यो सुन्दा कुनचाहिँ सवारीप्रेमीको ध्यान नखिचिएला र ? हो, भक्सवागन नामक गाडी निर्माता कम्पनीले यही गुण भएको सवारी निर्माण गरेको छ । एक साथ दुई यात्रु सवार गर्न सकिने उक्त हाइब्रिड कारमा २७ हर्सपावरको इलेक्ट्रिक इन्जिनका अलावा दुई सिलिन्डरको डिजेल इन्जिनसमेत जडान गरिएको छ जसको शक्ति ४७ बीएचपी रहेको कम्पनीको दाबी छ । सातवटा गियर रहेको यस कारमा कम फ्युलबाट ज्यादा माइलेज हासिल गर्नका लागि एयरोडाइनामिक डिजाइन गरिएको छ । हल्का तुल्याउनका लागि यसको बडीमा कार्बन फाइबरको प्रयोग गरिएको छ जसले गर्दा कारको कुल तौल जम्मा आठ सय केजी मात्र रहेको छ । पहिलो खेपमा दुई सय पचासवटा मात्र उत्पादन गरी जर्मन उपभोक्तामाझ पु-याइन लागेको यो कार एसियाली बजारमा कहिलेसम्ममा आइपुग्ने हो, त्यो भने निर्माता कम्पनीले खुलाएको छैन ।
क्षयरोगमा कागती उपयोगी
कागतीलाई अत्यन्त गुणकारी फलका रूपमा नचिन्ने आजको जमानामा कमै मानिस होलान् । भिटामिन ‘सी’को दर्बिलो स्रोत कागती क्षयरोगको उपचारमा रामवाणसरह हुने अनुसन्धानबाट देखिएको वैज्ञानिकहरूको दाबी छ । टीबीको उपचारका सवालमा शक्तिशाली मानिएका औषधिलाई समेत हम्मे–हम्मे पर्ने अवस्थामा पनि कागती रोगका सङ्क्रमणसँग जुझ्न प्रभावशाली देखिएको अनुसन्धानकर्ताहरूको कथन छ । ‘नेचर कम्युनिकेसन’मा प्रकाशित रिपोर्टअनुसार दिनानुदिन असाध्य बन्दै गएको ‘मल्टीड्रग रेजिस्टेन्ट टीबी’को सुरुवातमा शक्तिशाली औषधि पनि निस्प्रभावी बन्न सक्छन्, तर पारम्परिक एन्टिबायोटिक्सका रूपमा अपनाइँदै आएको कागतीले जटिल अवस्थाको क्षयरोगमा पनि प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ ।
पृथ्वी केन्द्रको तापक्रम सूर्यको सतहजत्तिकै
पृथ्वीको सतहबाट जति भित्र गयो त्यति–त्यति तापक्रम बढी हुन्छ भन्ने कुरा कुनै नयाँ विषय होइन । पृथ्वीको केन्द्रमा अति नै तातो तरल पदार्थ उम्लिरहेको छ भन्ने पनि वैज्ञानिकले उहिल्यैदेखि भनिआएकै हुन् । तर, पृथ्वीको केन्द्रमा रहेको तापक्रमबारे वैज्ञानिकहरूले एक नयाँ तथ्य सार्वजनिक गरेका छन् । हालसम्म पृथ्वीको गर्भको तापक्रमबारे अनेक अनुमान गरिएकोमा हालै सम्बन्धित अनुसन्धाता यो निचोडमा पुगेका छन् कि अनुमान गरिएभन्दा यो सैयौँ गुणा तातो छ । अर्थात्, सूर्य जति तातो छ पृथ्वीको केन्द्र पनि त्यति नै तातो छ । सूर्यको सतहको तापक्रम ६ हजार डिग्री सेल्सियसको हाराहारीमा रहेको वैज्ञानिकहरूको आँकलन छ । हालसम्म पृथ्वीको केन्द्रमा फलाम र अयस्कको मिश्रण रहेको ठानिएको थियो, तर त्यो पनि गलत रहेको ठहरमा अध्येताहरू पुगेका छन् । फलाम भनिएको ठाउँमा क्रिस्टलीय धातु रहेको र त्यसको बाहिरी घेरामा तरल पदार्थ बगिरहेको अनुसन्धानको निचोड छ ।
प्रतिक्रिया