नक्कली कागजात बनाएर जापान पठाउने कन्सल्ट्यान्सी संचालकहरु पक्राउ

नक्कली कागजात बनाएर जापान पठाउने कन्सल्ट्यान्सी संचालकहरु पक्राउ


काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली कागजपत्र बनाएर बिद्यार्थी भिसामा जापान पठाएको आरोपमा बागजबजार पुतलीसडक, कंलकी र भक्तपुरका केही इन्स्टिच्युटमा छापा मारेर त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । यही जेठ २ गते नक्कली कागजपत्र लिएर सिंगापुर हुँदै जापान जान लागेका कास्की माझस्थानका यामबहादुर गुरुङलाई अध्यागमन विभागले पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा राजधानीका अधिकांश कन्सल्टेन्सीले नक्कली कागजपत्र बनाएर मोटो रकम असुली विदेश पठाउने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ । त्यसरी विदेश पठाउने पुतलीसडकको किमिनो जापनिज ल्याङग्वेज स्कुल, बागबजारको मिनिचि जापनिज ल्याङग्वेज स्कुल, अप्सन एजुकेसन कन्सल्टेन्सी पुतली सडक, नेपाल इन्स्टिच्युट पुतलीसडक, इबिसु एजुकेसन इन्स्टिच्युट कंलकी, भक्तपुर जापनिज ल्याङगवेज स्कुल, युनाइटेड स्टडी सेन्टर बागबजारले पठाउने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विदेश जान लागेका गुरुङ, कन्सल्टेन्सी सञ्चालक बस्नेत, अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका नवलपरासीका बिजय पाण्डे, किरण काफ्ले, आर आर क्याम्पस अखिल क्रान्तीकारीको इकाई सदस्य सरदराज पाठक छन् । यिनीहरुले गुरुङलाई नक्कली कागजपत्र बनाएर दिएका थिए । त्यसबापत १० लाख ८० हजार रुपैंया गुरुङले बस्नेतलाई दिएका थिए ।
नुवाकोट राउतेवेसीकी २१ बर्षिय माया तामाङलाई जापान पठाउने मिनिचि जापनिज ल्याङग्वेज सेन्टरले नक्कली कागजपत्र बनाएर पठाएको प्रहरीले जनाएको छ । त्यसका सञ्चालक ईन्द्रकुमार लामा फरार छन् । तामाङलाई त्रिभुवन बिश्वबिद्यालयका नक्कली प्रमाणपत्र बनाएर पठाउन लागेको जनाएको छ । त्यसबापत तामाङले कन्सल्टेन्सी सञ्चालकलाई ९ लाख ५५ हजार रुपैंया बुझाएकी थिईन् ।
नेपाल कमर्स क्याम्पसको बिबिएस चारित्रिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट लगायतका अन्य कागजपत्र नक्कली बनाएर चितवनका प्रमोद भण्डारीलाई सिंगापुर हुदै जापान पठाउने अप्सन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक नबिन गौतम पनि समातिएका छन् । चितवनकै उनले प्रमोदबाट ९ लाख ७५ हजार रुपैंया लिएको प्रहरीले जनाएको छ । यस्तै नेपारु इन्स्टिच्युट पुतलीसडकबाट नक्कली कागजपत्र बनाएर कास्कीका केशबचन्द्र सापकोटालाई विदेश पठाउने त्यसका सञ्चालक दिपेन्द्र अधिकारी फरार छन् । उनले सापकोटाबाट ९ लाख ६ हजार रुपैंया लिएको ब्युरोले जनाएको छ । सिन्धुपाल्चोका राजु योञ्जनलाई जापान पठाउने भक्तपुर ल्याङग्वेज इन्स्टिच्युटका अमिर लिबीलाई प्रहरीले पक्राउ गरेको छ । उनले विदेश पठाएका योञ्जनको शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर लगायतका अन्य कागजपत्र नक्कली रहेको जनाएको छ । त्यसबापत ५ लाख ३२ हजार रुपैंया दिएको जनाएको छ । यस्तै २१ बर्षकी सञ्जु तामाङलाई नक्कली कागजपत्र बनाएर जापान पठाउने इबिसु एजुकेसन इन्स्टिच्युटका सञ्चालक रमेश तामाङको खोजी भइरहेको जनाएको छ । तामाङले ४ लाख ६० हजार रुपैंया लिएर उनलाई जापान पठाउन लागेका थिए । यस्तै नक्कली कागजपत्र नै बनाएर सिंगापुर हुदै जापान जान लागेका बाग्लुङका जीवन श्रीष समातिएका छन् । उनलाई टोकियो एजुकेसन फाउण्डेसनका सञ्चालक रमेश क्षेत्रीले ८ लाख २ हजार रुपैंया तिरेका थिए । युनाईटेड स्टडी सेन्टरले दुई जनालाई त्यसरी नै विदेश पठाएको पाइएको छ । उसले गुल्मीका रबि न्यौपानेलाई नक्कली कागजपत्र बनाएर १० लाख रुपैंया लिई विदेश उडाउन लागेको थियो । यस्तै डोटी छपालीका प्रकाशबहादुर सिंहलाई १० लाख लिएर विदेश पठाउन लागेका थियो । त्यसका सञ्चालक बिष्णु गिरी फरार रहेको प्रहरीले जनाएको छ ।