दुई वर्षअघि एक चलिरहेको ट्रेनबाट बाहिर फ्याँकिएपछि अरुणिमाको बायाँखुट्टा काट्नुप-यो । तर, तिनै खुट्टा गुमाएकी २६ वर्षीया अरुणिमा सिन्हा गत २१ मे (जेठ ७) का दिन सगरमाथाको शिखरमा पाइला राख्ने शारीरिक रूपले अक्षम संसारकै पहिलो महिला बनिन् ।
सगरमाथा आरोहणबाट स्वदेश फर्किएपछि दिल्लीको कन्स्टिच्युसन क्लबमा आयोजित सभामा अरुणिमाको आवाजमा झल्किएको आत्मविश्वास देख्दा सबै आश्चर्यचकित थिए । सञ्चारमाध्यमका प्रतिनिधिहरूको भीड एवम् क्यामराको फ्ल्यासलाइटका बीच उनी अत्यन्त सहज नजर आइरहेकी थिइन्, उपस्थित मानिसका लागि यो आश्चर्यकै विषय बनेको थियो । अरुणिमाले त्यहाँ भनिन्, ‘सगरमाथा शिखरमा पुगेपछि मेरो मन यति प्रफुल्ल भयो कि आफू संसारकै उच्च स्थानमा खडा भएको कुरा जोडले चिच्याएर विश्वलाई नै सुनाइदिऊँ जस्तो लाग्यो ।’
हो, दुई वर्षअघि मात्र चलिरहेको ट्रेनबाट बाहिर फ्याँकिएपछि अरुणिमाको देब्रेखट्टा काट्नुपरेको र दाहिनेखुट्टामा स्टिलको रड राख्नुपरेको थियो । तथापि विपरीत परिस्थितिमा पनि अरुणिमाले आफूलाई कमजोर हुन दिइनन्, बरु आफ्ना लागि संसारकै सबभन्दा मुस्किल प्रकृतिको काम छान्ने सोचमा उनी पुगिन् । उनी भन्छिन्, ‘जसले पनि मलाई दयाको पात्रका रूपमा हेर्न थालेका थिए, यसले मलाई यो सोच्न बाध्य गरायो कि म कुनै यस्तो काम गरूँ जसले मलाई दयाको पात्र होइन बरु अरूका लागि एक प्रेरणाको पात्र बन्न सकूँ ।’
साढे चार महिना दिल्लीको एम्स अस्पतालमा बिताएपश्चात् अरुणिमाले अस्पतालबाट बाहिर निस्केर सबभन्दा पहिला सगरमाथाको शिखरमा पुग्ने प्रथम भारतीय महिला बचेन्द्री पाललाई फोन लगाइन् । उनी बचेन्द्री पाललाई व्यक्तिगत रूपमा चिन्दैनथिन्, फगत स्कुल पढ्दा पुस्तकमा मात्र बचेन्द्रीबारे उनले जानेकी थिइन् । बचेन्द्री पालसँग उनले एक वर्षको कडा तालिम लिइन् र ५२ दिनको एक खतरनाक पैदल यात्रा पनि पूरा गरिन्, र अन्तत: विश्वको आठ हजार आठ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर चुम्ने आफ्नो जिद्दी पूरा गरिछाडिन् । अरुणिमा क्रिकेटर युवराज सिंहलाई पनि आफ्नो प्रेरणास्रोत मान्छिन् जसले क्यान्सरजस्तो खतरनाक रोगलाई समेत आफ्नो जीवनमा हाबी हुन दिएनन् । र, यतिबेला उनको आत्मविश्वास देख्दा लाग्छ– जिन्दगीको सबभन्दा मुस्किल समयसँग जुझ्न सोचेजस्तो कठिन छैन ।
दुई वर्षअघि राष्ट्रियस्तरको भलिबल खेलाडी अरुणिमा ट्रेनबाट लखनउबाट दिल्ली गइरहेकी थिइन् । कहिल्यै गरगहना नपहिरिने अरुणिमाले त्यस दिन गलामा सुनको सिक्री पहिरिएकी थिइन् । केही बद्मासले ट्रेनभित्रै यात्रुहरूलाई तर्साएर लुट्न सुरु गरे । सबैले डराएर आ–आफूसँग भएका पैसा र गरगहना लुटेराहरूलाई सुम्पिन थाले तर अरुणिमाले आफ्नो चेन दिन अस्वीकार गरिन् । यसबाट रिसाएका बद्मासहरूले चलिरहेकै रेलबाट बाहिर फालिदिए, रेलको चक्का उनको देब्रे खुट्टामाथिबाट गुड्यो । प्रहरीले उनलाई आत्महत्याको कोसिस गरेको आरोप लगाए पनि अरुणिमाले त्यसको प्रतिवाद गरिन् । सोही दुर्घटनाका कारण उनको बायाँखुट्टा काट्नुप-यो । सगरमाथा चढ्ने क्रममा उनले यति धेरै सास्ती भोगिन् कि टिमप्रमुखले आरोहण परित्याग गर्न निर्देशन दिए, तर उनले मानिनन् । नक्कली खुट्टा घिसार्दै अरुणिमाले सगरमाथा शिखर छिचोलेको घटना जति असाधारण छ, भविष्यमा विकलाङ्ग बालबालिकाका लागि काम गर्ने उनको अभिलाशा पनि त्यत्तिकै तारिफलायक छ ।
सफ्ट ड्रिङ्कमा सोख राख्नेले विचार गरौँ
तपाईं कत्तिको सफ्ट ड्रिङ्क गर्नुहुन्छ ? यदि हरेक दिन यसरी जुस पिउने आदत छ भने यो बानी सुधार्नेतर्फ विचार पु-याइहाल्नुहोस् । नियमित सफ्ट ड्रिङ्क गर्नेलाई सामान्य व्यक्तिको तुलनामा मधुमेहको खतरा पाँच गुणा ज्यादा हुने युरोपका वैज्ञानिकले दाबी गरेका छन् । दिनमा एक या दुई क्यान चिनीमिश्रित जुस पिउने गर्दा भविष्यमा डाइबिटिजको खतरा उल्लेखित मात्रामा बढ्ने सम्बद्ध विज्ञको दाबी छ । डाइबिटिजको विषयवस्तु समेटेर प्रकाशित हुने विशेष पत्रिका ‘डाइबेटोलोगिया’मा प्रकाशित लेखमा उल्लेख भएअनुसार युरोपका अनुसन्धाताको यो दाबीसँग मिल्दोजुल्दो नतिजा पहिले अमेरिकी अनुसन्धानकर्ताले पनि पाएका थिए । चिनी भएको खानेकुरा खाँदैमा मधुमेह हुने होइन भन्ने धारणाविपरीत अध्येताहरूले चिनी भएको खानेकुराको प्रयोगमा विशेष ध्यान राख्न सचेत गराएका छन् । त्यस्ता खानेकुराले शरीरको तौल वृद्धि गर्ने हुनाले मधुमेहको खतरा बढ्ने विज्ञको सुझाव छ । बेलायत, डेनमार्क, इटली, स्पेन, स्विडेन, फ्रान्स र नेदरल्यान्डका गरी साढे तीन लाख मानिसमाथि गरिएको अध्ययनले सफ्ट ड्रिङ्कको मात्राअनुसार डाइबिटिजको खतरामा बढोत्तरी हुने नतिजा आएको बताइएको छ ।
प्रतिक्रिया