स्पेनलाई हराएसँगै रुसभर खुसियाली

स्पेनलाई हराएसँगै रुसभर खुसियाली


रुसको राजधानी मस्कोमा जारी विश्वकप विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभर खुसियाली छाएको छ ।

विश्वकपविजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसमा खुसियाली छाएको हो । विश्वकपको आगामी चरणका लागि रुस अगाडि बढेपछि रुसी फुटबल समर्थकहरूले ठूलो खुसियाली मनाएका छन् ।

आयोजक राष्ट्र रुसले पूवविश्वकपविजेता स्पेनलाई पेनाल्टीमा पुगेर ४–३ ले पराजित गरेको थियो । यसलाई विश्वकपमा रुसको ठूलो सफलताका रूपमा लिइएको छ ।

रुसको यस विजयपछि रुसका विभिन्न शहरका चोकचोकमा भेला भएर रुसी फुटबलप्रेमी युवायुवतीले खुसी साटासाट गरिरहेका छन् ।

फुटबलको सर्वोच्च निकाय फिफाको मर्यादाक्रममा रुसको स्थान निकै तल थियो । यसअघिका विश्वकप प्रतियोगितामा स्पेनको भने उत्कृष्ट स्थान रहेको थियो ।

प्रतियोगिताको निर्धारित समय ९० मिनेट र थप ३० मिनेटमा समेत १–१ बराबरी गोल रहेको थियो । थप समयमा पनि गोल नभएपछि खेल ‘पेनाल्टी सुटआउट’मा गएको थियो ।

रुसका गोलकिपर एकिनफिवमाथि रुसी समूहको विश्वास थियो । उनीहरूले आफूहरू टाइबे्रकरमा पुगेमा विजयी हुने विश्वास गरेका थिए ।

नभन्दै परिणाम पनि त्यस्तै आयो । उनले पेनाल्टी सुट पनि रोकिदिएका थिए । त्यसपछि समर्थकले शुरु गरेको खुसियाली देशका विभिन्न शहरमै फैलिएको थियो ।

विश्वकप फुटबलमा रुस पहिलोपटक क्वार्टरफाइनलमा पुगेका हो । आफ्नो घरायसी मैदानको फाइदा उठाएर हासिल गरेको यस जितको खुसियाली देशैभरि मनाइएका समाचार विश्वका सञ्चारमाध्यमहरूमा आएका छन् ।