देउवाको भारत भ्रमणले सम्बन्धमा प्रगाढता थप्नेछ

देउवाको भारत भ्रमणले सम्बन्धमा प्रगाढता थप्नेछ


Bimalendra-Nidhi:विमलेन्द्र निधि (नेता, नेपाली काङ्ग्रेस)
० नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको भारत भ्रमणको मुख्य एजेण्डा के हो ?
– वरिष्ठ नेता देउवालाई भारत सरकारले भ्रमणका लागि निम्ता गरेको हो । नेपालको शान्तिप्रक्रिया, संविधान निर्माण, संविधानसभाको निर्वाचन, नेपालको आर्थिक विकास तथा नेपाल र भारतका बीचमा रहेको सुमधुर सम्बन्ध, एक–अर्काबीचको सौहाद्र्रता र समझदारीका विषयमा त्यहाँका अधिकारी एवम् राजनीतिक नेतृत्वसँग छलफल गरी उल्लेखित विषयहरूमा थप प्रगाढता र नयाँ आयाम ल्याउने प्रयत्न गर्नु नै देउवाजीको भारत भ्रमणको मुख्य उद्देश्य हो ।
० नेपाल र भारतबीच रहँदै आएका अन्य मुद्दाबारे पनि कुराकानी हुन्छ कि ?
– नेपाल र भारतको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक सबै रूपले अत्यन्त घनिष्ट रहँदै आएको छ । त्यसैले हरेक विषयमा कुराकानी र छलफल हुन सक्छन् । भारतसँग रहँदै आएको नेपालको प्रगाढ सम्बन्धकै बीच बेलाबेलामा अनेक खालका मुद्दाहरू पनि उठाइन्छन्, तर आपसी समझदारीबाट हल हुँदै आएका छन् र हुँदै जाने पनि छन् । मेरो बुझाइमा भारतसँग नेपालको त्यस्तो ठूलो र सुल्झनै नसक्ने विवाद त केही पनि छैन । बरु नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणमा भारतले सधैँ सहयोग गर्दै आएको छ । नेपाली जनताको चाहनाअनुसार नेपालमा जति पनि परिवर्तन भएका छन् यसमा मित्रराष्ट्र भारत र त्यहाँका जनताको आत्मिक रूपले राजनीतिक, नैतिक सहयोग र समर्थन रहिआएको छ । यिनै–यिनै पेरीफेरीमा नेता देउवाको भ्रमणबीच कुराकानी हुनसक्छ ।
० भारतले यसपटक देउवाको भ्रमणलाई विशेष महत्व दिएकोबारे निकै चर्चा भयो, किन यस्तो महत्व दिएको होला ?
– हो, भारतले देउवाजीको भ्रमणलाई उच्च महत्व दिएको छ । प्रधानमन्त्री मनमोहन सिंहका साथै काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीसँग पनि भेटघाट र छलफलको कार्यक्रम तय हुनुलाई त्यही रूपमा बुझ्न सकिन्छ । नेपालको लोकतन्त्र, स्थिरता र विकासका निम्ति भारतका तर्फबाट सदैव सद्भाव र सहयोग रहेको सन्दर्भमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेताको भ्रमणलाई महत्व दिनु अस्वाभाविक छैन । यसले सम्बन्धको गहिराइमा अरू प्रगाढता ल्याउँछ । नेपाल यतिबेला राजनीतिक रूपले अत्यन्त महत्वपूर्ण परिवेशबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा मित्रराष्ट्र भारतको नैतिक सहयोग र समर्थन अति आवश्यक छ । पटक–पटक नेपालको प्रधानमन्त्री रहिसक्नुभएका वरिष्ठ नेता देउवाको भ्रमणलाई भारतका तर्फबाट दिइएको महत्वलाई यिनै सन्दर्भहरूसँग जोडेर हेर्न सकिन्छ ।
० पार्टी सभापति सुशील कोइरालालाई नबोलाएर वरियतामा दोस्रा नेता देउवालाई किन बोलाएको होला त मित्रराष्ट्र भारतले ?
– यसमा कुनै अलग अर्थ खोज्नु आवश्यक म देख्दिनँ । भनिहालँे कि उहाँ पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ । भारतका तत्कालीन प्रधानमन्त्री पीभी नरसिंह राव, आइके गुजराल र मनमोहन सिंहको पालमा गरी तीन–तीनपटक देउवाजीले नेपालको प्रधानमन्त्रीका हैसियतले भारत भ्रमण गरिसक्नुभएको सन्दर्भ यहाँनेर उल्लेख्य छ । प्रधानमन्त्री नरहँदा पनि देउवाबाट भारतको भ्रमण भएको छ । मित्रराष्ट्रले आफ्ना एक मित्रराष्ट्रका वरिष्ठ प्रजातन्त्रवादी नेतासँग भलाकुसारीका लागि बोलाएको सन्दर्भमा ‘फलानोलाई किन बोलाएन, ढिस्कानोलाई किन बोलायो’ भनी तर्क–वितर्क गरिरहनु यतिबेला सान्दर्भिक होजस्तो मलाई लाग्दैन ।
० भारत प्रस्थान गर्नुअघि देउवाजीले सभापति कोइरालासँग पनि भेट गर्नुभएको थियो, के कुरा भएछ ?
