तिब्बती पठार, ठाउँ एक रुप अनेक (फोटोफिचर)

तिब्बती पठार, ठाउँ एक रुप अनेक (फोटोफिचर)


छविलाल बगाले, सिचुवान, चीन ।

पृथ्वीमा प्रकृति विना बाँच्न असम्भव छ । प्रकृति विनाको मानवीय जीवन कल्पना गर्न पनि सकिदैन् । प्रकृतिको नाट्य लिला पनि कति कति । न कहिल्यै हेरेर अघाइन्छ न कहिल्यै फोटो खिचेर नै ।

विश्वभरी प्रकृतिले मानवहरुलाई भुलाएर राखेको छ । यो कहिले सुख बनेर आएको छ भने कहिले पिडा बनेर । भौगोलिक विविधताले भरिएको चीनको सिचुवान प्रान्त प्रकृतिको निकै धनी पनि मानिन्छ ।

राजधानी छेन्दुबाट ९ घण्टाको सवारी यात्रापछि तिब्बत नजिकै पुग्दा त प्रकृतिको नाट्य लिला देख्न र अनुभव गर्न पाइन्छ । करिव ३ हजार ८ सय मिटरको उचाईमा रहेको होङयुआन क्षेत्रलाई तिब्बतको पठार पनि भन्ने गरिन्छ ।

जताततै देखिने रङ्गीबिरङ्गी फूल, नागबेली आकारमा बगेको खोला, चारैतिर डाँडाकाँडाले घेरिएको सुन्दर उपत्यका याक, चौरीको बथान र सुन्दर बस्ती यहाँका विशेषताहरु हुन् ।

हरियो चौरमा गोठालाहरुले याक, चौरी र भेंडा चराईरहेको दृश्यले यहाँ पुग्ने पर्यटकहरुलाई लठ्याउने गर्दछ । आँखाले हेरेर नअघाउने धन्य होङयुआन तिम्रो सुन्दरता ।

सिचुवानको यो क्षेत्र राजधानी शहर छेन्दुभन्दा विकट देखिएपनि सरकारले निर्माण गरेको पूर्बाधार विकास भने स्वागतयोग्य नै छ । चीन सरकारले ३८ सय मिटरको उचाईमा पर्यटन विकास, जनताको जीवनशैलीको परिवर्तन र उद्योगधन्दाको विकासलाई मध्यनजर गर्दै गरेको पुर्बाधार विकास गरेको हो । चीनकै सबैभन्दा चिसो ठाउँको रुपमा लिइएको यो बस्तीमा तिब्बतियन शैली पाउन सकिन्छ ।

सुरुङ र सडकमार्गले राजधानी छेन्दुसँग जोडिएको होङयुआन प्राकृतिक छटाले भरिपूर्ण रहेको छ । जस्ले गर्दा यो बस्ती आज आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।