काठमाडौं । पूर्वसभासद सदरुल मियाँ हकको हत्या आफ्ना प्रेमीसँग मिलेर उनकै छोरीले गराएको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले सप्तरीको ग्रामीण इलाकाबाट हत्यामा संलग्न भएको अभियोगमा लहान–५ निवासी मौलवी भन्ने जमिर उल र मियाकै छोरीलाई पक्राउसमेत गरिसकेको छ ।
अभियुक्तहरू प्रेमिप्रेमिका रहेको र विगतमा माग्न जाँदा दाइजोमा कुरा नमिलेको कारण योजना बनाई हत्या गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । बताइएअनुसार छोरीले नै प्रेमीसँग मिलेर बाबुको हत्या योजना बनाएकी थिइन् । माग्न जाँदा नदिएको र दाइजोको पनि कुरा नमिलेपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली पूर्वसभासद् मियाँको हत्या गरिएको प्रारम्भिक अवस्था देखिएको सम्वद्ध अधिकारीले बताए ।
हत्यामा संलग्न अन्य व्यक्तिसमेत पक्राउको नजिक पुगिसकेको प्रहरीले बताएको छ । दुई अभियुक्त पक्राउ परे पनि हत्यामा सहयोग गर्ने अन्य आरोपी सीमावर्ती क्षेत्र भारतमा भएकाले पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।
५२ वर्षीय पूर्वसभासद् हकको गत ७ जेठमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । पूर्वसभासद् हकको शव ७ जेठको बिहानै सप्तरीको कल्याणपुर–२ स्थित हुमा पेट्रोल पम्पभित्र रहेको कोठामा फेला परेको थियो । सो पम्प पूर्वसभासद् हककै नाममा छ । कल्याणपुरकै रामेश्वर साहकी छोरीको बिहेमा स२प ८५८३ नम्बरको मोटरसाइकल चढेर सहभागी हुन अघिल्लो साँझ घरबाट निस्किएका हक भोलिपल्टसम्म नफर्किएपछि चिन्तित बनेका परिवारजनले खोजतलास गर्दा शव फेला परेको थियो । घटनाका विषयमा यसअघि प्रहरीले उनको हत्या लुटपाटको मात्रै उद्देश्यले नभएर राजनीतिक कारण रहेको आशंका गरेको थियो । तर, छोरी नै हत्यामा संलग्न भएको पाइएपछि सो कारण केही नरहेको निष्कर्षमा प्रहरी पुगेको छ । प्रारारम्भिक बयानमा विवाहको बाधक ठानेको पाइए पनि पक्राउ परेका व्यक्तिको अवस्था हेर्दा र उनले भनेका मानिसहरू पक्राउ परेपछि मात्र यकिनका साथ भन्न सकिने प्रहरीको भनाई छ । बिहीबार साँझसम्म सप्तरी जिल्ला प्रहरी कार्यालयको टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको टोली भारतमा अन्य अभियुक्तहरूको खोजी गरिरहेको बताइन्छ ।
प्रहरीले पूर्वसभासद् हकले प्रयोग गर्ने मोबाइलसमेत बरामद गरिसकेको छ । सोही मोबाइलका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको बुझिएको छ। जमिर उलले हत्याको अपराध स्वीकार गरिसकेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया