क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो

क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो


क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको बलात्कारसम्बन्धी मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकिएको छ । आइतबार लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । आइतबारको लागि उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आगामी जेठ १ गतेका लागि पेशी तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिएका छन् ।

‘सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आगामी जेठ १ गतेका लागि पेशीमा गएको छ, आज विपक्षी झिकाउन आदेश भएकै इजलासमा परेकाले हेर्न मिलेन’, उनले भनेका छन् । यसअघि गत साता आइतबार अदालतले वैशाख २३ गते आइतबार पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले कथित गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहऱ्याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौंको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।