उत्कृष्ट तर अभागी खेलाडी दीपक श्रेष्ठ

उत्कृष्ट तर अभागी खेलाडी दीपक श्रेष्ठ


sportसामान्य परिवारमा जन्मिएका दीपक श्रेष्ठलाई कराते खेलाडी बन्छु भन्ने सामान्य हेक्कासमेत थिएन । अझ कराते खेलप्रति परिवारको नकारात्मक सोचले गर्दा उनको करातेसँग कुनै आकर्षण थिएन । १२ वर्षको उमेरमा फुटबलप्रति जागेको मोह नै दीपकका लागि करातेसम्म पुग्ने ‘सेतु’ बनेको थियो । रमाइलोका लागि अग्रज दाइहरूसँग बुद्धि विकास मण्डलको चौरमा फुटबल खेल्दाखेल्दै उनको साइनो करातेसँग जोडिएको थियो । फुटबल खेल्दा टाइफाइड हुनु र परिवारले नखेल्नका लागि दबाब दिएपछि कराते दीपकका लागि नौलो विकल्प बनेको थियो । मात्र १३ वर्षको उमेरमा अग्रज दाइ मीनकृष्ण महर्जनको मार्गदर्शन र प्रेरणाले करातेलाई दीपकले आत्मसात् गरेका थिए । करातेको प्रशिक्षण लिँदै जाँदा उनको लगाव यो खेलप्रति निकै बढेर गयो । परिणाम दीपकले करातेलाई आफ्नो जीवनको एक अभिन्न अङ्ग बनाउन पुगे । करातेमै आफ्नो भाग्य र भविष्य अजमाउन पुगे । त्यसबेला उनले गरेको सही निर्णयका कारण दीपक अहिले करातेका ‘महानायक’का रूपमा नेपाली खेलकुदमा चम्किरहेका छन् ।
कुरो ०४६ सालको हो, त्यसबेला नेपालमा करातेले भर्खरै जरा गाड्न थालेको थियो । उतिबेला करातेको प्रशिक्षण लिने जोकोही युवा आफूलाई खेलाडीभन्दा पनि ‘दादा’ बन्ने सोच राख्थे । यस्तो अन्योलको वातावरणमा करातेलाई आत्मसात् गरेका दीपक पनि गन्तव्यविहीन र लक्ष्यविहीन हुनु स्वाभाविकै थियो । उनले पनि करातेको यही अवस्था स्वीकार गर्दै प्रशिक्षणलाई निरन्तरता दिएका थिए । आफूले प्रशिक्षण लिने लगनखेल डोजोका अग्रज र अन्यबीच बारम्बार झगडा हुने र अग्रजहरू वान्टेडमा पर्नाले दीपकको प्रशिक्षणमा अवरोध उत्पन्न भएको थियो । सबैभन्दा फुच्चे तर करातेप्रतिको विशेष लगावका कारणले यो भविष्यमा राम्रो खेलाडी बन्नसक्छ भनेर नै मीनकृष्ण महर्जनले ०४९ सालमा दीपकलाई दशरथ रंगशालामा प्रशिक्षणको व्यवस्था मिलाएका थिए । त्यतिबेलासम्म पनि दीपक करातेको वास्तविकतादेखि अनविज्ञ थिए । उनलाई किन र के लागि कराते खेलिरहेको छु, आफ्नो गन्तव्य र लक्ष्य के हो, केही थाहा थिएन ।
रंगशालामा प्रशिक्षण गर्न आउँदा दीपकले ‘अरेन्ज वेल्ट’ प्राप्त गरिसकेका थए । ललितपुरको चापागाउँबाट बिहान पाँच बजे क्याम्पस ट्रिपको बस चढेर दशरथ रंगशाला धाउने दीपक ६ बजेदेखि ८ बजेसम्म प्रशिक्षण गर्थे । उनलाई त्यतिबेला राजेश जोशी, हीरासिंह डङ्गोल, अकबर शाह र सरलशमशेर राणाले प्रशिक्षण दिन्थे । निरन्तर करातेको प्रशिक्षण होमिँदा करातेका विभिन्न पक्षबारे ज्ञान हासिल गरेका दीपकले राजपाल कर्मचार्य कराते प्रतियोगिता खेल्न जापान हानिएपछि निकै हौसिएका थिए । कराते खेलेर विदेश पनि जान पाइँदोरहेछ भनेर थाहा पाउँदा उनी अझ प्रोत्साहित भएका थिए । यसरी राम्रो खेलेर विदेश घुम्ने सहर पालेका दीपकले आफूलाई निखार्न कुनै कसर बाँकी राखेनन् । दिन रात मिहिनेत गरे । परिणाम उनको खेलजीवनले कोल्टे फे-यो, उनी करातेका उदीयमान खेलाडीका रूपमा देखापरे ।
