नेपालको राष्ट्रिय दिवस ‘जेठ १५’, विदेशीका लागि ‘२८ मे’

नेपालको राष्ट्रिय दिवस ‘जेठ १५’, विदेशीका लागि ‘२८ मे’


काठमाडौं, १८ जेठ । सरकारले नेपालको राष्ट्रिय दिवसका रुपमा जेठ १५ लाई तोकेको छ । नेपाल सरकारको निर्णअनुसार विदेशी मित्रहरुले मे २८ लाई नेपालको राष्ट्रिय दिवस मानेर बधाई तथा शुभकामना दिन सक्नेछन् । बिहिबारको मन्त्रिपरिषद बैठकले गणतन्त्र घोषणा गरिएको अंग्रेजी तिथि मे २८ (जेठ १५)लाई राष्ट्रिय दिवस घोषणा गरेको हो।
राजतन्त्रकालमा तत्कालीन राष्ट्रप्रमुख राजाको जन्मदिनलाई राष्ट्रिय दिवस मान्ने प्रचलन थियो। २०६२र६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गरे पनि नयाँ राष्ट्रिय दिवस तोकिएको थिएन। ३ सय ६५ दिनै कुनै न कुनै दिवस मनाइने देशमा सरकारले राष्ट्रिय दिवस घोषणा गर्न नसक्दा अन्योल थियो। अब कसैले सोधे निर्धक्क भन्न सकिने भयो– हाम्रो राष्ट्रिय दिवस मे २८।
२०६२र६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गरेपछि संविधानसभाले २०६५ जेठ १५ मा गणतन्त्र घोषणा गरेको थियो। पहिलो गणतन्त्र दिवस मे २८ का दिन परेको हुँदा विदेशीका निम्ति उक्त मिति राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विदेशीलाई नेपाली मिति राख्दा अफ्ठेरो पर्ने भयो। जेठ १५ सधैं मे २८ का दिन पर्दैन। मे २७ र २८ मा मात्र होइन, जेठ १५ कहिलेकाहीँ मे २९ मा समेत पर्ने गर्छ। राष्ट्रिय दिवसको अवसरमा विदेशीले बधाई सन्देश पठाउँदा कुन दिनलाई आधार मान्ने भन्ने दुविधा हुने भो। यसकारण देशभित्र जेठ १५ गते र विदेशीले सन्देश पठाउँदा मे २८ लाई आधार मानी पठाउने निर्णय भएको हो ।
काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगले आफ्ना राष्ट्रप्रमुख तथा सरकारप्रमुखले नेपालका समकक्षीलाई राष्ट्रिय दिवसको बधाई सन्देश कुन दिन पठाउने भन्ने प्रश्न गर्दा परराष्ट्रका कर्मचारी नाजवाफ हुने गरेका थिए।
कूटनीतिक सम्बन्ध जोडिएको देशको राष्ट्रिय दिवसमा सम्बन्धित देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई बधाई सन्देश पठाउने कूटनीतिक अभ्यास रहँदै आएको छ। सन् १८१६ मा पहिलोपटक बेलायतसँग कूटनीतिक सम्बन्ध कायम भएयता हालसम्म १ सय ३८ वटा राष्ट्रसँग नेपालले सम्बन्ध गाँसिसकेको छ। पछिल्लोपटक सन् २०१३ अप्रिल १२ का दिन नेपालले पपुवा न्युगिनीसँग कूटनीतिक सम्बन्ध जोडेको थियो।
राजतन्त्र भएका प्रायः देशले राजाको जन्म दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएका छन्। छिमेकी भारतले गणतन्त्र दिवस जनवरी २६ लाई राष्ट्रिय दिवस मानेको छ भने चीनले कम्युनिस्ट शासन स्थापना भएको दिन अक्टुबर १। पाकिस्तानले पहिलोपटक संविधान जारी भएको दिन मार्च २३ लाई राष्ट्रिय दिवसका रुपमा मनाउँछ।