चलचित्र महोत्सवमा आर्थिक घोटाला

चलचित्र महोत्सवमा आर्थिक घोटाला


funtimeचलचित्रकर्मीहरू अख्तियार जाने
अन्तत: गताङ्कमा यस पृष्ठमा प्रकाशित चलचित्र महोत्सवको नाममा आर्थिक घोटाला हुने पक्का आशयको समाचार सत्य सावित भएको छ । त्यस समयमा यो समाचार प्रकाशित भएपछि समाचारप्रति धेरैले टिप्पणी गरेका थिए र असन्तुष्टि जनाएका थिए । तर, अहिले ती असन्तुष्टिका आवाज मत्थर भएका छन् भने उनीहरू नै उल्टो यतिबेला चलचित्र महोत्सवका आयोजक विशेष गरेर चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेद्र मरवैतामाथि आगो मात्र भएका छैनन् कि उनको राजीनामा मागेर आन्दोलनमा समेत उत्रने भएका छन् । ‘महोत्सवको आडमा लाखौँ भ्रष्टाचार गर्ने र कलाकारहरूको विजोग अनि बेइज्जत गर्ने धर्मेन्द्र मरवैतालाई चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सीमा बस्ने कुनै अधिकार छैन,’ चलचित्रकर्मीहरूको तिक्तता छ ।
महोत्सवले ऊर्जा, उत्साह अनि उमङ्ग ल्याउनुपर्ने थियो, तर त्यो नभएर चलचित्रकर्मीहरूमा शिथिलता र नैराश्यता ल्यायो । महोत्सव शनिबार, आइतबार र सोमबार गरेर तीन दिन धरानमा हुने कार्यक्रम थियो तर असन्तुष्ट कलाकर्मी एवम् प्राविधिक आइतबार नै आफ्नो निजी खर्चमा प्लेनमार्फत र माइक्रोबसमार्फत काठमाडौं फर्किएका थिए । बजेट कुम्ल्याउनका लागि आयोजना गरिएको यो महोत्सवले आयोजकमध्ये केहीलाई आर्थिक रूपमा फाइदा भयो होला तर दीर्घकालीन रूपमा बोर्डले गर्ने महोत्सव वा अन्य कार्यक्रमप्रति विश्वास गुमाएको छ । चलचित्र क्षेत्रको विकास र विस्तार अनि चलचित्रकर्मीहरूको हकहितका लागि स्थापित चलचित्र विकास बोर्ड नै चलचित्र क्षेत्रको अधोगतितिर लाग्छ भने यसलाई के भन्ने ? चलचित्र र चलचित्रकर्मीहरूलाई बुझ्न नसक्नेको हातमा विकास बोर्ड पर्दा अहिले लथालिङ्गको अवस्थामा पुगेको छ । शनिबार बिहान धरानमा निकालिएको प्रभातफेरीबारे धरानवासी नै अनविज्ञ थिए भने पहिलो रात धरान पुगेका चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूले बस्ने ठाउँ गतिलो नपाउँदा हैरानी व्यहोर्नुपरेको थियो । ‘अध्यक्ष मरवैता केही नायिका च्यापेर राम्रो होटलतिर लागे, तर कन्तविजोग हाम्रो भयो,’ चलचित्रकर्मीहरूको गुनासो छ । ‘त्यही रात त हाम्रा साथीहरू आफ्नै खर्चमा होटलमा बस्न पुगे,’ चलचित्र प्राविधिक सङ्घका अध्यक्ष मनोज केसी जङ्गिए ।
यति मात्र घोटाला होइन कि गाडी र प्लेनबाट कलाकारहरूलाई धरान लैजाने मामिलामा पनि घोटाला भएको छ महोत्सवमा । आफ्नावरिपरि घुम्ने र चाकडी गर्ने अनि आफूलाई फाइदा दिन सक्नेलाई प्लेनमा लगिएको छ तर जसले जीवन नै चलचित्र क्षेत्रमा बिताए उसलाई १७ घन्टा लामो बसयात्रामा पठाएको छ विकास बोर्डले ।
श्रीकृष्ण श्रेष्ठकी पे्रमिका श्वेता खड्काले प्लेनमार्फत धरान टेकिन् तर सम्मानित निर्देशक लक्ष्मीनाथ शर्मालाई गाडीमा कोचियो– कहाँसम्मको अपमान हो यो । नेपाली चलचित्रकर्ममा श्वेता ठूलो कि लक्ष्मीनाथ शर्मा । कार्यक्रमको जिम्मा लिएकालाई काठमाडौंबाट गएका चलचित्रकर्मीहरूले ‘दलाल’ भनेर बारम्बर गाली गरिरहेको दृश्य पनि कम हेर्न लायक थिएन ।