०५० सालमा बनेपामा आयोजना भएको क्षेत्रीय छनोट कराते प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएका दीपकको यात्रा सुखद रहेन । उनी पहिलो राउन्डमै पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिन पुगेका थिए । पहिलो गाँसमै ढुङ्गा लागेपछि दीपक निरश हुनुको साटो उल्टै दङ्ग परेका थिए । यसमा दीपककै शब्द सापटी लिँदा उनले भनेका थिए, ‘मलाई त्यतिबेला हारजितभन्दा पनि खेल्ने माहोल एकदमै रमाइलो लाग्यो । म हार्दाखेरि त यति खुसी भएँ भने जित्दा कति खुसी हुन्थेँ । यसपछि मेरो मनमा यस्तो भावना पलायो र म सिरियस भएर प्रशिक्षण गर्न थालेँ ।’ अझ करातेमा लागेपछि झगडा गर्छ, गुण्डागर्दी गर्छ, नराम्रो बाटोतिर लाग्छ र पढ्दैन भन्ने घरपरिवार र समाजको सोच भएकाले पहिलो प्रतियोगिता प्रतिस्पर्धा गर्न दीपकलाई निकै कठिनाइ भएको थियो । तर, यो प्रतियोगितामा सहभागिता जनाएपछि उनी ऐनाजस्तै छर्लङ्ग भएका थिए– कुरो अर्कै रहेछ भनेर । यसपछि उनले करातेमा आफ्नो भाग्य खोज्ने प्रयास गरेका थिए । जुन पछि सार्थकतामा परिणत भएको थियो ।
पचास सालमै दीपकले दमौलीको खेलाडी भएर करातेको क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त छनोट प्रतियोगितामा दीपकले पश्चिमाञ्चलबाट स्वर्ण पदक जितेर पहिलो सफलता हात पार्दै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका थिए । यो सफलतापछि निकै हौसिएका दीपकलाई त्यसपछि परिवारले पनि कराते खेल्ने छुट दिएको थियो । यसपछि सोही साल पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका दीपकले सेमिफाइनलसम्म पुगेर कास्य पदक जितेका थिए । पदक जित्न थालेपछि बढेको आत्मबललाई दीपकले ०५३ सालमा जनकपुरमा भएको राष्ट्रिय करातेमा स्पष्ट रूपमा देखाएका थिए । सो प्रतियोगितामा उनले पहिलो स्थान हासिल गर्दै आफूलाई राष्ट्रिय खेलाडीको रूपमा अगाडि सारेका थिए । नभन्दै ०५५ सालमा नेपालगञ्जमा आयोजना भएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेपछि उनी कराते चर्चित खेलाडीका रूपमा चिनिएका थिए । यसपछि दीपक ६० केजी तौल समूहमा दश वर्ष एकछत्र राज गरेका थिए । १९९७ देखि २००७ सम्म दीपकले राष्ट्रियस्तरका सम्पूर्ण प्रतियोगितामा आफ्नो जित दर्ता गराउँदै कीर्तिमान कायम गरेका थिए ।
आमन्त्रण प्रतियोगितामा दीपकले थुप्रैपटक सहभागिता जनाए पनि आधिकारिक रूपमा १९९७ देखि मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता प्रतिस्पर्धा गरेका थिए । जुन मकाउमा भएको तेस्रो एसियन कराते च्याम्पियन थियो । उक्त प्रतियोगितामा दीपकले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुग्न सफल भई चौथो स्थान हासिल गरेका थिए । जुन नेपालबाट खेल्न गएका खेलाडीहरूमध्ये उत्कृष्ट थियो । दुर्भाग्य, १९९८ को बैंकक एसियाडमा दीपकले खेल्न पाएनन् । त्यो समयमा दीपक उत्कृष्ट फर्ममा भए पनि छनोट खेलको फाइनलमा समरबहादुर गोलेसँग पराजित हुँदा एसियन गेम खेल्नबाट वञ्चित हुनुपरेको थियो । तर, सन् १९९९ मा काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा उनै समर गोलेलाई पराजित गरेर