– भारत जानुअघि पार्टीका सभापतिसँग मात्र नभई राष्ट्रपति डा. यादवका साथै अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी, मन्त्रीहरू, अन्य दलका नेता, पार्टीका अन्य तहका नेता, भारतका लागि पूर्वराजदूतहरू, परराष्ट्र मन्त्रालयका भारत डेस्क हेर्ने पदाधिकारीहरू, बुद्धिजीवी, शुभचिन्तक सबैसँग भेटघाट र विचार–परामर्श गर्नुभएको हो देउवाजीले । खासगरी नेपाल र भारतबीचको सम्बन्धबारे रुचि राख्ने सबै नेताहरूसँग सरसल्लाह गर्नुभएको हो । यी सबैसँग भोटघाट र छलफल भएबाट मित्रराष्ट्र भारतसँगको सम्बन्धमा प्रगाढता ल्याउन सघाउ पुग्ने नेता देउवाले ठहर गर्नुभएको छ । नेपालका वर्तमान समस्या समाधानमा भारतका तर्फबाट के–कस्तो भूमिका वा योगदान पुग्न सक्छ, नेपालले भारतका लागि के गर्न सक्छ या गर्नुपर्छ भन्नेजस्ता विषयमा छलफलका क्रममा उठ्न सक्ने सन्दर्भहरूमाथि कुराकानी गर्न यी भेटघाटले सकारात्मक भूमिका खेल्ने विश्वास लिन सकिन्छ । त्यसैले यो भ्रमणको परिणाम निकै फलदायी र सकारात्मक रहने अपेक्षा हामीले गरेका छौँ ।
० सन्दर्भ अलिकता मोडौँ, ‘थ्रेसहोल्ड’को विषयमा राजनीतिक दलहरूबीच निकै चर्काचर्की परिरहेको अवस्था छ, वास्तवमा नेपाली काङ्ग्रेस के चाहन्छ ?
– ‘थ्रेसहोल्ड’ राख्नु डेमोक्रेसीका लागि राम्रो कुरा हो । तर, यहाँ चार वर्ष लगाएर पनि संविधान बन्न नसकेको तीतो यथार्थ हामीले व्यहोरिसकेको सन्दर्भबीच जसरी पनि निर्वाचनको वातावरण बनाउनु अत्यावश्यक छ । मङ्सिरसम्ममा निर्वाचन गराउनैपर्छ । त्यसैले चार राजनीतिक पक्षमा सहमति हुनु अपरिहार्य छ । नेपाली काङ्ग्रेसले असल नियतले ‘थ्रेसहोल्ड’को पक्षमा आफ्नो धारणा राख्नु स्वाभााविक छ । तथापि, यही कारणले संविधानसभाको निर्वाचन बिथोलिनुहुँदैन भन्नेमा पनि काङ्ग्रेस सचेत छ । परिआए त्यो अडान छाड्न सक्नुपर्छ काङ्ग्रेसले भन्ने मेरो धारणा छ । देउवाजीले पनि सुशील कोइरालासँग भेटघाट गर्दा यस्तै सुझाव दिनुभएको छ । अडान छाडेर पनि संविधानसभाको निर्वाचनलाई सुनिश्चित गर्नुपर्छ भन्ने वरिष्ठ नेता देउवाको धारणा छ ।
० तर, पार्टी सभापति त थ्रेसहोल्ड चाहिन्छ भनिरहनुभएको छ, अडान छोड्न तयार देखिनुभएको छैन, यस्तोमा के
होला त ?
– होइन, नेपाली काङ्ग्रेस यस्तो प्रजातान्त्रिक पार्टी हो जसले सदा लोकतान्त्रिक परिपाटीलाई मजबुत तुल्याउने पक्षमा व्यवहार गरिरहेको हुन्छ । यो यस्तो लचकदार पार्टी हो जो मुलुकका लागि आवश्यक पर्दा लचकदार हुन पनि सक्छ । सुशील कोइरालाले राम्रो कुराका लागि अडान राख्नुहुन्छ, राख्नु पनि पर्छ । तर, उहाँ पनि त्यत्तिकै सभापति बन्नुभएको व्यक्ति होइन । कतिबेला कस्तो विषयमा अडान कायम राख्नुपर्छ र कतिबेला अडान छोड्नु उचित हुन्छ भन्ने उहाँलाई पनि राम्रो ज्ञान छ । उहाँ कडा मिजाजका व्यक्तिजस्तो कसैलाई लाग्न सक्छ तर उहाँ एकदम लचकदार पनि हुनुहुन्छ भन्ने बुझ्नु जरुरी छ ।