नायिका नीता ढुङ्गाना र नायक मुकेश ढकालले त सामाजिक सञ्जाल फेसबुकमार्फत ‘यस्तो पनि महोत्सव † साहै्र दु:ख पाइयो ।’ भनेर आफ्नो पीडा र गुनासोलाई सार्वजनिक गरेका थिए । त्यति मात्र होइन कि अन्तिम दिन कार्यक्रम प्रस्तुत गर्न धरान पुगेका डान्सर र केही कलाकार बेहाल अवस्था देखेपछि विजोग हुने डरले कार्यक्रम नै प्रस्तुत नगरीकन अघिल्लो दिन नै काठमाडौं फर्किएका थिए ।
महोत्सव सुरु हुनु धेरैअघि राजेश हमाल र करिश्मा मानन्धरलगायत चर्चित अनुहारको आगमन हुने हल्ला पिटाएर दर्शक बटुलिएको थियो । तर, यता न त करिश्मालाई खबर थियो न त हमाललाई नै औपचारिक खबर गयो । उता धरानमा भने यी चर्चित हनुहारलाई नजिकबाटै हर्ने धरानवासीको इच्छा अधुरै रह्यो । चलचित्र विकास बोर्डमा अध्यक्ष र केही फटाहाले धरानवासीहरूको भावनामाथि पनि खेलबाड गरेका छन् । दर्शकहरूमाझ यस्तो गलत सन्देश प्रवाह गर्ने बोर्डले सिनेमाको प्रचार गर्न कि भएको साख पनि बिगार्न यो महोत्सवको आयोजना गरेको हो ? कुरा बुझिनसक्नु छ ।
करिब ९५ प्रतिशत चलचित्रकर्मीलाई पन्छाएर अनि बिनासल्लाह यस्तो महोत्सव गर्नुको पछाडि केवल सरकारी बजेट र ढुकुटी रित्याउनुबाहेक अरू कुनै योजना थिएन भन्ने कुरा अब कतैबाट लुकेको छैन । यो महोत्सवको सर्वत्र विरोध भइराख्दा पनि ग्लानि र थोरै हीनताबोध नहुनुले पनि बोर्डका अध्यक्षले अझै पनि चलचित्र क्षेत्रलाई आफ्नो क्षेत्र ठानेका छैनन् भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको छ । भोलि चलचित्र क्षेत्रमा फर्केर आउनु छैन वा भोलि फेरि विकास बोर्डको अध्यक्ष हुनु छैन भने अहिलेका अध्यक्षलाई भोलिको के–को चिन्ता ? त्यसैले समय हुञ्जेल नै खाऊँ र मोज गरूँ भन्ने गजवको शैली छ उनको ।
चलचित्रकर्मीको र महोत्सवको नाममा यसरी प्रत्यक्ष रूपमा भएको आर्थिक घोटालाविरुद्ध यसै साता चलचित्रकर्मीहरू सञ्चार मन्त्रालय र अख्तियारसमेत जाने भएका छन् । ‘यहाँ औषधि नपाएर कलाकारहरू ओछ्यान परेका छन् तर महोत्सवको नाममा दुई–चारजनाले कमाइरहेका छन् । यसो हुन दिनुहुन्न,’ उनीहरूको जिकिर छ ।
धरानबाट काठमाडौं फर्किदा आयोजकले गाडीभाडा उपलब्ध गराउन नसक्दा नेपाल चलचित्र संघका महासचिव प्रदीप उदयसँग ५० हजार रुपैयाँ सापट लिएर कलाकारलाई गाडी चढाइएको थियो । उनको यो कार्यको भने प्रशंसा गरियो ।

घटना र विचारको तारिफ
महोत्सवमा स्वार्थीहरूको भीड र घोटालाको आशङ्का विषयमा गत साता लेख्दा गलत भन्ने चलचित्रकर्मीहरू स्वयम्ले यतिबेला घटना र विचार साप्ताहिकको त्यो समाचारको तारिफ गरेका छन् । पत्रिकाले सचेत गराउँदागराउँदै अटेर भएर धरान पुगेपछि उनीहरूको आँखा खुलेको थियो । महोत्सवभरि घटना र विचार साप्ताहिकको चलचित्रकर्मीहरूले खुखेर प्रशंसा गरेका थिए । ‘कसैले उठाउन नसकेको विषय उठाउँदा विश्वास लागेको थिएन, तर आफैँलाई परेपछि विश्वास लाग्यो,’ उनीहरू भन्दै थिए । यता महोत्सवको खुलेर प्रशंसा गर्ने र वाहवाही गर्ने केही मिडियाहरू पनि अहिले महोत्सवको खिलाफमा छन् ।

कसले बिगा-यो अञ्जुलाई ?