दीपक छनोट भएका थिए । उक्त साग गेममा प्रथम स्थान हासिल गरेपछि दीपकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेका थिए । यो उनको जीवनको सबैभन्दा ठूलो सफलता र ठूलो पदक थियो । यसरीे सफलताको सिँढी चढ्ने क्रममा २००२ मा मलेसियामा भएको एसियन च्याम्पियनसिपमा सेमिफाइनलमा पुगेर नौलो इतिहास बनाएका थिए । तर, सोही साल दक्षिण कोरियाको बुसानमा आयोजित बुसान एसियाड भने दीपकका लागि उपलब्धिहीन बन्यो । उनी पहिलो राउन्डमा पराजित भए । यो उनको एसियाडमा पहिलो सहभागिता थियो ।
र पनि सरल, मृदुभाषी दीपकले मिहिनेत गर्न कहिल्यै कन्जुस्याइँ गरेनन् । बरु हारजित खेलकुदको पाटो भएको स्वीकार्दै नवौँ सागको तयारीमा जुटेका थिए । २००४ मा पाकिस्तानमा भएको नवौँ सागमा उनको मिहिनेतले रङ ल्याएको थियो । उक्त सागमा सम्पूर्ण कराते खेलाडी चुकेको अवस्थामा दीपकले मात्र स्वर्ण जितेर करातेको इज्जत राखेका थिए । करातेको प्रतिष्ठा जोगाउँदै मुलुकलाई स्वर्ण पदक दिलाएपछि दीपक रातारात करातेका हिरो बन्न पुगेका थिए । यो उनले साग गेममा लगातार जितेको दोस्रो स्वर्ण पदक थियो । स्मरणीय छ, आठौँ साफमा करातेले १४ स्वर्ण जितेको थियो । सोही साल जर्मनी लिग कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेर फ्रान्सका लागि क्वालिफाई भए पनि आर्थिक अभावले त्यहाँ जान नपाएको तीतो अनुभव अहिले पनि उनले साँचेर राखेका छन् । सन् २००४ मा दीपकले मेक्सिकोमा भएको वल्र्ड कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मौका पाएका थिए । उक्त प्रतियोगितामा उनले जर्मनीलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे पनि क्वाटरफाइनलमा टर्कीका खेलाडीसँग पराजय भोग्नुपरेको थियो । जसलाई उनले नराम्रो सपनामा परिभाषित गरेका छन् । यदि दीपकले टर्कीका खेलाडीलाई पराजित गर्न सकेको भए उनले वल्र्ड च्याम्पियनसिपमा पदक जित्ने निकै सम्भावना थियो । त्यो उनको जीवनको ठूलो उपलब्धि पनि बन्थ्यो । तर, सन् २००५ मा अमेरिकाको लसभेगासमा भएको अन्तर्राष्ट्रिय ओजावा करातेमा स्वर्ण पदक जितेर पराजयका पुराना घाउमा दीपकले मलहमपट्टी लगाउन भने सफल भएका थिए ।
यसपछि सन् २००६ मा श्रीलङ्कामा आयोजना भएको दशौँ दक्षिण एसियाली खेलकुदमा दीपक ह्याट्रिक गर्ने उद्देश्यका साथ उत्रिएका थिए । तर, रेफ्रीहरूको विवादास्पद निर्णयले गर्दा उनको सम्पूर्ण सपना क्षणभरमै चकनाचुर भएका थियो । रेफ्रीहरूले उनलाई पहिलो राउन्डमै आफ्नो सिकार बनाउँदै प्रतियोगिताबाट बाहिर धकेलिदिएका थिए । जुन उनका लागि अकल्पनीय र असोचनीय थियो । यसपछि रेफ्रीहरूको गलत निर्णयको प्रतिवाद गर्दै ‘फेयर प्ले’का लागि म्याटमै बसेर दीपकले अपिल गरेका थिए । दीपकले एक घन्टा म्याटमै बसेर ‘फेयर प्ले’को माग गर्दा प्रतियोगितामा समेत सनसनी फैलिएको थियो । आयोजकले उनलाई म्याटबाट हटाउन अथक प्रयास गरे पनि दीपकले नमान्दा उनलाई आयोजक कमिटीले उल्टै कारबाही गर्ने धम्की दिएको थियो । पछि रेफ्रीहरूको निर्णयमा कुनै फेरबदल नभएपछि नेपालका सेभ द मिसन आएर ‘तिमी नियतवश रूपमा हारेका छौ, तिमीलाई दोहा एसियाडका लागि छनोट गरिने र त्यहाँ तिमीले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ’ भनेर स्वान्त्वना दिएपछि दीपकले म्याट छोडेका थिए ।
