ट्युनिसियाले जित्दा अंकविहीन बन्यो पानामा

ट्युनिसियाले जित्दा अंकविहीन बन्यो पानामा


नकआउट चरणमा पुग्न असफल भएका ट्युनिसिया र पानामाबीच लिग चरणको अन्तिम खेल भएको थियो । दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम सफलता भने ट्युनिसियालाई प्राप्त भएको थियो । यसरी यो विश्वकपमा ट्युनिसियाले पहिलो जित हासिल गर्दै ३ अंक बटुल्न सफल भएको थियो भने नवप्रवेशी पानामाले एक अंक पनि बटुल्न सकेन ।

नवप्रवेशी पानामाले पहिलो हाफको ३३औँ मिनेटमा गोल गरेर १–० ले अग्रता लिएको थियो । उक्त पहिलो गोल आत्मघाती थियो । पानामाका खेलाडी लुइस रोड्रिगेजले पोस्टमा ताकेर प्रहार गरको बल ट्युनिसियाका खेलाडी यासिने मेरिहाको खुट्टामा छोएर गोलमा परिणत भएको थियो । यसपछि ४१औँ मिनेटमा ट्युनिसियालाई गोल फर्काउने अवसर प्राप्त भए पनि गोल गर्न सफल भएको थियो ।

दोस्रो हाफको ५१औँ मिनेटमा ट्युनिसियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उक्त गोल बेन युसुफले गरेका थिए । यसपछि ६२औँ मिनेटमा पानामाले गर्ने अवसर प्राप्त गरे पनि गोलकिपरको उत्कृष्ट बचाउका कारण गोल हुन सकेन । तर, त्यसको ४ मिनेटपछि अर्थात् ६६औँ मिनेटमा ट्युनिसियाले गोल गर्दै २–१ को अग्रता लिएको थियो । उक्त गोल केसेमा हदादीले गरेका थिए । यसपछि पानामाले गोल फर्काएर बराबरी गर्ने कोसिस गरे पनि असफल भएको थियो ।