भन्ने गरिन्छ कि दु:खमा नआत्तिनु सुखमा नमात्तिनु । यी दुई कुरालाई ध्यान दिन सकियो भने मानिस दिगो हुन सक्छ । कुरा गायिका अञ्जु पन्तको हो । दु:खमा त उनलाई आत्तिनुपर्ने अवस्था नै रहेन, किनभने यस्तो बेलामा बिनास्वार्थ उनलाई साथ दिने थिए उनका श्रीमान् मनोज सेवा । मनोजले अञ्जुलाई अञ्जु पन्त हुनुभन्दा पहिलेदेखि साथ दिएका थिए । तर, पछि अञ्जुले वाहवाही पाउन थालेपछि अञ्जु मात्तिन थालिन् र दु:खमा साथ दिने मनोजलाई पनि त्यागिन् । त्यतिबेला उनलाई सुखमा साथ दिने स्वार्थीहरूको साथ मिल्न थाल्यो र अन्तत: त्यही कुरा नै अञ्जुलाई घातक हुन पुग्यो ।
सुखमा मात्तिन थालेपछि अञ्जुले दु:खमा दिनहरू बिर्सिदिइन् । आफूलाई गीत गाउन दिएर उच्च स्थानमा पु-याउने सङ्गीतकार तथा चलचित्र निर्माताहरूलाई बाल–बाल गनिनन् । अहिले यही कुरा अञ्जुको गलामा पासो बनेर बसेको छ । एउटा गीत गाएबापत अञ्जुले पन्ध्र हजार पाएकी पनि हुन् । यति रकम दिएका पनि थिए । दिनमा एक लाखसम्म कमाउने अवस्थामा पुगेकी अञ्जुको अहिले भने नाम ओरालोतिर र कमाइ भने अधोगतितिर गएको छ । सङ्गीतकारहरूसँग सम्बन्ध बिग्रन थालेपछि सिनेमाको गीतमा त अब अञ्जु शून्यप्राय: भइसकेकी छिन् । स्वरको जादु अनि स्वरकी धनी अञ्जुलाई यसरी बिगार्नुमा उनको नभएर सेक्रेटरीका रूपमा काम गर्ने अञ्जुकै दिदीको हात रहेको कुरा भुक्तभोगीहरू बताउँछन् ।
मुलुकबाहिर जाने कार्यक्रममा पनि सेक्रेटरीलाई लैजानुपर्ने र अञ्जुको पारिश्रमिकको तय पनि सेक्रेटरीले नै गर्नेजस्ता अव्यावहारिक क्रियाकलाप पच्न नसकेपछि यतिबेला सङ्गीतकारहरू अञ्जुलाई बाइ–बाइ गरेर महिला आवाजमा रजिना रिमाल र मिलन अमात्यको हाइ–हाइ गर्न थालेका छन् ।
बूढापाकाहरूले त्यसै भनेका रहेनछन्, ‘बिगार्ने र बिग्रने समयमा आफ्नैको हात हुन्छ ।’ यदि यो अञ्जुजीले पढ्नुभयो भने उहाँलाई राम्रो सुझाव यो छ कि तपाईंजस्ती गायिका यो मुलुकले सधैँ पाउँदैन । त्यसैले बजार हेरेर पारिश्रमिक माग्नुस् अनि व्यावहारिक हुन सिक्नुहोस् । सेक्रेटरीको भरमा आफ्नो प्रतिभा र सम्बन्धलाई छोड्दा भोलि न त तपाईं न त सेक्रेटरी नै यो क्षेत्रमा रहन्छन् । अझै केही बिग्रिएको छैन ।