श्रीलङ्काको सो घटनापछि दीपकलाई एसियन कराते महासङ्घले दुई वर्षका लागि कारबाही गरेको हल्ला फिँजिएको थियो । पछि खोजखबर गर्दा कारबाही पुष्टि नभएको प्रमाणित भएपछि दीपक दोहा एसियाडका लागि छनोट भएका थिए । श्रीलङ्काको कालो दिनलाई बिर्साउन उनले एसियाडका लागि ज्यान छोडेर प्रशिक्षण गरेका थिए । तर, दुर्भाग्य दीपकको, दोहा जानुभन्दा केही समयअघि जन्डिज देखिएपछि उनको सारा मिहिनेत बालुवामा पानी खन्याएसरि भएको थियो । तै पनि उनले पूर्ण आत्मविश्वासका साथ दोहा एसियाडमा प्रतिस्पर्धा गरेर सेमिफाइनलसम्म पुग्न सफल भएका थिए । सेमिफाइनलमा प्रतिद्वन्द्वी खेलाडीभन्दा ५–० ले अगाडि रहेको अवस्थामा उनले खेल परित्याग गर्नुपरेको थियो । अन्तिम ३० सेकेन्ड म्याटमा टिक्न नसक्दा दीपक पदकबाट विमुख हुनुपरेको थियो । यो घटनापश्चात् सञ्चारकर्मीले दीपकलाई ‘राम्रो खेलाडी तर अभागी खेलाडी’को संज्ञा दिएका थिए । साँच्चै यो घटनाले दीपकलाई अहिलेसम्म भतभती पोलिरहेको छ । उनले अरूलाई भन्दा पनि आफ्नै भाग्यलाई दोषी ठानेका छन् ।
राखेपको प्रतिभावान खेलाडीमा छनोट भएर प्रशिक्षणमा बसे पनि सो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना नभएपछि दीपकले आफ्नो दोस्रो इनिङको शुभारम्भ गरेका थिए । आफ्नो दोस्रो रोजाइमा प्रशिक्षणलाई प्राथमिकता दिएका उनले ०५४ सालदेखि राखेपमा कराते प्रशिक्षकको रूपमा कार्यभार सम्हालेका थिए । ०६१ सालमा नासुमा स्थायी भए पनि अहिलेसम्म अधिकृत हुन सकेका छैनन् । वर्तमान अवस्थामा ‘मिसन साग’ अन्तर्गत राष्ट्रिय कराते टोलीको जिम्मेवारी सम्हालिरहेका दीपक भविष्यमा आफूभन्दा पनि सफल खेलाडी जन्माउन दत्तचित्त भएर लागेका छन । करातेका सर्वाधिक सफल खेलाडीको रूपमा चिनिने दीपक विभिन्न मानसम्मान र पदवीबाट पटकपटक सम्मानित भएका छन् । सुप्रबल गोरखा दक्षिण बाहु, (राजा वीरेन्द्र ०५६), विख्यात त्रिशक्ति पट्ट (राजा ज्ञानेन्द्र ०६१), राखेपबाट वेष्ट प्लेयर अवार्ड (युवराज पारस ०६०), महर्जन निर्माण सेवाबाट पल्सर बाइक (सन् २०१०) र नेविको प्रालिबाट २८ लाख पर्ने ट्रिपर (सन् २०१०) मा पुरस्कारस्वरूप प्राप्त गरेका थिए । त्यतिबेला यति ठूलो राशिको पुरस्कार पाउने उनी पहिलो खेलाडीसमेत भएका थिए ।
बुबा हरि श्रेष्ठ र आमा सानुमाया श्रेष्ठका कोखबाट जन्मिएका दीपकले करातेमा गरेको उत्कृष्ट प्रदर्शन उनका लागि बरदान सावित भए पनि राज्यले त्यसको सही कदर नगरेकोमा भने चित्त दु:खाएका छन् । एउटा खेलाडी जसले आफ्नो युवा अवस्था मुुलुकको मान, सम्मान र प्रतिष्ठा बढाउन खर्च गरेको छ, रगत, पसिना सुकाएको र बगाएको छ त्यसको सही मूल्याङ्कन राज्यबाट नहुनु निकै पीडादायी भएको दीपकको स्पष्टता छ । जबसम्म राज्यले खेलाडीलाई सम्मान दिन सक्तैन तबसम्म खेलकुदको विकास नहुने उनको दाबी पनि छ । वर्तमान अवस्थामा श्रीमती कविता शाक्य र छोरी काव्यासँग