काठमाडौं, १८ जेठ । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भएदेखि नै असन्तुष्ट रहँदै आएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मंसिरमा निर्वाचन हुनेमा आशंका जनाएका छन् । निर्वाचनका लागि सरकार बनेको अढाइ महिना बितिसक्दा पनि राजनीतिक दलहरु विवादमा अल्झिरहेका र सरकारले मितिसम्म पनि तोक्न नसकेको अवस्थाबारे आपत्ति प्रकट गर्दै उनले चुनाव हुनेमा सन्देह व्यक्त गरेका हुन् ।
सुनसरीको इटहरीमा संविधानसभा सूचना केन्द्रले आयोजना गरेको नागरिक संवाद कार्याक्रममा बोल्दै नेम्वाङले निर्वाचनको विकल्प नभएको स्पष्ट हुँदाहुँदै पनि दलहरु अझै निर्वाचनका बारेमा अन्योलमा रहेको साथै केही दलले सहभागिता नजनाउने अडान राखेकाले चुनाव हुनेमा आशंका बढेको बताए । विगतमा पनि राजनीतिक दलहरुको स्वार्थका कारणले संविधान निर्माण नभई संविधानसभा अवसान हुन पुगेको टिप्पणी पनि उनले गरे ।
यसरी दिनानुदिन राजनीतिक माहोल बिग्रिएर जनतामा निराशा बढ्दै जानुमा दलहरुको अकर्मण्यता नै प्रमुख दोषी रहेको नेम्वाङको ठहर छ ।
प्रतिक्रिया