किष्ट बैंकका कमलको करतुत पत्नीमार्फत् छरप्रष्ट

किष्ट बैंकका कमलको करतुत पत्नीमार्फत् छरप्रष्ट


kist coupleकाठमाडौं । किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीले आर्थिक हैसियतमा मारेको फड्को उनलाई सानैदेखि चन्नेजान्नेहरुका लागि त्यति पाच्य विषय बनिरहेको थिएन । ज्ञवालीले जतिसुकै दावा गरे पनि किष्ट बैंक पनि भित्रभित्रै खोक्रो बनिसकेको र कुनै पनि बेला यसका हजारौँ सेयरहोल्डर तथा बचतकर्ता सर्वसाधारणले पुर्पुरोमा हात राख्नुपर्ने अवस्था आउँछ भन्ने प्रक्षेपण आर्थिक पण्डितहरुबाट हुँदै आएको र ज्ञवालीले यसको खण्डन गर्दै आएका हुन् । तर ढाँटेको कुरा काटै मिल्दैन भनेझैँ कमल ज्ञवालीको अपराधको पेटारो पुट्ने अवस्था आएको अनुभूति गरिँदैछ । उनकी नवधनाड्य पत्नी गौरी खनाल ज्ञवाली बैंकिङ कसुरमा पक्राउ परेपछि सर्वत्र यस्तो महसुस गरिएको हो ।
नेपाल राष्ट्र बैंकको अनुसन्धानले सिद्धार्थ विकास बैंकबाट १३ करोड ऋण लिँदा अनुचित रुपमा बैंकलाई नोक्सान पुर्याएको देखाएपछि बुधबार साँझ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले श्रीमती ज्ञवालीलाई महाराजगन्जबाट पक्राउ गरेको छ। यतिबेला गौरी महानगरीय प्रहरी प्रभाग सिंहदरबारको पाहुना बनेकी छिन् ।
बताइएअनुसार सिद्धार्थका सेयरहोल्डर समेत रहेका किष्टका कमलले आफ्नो नाममा बैंकबाट ऋण निकाल्दा समस्या हुने सोचेर व्यक्तिगत प्रभावमा कमसल जग्गा धितो देखाएर पत्नीको नाममा ऋण निकालेका रहेछन् । राष्ट्र बैंकको प्रतिवेदनमा कमलबारे उल्लेख नभएकाले उनलाई अहिले नै पक्राउ नगरिएको स्रोतको भनाइ छ। सिद्धार्थ विकास बैंकबाट गौरीले निकालेको १३ करोड रुपैयाँ ऋणको अनुसन्धान क्रममा जग्गाको वास्तविक मूल्य लुकाएर मूल्यांकनमा बढी मूल्य कायम गरी बद्नियत राखेको देखिएको छ। अनुसन्धानमा बैकिङ कसुर तथा सजाय ऐन– २०६४ अनुसार बद्नियतपूर्ण काम गरेको बैंकको निष्कर्षका आधारमा प्रहरीले अनुसन्धान गर्न गौरीलाई पक्राउ गरेको हो।
स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा सिद्धार्थ विकास बैंकको आर्थिक गतिविधिको अनुसन्धानमा बैंकका सञ्चालक र कर्मचारी मिलेमतोमा धितो राखेर ऋण प्रवाह गर्दा बद्नियत राखेको अन्य घटनासमेत खुलेका छन्। यस मामलामा राष्ट्र बैंकले ऋणी, बैंकका सञ्चालक र कर्मचारीलाई समेत कारबाही सूचीमा राखेको बताइन्छ ।
किष्ट र सिद्धार्थजस्तै कैयन बैंकहरुको आर्थिक गतिविधि शंकास्पद देखिएपछि राष्ट्र बैंकले प्रारम्भमा बैंकको वित्तीय अवस्था, ऋण प्रवाह, लगानीलगायतको वित्तीय कारोबार अनुसन्धान गरी बद्नियत देखिए ब्युरोसँग समन्वय गरेर बैंकिङ कसुर ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ।
कारोबार मन्दीसँगै बैंकहरुले घरजग्गा कारोबारमा गरेको लगानी जोखिम बढेपछि राष्ट्र बैंकले कर्जा नीतिमा कडाइ गर्दै बद्नियत राख्ने वित्तीय संस्थाविरुद्ध अनुसन्धान सुरु गरेको थियो। बैंकले बद्नियत देखिएको बैंकविरुद्ध थप अनुसन्धान ब्युरोमार्फत गराउँदै आएको छ। किस्ट बैंकको कारोबार शंकास्पद देखिएपछि राष्ट्र बैंकले अनुसन्धान अगाडि बढाएको थियो। स्रोतका अनुसार कार्यकारी प्रमुख ज्ञवालीले किष्ट बैंकमा पनि जग्गामा लगानी गर्ने बहानामा निकै ठूलो घोटाला गरेका छन् । यस विषयमा गहिरो अनुसन्धान सुरु गरिएको छ । प्रेरक व्यक्तित्व मानिएका कमल र किष्टको यस काण्डपछि अब धेरै तथ्यहरु उजागर हुने अपेक्षा गरिएको छ ।