आफ्नो दिनचर्यालाई निरन्तरता दिइरहेका दीपक राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी सङ्घको महासचिव भएर खेलाडीको हकहित र अधिकारका लागि लडिरहेका छन् । खेलाडीलाई राष्ट्रको गहना भनेर मात्र पुग्दैन, त्यसको पुष्टि व्यवहारमा पनि हुनुपर्छ भन्ने मान्यता राख्ने स्पष्टवादी दीपकले आफ्नो सम्पूर्ण खेलाडीको सुखदु:खको साथी बनेर सदा कार्यरत रहने प्रतिबद्धता जाहेर गरेका छन् । कामना गरौँ, दीपकका हरेक कदमलाई सफलताले चुमोस् ।

वरिष्ठ पत्रकार किशोरको निधन
दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष किशोर केसीको शनिबार अमेरिकामा निधन भएको छ । केसीले लामो समयदेखि नेपाली पत्रकारिताको क्षेत्रमा खेलकुद बिटलाई स्थापित गराई संस्थागत गराउनका लागि अहम् भूमिका खेल्नुभएको थियो । उहाँको क्यान्सर रोगका कारण अमेरिकाको बोस्टनमा उपचारका क्रममा ५५ वर्षको उमेरमा निधन भएको हो । गोरखापत्र दैनिकका पूर्वकार्यकारी सम्पादक केसीले गोखरापत्र संस्थामा २५ वर्ष कार्य गरी स्वेच्छिक अवकाश लिनुभएको थियो । केसीको दु:खद् निधनप्रति दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घले विज्ञप्ति प्रकाशित गर्दै शोक प्रकट गरेको छ । सङ्घले यस संस्थाका संस्थापकमध्येका एक किशोर केसीको निधनले संस्थाका सम्पूर्ण सदस्य मर्माहत भएको बताउँदै यस दु:खद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । सङ्घले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । स्वर्गीय केसीका श्रीमती र दुई छोरी छन् ।

नेपाल ओपन करातेमा बालाजु डोजो च्याम्पियन
बालाजु कराते डो प्रतिष्ठान नेपालको वार्षिक कार्यक्रमअन्तर्गत हालै काठमाडौंमा निर्णयक तालिम सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका उक्त कार्यक्रममा विश्व कराते महासङ्घ डब्लूकेएफका वरिष्ठ निर्णायक तिपागु पनियाहले निर्णायक तालिम दिएका थिए । उक्त तालिम सेमिनारमा नेपाललगायत भारत, पाकिस्तान, यूएई, बंगलादेश, भुटान र श्रीलङ्का गरी पचासजना निर्णयकले सहभागिता जनाएका थिए । यसैगरी बालाजु कराते डो प्रतिष्ठानको आयोजनामा हालै नेपाल ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप सम्पन्न भएको छ । पहिलोपटक डब्लूकेएफको नियमअनुसार इलेक्ट्रोनिक सिस्टमको सेटप्वाइन्ट प्यानलबाट तीनवटा रिङमा निर्णायक, खेलाडी र दर्शकहरूले प्रत्यक्ष देख्ने र निगरानी गर्नसक्ने गरी प्रतियोगिताको सञ्चालन भएको थियो । सो सेटप्वाइन्ट बालाजु कराते डोले हालै खरिद गरी सञ्चालनमा ल्याएको अध्यक्ष ध्रुवविक्रम मल्लले प्रतियोगिताका अवसरमा जानकारी गराएका थिए ।
उक्त प्रतियोगितामा ४६ स्वर्णमध्ये ३३ स्वर्ण, ३१ रजत र ५५ कास्य गरी कुल एक सय ९९ पदक जित्दै नेपालले प्रथम स्थान हासिल गरेको थियो । दोस्रो स्थान हासिल गर्ने यूएईले आठ स्वर्ण पाँच रजत र १५ कास्य जितेको थियो भने बंगलादेशले तीन स्वर्ण पाँच रजत १० कास्य जित्दै तेस्रो स्थान हासिल गरेको थियो । सो प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फको उपाधि नेपालका अन्जान थापामगर र महिलातर्फ पुष्प लामाले हात पारेका थिए ।

