पेनाल्टी सुटआउटमा क्रोएसियाले बाजी माऱ्यो

पेनाल्टी सुटआउटमा क्रोएसियाले बाजी माऱ्यो


निर्धारित समयमा १–१ गोल र अतिरिक्त समयमा गोल हुन नसकेपछि क्रोएसिया र डेनमार्कबीचको खेल पेनाल्टी सुटआउटमा गएको थियो । उक्त पेनाल्टी सुटआउटमा क्रोएसियाका गोलकिपर डेनिजेल सुबासिकले शानदार बचाउ गर्दै क्रोएसियालाई क्वार्टरफाइनलमा पुऱ्याएका थिए ।

पेनाल्टी सुटआउटमा क्रोएसियाका तीन र डेनमार्कका दुई खेलाडीले मात्र गोल गर्न सफल भएका थिए । यसरी पेनाल्टी सुटआउटमा क्रोसियालीले डेनमार्कलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । अव क्वार्टरफाइनलमा क्रोएसियाको भिडन्त आयोजक राष्ट्र रसियासँग हुनेछ ।

खेलको शुभारम्भसँगै डेनमार्कले उत्कृष्ट प्रदर्शन गदै पहिलो मिनेटमै गोल गर्दै १–० ले अग्रता लिएको थियो । उक्त गोल म्याथियास जोग्रेसनले गरेका थिए । डेनमार्कको यो खुसी धेरैबेरसम्म टिक्न सकेन । क्रोएसियाका स्ट्राइकर मारियो मान्जुकिले खेलको चौथो मिनेटमा गोल गरेर बराबरीमा ल्याएका थिए । यसरी पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टिमले गोल गर्ने प्रयास गरे पनि असफल भएका थिए । दुवै टिम निकै आक्रामक रूपमा प्रस्तुत भए पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ११७औँ मिनेटमा क्रोएसियालाई पेनाल्टी प्राप्त भए पनि कप्तान लुका मोडिकको प्रहारलाई गोलकिपर स्माइकलले सुन्दर बचाउ गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुऱ्याउन सफल भएका थिए ।

यसपछि भएको पेनाल्टी सुटआउटमा क्रोसियाका गोलकिपरको उत्कृष्ट बचाउका कारण डेनमार्क विश्वकपवाट बाहिरिएको थियो ।