हीरक दौडमा रमेश र इन्दिरा विजयी
नेपाल पर्यटन पत्रकार सङ्घको आयोजनामा आयोजित ‘सगरमाथा हीरक दौड २०७०’को पुरुषतर्फको ३.२ किलोमिटरको दौड असल साप्ताहिकका रमेश सुनारले जितेका छन् । त्यस्तै विजनेश भ्यूका नवीन दोस्रो र सनराइज नेपालका रामकुमार पन्तले तेस्रो स्थान हासिल गरेका थिए । विश्व सम्पदा सूचीमा परेको राष्ट्रिय धरोहर वसन्तपुर दरबार स्क्वायर मानवीय कारणले सङ्कटमा परेको भन्दै उक्त सम्पदाको संरक्षण र सम्बद्र्धनमा पत्रकारहरूले पहल गर्नुपर्ने धारणाका साथ ‘सम्पदा संरक्षण अभियानमा हामी सञ्चारकर्मी’ भन्ने मूल नाराका साथ दौडको आयोजना गरिएको थियो । उक्त प्रतिस्पर्धाको महिलातर्फ हिमालयन टीभीकी इन्दिरा ढकालले सगरमाथा एफएमकी प्रमिला मानन्धरलाई पछाडि पार्दै विजयी बनेकी थिइन् । तेस्रो स्थानमा अटो पत्रकार सङ्घकी सुनिता दवाडीले प्राप्त गरेकी थिइन् ।
सगरमाथामा पहिलोपटक मानव पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा आयोजित दौडमा पर्यटन पत्रकार, खेलकुद पत्रकारसहित ७२ जनाको सहभागिता रहेको थियो । दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई युवा तथा खेलकुद र पर्यटनमन्त्री रामकुमार श्रेष्ठले क्रमश: पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्रदान गरेका थिए ।

एलएद्वारा कराते खेलाडी र प्रशिक्षक सम्मानित
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई लिटिलएन्जल्स (एलए) स्कुलले हालै सम्मान गरेको छ । गत साता राजधानीमा सम्पन्न १९औँ हाइस्कुल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण विजेता मनीषा रानाभाट र पुजन श्रेष्ठ, रजतविजेता सिद्धार्थ गोपाली, छोङवा शेर्पा, अस्मिता कार्की, सजनी शाक्य र युनिश महर्जन तथा कास्यविजेता सीमा खड्का सम्मानित भएका थिए । एलएका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ र हरिशरण खड्कालाई पनि सम्मान गरिएको थियो । एलएका संस्थापक प्रिन्सिपल उमेश श्रेष्ठले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका थिए । सो अवसरमा गत महिना भारतको कोलकातामा भएको अन्तर्राष्ट्रिय खुला महिला करातेमा स्वर्ण जितेकी सीमा खड्का र रजतविजेता मनीषा रानाभाटलाई प्लस २ सम्म अध्ययन गर्न पूर्णछात्रवृत्ति प्रदान गरिने घोषणा गरिएको प्रमुख प्रशिक्षक श्रेष्ठले जनाएका छन् । हाल मनीषा कक्षा ११ र सीमा कक्षा ८ मा अध्ययनरत छन् ।

ललितपुर लोकतान्त्रिक फोरम गठन
उपेश नौवाकको अध्यक्षतामा १३ सदस्यीय ललितपुर जिल्ला लोकतान्त्रिक फोरम खेलकुद समिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षद्वयमा शंकरकुमार केसी र राजेन्द्र महर्जन, सचिवमा रामकुमार महत र कोषाध्यक्षमा प्रवीण शाह रहेको नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासङ्घका महासचिव बद्रीकुमार खत्रीले जनाएका छन् । सुवास बानियाँ, दीपेश श्रेष्ठ, ज्ञानबहादुर थिङ, विकेश लामा, सुनील नकर्मी, निर्मल थापा, अशोक देउला र पदमबहादुर बलामी सदस्यमा चयन भएका छन् ।